सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

मुहार फेरिएको काठमाडौँ

शुक्रबार, ०५ साउन २०८०, १० : ३२
शुक्रबार, ०५ साउन २०८०

बर्दिया बस्ने म पछिल्लो पटक सन् २०२२ को फेब्रुअरीमा काठमाडौँ आएकी थिएँ । सायद त्यतिवेला एमसीसी विरोधको आन्दोलनको चर्किरहेको थियो । काम विशेषले निस्किदा त्यसबेला माइतीघर मण्डलादेखि संसद भवन, तीनकुनेसम्म सबै गाडीघोडा बन्द थियो । बाटो पुरै सुनसान थियो । आन्दोलनकारी र प्रहरीबिच ढुुंगामुढा थियो । अनिकालमा बीउ जोगाउनु, हुलमालमा जिउ जोगाउनु भनेझैँ जोगिएर हिँड्नु पर्‍यो । 

काठमाडौँ आउँदा म प्रायः पैदल हिँड्ने गर्छु । इमरजेन्सी नपरेसम्म गाडी चढ्दिन । यसपालि असारको पहिलो साता काठमाडौँ आउँदा मैले निकै फरक पाएँ । पहिलाको जस्तो काठमाडौँ रहेन अब । पहिला पहिला सुन्धारा, न्यूरोड हुँदै असन छिर्दा युपी विहारको भीडभाडमा आएजस्तो लाग्थ्यो । जता गए पनि पाइला टेक्ने ठाउँ नै हुँदैनथ्यो । पेटीमै पसल हुँदा हिँड्दा ठेलमठेल गरेर हिँड्नुपर्थ्यो । 

बाटोमै कोही मकै पोलेका हुन्थे त कोही बाटोमै चिया, नास्ता बेचिरहेका हुन्थे । फलफूल बेच्ने, जुत्ता सिउने मान्छेदेखि सेकुवा भुटुवा बेच्ने मान्छे उस्तै, अनि खानेहरूको झनै भीड । 

यसपालि बाटोको पेटीमा रहेको सबै बजार उठाएर सुनसान भएको रहेछ । अहिले ती दृश्य नदेख्दा अनौठो लाग्यो । कस्तो शान्त र स्वच्छ वातावरण पाइयो काठमाडौँमा । तर, भीड हटाउनु मात्रै समस्याको समाधान होइन, तिनको व्यवस्थापन ठुलो कुरा हो । वानेश्वर एरिया लगायतका फुटपाथ पसललाई अलि भित्र व्यवस्थापन गरेको सुन्दा खुसी लाग्यो ।

बागबजारको पद्मकन्या क्याम्पसको अगाडि, प्रदर्शनी मार्ग, जमल चोक, रत्नपार्क, सुन्धारा, वीर अस्पतालको वरपर, अनि पुरानो बसपार्क त भन्नै परेन, जहिल्यै आउँदा देखिने फोहरको थुप्रो देखिन्थ्यो । यस पटक भने छ्याङ्ग सफा देखेँ । न दरबारमार्गमा, न त बागबजारमा पार्किङले बाटो साँगुरिएको थियो । बागबजारमा त अहिले बोटविरुवा सहितको गमला राखेको सुनेकी छु ।

मान्छेहरूको व्यवहार परिवर्तन गर्न एक्सन लिनैपर्ने देखियो । यदि काठमाडौँ महानगरपालिकाले एक्सन नलिएको भए संघीय राजधानीमा यो सब सम्भव थिएन । एक्सन लिएकैले होला, यहाँकाले जथाभाबी फोहर फाल्न छोडे । यहाँका मान्छेको व्यवहार परिवर्तन भएको देखेर खुसी लाग्यो । 

बाटोभरी सानो स्पिकरमा रेकर्ड गरेको हल्ला सुनिन्थ्यो, हेल्लो दाई यता फर्केर हेर्नुस् त ! हजार बाह्र सयको जुत्ता मात्र ६ सय पचास, ६ सय पचास मात्र । यसपालि त्यस्तो कान खाने आवाज पनि सुनिनँ । बाटोभरी माग्ने मान्छेको उत्तिकै भीड हुन्थ्यो त्यो पनि देखिएन । दृष्टिविहीनहरू बाटो बाटोमा गीत गाएर बसेका हुन्थे, ती पनि देखिएनन् । 

त्यस्तै, ससाना बालबालिकाहरु खुट्टै ढोगेर माग्न आउँथे । काखमा साना नानी च्यापेर आमाहरू पनि माग्न बसेका हुन्थे, ती भेटिएनन् । वास्तवमा ती मानिसहरूको पनि व्यवस्थापन भएको हो भने निकै नै सह्रानीय काम हो । अन्य पालिकाहरूले पनि सिक्नुपर्ने काम हो यो । राम्रा काम अनुसरण गर्दा के फरक पर्छ र ?

म लाजिम्पाटबाट हिँडेर लैनचौर हुँदै जमल, रत्नपार्क, सुन्धारा, सिंहदरबार हुँदै हनुमानथान अनामनगर पुगें । बाटोको सरसफाइ अनि मान्छे हिँड्ने बाटोको पेटी हेर्दा साँच्चै परिवर्तन भएछ काठमाडौँ । हरेक चोकमा ट्राफिक प्रहरीको सक्रियता, नगर प्रहरी र ट्राफिक प्रहरी मिलेर काम गरेको देख्दा साँचै परिवर्तन भएकै हो त भन्ने कुरा मनमा खेलिरह्यो । 

हरेक स्थानमा जथाभाबी पार्किङ गर्न रोक लगाइएको रहेछ । सिंहदरबारको दक्षिण गेटभन्दा अगाडि अनामनगर जाने बाटोतर्फ जथाभाबी मोटरसाइकल पार्क गरेकोमा नगर प्रहरीको गाडीले मोटरसाइकल लोड गरेर लगेको पनि देखेँ । नियम भनेको नियम हो । अब बल्ल पो भएछ, “काठमाडौँ सहर हेर्न लाग्छ रहर” ।

त्यसो त नेपालमा धेरै नियम कानुन बनेका छन् । यदि भएको नियम कानुन सबैले यसरी नै पालना गरे भने त देश सिंगापुर बन्न के बेर । नियम बनाउनमा कोही पछि परेको छैन । चाहे नगरपालिका होस् या गाउँपालिका । प्रदेश होस् या संघ, सबैले आपआफ्नो नियम कानुन बनाएका छन् । तर, केवल कागजको खोस्टामा सीमित छन्, हाम्रा नियम कानुनहरू । त्यसैले त, देशमा भ्रष्टाचार हुने तर साना माछा मात्रै समातिने, ठुला माछालाई कुनै नियम कानुन नै नलाग्ने चलन छ यहाँ ।

काठमाडौँका आकाशे पुलमा पनि सामान फिँजाएर विक्री गर्नेहरूले गर्दा हिँड्न सकस थियो । अहिले काम परेका मानिसहरू मात्र आकाशे पुलमा सुुईंसुईं हिँडेको देखेर खुसी लाग्यो । तर, मैले जान्न चाहेको कुरा महानगरपालिकाको कार्यालयमा सेवाग्राहीले सेवा कसरी पाइरहेका छन् ? उनीहरू सन्तुष्ट छन् कि छैनन् । सेवा प्रदायकले सेवाग्राहीसँग कस्तो व्यवहार गरिरहेका छन् ? भन्ने हो । 

कतै सेवाग्राही सेवा लिन जाँदा महानगरका कर्मचारीहरू टिकटक बनाएर त बसेका छैनन् ? कतै फेसबुकमा व्यस्त भएर अहिले फुर्सद छैन, पछि आउनुस् त भनेका छैनन् ? कतै सेवाग्राहीसँग झर्केर बोलेका त छैनन् ? मेयर बालेनज्यू, यस्तो त पक्कै छैन होला है । नहोस् पनि । 

कतिपय सरकारी निकायमा गएर सेवा लिन जाँदा मेरो भोगाइको आधारमा माथिका प्रश्नहरू मेरो मनमा उब्जेका हुन् । हालै, कर कार्यालयमा कर बुझाउन गएको थिएँ । निवेदन दर्ता गर्ने ठाउँमा दर्ता गर्ने कर्मचारी मेरी बास्सैको भिडियो हेरेर बसेको थियो । अनि, मेरो फाइल नै नहेरी ४ नं कोठामा जानुस् भनेर पठायो । म ज्ञानी भएर उतै लागेँ । 

४ नं कोठामा ३ जना कर्मचारी थिए, तिनै जना एउटै मोबाइलमा झुन्डिएका थिए । त्यहाँ पनि फेसबुकको भिडियोमा व्यस्त देखेँ । एक मनले उनीहरूलाई डिस्टर्व नगरूँ जस्तो लागेको थियो । डिस्टर्व नगरी सुखै थिएन । बल्लतल्ल एउटा कर्मचारीले मेरो फाइल समात्यो र हेरेझैँ गरेर दर्तामा जानुस् भन्यो । 

मैले भनेँ, दर्ताले यहाँ पठाएको हो, राम्रोसँग हेर्नुस् भनेपछि यो कागज पुगेको छैन भनेर फिर्ता पो दियो । अन्तमा, बिचौलियाको सहाराले त्यही दिन काम सम्पन्न भयो । नपुग कागज पनि चाहिएन ।

वडा कार्यालयमा गयो, त्यहाँको पारा पनि उस्तै । जिल्लामा म जस्तो सामाजिक अभियन्तालाई त बाल दिँदैनन् भने सर्वसाधारणलाई कस्तो व्यवहार गर्छन् होला भनेर निकै सोच्ने गरेको छु । त्यसैले, सम्झिदा दुःख लाग्छ, जनप्रतिनिधि अनि सरकारी कर्मचारीको पारा देखेर । 

अब काठमाडौँ महानगरपालिका जस्तै सबै निकाय तह तप्काले भएको कानुन र नियम सबैले सही तरिकाले पालना गरिदियो भने सबैलाई न्याय हुने थियो । लैङ्गिक हिंसा, बालविवाह, बालश्रम न्यूनीकरण गर्न ऐन कानुन बनेको छ । जबाफदेहिता, सुशासनदेखि बाल अधिकार, महिला अधिकार, दलित अधिकार, जनजाति सबैको न्यायको लागि नियम ऐन कानुन बनेको छ । अझ भन्ने हो भने आमाको नामबाट नागरिकता दिने भन्ने कानुन पनि बनिसकेको छ । तर, व्यवहारमा पो लागू भइरहेको छैन । 

छोरीले पनि छोरा सरह बराबर अंश पाइन्छ भनिए पनि व्यवहारमा निकै कम छ । अर्थात् परिवारले छोरीलाई अंश दिनै मान्दैन । त्यसको लागि मुद्दै लड्नुपर्ने देखिन्छ । जतिसुकै कानुन बने पनि सहज रूपमा कार्यान्वयन हुन सकिरहेको छैन । के नियम कानुन कार्यान्वयन गर्न बालेन जस्ता स्वतन्त्र जनप्रतिनिधि नै आउनु पर्छ त ?

लेखिका सामाजिक अभियन्ता हुन्

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

बालिका चौधरी
बालिका चौधरी
लेखकबाट थप