मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
कपनको दु:ख

ढलभित्र खाँदिएको कपनको ‘चखुन्चा खोला’ : आकाश हेर्ने तरखरमा (भिडियो)

स्थानीय भन्छन्, ‘तत्कालीन जनप्रतिनिधिहरुविरुद्ध अख्तियारमा मुद्दा हाल्नुपर्छ’
मङ्गलबार, ३० साउन २०८०

काठमाडौँ । आइतबार बिहानैदेखि सिमसिम पानी परिरहेको थियो । 

–खै, आज आज डोजर आएन त ? 

छाता ओढेर कपनको साततलेमा खहरे खोला छेउ भेला भएका स्थानीय एक अर्कासँग कुरा गरिरहेका थिए । उनीहरू काठमाडौँ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सिमाना रहेको खहरे ‘चखुन्चा’ खोला खोतल्ने डोजरको बाटो हेरिरहेका थिए । 

दुईवटा ह्युमपाइपभित्र कोचिएको खहरे खोला पहिलेको अवस्थामा बिउँताएको हेर्न उनीहरूका आँखा उत्सुक भइरहेका थिए । 

kapan river (2)

काठमाडौँ महानगरपालिका–६ चाबहिलको सरस्वतीनगर र बूढानीलकण्ठ–१० जोड्ने कल्भर्ट पुल भत्किने भएपछि त्यहाँ अस्थायी पुल राख्न डोजर नआएको स्थानीय बताइरहेका थिए । 

ठूलो पानी परेको बेला बाढीले सताउने गरेको कपन साततलेमा ह्युमपाइपभित्र लुकाइएको चखुन्चा खोला उत्खननका लागि महानगरपालिकाको डोजर गत साउन २५ गते कपन पुगेको थियो । तर स्थानीयले अवरोध गरेपछि केही बेर झडपसमेत भयो । त्यो दिन महानगर खोला उत्खनन नगरी फर्कियो ।

त्यसको अर्को बिहान नापजाँच गरेर खोला उत्खनन गर्नेबारे बूढानीलकण्ठ नगरपालिका र काठमाडौँ महानगरपालिकाबीच सहमति भएपछि खोला उत्खनन थालियो । 

kapan river (5)

काठमाडौँ महानगरपालिका–७ र बूढानीलकण्ठ नगरपालिका–१० को सिमाना रहेको खहरे खोला उत्खननको काम भएको छ भने अव कामनापा–६ र बूढानीलकण्ठ नगरपालिका–१० को बीचमा रहेको खोला उत्खनन गर्ने काम भने बाँकी छ ।  

खोलामा घर बनाएकाहरू र बूढानीलकण्ठका जनप्रतिनिधिहरूले खोला उत्खनन कार्य रोक्न विवाद निकालेका थिए । साउन २६ गते बूढानीलकण्ठ नगरपालिका–१० र १२ तथा काठमाडौँ महानगरपालिका–६ र ७ को सीमा यकिन गरी नापनक्सा गर्न काठमाडौँ महानगर–७ का वडाध्यक्ष विमल होडा र ६ का वडाध्यक्ष भुवन लामा तथा बूढानीलकण्ठ नगरपालिका–१० अध्यक्ष नवराज भट्टराई र १२ का वडाध्यक्ष शम्भुप्रसाद भट्टराईबीच सहमति भएको थियो । 

kapan river (8)

धोबी खोलादेखि साततले सम्मको बूढानीलकण्ठ–१० र काठमाडौँ महानगर–७ को सीमा भागमा नापजाँच भएकोले उक्त भागको सतहमा रहेको पुरानो खहरे खोलामा राखिएको ह्युम पाइप निकाल्ने सहमति भएको थियो । 

साथै, आवागमन गर्ने स्थान धोबीखोला करिडोर, पाथीभरा बस्ती, समता टोल जाने वाटो र साततल्लेको चोक जस्ताको तस्तै राख्ने वा आवश्यकताअनुसार काठमाडौँ महानगरले बेलीब्रीज निर्माण गर्ने सहमति भएको थियो । 

kapan river (7)

साततल्ले चोकदेखि माथि बूढानीलकण्ठ नगरपालिका–१० तथा १२ र काठमाडौँ महानगर–६ मा दुवै तर्फका जग्गा धनीको नक्सापूर्जा अनुसारको जग्गा छुट्याई बाँकी भएको जग्गा खहरे कायम गरी दुवै तर्फको सिमाना र खहरे भाग रेखाङ्कन गरी छुट्याउने पनि सहमति भएको थियो । 

नापजाँचबाट सीमा यकिन गरी खहरे भागसमेत छुट्याएपछि दीर्घकालीन समस्या समाधान हुने गरी योजना बनाई खहरे तथा बाटो व्यवस्थापन गर्ने सम्बन्धमा दुवै स्थानीय तहको सम्बन्धित वडाध्यक्षहरुको लिखित सहमति भयो । यसमा दोस्रो चरणको काम सुरु गर्ने र दुवै तर्फबाट काममा सहजीकरण गरी विवाद निरूपण गर्ने सहमति भएको थियो ।

सो सहमतिपछि काठमाडौँ महानगरपालिकाले धोवीखोला छेउदेखि खहरे खोला उत्खननको काम अघि बढाएको थियो । 

स्थानीय उत्साहित :अब खोलाले आकाश देख्न पाउने भयो

ढलभित्र छोपिएको खहरेखोला उत्खनन गरेको हेर्न हरेक दिन कपन आसपासका स्थानीय कपन साततलेमा पुग्ने गरेका छन् । 

कपन खहरे भन्दा अलि माथिबाट खोला उत्खनन गरेको हेर्न आएका विनोद कोइरालाले भने–‘कस्तो गजब भएछ, खोलाले अब आकाश देख्न पाउने भयो । प्रकृतिमा यो भन्दा सुन्दर चिज के हुन्छ ? बालेनले जे गरेका छन्, खुसी हुने काम गरेका छन् ।’

kapan river (9)

महाकांलबाट कपनमा खोला उत्खनन गरेको हेर्न पुगेका रामप्रसाद लुइँटेलले सो ठाउँमा पहिलो खेतैखेतको फाँट रहेको र सेनाले प्यारासुट जम्प गर्ने स्थानको रूपमा रहेको सुनाए । 

त्यतिबेला खेतमा पानी लगाउने गरेका कारण खहरे खोला सानो बग्ने गरेको तर बिस्तारै भूमाफियाका कारण खोलामाथि नै व्यक्तिको घर बनेको लुइँटेलले बताए । 

गोकर्ण जगडोल, कपन गुम्बा, तेन्जिङ चोकसम्मको पानी खहरेमा बग्ने गर्छ । तेन्जिङ चोकदेखि खहरे खोलालाई ह्युमपाइपभित्र हालेर धोवीखोलासम्म छोपिएको छ । 

kapan river (4)

हिँउदको समयमा ह्युमपाइपभित्र पानी बग्न समस्या नभए पनि वर्षात्को बेला भने ह्युम पाइपमा पानी नअटेपछि ओभरफ्लो हुँदा बाढीले गर्दा स्थानीयले हरेक वर्षाको समयमा सास्ती पाउँदै आएका थिए । 

२ वर्षअघि सोही ठाउँमा १२ वर्षका उज्ज्वल विश्वकर्माले ज्यान गुमाएका थिए । बाढी आएको बेला कपनको आनन्द टोलमा खुला छोडिएको ढलभित्र परेर उनी बेपत्ता भएका थिए । 

अहिले काठमाडौँ महानगरपालिकाले खोलालाई पहिलेकै अवस्थामा बगाउन थालेपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । खोलालाई नियन्त्रण गर्दा वर्षात्मा बाढीका बेला स्थानीयको पसलभित्र पानी छिरेर सरसामानको नोक्सानी, बाटोमा रहेका मोटरसाइकल लगायतका साना सवारी साधन बगाउने समस्या रहेको थियो । 

आजदेखि पुनः काम अघि बढ्छः राजुनाथ पाण्डे, महानगर प्रहरी प्रमुख 

काठमाडौँ महानगरपालिकाका प्रहरी प्रमुख राजुनाथ पाण्डेले सोमबारदेखि फेरि खोला उत्खननको काम अघि बढ्ने बताए । 

उनले भने–‘आइतबार दिनभरि पानी परेका कारण काम गर्न समस्या भयो । नाप हेर्दै, खोला खोज्दै अगाडि बढ्ने हो । हाम्रो वडा नम्बर ६ र ७ को वडाध्यक्षहरूले सहजीकरण गरिराख्नु भएको छ ।’

उनले भने–‘धोवीखोलामा खहरे खोला मिसिने ठाउँको पक्की बाटो भत्काउँदा समस्या पर्ने भयो । त्यहाँ पुल बनाउनुपर्ने अवस्था छ । दोस्रो साततलेमा तथा मिलनचोकमा दुई ठाउँमा बेलीब्रिज राख्नुपर्नेछ ।’ 

उनले ३ ठाउँमा पुल राख्नुपर्ने अवस्था रहेको र त्यसका लागि महानगर प्रमुख बालेन शाहले पहल गरिरहेको बताए ।   

काठमाडौँ महानगरपालिकाले छुने झन्डै ६ सय मिटर क्षेत्रको खोला उत्खनन गर्न  लागिएको उनले बताए । 

बूढानीलकण्ठतर्फ खोलामै घर

खोला उत्खनन पछिको दृश्य हेर्दा काठमाडौँ महानगरपालिका साइडमा मापदण्डअनुसार घर बनेको देखिन्छ । उता बूढानीलकण्ठतर्फ भने खोलामै टाँसेर घर बनाइएको छ । खोलाको मापदण्ड कायम गर्ने हो भने बूढानीलकण्ठ नगरपालिकाले ती घर भत्काउनुपर्ने हुन्छ । ती घर बचाउनकै लागि बूढानीलकण्ठका जनप्रतिनिधि विवादमा उत्रिएको स्थानीय बताउँछन् । 

स्थानीय काशीनाथ गौतम खोलाको अधिकार क्षेत्रमा घर बनाउन जसले सिफारिस ग¥यो, जसले नक्सापास गर्‍यो, उनीहरुलाई पक्राउ गरी कारबाही गर्नुपर्ने बताउँछन् । 

kapan river (1)

गौतम अगाडि भन्छन्–‘बिना सिफारिस, बिना नक्सापास यी घर बनेनन्, अब कानुनी रूपमा अघि बढ्नुपर्छ । यो खोलालाई पहिलेको अवस्थामा पुर्‍याउनु पर्छ । खोलालाई पाइपभित्र हालेर त्यसमाथि घर बनाउन पाइँदैन ।’ पैसा खाएर खोलामाथि घर बनाउने काम भएको उनको जिकिर छ ।

स्थानीय हितेन्द्र प्रसाद ढकालले २० वर्ष अगाडि खहरे खोलाको दुबैतिर धान रोप्ने फाँट रहेको र हरेक वर्ष खोला दायाँबायाँ कटान गर्दै बग्ने गरेको सुनाए । २०६२ सालपछि खोलामा पाइप राखेर पुर्ने काम सुरु भएको उनले बताए । उनले बस्तीमा बाढी पस्न नदिन खुला खोला चाहिने भएकोले अहिले थालेको काम टुङ्गोमा पुर्‍याउनुपर्ने बताए । 

उनले भने–‘यहाँ बाहिरका मान्छे आएर घर बनाए, जग्गा किन्ने बेलामा उनीहरूले जानेनन् । सिफारिस दिएपछि घर भत्किँदैन भनेर बनाए । खोलामै टाँसेर घर बनाउँदा छेउमा बाटो पनि राख्नुपर्दा भत्किँदैन त अब ?’

kapan river (6)

यहाँका जनप्रतिनिधिहरूको बेइमानीका कारण यस्तो भएको उनको आरोप छ । ‘बाटो छुट्याएर मात्र घडेरी दिनुपर्थ्यो । यिनीहरूले खोला, बाटो बेचेर खाए । अहिले बाहिरबाट आएका मान्छेहरू मुर्छा पर्ने भए ।’ उनले भने । तत्कालीन जनप्रतिनिधिहरुविरुद्ध अख्तियारमा मुद्दा हाल्नुपर्ने उनको जिकिर छ ।

स्थानीय हरिप्रसाद नेपाल भन्छन्,‘म पहिला नापीमा काम गरेको मान्छे हुँ । २०२२ सालको नापीअनुसार खहरेलाई २२ फिट छाडेर खोलाको दायाँ घर बनाउनेले अर्को ५ फिट जग्गा छाडेर घर बनाउनु पर्थ्यो । यहाँ त खोला नै सिध्याउने काम भयो । तत्कालीन जनप्रतिनिधिकै कारण यस्तो भएको हो ।’

kapan river (3)

बूढानीलकण्ठ नगरपालिकातर्फ खोलाको मापदण्ड मिचेर धेरै घर बनेको देखिन्छ । नगरपालिकाले ती घर हटाउँछ वा कानुनविपरीत यथावतै राख्छ, यकिन छैन । बूढानीलकण्ठ नगरप्रमुख मिठाराम अधिकारी फोन अफ गरेर बसेका छन् भने खोला उत्खननको काम भने अघि बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया