बिहीबार, १० साउन २०८१
ताजा लोकप्रिय

नेपाली राजनीतिमा पुँजीवादी विचारधाराको प्रभाव

आइतबार, २१ जेठ २०८०, ११ : १७
आइतबार, २१ जेठ २०८०

२०औँ शताब्दीको अन्त्यसम्म विश्वका ६४ भन्दा बढी राष्ट्रहरूमा साम्यवाद कायम थियो । १८७१ को अक्टोबर क्रान्तिपछि निकै प्रभाव जमाएको यो व्यवस्थाले विश्वलाई नयाँ राजनीतिक व्यवस्थामा पुर्‍याएको थियो । तथापि १९औँ शताब्दीदेखि अस्तित्वमा उदाएका उदारवादी विचारधारका प्रतिरूप पुँजीवादी विचारधाराले २१औँ शताब्दीको तेस्रो दशकसम्म विश्वलाई नियन्त्रण गर्ने विचारधाराका रूपमा देखिएको छ । 

मूलतः पुँजीवाद आफैँमा एक छुट्टै विचारधारा होइन । यो त केवल उदारवादी आर्थिक चिन्तन प्रणालीलाई बुझाउने एक शब्द मात्र हो । यसको अर्थ हुन्छ लगानी, मुनाफा पुँजी सञ्चय र पुनः लगानी अधिकार, अर्थतन्त्रले विकास गर्न हरेक मानिसलाई स्वतन्त्रतापूर्वक उद्यमशील हुन अवसर प्राप्त हुनुपर्छ । हरेक मानिसलाई उसको क्षमता, रुचि र लगाव अनुसार पेसा व्यवसाय छनोट र अवलम्बन गर्न पाउनुपर्छ । उद्यमशीलताको प्रेरक तत्त्व आर्थिक लाभ वा मुनाफा हो । यदि लगानीबाट मुनाफा हुँदैन वा पुँजी बन्दैन भने मानिसले त्यस्तो काम कहिल्यै गर्न चाहँदैन वा गर्दैन पनि । यो आर्थिक मानवको प्रमुख गुण हो । आर्थिक मानवले गर्ने प्रत्येक कार्यको प्रतिफल हुनुपर्छ भन्ने मान्यता राख्छ । अझै भन्ने हो भने प्रतिफल वा प्रेरणाबिना मान्छेको भित्री हृदयबाट काम गर्ने जाँगर उत्पन हुँदैन ।

आर्थिक मानव भन्छन्, आर्थिक क्रियाकलापको प्रतिफल मुनाफा नै हो । मुनाफा सुनिश्चित नभएको समाज वा राज्यमा मानिस उद्यमशील हुन प्रेरित हुँदैन । यथार्थमा भन्ने हो भने मुनाफा र प्रतिफलबिनाको समाजले वा व्यक्तिले आर्थिक रूपले प्रगति गर्न सक्दैन । 

मुनाफाको अधिकारले अर्थतन्त्रलाई गतिशील बनाउँछ र मानिसको जीवनस्तरमा सुधार ल्याउँछ । जब व्यक्तिको जीवन र समाजको स्तरमा सुधार हुन थाल्छ तब विकास र समृद्धि विकट हुँदैन । किनभने आर्थिक वृद्धि हुने बित्तिकै जीवनशैलीमा परिवर्तन भइहाल्छ । विकास र समृद्धिको आधार पनि यही हो । लगानी र मुनाफाको ग्यारेन्टी हुने प्रणालीलाई पुँजीवाद भनिन्छ । वैचारिक रूपमा भन्नुपर्दा पुँजीवाद उदारवादी विचारबाट अनुप्रेरित हुन्छ ।

पुँजीवादको बारेमा सङ्क्षिप्त टिप्पणी गरिसकेपछि पुँजीवादको पहिलो पाठशाला मानिने उदारवादका बारेमा पनि थोरै चर्चा गर्नुपर्छ ।

उदारवाद

उदारवादलाई अङ्ग्रेजीमा लिबरालिजम् भनिन्छ । यो ल्याटिन भाषाको लिबरबाट बनेको हो । यसको अर्थ हुन्छ स्वतन्त्र, उदारवादी व्यवस्थाको सार तत्त्व फ्रिडम अर्थात् स्वतन्त्र हो । प्रमुखतः उदारवाद युरोपको धर्मसुधार आन्दोलन र पुनर्जागरण प्रतिफल हो । मूलतः तत्कालीन युरोपको ब्यापारी वर्गको आर्थिक, सामाजिक तथा राजनीतिक आकाङ्क्षाको प्रतिविम्बित गर्नका लागि उदारवादाले एक सशक्त विचारधाराका रूप ग्रहण गर्‍यो । उदारवाद १६औँ १७औँ शताब्दीदेखि नै सक्रिय विचारधारा भए पनि १९ शताब्दीमा मात्र पूर्णरूपमा अस्तित्वमा उदाएको हो । 

मुख्यगरी निरङ्कुश र तानासाही व्यवस्थाको विरोध र व्यवस्थाको अन्त्यपछि उदाएको विचारधारा हो । उदारवादको पनि मुख्य दुई पक्षहरू छन् एक स्वतन्त्र व्यक्ति दुई स्वतन्त्र बजार । अझै भनौँ राजनीतिक र आर्थिक रूपमा स्वतन्त्रता पाउनुपर्छ भन्ने विचारधारा नै उदारवाद हो । 

उदारवादी विचारधारामा राजनीतिक स्वतन्त्रतालाई लोकतन्त्र र आर्थिक स्वतन्त्रतालाई बजार अर्थतन्त्रले व्यक्त गर्दछ । तत्कालीन विद्वान् डेकर हिटरले उदारवादलाई ‘स्वतन्त्राको वास्तविक सार हो भनेका छन् ।’ यद्यपि उदारवादले व्यक्तिलाई ज्यादै स्वतन्त्र बनायो र त्यसले आर्थिक उच्छृङ्खल र असमता निर्माण गर्‍यो भन्ने लागेपछि उदारवादी विचारधाराको विरोधमा धेरै तर्कहरू सङ्गठित भए । तर २०औँ शताब्दीदेखि उदारवादको स्वरूप क्रमशः परिवर्तित हुँदै सकारात्मक र रचनात्मक बन्दै बन्दै गयो । यद्यपि उदारवादको विरोध गर्नुपर्छ भन्ने विचार राख्ने पहिलो व्यक्ति माओत्से तुङ थिए । उनले ‘उदारवादको विरोध गर’ भन्ने लेख नै लेखे ।

स्पष्ट रूपमा भन्नुपर्दा जहाँ असमानता छ । त्यसको नियमन मानवीय र विवेकपूर्ण नियमद्वारा गरिँदैन व्यक्ति, स्वार्थ र बजारको सन्तुलनमा नै निर्णय अधिकार छोडिन्छ भने त्यसलाई पुँजीवाद भनिन्छ । पुँजीवादको पिता आदम स्मिथले पुँजीवादलाई मूलतः यसरी व्यख्या गरेको छ ‘बजार स्वतन्त्र होस्, जसमा सरकारको अनावश्यक नियन्त्र नहोस् प्रतिस्पर्धा होस् जसबाट उपभोक्तालाई फाइदा पुगोस् । उदारवाद र पुँजीवादी विचारधारामा स्वतन्त्रले प्रतिस्पर्धा गर्दै कसरी एकअर्कामा द्वन्द्वात्मक चरणको उत्कर्षमा हुँदै घाँटी निमोठ्ने अवस्थामा पुग्छन्, त्यसको कुनै अर्थ राख्ने गर्दैन । यो विचार धाराले त केवल कसरी मुनाफा आर्जन गर्ने भन्ने विचारमा मात्र केन्द्रित हुन्छ । 

पुँजीवादमा पुँजीपतिहरू धन कमाउन प्रतिस्पर्धा गर्दछन् । साधन र स्रोतमाथि स्वामित्व एवं नियन्त्रणमा निरन्तर पुँजीपतिहरू बिचमा द्वन्द्व हुन्छ । त्यसमा एङ्गेल्सले भनेका छन् हरेक सामाजिक व्यवस्था एक ऐतिहासिक आवश्यकताले आउँछ र ऐतिहासिक व्यवस्थाले नै बिदा गर्छ । त्यसलाई हेगलले समयको अन्तरले एउटै कुरा पनि न्याय अन्यायमा फेरिन्छ भनेका छन् । जब पुँजीवाद उत्कर्षमा पुग्छ वा सीमित स्रोत साधनमाथि नियन्त्रणको होडबाजी हुन्छ अथवा खोसाखोस हुन्छ । त्यो प्रतिस्पर्धामा सीमित पुँजीपतिले स्रोतसाधन नियन्त्रणमा लिन्छन् । थोरै मान्छेको हातमा सम्पत्ति हुन्छ र धेरै जनसमुदाय सम्पत्तिविहीन हुन्छन् । त्यहीँबाट पुँजीवाद सङ्कटमा पर्छ । सम्पत्तिविहीनले केही क्षणअघिको मित्रमाथि हमला बोल्छ र त्यहीँबाट पुँजीवाद सङ्कटमा फस्छ । त्यसले नयाँ अवस्था निर्माण गर्छ । त्यो अवस्थाले पुँजीवादलाई नयाँ रूपमा जाने कि समाप्त हुने भन्ने सङ्कट पैदा गर्छ र सङ्कटपूर्ण अवस्थालाई पार गर्दै पनि नयाँ चरणमा पुँजीवाद रूपान्तरण हुन्छ ।

पुँजीवादमा सङ्कट उत्पन्न कसरी हुन्छ र समाधान कसरी हुन्छ ? सामाजिक संरचनामा कसरी परिवर्तन हुन्छ ? समाजवादका संरचनाहरू निर्माणले पुँजीवादी संरचनामा थप चुनौती कसरी पैदा हुन्छन् ? यसका बारेमा एक प्रसङ्ग उल्लेख गरौँ । सन् १९०० भन्दा पहिले पुँजीवाद फरक स्वरूपमा विश्व बजारमा चलायमान थियो । जसअन्तर्गत पुँजीपतिहरू एकअर्कामा प्रतिस्पर्धी थिए । उत्पादनका साधनमाथि कसको बढी नियन्त्रण हुने भन्ने विषयमा ठुलो लडाइँ हुन्थ्यो । 

तर सन् १९०० पछि पुँजीपतिहरूले उत्पादनको दृष्टिले विश्वलाई पाँच ब्लकमा विभाजन गर्‍यो । त्यही पाँच ब्लकलाई अमेरिका, जापान, जर्मनी, बेलायत र फ्रान्सले नियन्त्रण गरे । विश्वलाई आफ्नो स्वार्थ अनुकूल उपभोग गर्दागर्दै पनि समय क्रमले पुँजीपतिहरूलाई द्वन्द्वको अवस्थामा पुर्यायो । त्यसको उदाहरण पहिलो र दोस्रो विश्व युद्ध हुनपुग्यो । यी दुई युद्ध पुँजीवादीहरूको बिचमा भएको हो । जुन एकाधिकार चरणमा भएको पुँजीवादीहरूको सङ्घर्ष थियो । यही कारणले विश्व पुँजीवादीहरूको बिचमा ठुलो सङ्कट उत्पन्न भयो । पहिलो कुरा त्यो सङ्कटले उनीहरूलाई नयाँ चरणको खोजी गर्न बाध्य बनायो भने दोस्रो कुरा विश्वको सामाजिक संरचनामा र व्यवस्था नै परिवर्तन भयो । यसले गर्दा समाजवादी विचारधारा सुरुवात भयो । समाजवादीहरूले उनीहरूलाई चुनौती दिन थाले । समाजवादीहरूको चुनौती र पुँजीवादीहरूको भिडन्तले निर्माण गरेको सङ्कटपूर्ण अवस्थाले पुँजीवादीहरू द्वन्द्वमा उत्रनुभन्दा एकीकृत र सङ्गठित हुन पुग्यो । उनीहरूले पुँजीवादलाई अझै सशक्त बनाउने निष्कर्ष निकाले । नयाँ स्वरूपमा बहुराष्ट्रिय कम्पनीको निर्माण गरे । त्यही कारणले गर्दा १९४५ पछि पुँजीवादीहरू युद्धहरू गर्न छाडे । किनकि बहुराष्ट्रिय कम्पनीमार्फत विश्वका पुँजीपतिहरू एकै मञ्चबाट लगानी गरिरहेका हुनाले उनीहरू लड्नको सट्टा नयाँलाई ढङ्गले विश्वलाई राज गर्न थाले । अर्को कुरा नयाँ परिस्थितिले राष्ट्रिय पुँजीपति वर्ग र साम्राज्यवादी शक्ति बिचको भेद पनि अन्त्य गरिदियो । ती पुराना वर्ग कोही बहुराष्ट्रिय कम्पनीको सदस्य बन्न पुगे त कोही दलाल पुँजीपति वर्गमा परिणत भए । यो पुँजीवादी विचार र पुँजीवादी व्यवस्थाको दृष्टान्त हो । 

पुँजीवादी विचारधाराले नेपालमा परेको प्रभाव– 

यो विचारधारा व्यक्तिको आर्थिक र राजनीतिक स्वतन्त्रतालाई प्रोत्साहन गर्ने विचारधारा भएको हुँदा गरिब तथा मानवीय विकासको पक्षले पछि परेका देशहरूमा अलि बढी प्रभाव पार्ने गर्छ । नेपाल जस्तो सामन्तवादी व्यवस्थाले लामो समय शासित देशमा व्यक्तिहरू स्वतन्त्र हुन खोज्छन् नै । त्यही स्वतन्त्रताको नाममा राजनीतिक सङ्घर्ष भए । त्यस सङ्घर्षले जनतालाई राजनीतिक स्वतन्त्रता दिलायो । जनता सार्वभौम पनि भए । जनताको छोरा राष्ट्रपति पनि बने । 

राजनीतिक हिसाबले ऐतिहासिक परिवर्तन भयो । तर जसरी पश्चिमा राष्ट्रहरूमा राजनीतिक स्वतन्त्र र उदारवादी विचारधारासँगै उदारीकरण, औद्योगिक क्रान्तिका नाममा पुँजीवाद सशक्त भयो त्यसैगरी नेपालमा पनि प्रजातन्त्र, लोकतन्त्रको बुई चढ्दै उदारवाद र उदारीकारणले प्रवेश गर्‍यो । वंशवादी शाहकालमा उत्पादनको साधनहरू सबै राष्ट्रिय सम्पत्ति भनिथ्यो तर ती साधनहरूको नियन्त्रण भने सामन्तीहरूको हातमा हुन्थ्यो । 

२०४६ मा प्रजातन्त्र आयो । राष्ट्रिय सम्पत्ति सबै बजारीकरण गरे । उदारीकरणका रूपमा २०४८ बाट पुँजीवादको प्रारम्भ भयो । विश्वका पुँजीपतिहरू मजदुर व्यवस्थापन र सस्तो ज्यालाको सहजतालाई केन्द्रमा राख्दै उद्योग खोल्न नेपाल आए । पुँजीपतिहरू निजात्मक र सङ्गठित दुवै बाटोबाट ह्वात्तै आए । जसले गर्दा सुरुका दिनहरूमा जनशक्तिको उपयोग गर्न सजिलो भयो भने सामन्ती वर्गले पुँजीपति वर्गहरूसँग मिल्दै दलालीको काम गर्ने आवसर पनि पाए । त्यसले नेपाली समाजमा दलाल पुँजीपति वर्गको निर्माण गर्‍यो । उदारवाद, उदारीकरण र समृद्धिका नाममा पुँजीवादले लामो समय उदण्ड मच्चायो । आर्थिक उदण्डताका कारण नेपाली समाजको संरचनामा ठुलो हलचल र ज्वारभाट पैदा भयो । सामाजिक संस्था, संस्कार, संस्कृति, चालचलन, रीतिरिवाज, नातासम्बन्धका साथै संयुक्त परिवारिक संरचनालाई भताभुङ्ग पर्दै स्वतन्त्रताको नाममा विशृङ्खलता उन्मुख बनाए । पुँजीवादको धेरै विशेषतामध्ये व्यक्तिगत स्वतन्त्रता प्रमुख पाटो हो । त्यसैले त्यही स्वतन्त्रताको प्रयोग गर्दै धेरै नेपालीहरू विश्वको जनशक्ति बन्न पुगे । पुँजीवादको अर्को विशेषता भनेको वस्तु बिक्रीका लागि उत्पादन गर्नु पनि हो । 

हामीले हाम्रो राष्ट्रमा विश्व बजारमा बिक्री हुने कुनै वस्तुको उत्पादन गर्न सकेनौँ । जसले गर्दा विश्व बजारमा वस्तु जस्तै हाम्रो जनशक्ति बेच्न बाध्य भयौँ । पुँजीवादी विचारधाराको उद्देश्य भनेको जसरी भए पनि पैसा कमाउनु हो । त्यस कारण जसरी भए पनि पैसा कमाउने रफ्तारमा नेपाल र नेपालीहरू छन् । यो पुँजीवादले निर्माण गरेको आर्थिक मानवको प्रभाव हो । तर गणतन्त्र र सङ्घीयताले नेपाली जनतालाई समानता र समाजवाद उन्मुख समाजमा पुर्‍याउने लक्ष्य लिएको छ । लक्ष्यअनुसार राज्यको नीति, कार्यक्रम मेला खाँदैन । राज्यको अहिलेको नीतिले परनिर्भरता र पुँजीवादी दासत्वलाई कङ्क्रिट गर्ने काम झन् सशक्त बनाउन बल पुग्ने देखिन्छ । त्यसैले पुँजीवादले प्रभाव पारुन्जेलसम्म समानता र समाजवाद, स्वाधीन र आत्मनिर्भर देश नेपाल बन्न सक्दैन । किनकि विश्वका परनिर्भर राष्ट्रमा समानता त समाजवाद आएको पो कहाँ छ र ? 

लेखक राई कांग्रेस नेता हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लाओस राई
लाओस राई
लेखकबाट थप