आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
उखु किसानका पीडा–सरकारी निकाय एकअर्कालाई देखाउँदै पन्छिँदै, तस्बिरहरु
गुलियो उखुको तीतो दुःख

उखु किसानका पीडा–सरकारी निकाय एकअर्कालाई देखाउँदै पन्छिँदै, तस्बिरहरु

शुक्रबार, १२ जेठ २०८०

काठमाडौँ । आफ्नो पीडा लिएर कपिलवस्तुबाट काठमाडौँ आएका उखु किसानलाई सरकारी निकाय एकले अर्कोलाई देखाउँदै झन् पीडा थपिरहेका छन् । आफ्नो पीडा लिएर कपिलवस्तुबाट काठमाडौँ आएका उनीहरू माइतीघरमा धर्नामा बसेका छन् । 

उनीहरू आफ्नो पीडा सुनाउन सिंहदरबारस्थित मन्त्रालयमा पनि जाने गरेका छन् । तर एक मन्त्रालयले अर्को मन्त्रालय देखाएर पन्छिन थालेका छन् । 

कपिलवस्तु मजदुर संघ तथा उखु किसान संघर्ष समितिका अध्यक्ष अनुप कुमार चौधरीले आफूहरू कृषि मन्त्रालय जाँदा, उद्योग मन्त्रालय पठाउने गरेको, उद्योग मन्त्रालयबाट अर्थ मन्त्रालयमा पठाउने गरेको बताए । तर अर्थले पनि कृषिमै पठाउने गरेको उनले सुनाए । 

चौधरीसहित ३१ जनाको टोली जेठ १ गते काठमाडौँ आएको थियो । यतिका दिन मन्त्रालय धाएर मात्रै बितेको माइतीघरमा भेटिएका उनले सुनाए । 

गौशालामा बस्दै आएका चौधरी धर्ना दिन भने माइतीघरमा आउने गरेका छन् ।  उनले भने, ‘हामी काठमाडौँ आएर आन्दोलन गरेको १२ दिन भयो । बस्न खान खर्च बढेको छ, काम गर्न निस्किँदा एउटा मन्त्रालयदेखि अर्को मन्त्रालय धाउँदै दिन बित्छ । हाम्रो पीडा कसले सुनिदिने ? सरकार नजिकै छ भनेर प्रदेश सरकारमा जाँदा कुरा नसुनिएपछि राजधानी आएर पनि त्यस्तै छ ।’ 

यसअघि सरकारले उखु किसानलाई अनुदान दिने निर्णय गरेको थियो । तर उक्त रकम अहिलेसम्म पनि नपाएको किसानहरूले बताएका छन् । उनीहरुले उक्त अनुदान ब्याजसहित दिनुपर्ने माग राखेका छन् । यस्तै उनीहरुले सरकारले तोकेको उखुको मूल्यभन्दा चिनी मिलले कम दिने भएकाले काटिएको रकम पनि उपलब्ध गराउन र ट्याक्टर खरिद गर्दा सहुलियत दरमा भन्सार छुट दिनपनि माग राखेका छन् । उनीहरुले सरकारले आफूहरुका माग सम्बोधन नगरेसम्म घर नजाने अडान राखेका छन् ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया