शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
भेडा पालन व्यवसाय

तराईमा भेडाको ऊन र दूध बिक्री हुँदैन, पहाडमा भने मालामाल

मङ्गलबार, ०२ जेठ २०८०, ११ : ०९
मङ्गलबार, ०२ जेठ २०८०

विराटनगर । सुनसरी देवानगञ्जका किसान कपुरी पाल दशकौँदेखि भेडा नै चराइरहेका छन् । उनका बुबा र हजुरबुबा पनि भेडा नै पाल्थे । उनको गोठमा ७ सय भेडा छन् । ‘पढाइलेखाइ छैन । मलाई याद भएदेखि म भेडीगोठमै छु । अहिले ७ सय भेडा छन्,’ पाल भन्छन् ।

तर, पाललाई ऊन बिक्री नहुँदा घाटा भइरहेको छ । ‘ऊन यहाँ बिक्री हुँदैन । पहिले घरमा आमाले राडी बनाउनु हुन्थ्यो । तर, अहिले कसैले बनाउँदैन,’ पालले भने, ‘ऊनबाट राडी बनाएर बिक्री हुँदा धेरै फाइदा हुन्थ्यो ।’

ऊन १ नम्बर राम्रो रहेको उनको दाबी छ । ‘यहाँ यसको व्यवस्थापन कसरी गर्नु ? ऊन त काटेर फाल्छौँ,’ उनी भन्छन् । राडी बनाउँदा महँगो पर्ने तर, सस्तोमा ब्लाङ्केटहरु आउने हुँदा ऊन फाल्नु परेको उनी सुनाउँछन् ।

‘एउटा राडी बनाउन ८ जना मान्छे लाग्छ । अब सस्तोमा ब्लाङ्केट आएको छ । २ हजार ३ हजारमा ब्लाङ्केट आउँछ । तर, राडीलाई ५ हजार रुपैयाँभन्दा माथि पर्छ,’ पालले भने ।

Veda 4

भेडा बिक्रीमा भने उनलाई समस्या छैन । भारतबाट १०–१२ हजार प्रतिगोटाका दरले भेडा किन्न मानिस आउँछन् । ‘एकै दिनमा ५ सय वटासम्म भेडा लिन भारतबाट आउँछन् । भर्खरै ७५ वटा भेडा बिक्री गरेँ,’ उनले सुनाए, ‘नेपालमा भने भेडा खासै बिक्री हुँदैन ।’

पाललाई भेडाका लागि चरण क्षेत्रको अभाव छ । ‘नेपालमा धेरै चराउन ठाउँ छैन । भारतमै लानुपर्छ चराउन पनि । भारतमै अहिले ५ सयभन्दा बढी भेडा चराइरहेका छौं,’ उनले भने ।

सुनसरीको देवानगञ्जमा मात्रै ८० जना किसानले भेडापालन गरेका छन् । उनीहरुसँग ५ हजारभन्दा बढी भेडा रहेको गाउँपालिकाका पशुसेवा शाखा अधिकृत हरिनारायण मेहता बताउँछन् ।

तर, पालको जस्तै सबै किसानलाई एउटै समस्या छ । भेडाको ऊन र दूध बिक्री हुँदैन । भेडी गोठ जहाँ पुग्यो, त्यहाँ दूध दुहुन्छन् र आफैँ खान्छन् । ऊन जहाँ काट्यो, त्यहीँ फालेर उनीहरु हिँड्छन् ।

‘देवानगञ्जको १, ३ र ५ नम्बर वडामा ७० देखि ८० जना किसानले ५ हजारको संख्यामा भेडा पालन गरेका छन्,’ मेहता भन्छन्, ‘ऊन र भेडाको दूधको उचित व्यवस्थापन छैन । मासु काटेर बेच्ने व्यवस्था पनि हुन सकेको छैन । भेडा बिक्री वितरण हुने अवस्था पनि छैन ।’

भेडा पालन किसानको विकासका लागि पालिकाले पनि ध्यान दिन नसकेको र प्रदेशबाट पनि उचित व्यवस्थापन नभएको उनले बताए । एक दशक अगाडिसम्म देवानगञ्जमा दशौंहजार भेडापालन हुन्थ्यो । अहिले घट्दै गएको पालिकाले जनाएको छ ।

भेडापालक किसानलाई प्रोत्साहित गर्न स्थानीय सरकारले आवश्यक नीति र चरन क्षेत्रको व्यवस्था गर्नुपर्ने किसानहरूको माग छ । तर स्थानीय, प्रदेश र संघ कुनै सरकारले पनि यसतर्फ चासो नदेखाएको उनीहरु बताउँछन् ।

Veda 1

पहाडमा राडी उद्योग मालामाल

ओखलढुंगा, रुम्जाटारकी पदमकुमारी गुरुङले १३ वर्षको उमेरदेखि राडी बुन्न थालेकी हुन् । उनले २०७१ सालमा पदम उमा नाममा राडीपाखी उद्योग दर्ता गरेर सञ्चालन गर्दै आएकी छन् । जब युवा पुस्ता वैदेशिक रोजगारीका लागि जाने चलन बढ्यो, राडी बुन्नेको संख्या झनै घट्यो । तब, पदमकुमारीको नेतृत्वमा ‘भेडा विकास समिति’ गठन भयो । यो समितिले भेडापालनको संख्या बढाउनेदेखि ऊन वितरणसमेत गर्दै आएको छ ।

भेडीगोठबाट वर्षको दुई पटक समितिमा ऊन ल्याइन्छ । व्यवसायीले आफ्नो क्षमता अनुसार ऊन लगेर राडी बुन्ने गर्छन् । विगतमा राडीपाखी बनाउनेको संख्या धेरै थियो । विस्तारै यो संख्या घट्दै गएको छ । तर विगतमा ४ देखि ५ धार्नीमात्रै ऊनको राडीपाखी बनाउँदै आएकाले अहिले एक सयभन्दा बढी धार्नी ऊन खपत गर्न थालेकाले राडीपाखीको उत्पादनमा भने वृद्धि भइरहेको गुरुङको दाबी छ ।

त्यसयता ओखलढुंगामा बिस्तारै भेडाको संख्या पनि वृद्धि भइरहेको छ । भेडा विकास समितिमा आवद्ध भएका उद्यमीहरुको ९ हजार भेडा छन् । पदमकुमारीकै गोठमा एक हजार भेडा छन् । उनको गोठबाट वार्षिक एक हजार धार्नी ऊन उत्पादन हुन्छ ।

Veda 2

वार्षिक तीन सय थान राडीपाखी बनाएर विक्री गर्दै आएको उनले बताइन् । उनको उद्योगमा बनेका राडी प्रतिगोटा आकार र गुण अनुसार २५ सयदेखि ३० हजार सम्ममा बिक्री हुने गरेको छ । ऊन प्रतिधार्नी ५ सय रुपैयाँमा खरिदबिक्री हुने गरेको छ । ऊनबाट डबल राडी, चारपाटे राडी, सिङ्गल राडी, घुमराडी, चकटी, अबरा उत्पादन हुन्छ ।

ओखलढुंगामा भेडाको संख्यामा वृद्धि भए पनि समग्र प्रदेशको तथ्याङ्कलाई हेर्ने हो भने भेडाको संख्या बर्सेनि ५ देखि ७ प्रतिशतसम्म घट्दै गइरहेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशले जनाएको छ ।

Veda 3

निर्देशनालयको तथ्याङ्क अनुसार प्रदेशमा भेडाको संख्या ६० हजार छ । अधिकांश वन अहिले सामुदायिक वनमा रूपान्तरित भएपछि भेडा चराउन नदिने समस्या छ । जसले गर्दा भेडीगोठहरू घट्दै गएको उदयपुर गाईघाटका भेडापालक किसान धनबहादुर मगरले बताए ।

यहाँका भेडीगोठ वर्षामा सोलुखुम्बुको दूधकुण्डदेखि हिउँदमा उदयपुर र सिन्धुलीको माथिल्लो भेगसम्म लाने गरिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप