शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

जसपाका कारण मधेस प्रदेश सरकार पूर्णतामा ढिलाइ

मङ्गलबार, २६ वैशाख २०८०, १३ : ५९
मङ्गलबार, २६ वैशाख २०८०

धनुषा । मधेस प्रदेश सरकारको विषयमा छलफल गर्ने जिम्मेवारी पाएका नेपाल कांग्रेस, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीबीच छलफल हुन सकिरहेको छैन । मधेस सरकारलाई पूर्णता दिनका सत्ता गठबन्धनले कांग्रेस, जसपा र लोसपालाई जिम्मेवारी दिएको थियो । मधेस सरकारबारे टुंगो लगाउन सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाए पनि जसपा अध्यक्ष उपेन्द्र यादव अनुपस्थित भएको कारण छलफल नै भएन ।

त्यही विषयमा छलफलका लागि आज पनि बैठक बोलाउने तयारी गरिएको थियो तर यादवले समय नदिएपछि आज पनि बैठक नै नबस्ने सम्भावना रहेको लोसपाका एक नेताले बताए । मधेस प्रदेश सरकारको नेतृत्व जसपाले गरिरहेको छ । त्यो सरकारमा अन्य दलहरूलाई सहभागी गराउने विषयमा जसपाले निर्णय गर्नुपर्ने हो तर जसपा नै बैठकमा अनुपस्थित भएपछि कुनै प्रक्रिया अघि बढ्न सकेको छैन ।

सोमबार बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र लोसपाका अध्यक्ष महन्थ ठाकुर बीच छलफल हुने तय भएको थियो । प्रधानमन्त्री प्रचण्डले यसमा मुख्य सरोकार भएको पार्टी जसपा भएको तर सोही पार्टी अनुपस्थित भएपछि बैठकको कुनै अर्थ नरहने भन्दै अर्को दिन बैठक बसेर त्यसलाई टुङ्ग्याउन आग्रह गरेका थिए ।

तर आज पनि बैठक बस्ने कि नबस्ने विषयमा अझै टुंगो छैन । जसपाका एक कार्यकारिणी सदस्यले भने, ‘हामीलाई मधेस प्रदेशको सरकार परिवर्तन गर्न कुनै हतार छैन, पार्टीमा छलफल गरेर मात्र त्यसको बारेमा कुनै निर्णय लिन्छौँ ।’

जसपा नेपालको कार्यकारिणी समितिको बैठक भोलिदेखि बस्दैछ । सो बैठकमा मधेस सरकारको बारेमा छलफल हुनेछ । त्यसपछि मात्र मधेस सरकारको बारेमा गठबन्धनमा छलफल हुने ती नेताले बताए ।

जसपाले मधेस प्रदेश सरकारमा जनमतलाई राख्न चाहेको छैन । जनमतबाहेक कांग्रेस, माओवादी, लोसपा, नेकपा (एस)सहितको संयुक्त सरकार बनाउने पक्षमा जसपा रहेको छ । तर प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीलाई पनि सरकारमा राखिराख्नुपर्ने भने पछि जसपाका अध्यक्ष यादवको चित बुझेको छैन । प्रधानमन्त्री प्रचण्डले जनमतलाई नेतृत्व नदिए पनि सरकारमा राखी राख्नुपर्ने भन्दै आएका छन् । जनमतलाई मधेस प्रदेश सरकारबाट बाहिर निकाल्यो भने यता केन्द्र सरकारबाट पनि समर्थन फिर्ता लिन सक्ने भएकाले त्यहाँको सरकारमा सहभागी गराइराख्ने प्रधानमन्त्री प्रचण्डको चाहना रहेको छ । मधेस प्रदेश सरकारको नेतृत्वका लागि कांग्रेस, लोसपा र जनमतले दाबी गरिरहेका छन् ।

तर जसपाबाट मधेस सरकारमा अर्थमन्त्री रहेका सञ्जय यादवले जनमत पार्टीले मधेस सरकारमा भाँडभैलो मच्चाएको दाबी गरे । सरकारमा रहे पनि जनमत पार्टीका मन्त्रीहरूले कुनै समन्वय नगरेको बताउँदै उनले उनीहरूलाई सरकारमा राख्ने कि नराख्ने बारेमा आफ्नो पार्टीले चाँडै निर्णय गर्न लागेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप