आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

फिफा महिला वरीयतामा नेपाल एक स्थान तल

शुक्रबार, २६ जेठ २०८०, १७ : १५
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेको पछिल्लो महिला वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले शुक्रबार महिलातर्फको नयाँ वरीयता सार्वजनिक गरेको हो । पछिल्लो वरीयतामा नेपाल १०१औं स्थानमा रहेको छ ।

यसअघिको वरीयतामा नेपाल १००औं स्थानमा थियो । दक्षिण एसियामा भारत सबैभन्दा अगाडि छ । पछिल्लो वरीयतामा भारत ६०औं स्थानमा छ । दक्षिण एसियामा नेपाल दोस्रो र बंगलादेश तेस्रो स्थानमा छन् । बंगलादेश १४०औं स्थानमा छ ।

यसैगरी श्रीलंका १५४औं, पाकिस्तान १५७औं, माल्दिभ्स १६०औं, भुटान १७१औं स्थानमा छन् । एसियामा अस्ट्रेलिया सबैभन्दा अगाडि १०औं स्थानमा छ । त्यसपछि जापान ११औं, चीन १४औं, दक्षिण कोरिया १७औं र भियतनाम ३२औं स्थानमा छन् ।

महिला विश्व वरीयताको पहिलो स्थानमा भने अमेरिका रहेको छ । जर्मनी दोस्रो, स्विडेन तेस्रो र इङ्ल्यान्ड चौथो स्थानमा छन् । फ्रान्च पाँचौं, स्पेन छैटौं, क्यानडा सातौं, ब्राजिल आठौं र नेदरल्यान्ड्स नवौं वरीयतामा रहेका छन् ।

निकट भविष्यमा सुरु हुने महिला विश्वकप फुटबलअघि जारी भएको यो अन्तिम वरीयता हो । महिला विश्वकपको नवौं संस्करण अस्ट्रेलिया र न्युजिल्यान्डले संयुक्त रुपमा आयोजना गर्दैछन् । प्रतियोगिता आगामी जुलाई २० देखि अगस्त २० तारिखसम्म सञ्चालन हुनेछ ।

फिफाले महिला विश्वकपको विजयी टोलीका प्रत्येक खेलाडीलाई दुई लाख १७ हजार पाउण्ड (करिब साढे तीन करोड नेपाली रुपैयाँ) पुरस्कार प्रदान गर्ने भएको छ । यो पुरस्कार उपाधि विजेता टोलीका २३ जना खेलाडीले नै पाउने भएका छन् ।

फिफाले पहिलो पटक विजयी टोलीका सबै खेलाडीलाई नगद पुरस्कार दिने घोषणा गरेको हो । फिफाले महिला विश्वकप खेल्ने हरेक खेलाडीले नगद पुरस्कार पाउने पनि जनाएको छ । फिफाका अनुसार, विश्वकपमा सहभागी प्रत्येक खेलाडीले कम्तीमा २४ हजार पाउण्ड (३९ लाख ५७ हजार नेपाली) पुरस्कार पाउने छन् ।

आगामी विश्वकपमा ३२ टोली सहभागी हुँदैछन् । प्रत्येक टोलीमा २३ खेलाडी रहन्छन् । यस आधारमा आगामी महिला विश्वकपमा सहभागी हुने खेलाडीको सँख्या सात सय ३२ हुन आउँछ । आगामी महिला विश्वकपका लागि फिफाले १५ करोड २० लाख अमेरिकी डलर रकम छुट्याएको छ । अघिल्लो संस्करणको तुलनामा फिफाले महिला विश्वकपको पुरस्कार राशिमा तीन सय प्रतिशत रकम वृद्धि गरेको हो ।

पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर रहेको भन्दै त्यसको विरोध हुँदै आएको थियो । फिफाको पछिल्लो घोषणापछि पनि पुरुष र महिला विश्वकपको पुरस्कार राशिमा निकै ठूलो अन्तर देखिन्छ । गत वर्ष कतारमा भएको पुरुष विश्वकका लागि फिफाले ४४ करोड अमेरिकी डलर कुल पुरस्कार राशि छुट्याएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप