सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
बुद्ध पूर्णिमा

बुद्ध संवत् र बुद्धले देखाएको बाटो

परदेशमा बरु बलिरहेछ गौतम बुद्धको ज्योति

शुक्रबार, २२ वैशाख २०८०, ११ : २९
शुक्रबार, २२ वैशाख २०८०

हामी नेपाली आजको दिनलाई ‘बुद्ध जयन्ती’ भन्छौँ । पात्राहरूमा यस्तै लेखिराखेको हुन्छ । त्यसैले हामी पनि त्यस्तै भन्छौँ । यो बुझेर प्रयोग गरिएको शब्द होइन । कुनै पनि बौद्ध मुलुकमा यसलाई ‘बुद्ध पूर्णिमा’ भनिन्छ, बुद्ध जयन्ती भनिँदैन । किनभने यो दिन बुद्ध (सिद्धार्थ बोधिसत्त्व) जन्मेको मात्र नभई बुद्धत्व प्राप्त गरेको र महापरिनिर्वाण प्राप्त गरेको दिन पनि मानिन्छ । यसलाई त्रिसंयोग दिवस पनि भनिन्छ, तीन वटा संयोग जुरेको दिन ! ग्रह, नक्षत्रअनुसार यो वैशाख शुक्ल पूर्णिमा हो । त्यसैले कति मुलुकमा यसलाई ‘वैशाख डे’ पनि भनिन्छ ।

ठेट नेपाल भाषामा भने यसलाई ‘स्वांयाः पुन्ही’ भनिन्छ । यसको अर्थ हो पुष्पयात्राको पूर्णिमा । छोटकरीमा ‘पुष्प पूर्णिमा’ पनि भन्न सकिन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति र परिनिर्वाण यी तिनै योगमा आकाशबाट पुष्पवृष्टि भएको मानिन्छ । यसरी पुष्पवृष्टि भएको पूर्णिमा भएकाले नेवारहरूले यसलाई ‘स्वांयाः पुन्ही’ भनेका हुन् । मौसमअनुसार पनि यस बेला बोटबिरुवामा प्रशस्त फूल फुलेका पनि हुन्छन् र भुइँभरि झरिरहेका पनि हुन्छन् ।

यहाँनेर अझ एउटा महत्त्वपूर्ण कुरा छ । यही दिन बुद्ध संवत् पनि फेरिन्छ । हालको नेपालकै सीमाभित्र जन्मेर विश्व विख्यात हुने व्यक्ति कोही छ भने गौतम बुद्ध मात्रै हुन् । उनी विख्यात मात्र होइनन्, पूज्य नै हुन् । २६०० वर्षअघि जन्मेका उनको दर्शन विश्वमा अझै फैलिँदो छ । नेपालमै जन्मेका एक महान् व्यक्तिको नामबाट चलेको संवत् धेरैवटा देशको राष्ट्रिय संवत् पनि हो । थाइल्यान्ड, श्रीलङ्का, म्यान्मार, लाओस, क्याम्बोडियामा यो पूर्ण रूपमा सरकारी संवत् हो भने मलेसिया, सिङ्गापुर र भियतनामले पनि सरकारी मान्यता प्रदान गरेका छन् । केही वर्षअघिदेखि संयुक्त राष्ट्र सङ्घले यो दिन बिदासहित दिवसको रूपमा मान्न थालिसकेको छ ।

यो अत्यन्त दुःखको कुरा हो, हामी नेपाली नै बुद्ध संवत्बारे अनभिज्ञ छौँ । अहिले बुद्ध संवत् कति पुग्यो भन्ने अधिकांशलाई थाहा हुँदैन । किनभने नेपालका पात्रामा केवल बुद्ध जयन्ती लेखिएको हुन्छ । बुद्ध संवत् लेखिएको हुँदैन । प्रश्न उठ्छ, नेपाली जनता बुद्ध संवत्बारे अनभिज्ञ भएका हुन् वा जानाजानी बनाइएका हुन् ? अन्य देशले हृदय खोलेर राष्ट्रिय संवत् मानेको बुद्ध संवत् बुद्धको आफ्नै देशमा उपेक्षित किन ? के षड्यन्त्र छ ? बुद्ध जन्मेको देश भनेर नथाक्ने नेपालले एक दिन बुद्ध जयन्ती मनाउँदैमा कर्तव्य पूरा भएको हुन्छ र ? प्रामाणिक इतिहाससहितका, निःसन्देह नेपालको भूमिमा उब्जेका संवत्हरू बुद्ध संवत् होस् वा नेपाल संवत् स्विकार्न राज्यलाई यतिविधि गाह्रो किन ? यसमा पनि आफूलाई निक्खर राष्ट्रवादी भनाउँदा नै किन पन्छिरहन्छन् ? के तिनको राष्ट्रवाद पाखण्ड मात्र हो ?

यस्तै विडम्बनाको कुरा देखेर दक्षिण एसियाकै महान् कवि अल्लामा इकबाल कवितामा व्यक्त गर्छन्—

शमा–ए–गौतम जल रही है महफिले अग्यार में

अर्थात् गौतम बुद्धको ज्योति बलिरहेछ परदेशको महफिलमा ।

साँच्चिकै पनि बीसौँ शताब्दीका धेरै नेपाली र भारतीय विद्वानहरूले श्रीलङ्का, थाइल्यान्ड, तिब्बत आदि बौद्ध देश घुमेपछि मात्रै बुद्धको महिमा बुझ्न सकेको बताएका छन् । अहिले त बुद्ध धर्म पश्चिमा देशमा बढी लोकप्रिय छ । ती गहकिलो अध्ययन पनि गर्छन् र निष्ठापूर्वक साधना पनि गर्छन् । बुद्ध धर्म अझ अफ्रिकी देशमा समेत फैलिँदै गएको छ । उनीहरूले साधना गर्ने बुद्ध धर्मलाई आफ्नै स्थितिसित जोडेर ‘ब्लाक बुद्धिज्म’ भनेका छन् ।

हालै हाम्रो गुठीको पूजाका लागि नयाँ सडकस्थित महाकालको मन्दिरमा गएका थियौँ । त्यहाँ एक समूह गोरागोरीहरू उभेर स्त्रोत पाठ गरिरहेका थिए । अचम्म लागेर तिनलाई सोद्धा तिनले बौद्ध धर्मको अभ्यास गरिरहेको बताए । महाँकाल देउता तिब्बतबाट आएका थिए र उनी बौद्ध धर्मका धर्मपाल हुन् ।

बुद्ध धर्ममा वैज्ञानिकहरूको आकर्षण  

वैज्ञानिक अल्बर्ट आइन्स्टाइन भन्छन्, ‘यदि आधुनिक विज्ञानसित सम्बन्ध निभाउन सक्ने कुनै धर्म छ भने त्यो बुद्ध धर्म नै हुन्छ ।’ (क्ष तजभचभ ष्क बलथ चभष्निष्यल तजबत धयगमि अयउभ धष्तज mयमभचल कअष्भलतषष्अ लभभमक ष्त धयगमि दभ द्यगममजष्कm।० आइन्स्टाइनले उहिले भनेको कुरा अहिले झनै प्रमाणित हुँदै आइरहेको छ । अहिले पश्चिमा वैज्ञानिकहरूको अध्ययनको केन्द्र बनेको छ, बुद्धले सिकाएको– माइन्डफुलनेस । अहिले संसारैभरि माइन्डफुलनेसको लोकप्रियता दिनानुदिन बढ्दै गइरहेको छ । यसको प्रयोग पहिला मानसिक स्वास्थ्यका लागि भयो भने पछि चिकित्सा, शिक्षा, व्यवस्थापन, खेलकुद आदि विभिन्न संस्था र क्षेत्रमा फैलिरहेको छ । 

हालको नेपालकै सीमाभित्र जन्मेर विश्व विख्यात हुने व्यक्ति कोही छ भने गौतम बुद्ध मात्रै हुन् । उनी विख्यात मात्र होइनन्, पूज्य नै हुन् । २६०० वर्षअघि जन्मेका उनको दर्शन विश्वमा अझै फैलिँदो छ ।

अब जानौँ यो माइन्डफुलनेस के हो ? माइन्डफुलनेस ‘स्मृति’ शब्दको अनुवाद हो । बुद्धको अष्टाङ्ग मार्गको सातौँ अङ्ग हो, सम्यक स्मृति । हामी साधारणतया पुराना कुरा सम्झनु (मेमोरी)लाई स्मृति भनेर बुझ्छौँ । शब्दकोशमा पनि यही अर्थ लाग्छ । तर ‘सम्यक स्मृति’मा स्मृतिको अर्थ वर्तमानमा होशपूर्वक रहनु भन्ने हुन्छ । अष्टाङ्ग मार्गमा सम्यक स्मृतिपछि सम्यक समाधि आउँछ । यसको अर्थ हो सम्यक स्मृतिबाट सम्यक समाधि लाभ हुन्छ । अझ बुद्धले स्मृतिलाई समाधि प्राप्तिको एक मात्र बाटो (एकायनो मग्गो) भनेका छन् । ‘एक मात्र’ भन्दा यो सङ्कुचित विचारजस्तो पनि देखिन्छ । तर होइन, सम्यक स्मृतिको अभ्यास धेरै तरिकाबाट गर्न सकिन्छ । स्मृतिका अभ्यासबारे सतिपट्ठान सूत्रमा विस्तारमा उल्लेख छ ।

निश्चय पनि बुद्धले भिक्षुहरूलाई समाधिकै लागि स्मृतिको अभ्यास प्रस्तुत गरेका थिए । यसैअनुसार साधकहरूले यसलाई अभ्यास गर्दै आएको हुन् । तर बीसौँ शताब्दीको उत्तराद्र्धतिर जब पश्चिममा विपश्यनाको अभ्यास फैलियो, तब जो वैज्ञानिक अनुसन्धाता ध्यान शिविरमा आए, तिनले यसलाई वैज्ञानिक परीक्षणमा लगे ।

पश्चिमा दिमाग भनेको वस्तुगत खोज, अनुसन्धान, विश्लेषण गर्ने खालको हो । तिनीहरू आफ्नै भए पनि आन्तरिक अनुभवमा मात्र विश्वास गर्दैनन् । किनभने अनुभवहरू त भ्रमात्मक पनि हुन सक्छन् । हरेक कुरालाई वैज्ञानिक विधिले जाँचेर हेर्ने तिनको प्रवृत्ति हो । परीक्षणमा नउत्रे आफ्नै अनुभवमाथि पनि सन्देह गर्छन् ।

त्यसैले पश्चिमले यी ध्यान विधिहरूको प्रभावकारिताको वैज्ञानिक परीक्षण गरे । तिनमा पहिलो नाम आउँछ, जोन कबट जिन । पेसाले उनी चिकित्साशास्त्रका प्रोफेसर थिए । एकपल्ट उनी जेन गुरू टेक नाट हान ९त्जष्अज ल्जबत ज्बलज० को ध्यान शिविरमा पुगे । त्यसपछि उनलाई विपश्यना ध्यानमा रुचि बढ्न थाल्यो । आफ्ना लागि त निक्कै जँच्यो । साथै उनलाई यसको प्रभावकारिता अनुसन्धानबाट जाँच्न मन लाग्यो । उनले विपश्यना ध्यानमाथि लामो वैज्ञानिक परीक्षण थाले । यसबाट अत्यन्तै सकारात्मक नतिजा प्राप्त भएपछि उनले यसलाई स्वास्थ्य उपचारमा प्रयोग गरे । उनले ‘माइन्डफुलनेस बेस्ड स्ट्रेस रिडक्सन’ ९ःद्यक्च्० प्रोग्राम बनाए जुन अहिले विश्वभरि लोकप्रिय छ ।

त्यसपछि धेरै वैज्ञानिकहरूले आआफ्नो क्षेत्रमा विपश्यनाको प्रभावकारिताको प्रयोग परीक्षण गर्न थाले । अहिले मनोवैज्ञानिक उपचारमा यसको व्यापक प्रयोग गरिन्छ । साथै शिक्षा, व्यवस्थापन र खेलकुदमा यसको प्रयोग दिनानुदिन बढ्दो छ । पश्चिममा यतिविघ्न लोकप्रिय भइसक्दा हाम्रो देशमा भने ध्यान शिविर केही दिनबाहेक जीवनका व्यावहारिक पेसागत आयामहरू विपश्यनाको प्रयोग खासै हुन सकेको छैन ।

हामीलाई लाग्छ सक्छ, समाधि वा आध्यात्मिक मुक्तिका लागि बनाइएका ध्यान विधि कसरी व्यावहारिक जीवनमा उपयोगी हुनसक्छ । बुद्ध धर्मको मुख्य लक्ष्य आध्यात्मिक मुक्ति नै भए पनि यसले भौतिक जगतको यथार्थलाई नकार्दैन । बौद्ध दर्शनले दुई किसिमका सत्य मान्छ– संवृति सत्य र परमार्थ सत्य । संवृति सत्य भनेको भौतिक वा सामाजिक सत्य हो । साधारणजन त के, मुक्त भइसकेका व्यक्ति पनि बाँचुन्जेल संवृति सत्यअनुसार चल्नुपर्ने हुन्छ । जुन समाजमा बस्यो, त्यही समाज अनुरूप व्यवहार गर्नुपर्ने हुन्छ । माथि संवत्को सन्दर्भमा गरिएको चर्चा पनि संवृति वा व्यावहारिक सत्यको हिसाबले उल्लेख गरिएको हो । आध्यात्मिक दृष्टिमा यस्ता कुनै कुराले केही महत्त्व राख्दैन ।

बुद्धकै जीवन हेर्ने हो भने पनि बुद्धले दरबार, परिवार त्यागेर साधनामा लागे तर बुद्धत्व प्राप्तिपछि भने अध्यात्मको मात्र प्रचार गरेनन्, समाजमा भएका असङ्गतिविरुद्ध अथक सङ्घर्ष पनि गरे । यद्यपि त्यो सङ्घर्ष अहिंसात्मक र भद्र थियो तर परिवर्तनकारी थियो । शत्रुलाई भित्री मनबाटै रूपान्तरण गरेर आफ्नो पक्षमा ल्याउने खालको थियो । परिवर्तनको अभियानमा पश्चिमा शैली नै सबथोक ठान्ने अहिलेका अभियन्ताहरूले बुद्धको शैली अध्ययन गर्नु जरुरी छ ।

बौद्ध धर्मले भौतिक जगत्को सत्यतालाई पनि नकार्दैन । यसलाई सापेक्ष सत्य मान्छ । प्रतित्यसमुत्पादको दर्शनअनुसार परस्पर सम्बन्धित भई निर्माण भएको संयोजन । निर्वाणको दृष्टिबाट शून्यता सत्य हो भने प्रतित्यसमुत्पादको दृष्टिबाट संसार सत्य । वास्तवमा बौद्ध दर्शनले भौतिकवाद र अध्यात्मवादलाई पनि मध्यम मार्गको दृष्टिले हेर्छ । त्यसैले कतिले यसलाई आध्यात्मिक भौतिकवाद भन्छन् । यसैलाई बुझेर नै आइन्सटाइनले बुद्ध धर्मको विज्ञान सम्मतताको विषयमा बोलेको हुनुपर्छ ।

वास्तवमा बुद्ध ‘लोकको आलोक’ हो । उनी जन्मेको स्थान वर्तमान नेपालको सीमाभित्र पर्नु हाम्रो अहोभाग्य हो । यसै कारण नेपाल धन्य भएको छ । बुद्ध पूर्णिमाको पावन अवसर बुद्धलाई बुझ्न र बुद्धले देखाएको बाटोमा हिँड्न प्रेरणा लिनमा उपयोग होस् । यसै सन्दर्भमा बुद्धलाई नेपालसँग जोडिएर लेखेको एउटा गीत प्रस्तुत गर्न चाहन्छु–

लोकको आलोक

लुम्बिनीको वनमा जन्म्यो

एउटा राजकुमार

ज्ञानले नै पा¥यो उसले 

उज्ज्वल यो संसार

उसकै कारण धन्य छ

विश्वसामु नेपाल

धन्य धन्य नेपाल

 

सबै अर्थ सिद्ध गर्ने 

त्यो सिद्धार्थ कुमार

सत्य निम्ति त्याग्छ उसले

राज्य र दरबार

मार्ग मध्यम पहिल्याई

खोल्छ ज्ञानको द्वार

उसकै कारण धन्य छ

विश्वसामु नेपाल

धन्य धन्य नेपाल

 

युग बितिसक्यो उसको

परिनिर्वाण भा’को

फैलिँदो छ अझै पनि

बोधिज्ञान उज्यालो

लोकको आलोक त्यो

शान्तिको अनुनाद

उसकै कारण धन्य छ

विश्वसामु नेपाल ।

(लेखकले बाल्यकालमा पाँच वर्ष बौद्ध श्रमणक भई थाइल्यान्डमा बौद्ध धर्म अध्ययन गरेका थिए । विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा काम गरिसकेका उनी हाल लिडरसिपका प्रशिक्षक र मनोविमर्शकर्ता हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

आर‍. मानन्धर
आर‍. मानन्धर
लेखकबाट थप