आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
विचार

के नेताहरू साँच्चिकै ‘स्टन्ट’ गरिरहेछन् ?

मङ्गलबार, १९ असार २०८०, १५ : १०
मङ्गलबार, १९ असार २०८०

यही असार १५ गते चितवन पुगेका केपी ओली रोपाइँमा सहभागी हुँदाको क्षण सामाजिक सञ्जालमा निकै भाइरल भयो । कैयौँले अनेक ट्रोल बनाए । वरिष्ठ गीतकार राजेन्द्र थापाले आफ्नो फेसबुकमा ओलीको तस्बिर सेयर गर्दै व्यंग्य भावमा लेखेका थिए, ‘जोक, बिजोक, संजोक’ ।

तस्बिरमा ओलीले हातमा धानको बिउ लिएर रोप्न लाग्छन् तर उनलाई कम्मरमा समाएर सहयोगीहरूले धानिरहेका छन् । अनेक व्यक्तिले अनेक तर्क गरे पनि एमालेका नेताले भने त्यो कामलाई ओलीको ऊर्जा र किसानलाई प्रेरणा भरिएको भाषामा अथ्र्याएका छन् । 

सोही दिन रास्वपा सभापति रवि लामिछाने मुग्लिन–नारायणगढ सडकमा पहिरो अवलोकन गर्न जाँदाका तस्बिर पनि सामाजिक सञ्जालमा व्यंग्यात्मक ढंगले प्रस्तुत गरिए । 

हाम्रा हरेक वर्ष हरेक क्षण यस्ता आउँछन्, जहाँ कुनै न कुनै विपत्ति भोग्नुपर्छ । अर्कोतिर कुनै विशेष पर्व वा महत्त्वपूर्ण दिन आइरहन्छन् । पछिल्लोपटक धेरै व्यक्तिले चाडपर्व, जन्मदिन, आफन्तका मृत्यु, दैवीविपत्ति, दिवस वा त्यस्तै विशेष दिन पारेर केही फरक काम गर्न उत्साहित बनेका हुन्छन् । उनीहरूले त्यसबाट जनमानसको ध्यान आफूतिर खिचियोस् भन्ने अपेक्षा राखेका हुन्छन् । एकाध बाहेकका व्यक्तिले आफ्नो त्यो क्रियाकलाप धेरै प्रचार होस् भन्ने चाहेका हुन्छन्, तर के यी सबै फरक कार्य उत्पादकमूलक छन् कि अनुत्पादक बनिरहेका छन् ? यसतर्फ विश्लेषण गरौँ । 

स्टन्ट के हो के होइन ?

स्टन्ट अंग्रेजी शब्द भए पनि यो नेपालीमा सजिलै बुझ्ने भाषा बनेको छ । नौटंकी वा असामान्य रूपमा प्रस्तुत हुने क्रियाकलाप नै ‘स्टन्ट’ हो । सुरुमा विश्वका कैयौँ वैज्ञानिकले पनि नाटकीको आरोप खेपेका थिए, तर ती इमानदार थिए र पछि सत्य साबित भए । 

अमेरिकी वैज्ञानिक फिलो टेलरले फरक कल्पना र अनुसन्धान नगरेको भए सायद अहिलेको दुनियाँले टेलिभिजन देख्न पाउँदैनथ्यो । ली कुआन युले फरक धारबाट शासन चलाएर काम नगरेको भए अहिलेको सिंगापुर बन्दैनथ्यो । यी र यस्ता कैयौँ काम छन्, जसलाई सत्य साबित गर्न कुनै व्याख्याको जरुरी छैन । स्वतः जीवित सत्य छन् । 

नेपालमा भने फरक काममा सहभागी व्यक्ति र परिणाम हेर्‍यो भने ठीक उल्टो छ । हामी हरेक वर्ष धान र धानजन्य सामग्री मात्र ५० अर्ब रुपैयाँको आयात गर्छौं । पछिल्लो ११ महिनाको तथ्यांक हेर्ने हो भने धान, धानको बिउ र चामल ४५ अर्ब २९ करोड रुपैयाँको आयात गरिसकेका रहेछौँ । अनि हामी भन्छौँ, कृषिप्रधान देश नेपाल ! हामी खास ‘परनिर्भर प्रधान देश नेपाल’ बनिरहेका छौैँ । 

नेपालकै कुरा गर्ने हो भने ०३६ साल अघिसम्म हामीले वरपरका देशमा अन्न निर्यात गथ्र्यौं, तर बिस्तारै हामी यति बेकामे भयौँ कि ०८० सालसम्म आउँदा हामी करिब शतप्रतिशत आयातमा बाँचिरहेका छौँ । यसका शासक नै जिम्मेवार मुख्य छन् । 

कुन दलको पालामा कति नोक्सान भयो भन्ने अंक–गणितमा निकाल्न आवश्यक छैन । हरेक वर्ष सरकार सञ्चालन गर्ने दल बराबरी दोषका भागिदार छन् । केपी ओली तीनपटक प्रधानमन्त्री भइसके । शक्तिशाली प्रधानमन्त्रीको अनुभव पनि उनैले गरिसकेका छन्, तर कृषि क्षेत्रमा उनले २० को १९ योगदान दिएको कहीँकतै भेटिँदैन । योगदान दिएर शासन चलाएको भए सायद आज उनी ट्रोल बन्दैनथे । उल्टो उनको सबैले जयजयकार गर्थे । सत्तामा रहँदा एउटा रूप र सत्ताबाहिर हुँदा अर्को तस्बिर देखाउने परम्परा नै वास्तविक स्टन्ट हो । यसैलाई जनताले देखेपछि स्वतः स्टन्ट गरेको आरोप लगाएका हुन् । 

अनेक समस्याका कारण कृषकले प्रशस्त उत्पादन गर्न सक्दैनन् । उत्पादित वस्तु पनि सही मूल्य नपाएर ऋणको बोझ बोक्नुपर्ने अवस्था छ — न मल, न बिउ, न बजार, न अनुदान, न सिँचाइ ! यस्ता अनेक दुःख झेलेर किसान बाँच्नुपरेको छ । 

कृषकलाई नाम मात्रको अनुदान दिइएको घोषणा गरिएको छ । त्यो पाउन पनि सोर्सफोर्सको कैयौँ पापड पेल्नुपर्छ । जब कुनै पनि मुलुकलाई उत्पादनमूलक बनाउन सरकारले ठोस योजना ल्याएर इमानदारितापूर्वक कार्यान्वयन गर्दैन, त्यो देशले सधैँ दरिद्रता भोगिरहनुपर्छ । जुन कालखण्डमा अहिले हामी छौँ । यस्तो चरम दरिद्रताको घडीमा पूर्वप्रधानमन्त्री एक दिन धान खेतमा पुगेर हौसला देखाउनुको कुनै अर्थ हुँदैन । जो शासक हुँदा आफ्नो कर्तव्य बाहिर रह्यो, त्यो शासकले देखाउने आदर्श एक ढोंग मात्र हो । यो स्टन्ट हो र जनतालाई धोका हो । यो दोष ओलीतिर मात्र होइन, देउवा, प्रचण्ड, नेपाल, भट्टराई लगायत तमाम शासकतर्फ सोझिन्छ । 

अब स्टन्ट के होइन ? 

रसियाले मेट्रो रेल सञ्चालन गर्दा कैयौँ युरोपियन मुलुकका सहरमा बयलगाडा गुड्थे । रुसले सन् १९३५ मा रेल सुरुवात मात्र गरेन, विश्वलाई चकित पार्ने भूमिगत लामो रेल सञ्चालनमा ल्याइदियो । सन् १९५५ देखि त रसियाका ठूला सहर रेलको सञ्जालमा जोडिसकेका थिए । 

कम्युनिस्टका संस्थापक भ्लादिमिर लेनिनले रुसमा विकासको नयाँ अवधारणा सुरुवात गरिदिएका थिए । उनको मृत्युपछि पार्टीका नेतृत्वले त्यो काम गरे, जुन काम लेनिनले योजना बनाएका थिए । ती सपना थिएनन्, ती स्टन्ट थिएनन् । वास्तविक रूपमा पूरा हुने सत्य योजना थिए । आज विश्वका विकसित मुलुकमा कुदिरहेका रेलहरूको गुरुमन्त्र रसियाले तयार गरिदिएको थियो । ती त्यतिबेलाका कम्युनिस्ट नेताहरू नै थिए । 

नेपालमा पनि बहुदल आएपछि आफूलाई कम्युनिस्ट भन्नेहरूले नै आलोपालो शासन चलाउँदै आएका छन्, तर यी शासकले अहिलेसम्म न सियो उत्पादन गरेर देखाएका छन्, न जनतालाई उत्पादनमुखी बनाउने कुनै बाटो खोलिदिएका छन् । आविष्कार र नयाँ योजना त यी नेताबाट आसै नगरौँ । सामान्य मल, बिउ अभावमा कृषक ज्युँदै मरिरहेका छन् । 

सामाजिक सञ्जालमा नागरिकका प्रतिक्रिया सबै गलत छैनन् । ती प्रतिक्रियाको खास अर्थ छ । सञ्चारको दुनियाँमा सबै जनता वेबकुफ पनि छैनन् । किन नेताले गरेका हरेक क्रियाकलाप सञ्जालमा ट्रोल वा मजाक बनिरहेका हुन्छन् ? नेतालाई किन रुचाउँदैनन् ? यसको खास महत्त्वपूर्ण अर्थ छ । 

अहिले धरानका मेयर हर्क साम्पाङ राई सामाजिक सञ्जालमा सबैभन्दा सक्रिय छन्, तर उनलाई कसैले मजाक गर्दैन, विरोध गर्दैन । हर्क फुस्रो अनुहार लिएर मैलो कपडामै आफ्नो तस्बिर सेयर गर्दै श्रमका कुरा गरिरहेका हुन्छन् । उनले जनश्रमदानलाई आधार बनाएर ४५ किमि टाढाबाट पानी ल्याएर प्रमाणित गरिदिएका छन् । उनले श्रमदानलाई विकाससँग जोड्न सकिन्छ भन्ने जुन उदाहरण पेस गरेका छन्, यो नेपालका सबै नेतालाई गतिलो पाठ बन्न सक्छ ।

यस्तै जनश्रमदानको उदाहरण उत्तरकोरियाले २१औँ शताब्दीको सुरुवातमा दिएको थियो । सन् १९९१ मा सोभियत संघ (हाल रसिया) विघटन भएपछि कम्युनिस्ट शासनको पनि सँगसँगै अन्त्य भयो । फलस्वरूप छिमेकी मुलुकमा परेको संकट उत्तरकोरियाले पनि बेहोर्न पुग्यो । उत्तर कोरियाको ८० प्रतिशत वैदेशिक व्यापार ठप्प भयो । पेट्रोलियम पदार्थको आयातमा निकै कमी आयो । यसको नराम्रो असर कृषि क्षेत्रलाई पर्‍यो । कृषि क्षेत्रका अनेक सामग्रीको सञ्चालन पेट्रोलियम पदार्थविना सम्भव थिएन, तर पनि उत्तर कोरियाली शासक हार मानेनन् । उनीहरूले कठोर निर्णय लिए । खेतमा मेसिन होइन, हात र खुट्टाले काम गर्ने । उत्तरकोरिया पहिल्यैदेखि संयुक्त श्रमदानमा होमिएको मुलुक हो । त्यसमाथि आएको खाद्यसंकटको वज्रपात अन्त्य गर्न सरकारले अनिवार्य श्रमदानको घोषणा लागू गर्‍यो । 

श्रमदानकै कारण उत्तरकोरिया भोकमरीबाट मुक्त भयो । कुनै बेला संयुक्त राष्ट्रसंघले खाद्यान्न पुर्‍याउने गरेकामा सन् २००६ देखि उत्तरकोरिया अन्न उत्पादनमा पूर्ण आत्मनिर्भर बनिसकेको थियो । त्यो बेलाका उत्तरकोरियाली नेता किम जोङ इलले विदेशीको भर नपर्ने निर्णय गरिदिएका थिए । हुन त उनका बुवा किम इल सुङले पनि उत्पादनमा निकै जोड दिए, तर युद्ध, हतियार, नाकाबन्दीका कारण २०औँ शताब्दीभर उत्तरकोरिया संकटबाट गुज्रिएको थियो । 

अहिले उत्तरकोरिया बाहिरी दुनियाँसँग टाढा भए पनि जनतालाई भोकमरीबाट मुक्त गरेको छ । उत्तरकोरियाको तानाशाह व्यवस्था र यसका गलत पक्षमा अर्को आलेखमा चर्चा गरौँला ।

जसरी हर्क साम्पाङले जनश्रमदानलाई विकासको मोडेलमा ढाल्ने प्रयत्न गरेका छन्, त्यसरी नै देशभर अभियान थाल्ने भने हाम्रो परनिर्भरता समाप्त हुँदै जानेछ । अनुदान, ऋण र विदेशीका आश्वासनबाट मुलुक बन्दैन भन्ने विगतकै हाम्रो नजिर छ, जनश्रमदानमा मुलुक होमियो भने विकास निर्माण सम्भव छ भन्ने उत्तरकोरियाको इतिहास ताजै छ । हरेक देशका राम्रो पक्ष सिक्ने र नराम्रो पक्षबाट शिक्षा लिने शासकीय स्वरूप अनिवार्य हुनुपर्छ । तब पो देश बन्छ, यो कुनै स्टन्ट होइन । यही नै वास्तविक विकास हो । जनताका लागि काम हो र इमानदार नेताको परिचय पनि हो । 

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्र्युडो सर्वसाधारण नागरिकसँग सडकमा भलाकुसारी गरिरहेका भेटिन्छन् । उनी एक्लै सपिङ मल जान्छन्, सामान्य ग्राहक बनेर किनमेल गर्छन् । उनको अघिपछि न ठूलो सुरक्षाकर्मीको फौज हुन्छ, न भेडा कार्यकर्ताको भीड । उनीसँग सामान्य नागरिक उत्साहित हुँदै तस्बिर खिच्छन्, तर कसैले उनलाई ‘स्टन्ट’ गरेको भन्दैनन् । बरु उनको उदाहरण दिएर अविकसित देशका नागरिक भन्ने गर्छन् — यति सरल स्वभावका शासक पो जनताका असली शासक ! 

विश्वमा यस्ता उदाहरण धेरै छन् । ती कुनै नौटंकीबाज होइनन् । किनकि उनीहरूले जनताका दुःख बुझेका छन् । जनताका लागि काम गर्छन्, तर हाम्रा नेता जनताका लागि काम गर्दैनन् । हाम्रा नेताका क्रियाकलाप सधैँ स्टन्ट साबित भएका छन् । नेपालका नेताले अहिलेसम्म गरेका काम नै वास्तविक स्टन्ट हुन् । हर्क साम्पाङले छोएको माटोमा निस्वार्थ कर्तव्य लुकेको छ भने ओलीले टेकेको खेतको हिलोमा स्टन्टको पपुलिजम बाहिरिएको छ । जनताले बुझेको वास्तविक स्टन्टको परिभाषा यही नै हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

विनोद त्रिपाठी
विनोद त्रिपाठी
लेखकबाट थप