शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

शेखर गोल्छालाई प्रश्न : महासंघ अध्यक्षका रूपमा आफूलाई कति अङ्क दिनुहुन्छ ?

मङ्गलबार, ०७ चैत २०७९

नेपाल उद्योग वाणिज्य महासंघको १९औँ अध्यक्षका रूपमा २०७७ साल मङ्सिरमा शेखर गोल्छाले कार्यकाल सम्हालेका थिए । गोल्छाको महासंघका अध्यक्षका रूपमा करिब साढे २ वर्षको कार्यकाल यही चैत २९ गते सकिँदैछ । यस अवधिमा शेखर गोल्छाले गोल्छा ग्रुपबाट महासंघको अध्यक्ष बन्ने आफ्ना बुबा हंसराज गोल्छा र दाइ दिवाकर गोल्छाको सपनासमेत साकार पारेका छन् । अध्यक्ष बनेपछि देशको अर्थतन्त्र सुधार्ने लक्ष्यसहित ‘भिजन २०३०’ सार्वजनिक गरेका गोल्छाले महासंघको प्रशासनिक काममा समेत व्यापक सुधार गरेको बताउँछन् । आफ्नो सुधार योजनाअनुसार नै महासंघको आर्थिक गतिविधि पारदर्शी बनाएसँगै सधैँ घाटामा जाने महासंघ यस वर्ष करोडौँ नाफामा पुगेको गोल्छाको दाबी छ । यस्तै यही चैत २८ र २९ मा महासंघको साधारण सभा र निर्वाचनसमेत हुँदैछ । उक्त साधारण सभा र निर्वाचनले महासंघमा नयाँ वरिष्ठ उपाध्यक्ष चुनिने छन् भने अहिलेका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल स्वतः अध्यक्ष बन्नेछन् । यही अवसरमा महासंघका वर्तमान अध्यक्ष शेखर गोल्छासँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंश –

महासंघको करिब साढे २ वर्षे कार्यकाल सकेर तपाईं बिदा हुँदै हुनुहुन्छ । समग्रमा भन्दा कस्तो रह्यो कार्यकाल ?

पछिल्लो २ वर्ष सम्पूर्ण अर्थतन्त्रका लागि र निजी क्षेत्रका लागि एकदमै चुनौतीपूर्ण रह्यो । कोभिड–१९ महामारीका कारण भएको लकडाउन र यतिबेलाको भीषण मन्दीले चुनौती थप्यो । हरेक समयमा कुनै न कुनै ‘अप्स डाउन’ हुन्थ्यो । इतिहासकै सबैभन्दा कठिन समयमा मैले महासंघको नेतृत्व गरिरहेको थिएँ जस्तो लाग्छ । तर पनि महासंघको नेतृत्वमा आउनुअघि मैले गरेको प्रतिबद्धता पूरा गर्नतर्फ म लागेँ । हुन त म महासंघमा बसेर गरेको कामको मूल्याङ्कन साथीहरूले गर्नुहुनेछ । तर मैले साधारण सभामा गरेका प्रतिबद्धता पूरा गरेको छुजस्तो लाग्छ ।

प्रतिबद्धता के–के गर्नुभएको थियो ? सम्झिनुस् न ।

मैले महासंघको नेतृत्वमा आएपछि एउटा भिजन पेपर सार्वजनिक गर्ने विषयको प्रतिबद्धता गरेको थिएँ । त्यो पूरा गरेँ । यस्तै महासंघले उठाउने विषयमा एक्येबद्धता हुने प्रतिबद्धता राखेको थिएँ । यस्तै महासंघका तर्फबाट गर्ने लबिङ र सरकारसमक्ष निजी क्षेत्रका माग राख्ने विषयलाई प्राथमिकतमा राख्छौँ भनेको थिएँ । भिजन पेपर सार्वजनिक गरेपछि महासंघले गर्ने कामकारबाही पूरै परिवर्तन भएको छ । 

पछिल्लो दुई वर्षको अवधिमा महासंघले गर्ने काम कार्यसमितिको बैठकमा छलफल भएपछि मात्रै लागू हुन्छ । त्यसमा ९० प्रतिशतसम्म एक्येबद्धता थियो । हामीले कार्यसमितिमा गर्ने अर्थतन्त्रको ह्रासका विषयमा वा विभिन्न कानुनी र बैंकिङ समस्याका विषयमा छलफल गर्दा ऐक्यबद्धता थियो । यो मेरो कार्यकालमा भएको उत्कृष्ट काम भन्न रुचाउँछु । यसैगरी अन्य विभिन्न काममा हामीले गहन छलफल र एकता देखायौँ र त्यसको प्रतिफल पनि आएको छ ।

महासंघको तत्कालीन वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्न पाउने प्रावधान छ । तर तपाईं अध्यक्ष बन्नै लाग्दा अन्तिमसम्म विधान संशोधन गर्ने विषय जोडदार साथ उठेको थियो । यो कार्यकालमा भिजन पेपरबाहेक अन्य के पायो ?

मेरो कार्यकालमा महासंघले लामो समयसम्म याद रहने भिजन पेपर पाएको छ । यो प्रश्नको उत्तर दिनुअघि एउटा विषय सम्झाउन चाहन्छु । म चुनावी अभियानमा हिँड्दै गर्दा महासंघको प्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतासमेत गरेको थिएँ । हामीले त्यसलाई सुधार गर्यौं । सधैँ घाटामा जाने महासंघ यस पटक ६ करोड नाफामा छ । यसको मूल्याङ्कन साथीहरूले गर्ने नै छन् । हामीले महासंघको वित्तीय प्रणालीमा शतप्रतिशत पारदर्शिता ल्याउन सफल बनेका छौँ ।

यसबाहेक विधान संशोधनसँग जोडिएको विषयलाई समेत अघि बढाइएको थियो । मैले साथीहरूको रायअनुसार विधान संशोधनको काम अघि बढाउने भनेको थिएँ । त्यहीअनुसार पूर्वअध्यक्ष कुशकुमार जोशीले जिम्मेवारी लिएर एउटा मस्यौदा पनि तयार भइसकेको छ । तर कारणवश अघि बढाउन सकिएन । अब आउने नेतृत्वले उक्त विधान संशोधनको प्रक्रियालाई अघि बढाउने मेरो विश्वास छ ।

shekhar golchha 1

तपाईं अध्यक्ष बन्नैलाग्दा जसरी विधान संशोधनको विषय उठाइएको थियो । तपाईं अध्यक्ष बनेपछि फेरि विधान संशोधनको खेल सुरु भयो भन्ने आरोप पनि थियो नि, हैन ?

मैले उद्योग वाणिज्य महासंघको साधारण सभाले मलाई गरेको निर्देशनअनुसार विधान संशोधनको विषय अघि बढाएको हो । विधान संशोधन गर्ने मेरो व्यक्तिगत एजेन्डा थिएन । साधारण सभाबाट विधान संशोधन हुनुपर्छ भन्ने आवाज उठेको थियो । महासंघको नेतृत्व गर्दैगर्दा म साधारण सभाबाट निर्देशित हुन्छु र सोहीअनुसार मैले काम गर्ने हो । तर मेरो पालामा मलाई रोक्ने लक्ष्यसहित नै विधान संशोधनको तरबार झुन्ड्याइएको थियो । त्यो सफल बनेन ।

करिब साढे दुई वर्षे कार्यकाल सकेर महासंघको नेतृत्वबाट बिदा हुँदै हुनुहुन्छ । एउटा साधारण उद्योगी वा व्यवसायीले तपाईंको नेतृत्वमा के पायो ? नेपालमा व्यवसाय सञ्चालनका लागि ?

उद्योग वाणिज्य महासंघले सार्वजनिक गरेको भिजन पेपर २०३० मा सबैभन्दा धेरै प्राथमिकता साना तथा मझौला उद्योगहरूलाई दिइएको छ । भिजन पेपरमा साना तथा मझौला उद्योग व्यवसायको समस्या र समाधानका विषय समेटिएको थियो । साना तथा मझौला उद्यमको समस्या समाधानका लागि गहिरो अध्ययन पनि गरिएको छ । उनीहरूलाई सहुलियतमा कर्जा उपलब्ध गराउने विषय जोडिएको थियो । यस्तै स्टार्टअप नीतिका विषय पनि जोडिएको थियो । यस्तै आयोजना ऋणको विषय पनि हामीले उठाएका छौँ । खासगरी दुई करोडभन्दा बढी ऋणमा दुई प्रतिशतभन्दा धेरै प्रिमियम लिन नपाउने विषय छ । यसका साथै स्टार्टपका लागि नयाँ निर्देशिका बनिसकेको र यो अन्तिम चरणमा छ भने एक अर्बको बजेटसमेत छ । मैले मेरै कार्यकालमा उक्त निर्देशिका सार्वजनिक गर्ने चाहना राखे पनि त्यो पूरा हुन सक्ने देखिएन ।

मैले महासंघको नेतृत्वमा आएपछि एउटा भिजन पेपर सार्वजनिक गर्ने विषयको प्रतिबद्धता गरेको थिएँ । त्यो पूरा गरेँ । यस्तै महासंघले उठाउने विषयमा एक्येबद्धता हुने प्रतिबद्धता राखेको थिएँ । यस्तै महासंघका तर्फबाट गर्ने लबिङ र सरकारसमक्ष निजी क्षेत्रका माग राख्ने विषयलाई प्राथमिकतमा राख्छौँ भनेको थिएँ । भिजन पेपर सार्वजनिक गरेपछि महासंघले गर्ने कामकारबाही पूरै परिवर्तन भएको छ । 

साना र मझौला व्यवसायीको बजारीकरणको समस्या समाधानका लागि पनि धेरै काम भएका छन् । साना व्यवसायीले उत्पादन गरेका विषय देशभरमा कसरी बिक्री गर्न सकिन्छ भन्ने विषयमा पनि काम भएका छन् । यसका लागि अनलाइन बिक्री प्लेटफर्म दराजसँग सहकार्य भइरहेको छ ।

अब अलिकति तपाईंको पारिवारिक सपनातर्फ फर्कियौँ । तपाईंका बुबा र तपाईंका दाइ महासंघको नेतृत्व गर्न चाहनुुहुन्थ्यो । तर विविध कारणले उहाँहरूको सपना पूरा भएन । धेरै जनाको सपना पूरा गर्दा कस्तो अनुभूति हुँदो रहेछ ?

यो मेरा लागि भावनात्मक विषय थियो । महासंघको स्थापना हुँदै गर्दा मेरो बुबाको ठूलो योगदान थियो । महासंघको विधान निर्माणदेखि महासंघलाई फैलाउनसम्म योगदान थियो । यस्तै नेपालमै सबैभन्दा पहिलो उद्योग खोल्ने समूह र धेरैलाई रोजगारी दिने समूहका हिसाबमा गोल्छा ग्रुपबाट महासंघको अध्यक्ष बन्ने सपना बनेको थियो । तर कुनै कारणवश त्यो भएन । मेरो परिवारले महासंघको अध्यक्ष बन्न देखेको सपना मैले पूरा गरेजस्तो लाग्छ ।

गोल्छा ग्रुपकातर्फबाट तपाईं महासंघको १९औँ अध्यक्ष बन्दैगर्दा शेखर गोल्छालाई भोलका दिनमा देशभरका उद्योगी व्यवसायीले कसरी सम्झिनेछन् ? कि पुरानै अध्यक्षहरूको लहरमा तपाईंको फोटो झुन्डिएको देखेर मात्रै सम्झनेछन् ?

यसको मूल्याङ्कन महासंघमा आबद्ध साथीहरूले नै गर्नुहुन्छ । शेखर गोल्छाले महासंघको अध्यक्ष बनिसकेपछि कहिल्यै पनि पपुलिस्ट नारा लगाएन । पपुलिस्ट नारा लगाउन र पपुलर बन्न धेरै सजिलो छ । तर पपुलिस्ट नारा नलिएर जिम्मेवार हिसाबले महासंघकातर्फबाट निजी क्षेत्रको सम्मान बनाउनतर्फ अघि बढेँ । भावी दिनमा निजी क्षेत्रको सम्मान बढाउने र महासंघभित्र आमूल परिवर्तन गर्ने व्यक्तिका रूपमा मलाई सम्झनुहुनेछ जस्तो लाग्छ र एउटा निश्चित लक्ष्य र गन्तव्यसहित ‘भिजन पेपर २०३०’ ल्याउने अध्यक्षका रूपमा सम्झनेछन् ।

यो भिजन पेपरमा थोरै केन्द्रित बनौँ । तपाईंहरूले सन् २०३० सम्म नेपालको अर्थतन्त्र कस्तो बन्ने भन्ने विषय समेटेर भिजन पेपर सार्वजनिक गर्नुभएको छ । यो लक्ष्य पूरा गर्न महासंघ के गर्दैछ ?

सबैभन्दा सुरुमा हामीले भिजन पेपरलाई सरकाबाट ‘इन्डोर्स’ गरायौँ । सरकारले उच्च स्तरीय कमिटी बनाएर भिजन पेपरलाई लागू गर्न योजना बनाउने भनेको छ । काम सुरु पनि भइसकेको छ । एउटा फोकस्ड र एकरूपताका साथ कसरी अघि बढ्न सकिन्छ भन्ने विषय पनि भिजन पेपरमा समेटिएको छ । कोभिड महामारी र अहिलेको मन्दीका कारण धेरै काम ओझेलमा परेको छ । यो स्वीकार्नै पर्छ ।

तपाईंहरूजस्तै अर्को छाता सङ्गठन उद्योग परिसङ्घले ‘मेक इन नेपाल’ अभियान सुरु गरेको छ । महासंघले भिजन २०३० सुरु गरेको छ । दुईवटा संस्थाले एउटै लक्ष्य र एउटै उद्देश्यसहित अघि बढेको भए थप प्रभावकारी बन्थ्यो होला । किन मिल्न सक्नुभएन ?

परिसङ्घ, चेम्बर वा अन्य संस्थाहरू सबै निजी क्षेत्रको हकहितका लागि लबिङ गर्ने संस्था हुन् । म अध्यक्ष बनेपछि सबैभन्दा पहिला परिसङ्घको नेतृत्वलाई र चेम्बर नेतृत्वलाई भेट्यौँ । त्यस क्रममा हामीले आफ्नो आफ्नो संस्थाका लागि सोच्नैपर्छ भन्ने विषयमा छलफल भएको थियो । त्यसपछि हामी तीनवटै निजी क्षेत्रका छाता सङ्गठनले धेरै पटक संयुक्त वक्तव्य पनि जारी गरेका थियौँ । केही कारणले हुनुपर्ने जति सहकार्य नभएको पनि हो । तर धेरै क्षेत्रमा हामीले संयुक्त रूपमा काम गरेका छौँ ।

केही विषयमा संयुक्त वक्तव्य निकाल्दा र एक्लाएक्लै वक्तव्य गर्दैगर्दा सरकारले र सम्बन्धित निकायले सुन्ने क्रममा केही फरक त पाइयो होला । सबै क्षेत्रमा मिलेर अघि बढेको भए कमजोर बनिरहेको निजी क्षेत्रको एजेन्डा थप मजबुत बन्थ्यो कि ?

म तपाईंको कुरालाई स्वकार्छु किनभने भविष्यमा सहकार्यको विकल्प छैन । तीनवटै संस्थाले संस्थागत विकासका लागि आफूअनुकूल सोचेकै हुन् । तर हामीले साझा विषयमा सहकार्य गर्न सकियो भने निजी क्षेत्रको आवाज थप मजबुत बन्छजस्तो लाग्छ ।

पछिल्लो समय निजी क्षेत्रको एजेन्डा कमजोर बनिरहेको देखिन्छ । जुन हिसाबमा विगतमा महासंघले निजी क्षेत्रको एजेन्डा उठाउँथ्यो, रचनात्मक कार्यक्रम गथ्र्यो, यस पटक अलि कमजोर बनेको हो ?

यो गुनासोलाई म स्वीकार्दिनँ । पपुलिस्ट हुनचाहिँ सजिलो छ । तर हामीले काम गरेर देखाएका छौँ । मेरो कार्यकालमा देख्नेगरी काम भएका छन् । दीर्घकालीन रूपमा निजी क्षेत्रका लागि महत्त्वपूर्ण काम भएका छन् । पपुलिस्ट बन्न खोजेको भए धेरै विषयहरू थिए । तर पछिल्लो समय राजनीतिक अस्थिरता र तलरता अभावको विषय चरम उत्कर्षमा छ । मेरो कार्यकालमा धेरै चुनौतीपूर्ण अवस्था रह्यो । मैले मेरो कार्यकालमा अहिले तेस्रो प्रधानमन्त्रीसँग काम गरिरहेको छु । समग्रमा हेर्दा राजनीतिक रूपमा समस्याग्रस्त र आर्थिक रूपमा समेत समस्याग्रस्त समय हो । अहिले नेपालको अर्थतन्त्रमा यति धेरै समस्या छ र पनि अर्थमन्त्री हुनुहुन्न । हामीले कसरी निजी क्षेत्रको मुद्दा अघि बढाउनु ?

राजनीतिक अस्थिरताका कारण पनि निजी क्षेत्रको मुद्दा कमजोर बनेको हो ?

पछिल्लो समय सबै नेताहरूले सार्वजनिक रूपमा बोल्दा आर्थिक समृद्धिको विषय उठान गर्छन् । देशलाई समृद्ध बनाउने योजना सुनाए पनि कार्यान्वयनका विषयलाई जोड दिँदैनन् । नेताहरू पपुलिस्ट काम गर्न मात्रै रुचाउँछन् र वितरणमुखी अर्थतन्त्र निर्माणमा जोडबल गर्छन् । देशमा उद्योगधन्दा र कलकारखाना खोल्ने योजना अघि बढाउन चाहँदैनन् । सजिलो बाटो हिँड्दा गन्तव्य पनि कमजोर बन्छ ।

अब तपाईंको कार्यकालमा केही त्यस्ता काम छन् ? जुन काम गरेको भए आफूलाई थप सन्तुष्टि मिल्थ्यो जस्तो लाग्ने ?

हामीले गहन अध्ययनपछि भिजन पेपर सार्वजनिक गरेका छौँ । त्यसलाई अझै बढी अध्ययन गरेर धेरै एजेन्डा अघि बढाउन पाएको भए हुन्थ्यो भन्ने लाग्छ । उदाहरणका लागि १४ वटा कानुनले निजी क्षेत्रमाथि चियोचर्चो गर्छन् । यी कानुनले दीर्घकालीन लगानीका लागि हतोत्साहित गर्छ । हामीले त्यसलाई सुधार गर्न लबिङ गर्ने योजना बनाएका थियौँ । कालोबजारी ऐनलगायत धेरै कानुनहरू ४० वर्षभन्दा धेरै पुराना छन् । ती कानुन सबै समयसीमा गुज्रिसकेका छन् । यसलाई सुधार गर्न हामीले काम गर्नुपर्नेमा सोचेअनुसार काम भएन । यी काम गर्न सकेको भएमा अझै धेरै सन्तुष्टि मिल्थ्यो होला ।

समग्रमा भन्नुपर्दा साढे दुई वर्षको कार्यकालमा आफूलाई १० मध्ये कति रेटिङ दिनुहुन्छ ?

महासंघको नेतृत्व अवधिमा गरेको कामलाई आधार मानेर आफूलाई रेटिङ दिनुपर्दा साढे ६ अङ्क दिन्छु ।

महासंघको कार्यकाल सकिँदै छ । कार्यकाल सकिएपछिको योजना के बनाउनुभएको छ ?

पक्कै पनि यो एउटा ठूलो जिम्मेवारीबाट मुक्ता भएपछि सहजता त पक्कै हुन्छ । तर म व्यवसायमा ठूलो स्टेकहोल्डर पनि हुँ । महासंघको अध्यक्ष बनेपछि समयको अभावका कारण आफ्नो व्यावसायिक जीवन अघि बढाउन सकेको थिइनँ । ती सबै योजनालाई पुनः अघि बढाउँछु । खासगरेर ऊर्जा, एजुकेसन र उद्योगसँग सम्बन्धित धेरै योजना छन् । आउने समयमा गोल्छा ग्रुप यी योजनामा अघि बढको देख्न पाउनुहुनेछ ।

अब नजिकिँदै गरेको महासंघको निर्वाचन र साधारण सभामा केन्द्रित बनौँ । भावी अध्यक्ष बन्ने दौडधुप चलिरहेको छ । चुनावी गतिविधिलाई कति नजिकबाट नियाल्दै हुनुहुन्छ ?

महासंघको विधानअनुसार आगामी कार्यकालमा चन्द्र ढकालले नेतृत्व गर्नुहुनेछ । म आउँदो कार्यकालमा उहाँले काम गर्न सक्ने वातावरण बन्नेमा आशावादी छु । उहाँ अध्यक्ष बनेपछि खुट्टा तान्ने र काम गर्न नदिने समूह आयो भने महासंघ प्रभावकारी बन्न सक्दैन । मैले चाहेको महासंघ बलियो बन्नुपर्छ र महासंघ बलियो हुनका लागि अध्यक्ष बलियो हुनुपर्छ भन्ने हो र अध्यक्ष बलियो बन्न उहाँसँग बलियो टिम हुनुपर्छ । जुन टिमले ढकाललाई सघाउन सकोस् ।

यसको तात्पर्य आफ्नै नजिकका साथी र आफ्नै प्यानलका साथीहरू आऊन् भन्ने हो ? अहिले वर्तमान उपाध्यक्षहरूको जस्तै ?

होइन, पक्कै पनि होइन । मैले प्यानलको कुरा गरेकै होइन । म अध्यक्ष बन्दैगर्दा प्यानल बनाउनै पर्ने फरक अवस्था थियो । किनभने मेरो टाउकोमा तरबार झुन्डाइएको थियो । त्यो विधान संशोधनको तरबारको प्रहारबाट बच्न पनि प्यानल आवश्यक थियो । उक्त समयमा त्यो आवश्यक पनि थियो । अहिलेचाहिँ मैले प्यानल बन्नुपर्छ र त्यही प्यानलबाट आउनुपर्छ भन्न खोजेको होइन । तर जो चुनिएर आउँछन् उनीहरूले आफ्नो पक्ष वा विपक्ष बिर्सेर हुनेवाला अध्यक्षलाई सघाउनुपर्छ ।

महासंघको विधानअनुसार आगामी कार्यकालमा चन्द्र ढकालले नेतृत्व गर्नुहुनेछ । म आउँदो कार्यकालमा उहाँले काम गर्न सक्ने वातावरण बन्नेमा आशावादी छु । उहाँ अध्यक्ष बनेपछि खुट्टा तान्ने र काम गर्न नदिने समूह आयो भने महासंघ प्रभावकारी बन्न सक्दैन ।

प्यानल त यस पटक पनि बन्ने देखियो नि ?

अहिले मैले सुनेअनुसार प्यानल बन्छ । यतिबेला तीन जना वर्तमान उपाध्यक्ष र एक जना पूर्वउपाध्यक्ष गरी चार जना दौडधुपमा हुनुहुन्छ । चुनाव एकदमै स्वच्छ तरिकाले होस् भन्ने मेरो जिम्मेवारी हो । यहीअनुसार चुनाव सम्पन्न हुन्छ ।

अहिले वरिष्ठ उपाध्यक्ष र भावी अध्यक्षको तयारीमा रहनुभएका आकाङ्क्षीमध्ये कोहीले आफूलाई शेखर गोल्छाको साथ रहने बताउँदै आउनुभएको छ । यस पटक तपाईंको साथ कसलाई रहन्छ ?

म वरिष्ठ उपाध्यक्षको तयारीमा रहनुभएका चार जनालाई नै साथ दिन्छु । चार जनालाई नै मैले सकरात्मक रूपमा सहयोग गर्ने हो । आउँदो चुनावमा मेरो कुनै स्वार्थ छैन । महासंघमा म निवर्तमान र पूर्वअध्यक्षका रूपमा अघि बढ्ने हो । साथीहरूले मलाई माया गरेर शेखर गोल्छाको साथ आफूलाई रहेको भन्नुहुन्छ होला ।

प्यानल बनेर चुनाव लड्दै गर्दा र आफूअनुकूलको टिम आउँदा काम गर्न कत्तिको सजिलो हुँदो रहेछ ?

चुनावको एउटा प्रक्रिया छ । नेपालमा खासगरी जित्नेले दम्भ गर्ने र हार्नेले प्रतिशोध गर्ने प्रचलनले गर्दा कार्यकाल चुनौतीपूर्ण रहन्छ । तर मेरो कार्यकालमा यस्तो अवस्था देखिएन । आगामी दिनमा हामी यो प्रचलनबाट बाहिर निस्केर आफू आबद्ध संस्थाका लागि लाग्नुपर्छ जस्तो लाग्छ ।

shekhar golchha

तपाईंको बुझाइमा महासंघको आगामी नेतृत्व कस्तो हुनुपर्छ ?

अब आउने महासंघ नेतृत्वले पपुलिस्ट नारा लिएर अघि बढ्न हुँदैन । एकातर्फ हामी खुला बजार अर्थतन्त्रको कुरा गर्छौं । धेरै कुरा खुला बजार अर्थतन्त्रको प्रभावले आज हामी यहाँ आइपुगेका छौँ । तर पनि धेरै पटक अराजक बनेर अघि बढेका छौँ । मलाई लाग्छ हामी परिपक्व तरिकाले अघि बढ्नुपर्छ । हामी निजी क्षेत्रको छाता सङ्गठन हो । त्यसैले बैंकदेखि उद्योगी व्यवसायीसम्मको विषय लिएर अघि बढ्नुपर्छ । महासंघले गर्ने प्रत्येक कामले ठूलो महत्त्व राख्छ, त्यसैले हामी अराजक नबनीकन र परिपक्व बनेर अघि बढ्नुपर्छ ।

तर अराजक नबन्ने र पपुलिस्ट नबन्ने भनेर देशभरका उद्योगी व्यवसायी सडकमा आउँदैगर्दा महासंघले यसरी आफ्ना सदस्यलाई एक्लै छाड्न मिल्छ ?

ब्याजदर वृद्धिका कारण देशभरका उद्योगी व्यवसायीलाई परेको पीडासँग म पनि जोडिएको छु किनकि त्यो पीडा मलाई पनि छ । महासंघले उहाँहरूको पीडालाई समाधान गर्न लबिङ गरिरहेको छ र त्यो आफ्नै तरिकाको छ । तर सडकमा उत्रिनुभएका व्यवसायीहरूले आफ्नै तरिकाले लबिङ गरिरहनुभएको छ । त्यसलाई खराब भन्दिनँ । तर कहिलेकहीँ आन्दोलन अलि बढी अराजक बनिरहेको छ । यद्यपि देशभरका उद्योगी व्यवसायीले उठाएका मागमा मेरो सहमती छ । बैंकको ब्याज घट्नैपर्छ, तरलता अभावको समस्या हट्नैपर्छ र बजारलाई अहिलेको मन्दीबाट माथि उठाउन सरकार र राष्ट्र बैंकले ध्यान दिनैपर्छ । महासंघले आफ्नै तरिकाले त्यसको लबिङ पनि गरिरहेको छ ।

यतिबेला सडक आन्दोलनमा जो हुनुहुन्छ उहाँहरूले महासंघले हामीलाई साथ दिएन भनिरहनुभएको छ नि ?

हामीले देशभरका उद्योगी व्यवसायीको ब्याजदर घटाउने आन्दोलनमा साथ दिइरहेका छौँ । हाम्रो लबिङ गर्ने तरिका फरक छ किनकि उद्योग वाणिज्य महासंघ नै सडकमा उत्रिएपछि त्यो आन्दोलन निर्णायक बन्नुपर्छ । महासंघ नै सडकमा उत्रिएर बोकेका एजेन्डा पूरा भएन भने महासंघको छवी बिग्रन्छ । ब्याजदर वृद्धिका कारण उद्योगी व्यवसायीलाई परेको दुःख हामीलाई पनि परेको छ र हामी फरक ढङ्गबाट लबिङ गरिरहेका छौँ ।

तर तपाईंको कार्यकालमा जम्मा एक पटक ब्याजदर वृद्धिविरुद्ध ‘बैंक सञ्चालकहरू ड्राइभर र खलासीजस्ता भए’ भनेर बोल्नुभएको छ । किन ?

हैन, मैले महासंघ अध्यक्षका रूपमा बैंकको प्रिमियमका विषयमा कुरा उठाएँ । मैले नै यो विषय उठाएको थिएँ । यही कारण हजारौँ उद्योगी व्यवसायीले सीमाभन्दा बढी उठाएको प्रिमियम फिर्ता पाए । यो अहिलेको समस्यालाई बैंकले हनिमुन पिरियड नसम्झियोस् भनेर मैले धेरै पटक बोलेको छु । अहिलेको समस्या सबैको समस्या भएकाले बैंकले अवसरका रूपमा नउठाओस् भनेर धेरै पटक घचघच्याएको थिएँ । त्यसले बैंकहरू सचेत बनेका थिए । बैंकको ब्याजदर पनि बढ्न छाडेर प्रिमियन पनि घट्न थालेको थियो । महासंघले लिनुपर्ने सही बाटो नै अध्यक्षका रूपमा मैले लिएको थिएँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया