बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
जानकारी

हेलमेट लगाउँदा र नलगाउँदा मृत्युदरमा कति फरक ?

मङ्गलबार, ०९ साउन २०८०, १४ : ४६
मङ्गलबार, ०९ साउन २०८०

सरकारी तथ्यांक अनुसार आव २०७८÷७९ सम्म नेपालमा दर्ता भएका दुई तथा तीनपांग्रे सवारीसाधनको संख्या करिब ३२ लाख पुगेको छ । सोमध्ये अधिकांश मोटरसाइकल छन् । नेपालमा प्रयोग हुने सवारी साधनमध्ये ७९.२६ प्रतिशत मोटरसाइकलले ओगटेको छ । 

यस तथ्यांकमा बस, ट्रकलगायत ठूला सवारी साधन तथा ढुवानी साधन र ठूला यन्त्रजस्तै स्काभेटर आदि पर्दैनन् । त्यस्तै कृषिमा प्रयोग हुने स–साना हाते ट्र्याक्टर पनि पर्दैनन् । बसभन्दा बढी ढुवानी साधन प्रयोग हुने अनुमान गरिन्छ । सबै साधन जोड्ने हो भने त करिव ६० लाखकै हारहारी पुगेका होलान् । 

राष्ट्रिय सडक सुरक्षा परिषद्ले विश्व स्वास्थ्य संगठनको सहयोगमा काठमाडौंका नसा तथा स्नायु अस्पतालमा गरेको अध्ययन अनुसार ९९ घाइतेमध्ये ६२ जना मोटरसाइकलका चालक तथा यात्रु थिए । उनीहरूको टाउकोमा चोट लागेको थियो । यसका कारण थिए, मोटरसाइकल चालकले मात्र नभई त्यसमा सवार यात्रीले समेत हेलमेट नलगाउनु । लगाए पनि जस्तो किसिमले लगाउनुपर्ने हो, त्यस्तो किसिमले नलगाएको । साथै, जस्तो मापदण्ड भएको हेलमेट बजारमा उपलब्ध हुनुपर्ने हो, त्यस्तो किसिमको हेलमेट नहुनु आदि । 

परिषद्ले भियतनाममा गरिएको एक अध्ययनलाई उद्धृत गर्दै बताए अनुसार मोटर साइकलमा सवार चालक तथा यात्रीले हेलमेट मात्र लगाए पनि मृत्युदरमा ४० प्रतिशत र टाउकोमा लाग्ने चोटमा ७० प्रतिशतले कमी ल्याउन सकिन्छ । हेलमेटको अनिवार्यता गरेपछि १० वर्षको अवधिमा भियतनाममा पाँच लाख मानिस सडक परिघटनाबाट बचाउन सकिएको थियो भने १५ हजार मानिसको मृत्यु हुनबाट जोगाइएको थियो । यसबाट उक्त मुलुकले उपचार तथा पीडाको खर्चबाट साढे तीन अर्ब अमेरिकी डलर जोगाउन सफल भएको थियो । 

मोटर साइकल, स्कुटर तथा साइकल आदिका चालक तथा यात्रीको सुरक्षाका लागि राष्ट्रिय सडक सुरक्षा परिषद्ले हेलमेट प्रयोगसम्बन्धी रणनीति तयार पारेको छ । उक्त रणनीति नेपाल सरकारले स्वीकृत पनि गरिसकेको छ । परिषद्ले सन् २०२३ भर हेलमेट प्रयोगसम्बन्धी जनचेतना जगाउन विभिन्न कार्यक्रम पनि सोही रणनीतिमार्फत सार्वजनिक गरेको छ । यस कार्यमा परिषद्लाई विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले सहयोग गरेको छ । 

नेपालमा एकपटक यात्रीका लागि पनि हेलमेट अनिवार्य गर्ने कानुन कार्यान्वयनमा ल्याइए पनि यस कार्यमा राजनीतिक सहयोग नभएका कारण बीचमै तुहियो । यस्ता कार्यलाई प्रहरीको पेवाका रूपमा लिइन्छ । पछिल्लोपटक मापसे गरेर सवारीसाधन चलाउन नपाउने विषयलाई पनि खास भन्ने हो भने प्रहरीकै पेवाका रूपमा लिइएको पाइएको छ । प्रहरीको यस कार्यलाई पर्यटन क्षेत्रले त खुलेरै विरोध पनि गर्दै आएको छ । सरकारी पक्षबाट पनि यसलाई गम्भीर रूपमा लिएको देखिँदैन । सरकार गम्भीर भएको भए सडक सुरक्षा विधेयकलाई तुहाउने काम नगर्नुपर्ने हो । 

नेपालको सन्दर्भमा मोटरसाइकलमा सवारहरूले हेलमेट अनिवार्य लगाउनुपर्छ भन्ने जनचेतनाको कमी देखिएको छ । उनीहरू हेलमेट आफ्नो टाउको जोगाउनभन्दा पनि प्रहरीको आँखा छल्न लगाउँछन् । त्यसैले त निर्माण कार्यमा प्रहयोग हुने हेलमेट मोटरसाइकल चालकले पनि लगाएको पाइन्छ । यसका साथै हेलमेट लगाउँदा पनि यसो पुलिसको आँखा मात्र छल्ने गरी चिउँडोमा अड्याएर लगाएका हुन्छन् । त्यस्तै मोटर साइकलसहित एउटा हेलमेट किने पनि पछि बस्नेले अर्को हेलमेट लगाउँदैनन् । 

एका घरका पतिपत्नी वा आमाछोरा, दाजुभाइमध्ये चालकले मात्र हेलमेट लगाउँछन् । यसो हेर्दा पछि बस्नेको टाउको फुटे पनि केही हुँदैन भन्ने जस्तो देखिन्छ । यसमा जनचेतनाका साथै अर्को हेलमेटको मूल्यका लागि खर्चनुपर्ने पैसाको पनि भूमिका रहन्छ । यसैगरी कानुन कार्यान्वयनप्रति प्रतिबद्धताको कमी पनि अर्को एउटा कारण हो । 

काठमाडौंमै गरिएको एउटा अध्ययन अनुसार टाउकोमा चोट लागेर अस्पताल भर्ना गरिएका १८ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिकामध्ये १२ प्रतिशत मोटरसाइकलमा यात्रा गर्दा हेलमेट नलगाएका कारण घाइते भएका पाइएको थियो । 

हेलमेटको अनिवार्यतासम्बन्धी युरोपका लागि संयुक्त राष्ट्रसंघीय आर्थिक आयोगले हेलमेटले कसरी टाउको जोगाउँछ भन्नेबारे वैज्ञानिक तथ्य प्रस्तुत गरेको छ । उसका अनुसार, जब हाम्रो टाउको ठोकिन्छ, मस्तिष्कमा रहेका कोषिका छेउको हाडमा बजारिन्छन् र घाइते बन्छन् । ती घाइते कोषिका मर्छन् र तिनीहरूको सट्टामा अरु कोषिका बन्दैनन् । मस्तिष्कका कोषहरूमा हुने क्षति कहिल्यै पनि पूर्ति गर्न मिल्दैन । त्यसैले दिमागको कुनै भागमा समस्या उत्पन्न भएपछि सो भागले निर्देशन गर्ने शरीरको भागले पनि काम गर्दैन । फलस्वरूप मानिस विकलांग बन्छ । ठोकियो टाउको तर चल्दैन पूरै शरीरको एक भाग, वा एक अंग । यस विषयमा हामी सबैले गम्भीर भएर सोच्नुपर्छ । 

अफ्रिकन सडक सुरक्षा जर्नलमा प्रकाशित एक अध्ययन अनुसार, दक्षिण पूर्वी एसियामा मानिसको यातायातको पहिलो रोजाइ मोटर साइकल हो । सबैभन्दा बढी भियतनाममा ९६ प्रतिशत मानिसले मोटर साइकल प्रयोग गर्छन् भने सबैभन्दा कम थाइल्यान्डमा ६१ प्रतिशत जनसंख्याले मोटरसाइकल प्रयोग गर्दछ । यी सबै देशमा हेलमेट अनिवार्य गरिए पनि कानुन कार्यान्वयन पक्ष फितलो भएका कारण ७० प्रतिशतले मात्र हेलमेट प्रयोग गर्छन् । त्यस्तै, ती देशमा रोडक्र्यासमा ज्यान गुमाउने पनि मोटरसाइकल चालक वा यात्रु नै बढी छन् । मोटर साइकल परिघटनामा परी ज्यान गुमाउनेमध्ये सबैभन्दा बढी लाओसमा ७४ प्रतिशत र सबैभन्दा कम सिंगापुरमा ४६ प्रतिशत रहेको जर्नलमा उल्लेख छ । यस जर्नलले अधिकांश तथ्यांक विश्व स्वास्थ्य संगठनबाट साभार गरेको छ । 

यातायात व्यवस्था विभागका अनुसार नेपालमा ७१.५ प्रतिशत मानिस मोटर साइकलमा सवार गर्छन् । दक्षिण एसियाली मुलुकमा मोटरसाइकलको प्रयोगको औषत प्रतिशत भने ७० छ । दुईपांग्रे सवारीसाधन र चारपांग्रे सवारीसाधनको तुलना गर्ने हो चारका तुलनामा दुई पांग्रेमा प्रतिकिलोमिटर यात्रामा परिघटनाको दर ३० गुणाले बढी हुन्छ । 

यस्तै विश्वमा चलाइनेमध्ये मात्र १० प्रतिशत सवारी सधान चलाइने क्षेत्र दक्षिण एसियामा रोडक्र्यासमा ज्यान गुमाउनेमध्ये ३० प्रतिशत पर्छन् । त्यसमध्ये ४० प्रतिशत मृत्यु मोटरसाइकल सवारहरूको हुने गर्र्छ । यसरी मर्नेहरूमध्ये अधिकांश गरिब तथा जोखिमयुक्त जीवन बिताइरहेका र सडकको जोखिम क्षेत्रमा बस्ने मानिस पर्दछन् । मृतक त पीडित हुन्छ नै, पूरै परिवार आर्थिक संकटको जालमा फस्छ । 

दुईपांग्रे सवारी साधनको चालक र सवार दुवैले हेलमेट लगाए मात्र ठूलो मात्रामा मानिसको ज्यान जोगाउन सकिन्छ । संयुक्त राष्ट्रसंघले सन् २००८ देखि २०२० बीचमा गरेको एक अध्ययन अनुसार त्यस अवधिमा विश्वमा ३४ लाख मानिसले मोटर साइकल यात्रामा जीवन गुमाए । ती यात्री तथा चालकले मापदण्ड अनुसारको हेलमेट लगाएको भए  १४ लाख मानिसको ज्यान बचाउन सकिने उक्त अध्ययनले देखाएको छ । 

दक्षिण एसियाली मुलुकमध्ये भारतले सन् २०२१ देखि हेलमेटको मापदण्डसम्बन्धी कानुनी व्यवस्था गरे पनि अन्य दक्षिण एसियाली मुलुकमा यस्तो कानुन लागु गरिएको छैन । यो माथिको तस्बिर पनि भारतको ग्रामीण क्षेत्रकै हो । हेलमेट मापदण्ड लागु भए पनि सहरमा त्यस्तो मापदण्डमाथि ख्याल गरिएकै होला, तर ग्रामीण क्षेत्रमा प्रहरीको आँखा छल्न मात्र हेलमेट लगाइन्छ । यो क्रम बंगलादेश र नेपाल पनि उस्तै छ । 

सर्वसाधारणलाई हेलमेट प्रयोगबारे जनचेतना जगाउन नेपाल प्रहरीले मोटर साइकल तथा स्कुटर प्रयोग गर्ने र त्यस किसिमको एउटा सवारी साधनमा दुईजना चढ्ने आफ्ना कर्मचारीले अनिवार्य रूपमा हेलमेट लगाउनुपर्ने व्यवस्था गरेको छ । 

अब बिस्तारै यस क्रमलाई बढाएर दुईजना सवार दुईपांग्रे सवारी साधनमा अनिवार्य रूपमा यात्रीले पनि हेलमेट लगाउने अभियान सुरु गरिएको छ । अभियानको सुरुवात काठमाडौं महानगरपालिका र सिंहदरबार प्रवेशबाट गर्नेबारे परिषद्ले सम्बन्धित अधिकारीसमक्ष छलफल सुरु गरिसकेको छ । परिषद्ले नेपाल प्रहरीसँगको समन्वयमा हेलमेट अनिवार्य कार्यक्रमलाई बिस्तारै अन्य संगठित संस्थाजस्तै नेपाली सेना, सशस्त्र प्रहरी बल उपत्यकाका स्थानीय निकायका कर्मचारी तथा सेवाग्राही हुँदै सर्वसाधारणसम्म पुग्ने र यसलाई देशव्यापी अभियानका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको छ । 

आउनुहोस् तपाईंहामी पनि बाइक वा स्कुटरबाट बालबालिकालाई विद्यालय पुर्‍याउँदा होस् वा नजिकैको पसलमा किनमेल जाँदा होस्, अनिवार्य रूपमा हेलमेट लगाउने बानी बसालौँ । चालकले मात्र होइन, यात्रीले पनि अनिवार्य रूपमा हेलमेट लगाऔँ । प्रहरीको आँखा छल्नु मात्र हेलमेटको काम होइन । यसले हाम्रो टाउको जोगाउँछ भन्ने तथ्यलाई भित्रैदेखि मनन गरौँ । आफू बचौँ र पछि बस्नेलाई पनि बचाऔँ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. बद्रीप्रकाश ओझा
डा. बद्रीप्रकाश ओझा
लेखकबाट थप