आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

‘इ–कुकिङ’ लाई झ्याप–झ्याप लाइन जाने चुनौती

शनिबार, ०६ जेठ २०८०, १६ : ०५
शनिबार, ०६ जेठ २०८०

पोखरा । केन्द्र सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत ‘एलपी ग्यास छोडौँ, बिजुली जाडौँ’ अभियानको घोषणा गर्‍यो । बजेटमार्फत इन्डक्सन र इन्फ्रारेड चुल्होको भन्सार दर १ प्रतिशतमा झार्‍यो । तर, पनि नेपाली भान्सामा विद्युतीयको चुलोको सट्टा एलपी ग्यासकै प्रयोग हुन्छ । कारण हो– झ्याप–झ्याप लाइन जाने समस्या ! 

लोडसेडिङ अन्त्यको घोषणा भए पनि झ्याप–झ्याप लाइन जाँदा भान्सामा मात्र होइन, व्यापार व्यवसाय गर्नेहरू पनि आजित छन् । एक दिनमै पटक पटक बिजुली जान थालपछि सर्वसाधारणले सास्ती भोग्नुपरेको छ । कतिपयले घन्टौँसम्म व्यापार व्यवसाय नै बन्द गर्नुपर्ने र बिजुलीको विकल्पमा इन्भर्टर सोलार जडान गर्नुपर्ने बाध्यता छ । 
यसकारण पनि होला गण्डकी प्रदेशमा इ—कुकिङ गर्ने सङ्ख्या ०.०५ प्रतिशत मात्र छ । सरकारले इ–कुकिङ गर्ने घरधुरीको सङ्ख्या २५ प्रतिशत पुर्‍याउने लक्ष्य लिए पनि बत्ती जाने समस्याले वृद्धि हुन नसकेको सरोकारवाला निकायहरू नै बताउँछन् । 

फलेबास नगरपालिकाकी उपमेयर शोभा क्षेत्रीले लोडसेडिङको समस्या देखिरहने हुँदा इ–कुकिङलाई प्रवर्द्धन गर्न कठिन भएको बताइन् । ‘पालिकासँग आफ्नो इलोक्ट्रोनिक हेर्ने प्राविधिक छैनन् । प्राधिकरणसँगै भर पर्नुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘कहिले काहीँ ३र४ दिन नै बत्ती आउँदैन । मर्मत गर्न पनि कठिन हुन्छ ।’ लाइन बिग्रिएको लामो समयसम्म मर्मत नहुँदा उपभोक्ताले ढुक्क भएर इलेक्ट्रोनिक उपकरणहरू खरिद गर्न नसकेको उनले सुनाइन् । 

प्राधिकरणले नेपालमा लोडसेडिङको सेडुल छैन भन्छ । तर, बारम्बार बिजुली जाने समस्यालाई नेपालीहरूले ‘लोडसेडिङ नै भनेर बुझ्छन् ।  ‘लामो समयसम्म बिजुली आउने जाने हुँदा इ–कुकिङ गर्न उपभोक्ता अगाडि बढ्न सक्दैनन् भोल्टेज पनि पुग्दैन भनेर गुनासो आइरहन्छ । सम्बन्धित निकायले यसतर्फ ध्यान पुर्‍याउनुपर्छ,’  उपमेयर क्षेत्रीले भनिन् । 

शुक्रबार पोखरामा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको आयोजनामा गण्डकी प्रदेशमा इन्टरनेट कुकिङलाई कसरी विकास गर्न भनेर प्यानल डिस्कसमा भएको थियो । कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका इन्जिनियर जगदीश जोशीले प्रदेशमा टान्सफर्मरको कमी हुँदा यस्तो परिस्थिति आएको बताए । ‘लोड धान्न नसक्दा ट्रान्सफर्मर बेलाबेला जान्छ । अहिले हामीहरू गण्डकीमा ट्रान्सफर्मर थप्दैछौँ । कास्कीको लाहाचोकदेखि तनहुँ नवलपुरमा ट्रान्सफर्मर थपिँदै छन्,’ जोशीले भने । 

कूल विद्युत् उत्पादनको करिब ३० प्रतिशत गण्डकीबाटै हुने उनले बताए । ‘विद्युत् उत्पादनको ठुलो हिस्सा गण्डकीमै छ । यहाँ लोडसेडिङ हुने अवस्था आउँदैन । जति सक्दो बढी खपत बढाउनुपर्छ,’ उनले भने । विद्युत् प्राधिकरणले लाइन जाने समस्यालाई समाधान गर्नतर्फ रणनीति बनाइरहेको उनले जोड दिए ।  गण्डकी प्रदेशका ऊर्जा मन्त्रालय डाक्टर सन्तोष कैनीले प्रदेशमा ९९।५ प्रतिशत क्षेत्रमै विद्युत्को पहुँच पुगेको बताए । उनले गण्डकी प्रदेश विद्युत् जलविद्युतबाट मात्र नभएर हावाबाट पनि विद्युत् उत्पादन भएको सुनाए । विद्युत् उत्पादन बढेसँग इ–कुकिङको धरधुरी पनि बढ्ने उनको भनाइ छ । 

अजम्बरी विकास फाउण्डेसनका म्यानेजिङ डाइरेक्टर सुवर्ण कपाली पनि आफूहरूले ऊर्जाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएकाले यसलाई अझ व्यवस्थित गर्दै लैजानुपर्ने बताए । ऊर्जाको क्षेत्रमा सरकारले गम्भीर भएर लाग्नुपर्ने उनको भनाइ छ ।  प्यानल डिस्कसनमा हिमायती नेपालकी आरती श्रेष्ठले एलपिजी ग्यासको विद्युतीय चुलो आधा सस्तो पर्ने बताइन् । ग्यासभन्दा विद्युतीय चुल्होमा खाना पकाउँदा ६० प्रतिशतसम्म सस्तो पर्छ । पाँच जनाको परिवारमा विद्युतीय चुल्होमा दाल, भात र चिकेन ग्रेभी पकाउँदाको लागत एलपी ग्यासभन्दा ३० देखि ६० प्रतिशत सस्तो पर्ने अध्ययनले देखाए उनले बताइन् ।  

परम्परागत प्रविधि वा ग्यास प्रयोग गर्दै आएका गृहिणीलाई एकैपटक विद्युतीय चुल्होमा अभ्यस्त गराउन पनि चुनौती रहेको उनले सुनाइन् । नेपाली भान्सामा इ–कुकिङअन्तर्गत वाटर हिटर, राइसकुकर, व्वाइलरलगायतका प्रविधि उपयोग विगतदेखि हुँदै आएको भए पनि ढुक्क भएर काम गर्ने वातावरण विद्युत् प्राधिकरण र नेपाल सरकारले गर्नुपर्ने उनको भनाइ छ ।  पोखरामा सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघका अध्यक्ष नारायण ज्ञवालीले नेपालमा विद्युतीय सामग्रीको अनुदानमा टाठा बाठाहरूको मात्र पहुँच पुगेको बताए । सरकारले अनुदान हटाएर भन्सारमा छुट दिनुपर्ने उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सञ्जय रानाभाट
सञ्जय रानाभाट
लेखकबाट थप