शुक्रबार, २८ असार २०८१
ताजा लोकप्रिय
जानकारी

रक्तदानसम्बन्धी केही तथ्य र भ्रम

बिहीबार, १८ जेठ २०८०, १० : ५०
बिहीबार, १८ जेठ २०८०

रगत हाम्रो शरीरको महत्त्वपूर्ण पदार्थ हो । रगतको मात्रामा थोरै कमी आए पनि हामी बाँच्न सक्दैनौँ । एक वयस्क स्वस्थ व्यक्तिको शरीरमा करिब ५–६ लिटरसम्म रगत हुन्छ । यसको मात्रा उमेर अनुसार फरक हुन्छ । हाम्रो शरीरमा भएको रगतको मात्रामा २० प्रतिशत मात्र कमी आयो वा एक लिटर मात्र पनि रगत कारणवश खेर गयो भने हामी बेहोस हुन्छौँ र हाम्रो शरीरले पर्याप्त काम गर्न सक्दैन र मर्न सक्छौँ । रगत नै हाम्रो सम्पूर्ण शरीरलाई जोड्ने तन्तु हो । रगतबाट नै हाम्रो सारा शरीरका कोष, तन्तु, अङ्ग तथा प्रणालीहरू जोडिएका हुन्छन् । शरीरका सबै कोष, तन्तु, अङ्ग तथा प्रणालीहरूलाई बाँच्नका लागि खाद्य पदार्थ तथा अक्सिजन चाहिन्छ, जसको आपूर्ति रगतले गर्छ भने ती अङ्गबाट उत्पादन हुने अनावश्यक विकार पदार्थहरू शरीरबाट बाहिर फ्याँक्नसमेत रगत नै चाहिन्छ । रगतमा हुने हेमोग्लोबिन तत्त्वले अक्सिजन ग्रहण गर्दछ र शरीरका सबै भागमा अक्सिजन पु¥याउँछ । 

रगतले नै हाम्रो शरीरभर सञ्चारको कामसमेत गरेको हुन्छ । यसका साथै अर्को महत्त्वपूर्ण काम भनेको रगतमा रहेका सेता रक्तकणहरू हाम्रो शरीरका लागि सुरक्षा कवच हुन् । यी रगतले हाम्रो शरीरमा कुनै बाहिरी हानिकारक किटाणुहरू प्रवेश गरेमा त्यसलाई नष्ट गर्ने काम गर्छन् । त्यस्तै शरीरमा सामान्य चोटपटक लाग्दा पनि रक्तश्राव हुनेगर्छ । यसरी हुने रक्तश्राव रोक्ने पनि रगतमै हुने प्लेटलेटले गर्दछ । यसरी रगतमा ४५ प्रतिशत रक्तकणसहित ठोस पदार्थ र बाँकी ५५ प्रतिशत पानी (प्लाज्मा) रहेको हुन्छ । यो हाम्रो शरीरलाई निरन्तर क्रियाशील बनाउने, सबै अङ्ग, तन्तु, कोषहरू आदिलाई बचाउने र पूर्ण सुरक्षित गराउने महत्त्वपूर्ण तत्त्व हो । 

हाम्रो शरीरमा रगत बन्ने क्रम गर्भावस्थादेखि नै सुरु हुन्छ । गर्भावस्थामा छँदा फियोले रगत बनाउँछ भनेपछि लामो हाडभित्र हुने मासीबाट रगतको उत्पादन हुन्छ । जुन जीवनभर शरीरले बनाइराखेको हुन्छ । रगत एक पटक बनेपछि निश्चित दिनपछि मर्न थाल्छ । रगत मर्ने क्रम र बन्ने क्रम पनि निरन्तर शरीरमा भइरहेको हुन्छ । 

कहिलेकाहीँ रगत अत्यधिक मर्न थाल्यो भने रगतको कमी हुन्छ र जन्डिस रोगसमेत देखापर्न सक्छ । प्रत्येक रक्तकणको आफ्नो आयु हुन्छ । जस्तैः रातो रक्तकण १०० देखि १२० दिनसम्म बाँच्छ र मर्छ । यसैगरी सेतो रक्तकण १३ देखि २० दिनसम्म मात्र बाँच्छ भने प्लेटलेट चाहिँ ८ देखि ९ दिनसम्म मात्र बाँच्छन् अनि मर्दछन् । यसरी मरेका रक्तकण फियो तथा कलेजोमा जम्मा हुने र शरीरले बाहिर फ्याँक्ने काम गर्दछ । सबै रक्तकण एकै पटक बन्ने र एकै पटक मर्ने हुँदैनन् । निरन्तर रूपमा बन्ने र मर्ने क्रम जारी रहेको हुन्छ । त्यस कारण हाम्रो शरीरमा रगतको कमी हुँदैन । 

कहिलेकाहीँ औलोरोग, डेङ्गु ज्वरो, सिकल सेल एनिमिया हुँदा शरीरमा रगतको मात्रामा कमी हुन्छ । त्यस्तै हैजा, झाडापखाला लाग्दा, जलेमा, लु लागेमा पनि रगतमा भएको पानीको मात्रामा कमी आउँछ र रगतको मात्रा कम हुनपुग्छ । यसैगरी दुर्घटनामा परेर वा चोटपटक लागेर, महिलाको महिनावारी हुँदा, सुत्केरी हुँदा, गर्भपतन हुँदा, नाथ्री फुट्ने जस्ता घटनाहरूमा रक्तश्राव भएर शरीरमा रगतको मात्रामा कमी आउँछ । शरीरमा यस्ता घटना भएको बखत तुरुन्तै नयाँ अन्य व्यक्तिको रगतले रगतको मात्रा परिपूर्ति गर्न सकिएन भने उक्त बिरामीको तुरुन्तै मृत्यु हुनसक्छ । रक्तदान नै जीवनदान हो भन्ने गरिन्छ । वास्तवमा यो त्यत्तिकै भन्ने गरिएको चाहिँ होइन । यस्तो बेलामा आफ्नै शरीरले रगत उत्पादन गर्ने क्रम त अरू समयमा भन्दा बढी नै हुन्छ तर अत्यधिक मात्रामा रगत कमी भएमा अन्य व्यक्तिकै रगत चाहिन्छ । 

रगतका ४ वटा समूह हुन्छन् र ती ४ वटा समूहका थप २–२ वटा उपसमूह हुन्छन् । कसको कुन समूह वा कुन उपसमूह हो भन्ने कुरा रक्तपरीक्षणबाट पत्ता लाग्छ । सबै व्यक्तिको रगत सबै व्यक्तिका लागि उपयुक्त नहुन सक्छ । समूह र उपसमूह मिलाएर मात्र रगत चढाउने काम गरिन्छ । यसरी समूह मिलाउन सकिएन वा झुक्कियो भने उक्त व्यक्तिको रगतबिच नै लडाइँ भई प्रतिक्रिया उत्पन्न हुन्छ र व्यक्तिको मृत्यु हुन्छ । त्यसकारण आफ्नो रक्त समूह कुन हो भन्ने कुरा पहिल्यै जँचाएर राखेमा अति इमर्जेन्सी अवस्थामा सजिलो र छिटो हुन्छ । रगतका विभिन्न समूहमध्ये अधिकांश व्यक्तिमा (३८ प्रतिशतमा) ओ–पोजिटिभ रगत पाइन्छ । त्यसपछि ए–पोजिटिभ (३४ प्रतिशतमा) रगत पाइन्छ भने सबैभन्दा दुर्लभ रगत एबी–नेगेटिभ रगत जम्मा १ प्रतिशत व्यक्तिमा मात्र पाइन्छ । सबै व्यक्तिलाई मिल्ने ओ–नेगेटिभ रगत पनि ७ प्रतिशतमा मात्र पाइन्छ । यसरी हेर्दा अति दुर्लभ रक्तसमूह हुने व्यक्ति र सबैलाई मिल्ने रगत हुने व्यक्ति निकै महत्त्वपूर्ण रक्तदाताको सूचीमा पइछन् । जुन व्यक्तिहरूले त अरूले भन्दा बढी पटक रगत दिएर धेरै व्यक्तिहरूको ज्यान जोगाउने पुण्य कार्य गर्नुपर्छ ।

रगत कति महत्त्वपूर्ण तत्त्व हो भने यसले कसैको गुम्नै लागेको जीवन पनि बचाइदिन्छ । कहिलेकाहीँ अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा तत्कालै रगत दिन सकिएन भने व्यक्तिको छिट्टै मृत्यु हुन्छ । त्यस्ता व्यक्तिलाई तुरुन्तै रगत दिने व्यवस्था गर्न सकिएको भए अकालमा जाने ज्यान बचाउन सकिन्थ्यो । त्यस कारण कसैलाई पनि कुनैबेला जिन्दगी र मृत्युको यस्तो दोसाँधमा रहेको अवस्था आउन सक्छ, जहाँ रगतको भूमिका अति अतुलनीय रहन्छ । यस्ता व्यक्तिका लागि आफूले मरेर खेर जाने शरीरको रगत दान गर्नु आफैँमा कति पुण्य काम होला हामी कल्पना गर्नसक्छौँ । संसारमा हामीले दिने गरेका विभिन्न दान दातव्यहरूमध्ये रगत नै त्यति महत्त्वपूर्ण दान हो जुन शब्दमा वर्णन गर्न समेत सकिँदैन ।

गाउँघरमा समेत रगतको महत्व बुझेका धेरै मान्छेहरू छन् । उनीहरूलाई अमूल्य रगत दान गर्नुपर्छ भन्नेसमेत हेक्का छ । तर जब रक्तदानको बेला आउँछ त्यतिबेला डराउने, शरीर काम्ने, चिटचिट पसिना छुटाउने गरिन्छ र रक्तदान जस्तो पवित्र कर्मबाट पछि हटिन्छ । यसो हुनुका पछाडि रक्तदानसम्बन्धी केही भ्रमहरू हामीमा रहेका छन् । ती भ्रम केके हुन् र वास्तविकता के हो त भन्ने कुरा हामीले बुझ्यौँ भने पक्कै पनि हामी रक्तदान गर्न हिच्किचाउने छैनौँ । वास्तवमा रक्तदानसम्बन्धी मुख्य भ्रम र तथ्यहरू यस प्रकार छन् ।

रगतको मात्रा घटी कमजोर हुने भ्रम

वास्तवमा १ पिन्ट रगत दान गर्दा रगतमा भएको पानीको मात्रा वा सम्पूर्ण प्लाज्मा पूर्ति हुन २४ घण्टा मात्र लाग्छ । राता रक्तकण पूर्ति हुन ४ देखि ६ हप्ता मात्र लाग्छ भने सम्पूर्ण रगत पूर्ति हुन ८ हप्ता मात्र लाग्छ । त्यसपछि हामी पुनः रक्तदान गर्न योग्य हुन्छौँ तैपनि १२ हप्तासम्मको अधिकतम अवधिमा अर्को पटक रक्तदान गर्न सकिन्छ, कमजोरी भइँदैन ।

रोगी वा मोटा व्यक्तिले रक्तदान गर्नुहुँदैन भन्ने भ्रम 

वास्तवमा रगत बाक्लो हुने, हर्ट अट्याक हुने र रगतको मात्रा बढी हुने व्यक्तिले समेत रक्तदान गर्न हुन्छ । यसबाट त्यस्ता खाले रोगहरूमा कमी आउँछ र आफ्नो जीवनसमेत सुरक्षित हुन पुग्छ । त्यस्तै मोटा व्यक्तिले पनि रक्तदान गर्दा फाइदा हुन्छ किनभने आफूले दिएको रगत पूर्ति हुने समयसम्ममा केही मात्रामा क्यालोरीको समेत खपत हुन्छ र तौल नियन्त्रण हुन सक्छ । तर मोटा व्यक्तिले रक्तदान गरेमा झन मोटाइन्छ भन्नु गलत धारणा हो । 

दिएको रगत मिल्दैन वा त्यत्तिकै खेर फाल्छन् भन्ने भ्रम

हामीले दिएको रगत जुनसुकै समूहको भए पनि त्यो ब्लड बैङ्कमा सुरक्षित साथ तापक्रम व्यवस्थापन गरेर राखिन्छ । तर हामीलाई हेपाटाइटिस, एचआइभी तथा अन्य रगतबाट सर्ने रोग लागेका रहेछन् भने मात्र त्यो रगत खेर जान्छ । अन्यथा हामीले दिएको रगत ४२ दिनसम्म बिग्रिँदैन । यसबाट हामीलाई अर्को फाइदा के छ भने हामीलाई गम्भीर खालको रोग लागेको समेत रक्तपरीक्षण गरिने हुँदा पत्ता लाग्छ ।

रक्तदान गर्दा दुख्छ भन्ने भ्रम 

हामीले सुई देख्दा वा अरूलाई लगाएको देख्दा मात्र दुख्ने अनुभव गर्ने हो । अन्यथा आफूले रक्तदानका लागि सुई लगाउँदा माथिल्लो पाखुराको नदुख्ने रक्तनलीबाट रगत निकालिने भएकाले कुनै दुखाइको अनुभव नै हुँदैन, यो एउटा भ्रम मात्र हो ।

कस्ता व्यक्तिले रक्तदान गर्नु हुँदैन ?

यहाँ हामीले जुनसुकै कुरा लेखिए पनि वास्तवमा निकै कम तौलका कुपोषित, रक्तअल्पता भएका, रगतबाट सर्ने कुनै रोग भएका, उच्च वा अति न्यून रक्तचाप भएका, महिनावारी अवस्थाका, बढी नै रक्तश्राव भइरहेका, जलवियोजन भएका, कम उमेरका व्यक्तिले रक्तदान गर्नु हुँदैन । भर्खरै रोग निको भई आराम गरिरहेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । यीबाहेक सबैले रक्तदान गर्दा हुन्छ, भ्रममा पर्नु पर्दैन ।

रक्तदान गर्न इच्छा भएपछि रक्तदाताले केही नियमको पनि अनुसरण गर्नु उचित हुन्छ । जस्तैः सन्तुलित खाना खाने, खानामा सकभर आइरनयुक्त पदार्थ खाने, अघिल्लो दिन मस्त निदाउने, रक्तदान गर्नु १ घण्टा अगाडि अलि बढी झोलिलो खाना वा पानी खानुपर्छ । जाँड, रक्सी जस्ता धूमपान र मध्यपान गर्नु हुँदैन । रक्तदान गरिसकेपछि कसैलाई हल्का चक्कर लाग्ने, वाकवाक लाग्ने, थकाइ लागे जस्तो हुने लक्षण देखापर्न सक्छन् । यस्तो भए पनि आत्तिनुपर्दैन । रक्तदानपछि केही समय सुतेरै आराम गर्ने, प्रशस्त झोलिलो पदार्थ, सुप वा फलफूल खाने, केही दिन सन्तुलित आहार खाने, २४ घण्टासम्म घाममा नजाने र कडा काम नगर्ने आदि गरेमा केही समयपछि पूर्णरूपमा निको हुन्छ । यसरी कसैको जीवन बचाउन दिइने रगत दिँदा आफूले पनि केही ख्याल गर्नैपर्छ ।

यसै सिलसिलामा हाल रगतको निकै बढी माग भइरहेको हामीले विभिन्न माध्यममा सुन्दै आइरहेका पनि छौँ । अहिले रगतको निकै माग भएको अवस्थामा रक्त सङ्कलन ठूलो मात्रामा गर्नुपर्ने भएकाले रक्त सङ्कलन गर्ने कार्यक्रममा इच्छुक दाता रक्तदान केन्द्रमा वा नेपाल रेडक्रस सोसाइटीद्वारा आयोजना गरिएका रक्त सङ्कलन केन्द्रमा उपस्थित भई रक्तदान गर्नुहुन हार्दिक अपिल पनि गरिएको छ । रगतको महत्त्वलाई बुझेर खेर जाने रगतको दान गरी पुण्य कमाउन अनुरोधसमेत छ । किनभने कसैको जीवन बचाउनुभन्दा ठुलो पुण्य काम अरू के नै हुनसक्छ र ? अतः निर्धक्कका साथ रक्तदान गरौँ, आफू पनि बचौँ र अरूलाई पनि बचाऔँ, पुण्य कर्म गरौँ, पुण्य कमाऔँ । 

कावासोती–८, नवलपुर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरनाथ पाण्डे
नरनाथ पाण्डे
लेखकबाट थप