शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
समीक्षा

चलचित्र विकास बोर्डमा भुवन केसीको एक वर्ष : विवादै  विवादले घेरियो

भुवनले काम गर्न सकेनन् – चलचित्रकर्मी
मङ्गलबार, १६ साउन २०८०, १३ : ०५
मङ्गलबार, १६ साउन २०८०

काठमाडौँ । सुपरस्टार भुवन केसी चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक वर्ष भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा मन्त्रिपरिषद्को निर्णयबाट गत वर्षको साउन ९ गते उनी दुई वर्षका लागि नियुक्त भएका थिए । 

फिल्म क्षेत्रको विकासका लागि सहिद हुनसमेत तयार रहेको अभिव्यक्ति दिँदै बोर्ड अध्यक्षको कार्यभार सम्हालेका केसीको हाल आधा कार्यकाल सकिएको छ । 

उनी बोर्डमा नियुक्त हुँदै गर्दा फिल्मकर्मी र फिल्म क्षेत्रले ठुलो फड्को मार्ने अपेक्षा गरेका थिए । तर १ वर्ष बितिसक्दा पनि केसीको कार्यकाल खासै उपलब्धिमूलक भएको देखिएन ।

बरु, उनी यस बीचमा धेरै विवादमा घेरिए । केही राम्रो काम पनि भए । तर, विवादले ती ओझेलमा परे ।

एक वर्षको कार्यकाल भुवनले केही विदेश भ्रमण, सार्वजनिक कार्यक्रम, भेटघाटमा बढी खर्चिएको उनी निकटका व्यक्तिहरू बताउँछन् ।

विवादको शृङ्खला

भुवनको फिल्मी करियर लामो छ । त्यो करियरमा उनीसँग जोडिएका विवाद अनेकौँ छन् । कहिले प्रेम र रोमान्स, कहिले ‘मिटु’का कारण उनी हरहमेसा विवादमा रहँदै आए । 

चलचित्र विकास बोर्ड अध्यक्ष नियुक्त भएपछि पनि उनलाई विवादले पछ्याउन छाडेन । उनले बोर्डमा रहेर गरेका धेरै गतिविधि विवादित छन् । भुवनको एक वर्ष कार्यकालका यस्ता छन् विवाद ।

विवाद १ : चलचित्र विकास बोर्डले सूर्य कर्पोरेशनसँगको सहकार्यमा गत फागुनमा यूएईको दुबईमा अन्तर्राष्ट्रिय फिल्म फिएष्टा आयोजना गरेको थियो । 

उक्त फेष्टमा परिवारका सदस्य र आसेपासेले सहभागिताको अवसर पाएको, बोर्डको खर्च पारदर्शी नरहेको भन्दै विवाद भयो ।

विवाद २ : चलचित्र विकास बोर्डले गत असारमा दाङमा आयोजना गरेको प्रथम राष्ट्रिय बालचलचित्र महोत्सव पनि विवाद भन्दा बाहिर रहन सकेन । उक्त महोत्सवको औचित्य पुष्टिका लागि थुप्रै कलाकर्मीले प्रश्न गरेका थिए ।

विवाद ३ : चलचित्र विकास बोर्डले विभिन्न प्रदेशको चलचित्र घरहरू नभएका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम सञ्चालन गरेको थियो ।

यस क्रममा कोशी प्रदेशको इलाम, पाँचथर र ताप्लेजुङ तथा गण्डकी प्रदेशको बागलुङ, लमजुङ, गोर्खा र लुम्बिनी प्रदेशको केही जिल्ला छनोट भएका थिए । 

13116329_1706572142943236_3062616001405937305_o

उक्त कार्यक्रममा भुवनले आफ्नो र छोरा अनमोलको फ्लप फिल्म देखाएको भनेर आलोचना भयो ।

विवाद ४ : त्यसो त चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त हुने बित्तिकै केसीको नियुक्तिको विषय विवादमा पर्यो । उनीसँगै बोर्ड अध्यक्षको दौडमा रहेका नरेशकुमार पौड्यालसहित ५ जनाले उनको योग्यताको कुरो उठाउँदै नियुक्ति खारेजीको माग गर्दै सर्वोच्चमा रिटसमेत दिए । उक्त मुद्दाको पूर्ण सुनुवाइ भने हुन बाँकी छ ।

विवाद ५ : केसीले बोर्ड प्रवेश गर्ने बित्तिकै ५ सदस्य सल्लाहकार समिति बनाए । त्यो समितिमा उनले पुरै पुरुष सल्लाहकार राखेका थिए । 

सल्लाहकार समिति लैंगिकमैत्री नभएको विषयमा उनको निकै आलोचना भयो । त्यसपछि उनले एक महिला थप्दै ६ सदस्य सल्लाहकार समिति बनाए । 

बोर्डद्वारा दुवईमा आयोजित फिल्म फिएष्टामा असहमति जनाउँदै सल्लाकारहरुले राजीनामा दिए ।

विवाद ६ : केसी बोर्ड अध्यक्ष नियुक्त भएपछि फिल्म ‘प्रकाश’को शो विवादमा पनि मुछिए । प्रदीप खड्का अभिनीत फिल्म असफल बनाउन उनले हलमा शो कम दिन र उपयुक्त शो नदिन दबाब दिएको आरोप उनलाई लाग्यो ।

विवाद ७ : फिल्म ‘प्रेम गीत ३’ का कारण पनि केसी विवादमा रहे । ‘प्रेम गीत–३’ को हिन्दी डब प्रदर्शनमा बोर्डले रोक लगाएको देखि शोमा समेत कन्ट्रोल गराएको उनी विरुद्ध यस फिल्मका निर्माता, निर्देशक सन्तोष सेनले आरोप लगाएका थिए । 

विवादले चर्को रूप लिएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हस्तक्षेप गर्दै मिलाएको थियो ।

विवाद ८ : कतारमा सम्पन्न विश्वकपको समय पनि केसी विवादमा तानिएका थिए । पहिले हलमा विश्वकप देखाउन अनुमति दिएर पछि देखाए कारबाही गर्ने भन्दै पत्र काटेपछि उनी विवादमा परे । 

विवाद ९ : केसी फिल्म रिलिजका लागि ७ दिन अगावै सेन्सर गरिसक्नुपर्ने नियम लगाएर पनि विवादित रहे । उक्त नियमको हल सञ्चालक र वितरकले विरोध गरेपछि संशोधन गर्दै विवाद मिलाए ।

विवाद १० : चलचित्र विकास बोर्डअन्तर्गत रहेको महिला चलचित्रकर्मी सशक्तीकरण समितिमा अभिनेत्री पूजा शर्माको नियुक्ति विषयमा पनि उनी केही विवादमा मुछिएका थिए ।

41278002_2207543412868165_8355523596335972352_n

दुई मात्र काम राम्रो !

भुवनको विवादको फेहरिस्त दिँदै गर्दा यसको मतलब उनको कार्यकालमा केही राम्रो काम नभएको भने होइन । उनको कार्यकालमा खास गरी दुई राम्रो कामको भएको देखिन्छ । ती हुन्, बक्स अफिस सार्वजनिक र स्टुडियोका लागि जग्गा प्राप्ति ।

भुवनले यो वर्षबाट बक्स अफिस रिपोर्ट सार्वजनिक थालनी गरेका छन् । जसको चारैतिरबाट प्रशंसा भएको छ । उनले प्रत्येक महिनामा बक्स अफिस रिपोर्ट सार्वजनिक गर्ने बताएका थिए । तर, यो वर्ष आर्थिक वर्ष २०८०÷०८१ को सुरुवातमा वर्षभरिको रिपोर्ट मात्र सार्वजनिक गरेका छन् ।

त्यस्तै, यही असार २६ को मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माणका लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नं. १० र १३ अन्तर्गत रहेको बाहुँनडाँडा सामुदायिक वनको जग्गा छनोट भएको छ । यसमा २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृत भएको छ । भुवनको पहलबाटै यो कार्य भएको हो । चलचित्रकर्मीबाट यसको प्रशंसा भएको छ ।

अभिनेता, निर्माता, निर्देशक नवल खड्का भुवन केसीबाट बक्स अफिस र स्टुडियोका लागि जग्गा उपलब्ध राम्रो काम भएको बताउँछन् ।

‘चलचित्र क्षेत्रका लागि उहाँले धेरै काम गर्ने प्रयत्न त गर्नु भयो होला’, खड्काले भने ‘तर रिजल्ट भने दुई काम बाहेक केही आएको छैन ।’

चलचित्र लेखक तथा समीक्षक सामिप्यराज तिमिल्सेना पनि बक्स अफिस सार्वजनिक र स्टुडियोका लागि जग्गा उपलब्ध भुवनको कार्यकालको उपलब्धि भएको बताउँछन् । ‘अन्य काम भुवनले के गर्न सके, के गर्न सकेनन् ? म त्यता जान्न । यो दुई कार्य भने राम्रो मान्न सकिन्छ,’ तिमल्सिनाले थपे ।

‘भुवनले केही गरेनन्’– चलचित्रकर्मी 

पुरै जीवन फिल्ममा बिताएका थोरै फिल्मकर्मी छन्, ती मध्येका एक हुन् भुवन केसी । अभिनयबाट फिल्मी करियर सुरु गर्दै निर्माण र निर्देशनमा समेत नाम कमाएका केसीको बोर्ड अध्यक्ष नियुक्ति सबै फिल्मकर्मीको लागि खुसीको कुरा थियो । 

त्यो हिसावले पनि भुवनको बोर्ड कार्यकालमा सबैले अभिभावकत्व महसुस गर्ने अपेक्षा गरेका थिए । तर, अहिलेसम्म त्यो अपेक्षा पुरा नभएको फिल्मकर्मीको धारणा छ ।

कतिपयले भुवनले तलब भत्ता खाने, अघिल्ला अध्यक्षबाट भएका काम देखाउनेबाहेक केही नगरेको गुनासोसमेत गर्छन् ।

चलचित्र निर्देशक तथा कलाकार तीर्थ थापाले यो पटकको बोर्ड अध्यक्षबाट केही गतिलो कार्य भएको आफूले महसुस गर्न नसकेको बताउँछन् । थापा भन्छन्, ‘भुवन केसी बोर्ड अध्यक्षमा आउँदै गर्दा केही राम्रो उपलब्धि हुन्छ भन्ने थियो । तर अहिलेसम्म केही भएजस्तो लाग्दैन । त्यसले निराशा छाएको छ ।’

त्यस्तै, चलचित्र निर्माता, निर्देशक नरेश पौडेल पनि एक वर्षे कार्यकालमा भुवनले केही उपलब्धिमूलक कार्य नगरेको बताउँछन् । ‘मैले उपलब्धि केही देखेको छैन । उनको कार्यप्रति मेरो मात्र होइन, धेरैको असन्तुष्टि देखेको छु’, पौडेलले भने ।

चलचित्र निर्माता निर्देशक केपी पाठकको पनि उस्तै राय छ । ‘अहिलेसम्म उहाँले फिल्म क्षेत्रका लागि राम्रो काम केही गरेजस्तो लागेको छैन’, पाठकले भने, ‘प्लानिङमा हुनुहुन्छ कि ?’ 

चलचित्र क्षेत्रका लागि केही गर्नुपर्छ भनेर बेलाबखतमा बोल्दै आएका व्यक्तिले केही नगरेको देख्दा आफू छक्क परेको पाठकको धारणा छ । यद्यपि भुवनले केही राम्रो काम भने गर्ने अपेक्षा आफूले राखेको उनले जिकिर गरे ।

के भन्छन् भुवन ?

उता बोर्डमा आफ्नो एक वर्षे कार्यकाल सुनौलो वर्षको रूपमा रहेको भुवनको स्वमूल्याङ्कन छ । उनले लामो समयदेखि जड बनेर बसेका विभिन्न समस्याहरूको पहिचानदेखि निर्णय हुन नसकेर थन्किएका थुप्रै योजनाका फाइल खुलेको र कतिपय काममा सरकारबाट निर्णय गराउनसमेत सफल भएको उनले बताए ।

‘बोर्ड अध्यक्षको हैसियतमा एक वर्षमा चलचित्र क्षेत्रको बारेमा धेरै कुरा सिक्ने र बुझ्ने अवसर प्राप्त गरेको छु । नेपाली चलचित्रको लागि गर्नुपर्ने के रहेछ भन्ने कुराको यकिन भइसकेको छ’, केसीले भने, ‘बाँकी एक वर्षमा मैले नेपाली चलचित्रको उत्थान प्रवर्द्धन हुने थुप्रै कामहरू गर्ने योजनामा छु ।’

यस्ता छन् भुवनले एक वर्षमा गरेँ भनेको उपलब्धि 

–चलचित्रसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार भई मन्त्रालयमा पेश ।

–राष्ट्रिय चलचित्र नीति २०७१ लाई समयसापेक्ष परिमार्जन गरी राष्ट्रिय चलचित्र नीति २०८० को मस्यौदा तयार ।

–२०८० असार २६ गतेको मन्त्रिपरिषद्को निर्णयबाट अत्याधुनिक चलचित्र छायाङ्कन स्टुडियो निर्माण आयोजनाको लागि काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित बाहुँनडाँडा सामुदायिक वनको २.५०८५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति ।

–निजी क्षेत्रको सहभागितामा संयुक्त अरब ईमिरेट्स (यूएई)को दुबईमा नेपाली फिल्म फिएष्टा सम्पन्न ।

–नेपाललाई अन्तर्राष्ट्रिय चलचित्र छायाङ्कनका लागि आकर्षक स्थलको रूपमा विकास गर्न गण्डकी प्रदेशका उत्कृष्ट लोकेसनहरू छानेर वृत्तचित्र निर्माण गरी प्रचार प्रसार ।

–एक सय जना नेपाली महिला चलचित्रकर्मीहरूको अभिलेख दस्तावेजीकरण ।

– चलचित्र तथा चलचित्रजन्य वस्तुको पाइरेसी नियन्त्रण तथा सामाजिक सञ्जालमा हुने अनधिकृत गतिविधि नियन्त्रण गर्ने विषयमा सरोकारवाला निकायसँग सहकार्य गरी अन्तरक्रिया ।

– दोलखा चलचित्र नगरी निर्माण आयोजनालाई सार्वजनिक–निजी साझेदारी अवधारणामा अगाडि बढाउन मोडालिटी तयार ।

–नेपाली मौलिक कथाहरू सङ्ग्रह गरी उत्कृष्ट चलचित्र निर्माणमा प्रोत्साहनका ६ वटा कथानक र ६ वटा लघु चलचित्र छनौट ।

– नेपाली चलचित्रकर्मीलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लघुचलचित्र प्रतियोगिता गराई उत्कृष्ट तीनवटा चलचित्र पुरस्कृत ।

–राष्ट्र प्रमुखबाट प्रदान गरिने राष्ट्रिय पुरस्कार, विशेष चलचित्र पुरस्कार तथा दीर्घसाधना सम्मान कार्यक्रम आयोजनाका लागि चलचित्रहरूको मूल्याङ्कन कार्य सम्पन्न ।

–चलचित्र घरहरू नभएका विभिन्न जिल्लाका स्थानमा घुम्ती सिनेमा तथा सिनेमा साक्षरता कार्यक्रम ।

–चलचित्र साक्षरता अभिवृद्धि, दक्ष चलचित्रकर्मी उत्पादन एवम् बालबालिकालाई पनि आफ्ना कथा भन्ने र हेर्ने वातावरण तयार गर्न बालचलचित्र निर्माणका लागि प्रशिक्षण÷तालिम प्रदान ।

– चलचित्रकर्मीहरूको दक्षता अभिवृद्धिका लागि चलचित्र पटकथा लेखन, चलचित्र निर्देशन तथा चलचित्र छायाङ्कन कार्यशाला सम्पन्न ।

– आदिवासी, जनजाति,  मैथिली, मधेसी, भोजपुरी, अवधि, थारूलगायत विभिन्न भाषा संस्कृतिमा बन्ने चलचित्रहरूको विकास, विस्तार र प्रवर्द्धनमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन ।

– संसारकै उत्कृष्ट चलचित्र महोत्सवमध्ये एक कान्स ईन्टरनेशनल फिल्म फेस्टिभलमा बोर्डको समन्वयमा अविनाश विक्रम शाह निर्देशित लघु चलचित्रहरू ‘लोरी’ र ‘भुन्टे’ प्रदर्शनीको लागि पठाइएको । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप