सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

नेपाल टेलिकमको नाफा घट्यो, औँल्यायो ८ कारण

बुधबार, ३१ साउन २०८०, १२ : ०३
बुधबार, ३१ साउन २०८०

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले नाफा ७.८६ प्रतिशतले घटेको छ ।

गत आर्थिक वर्षको आषाढ मसान्त (२०७९ आषाढ) सम्मको खुद मुनाफा ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा (२०८० आषाढ मसान्त) मा ६६ करोड ६२ लाख ७ हजार रुपैयाँले कमी आई  ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ रहेको कम्पनीले जनाएको हो।

नेपाल टेलिकमको आ.व.२०७९/८० को  चौथो त्रैमासिकको वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको आषाढ मसान्त (२०७९ आषाढ) सम्मको कूल आय रु. ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो । चालु आर्थिक वर्षको सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा कुल आय रु. ४९ करोड ३६ लाख १६ हजारले वृद्धि भई रु. ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको कम्पनीको भनाई छ।

त्यस्तै कम्पनीको कुल सञ्चालन आय रु ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेकोमा चालु आ.व. को सोही अवधि (२०८० आषाढ मसान्त) सम्ममा  रु १ अर्ब ११ करोड ५८ लाख ५८ हजारले कमी भई रु ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ।  

कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष रु. ४३.३६ रहेको छ।

गत आर्थिक वर्षको तुलनामा चालु खुद मुनाफामा परिवर्तन हुनुमा टेलिकमले ८ वटा कारणहरू औँल्याएको छ । यस्ता छन् कारणहरू :

१. रोमिङ सेवाको बढ्दो प्रयोगको कारण यस वर्षको आयमा गत वर्षको तुलनामा २२ करोड ४६ लाख वृद्धि भएको छ । गत वर्षको तुलनामा सेवा सञ्चालनसँग प्रत्यक्ष रूपमा सम्बन्धित खर्चहरूमा वृद्धि भएको छ । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करिब रु. १ अर्ब ८५ करोड ७७ लाखले वृद्धि भएको छ। 

२. विदेशी विनिमय दरमा भएको परिवर्तनको कारण रु.२२ करोड २४ लाख फरेन एक्सचेन्ज गेन भएको छ । 

३. डोमेस्टिक अन्तरआबद्धता शुल्कमा परिमार्जन भएको छ । कम्पनीद्वारा व्यापक रूपमा देशैभरि फोरजी सेवा विस्तारसँगै डाटाको पहुँचमा वृद्धि भएको र सस्तो दरका डाटा प्याकेजहरू बढ्दै गएको कारण ओटीटी सेवाको प्रयोगमा थप वृद्धि भएको कारण अन्तरआवद्धता आयमा करिब रु. ६८ करोड ३७ लाखले कमी भएको छ। 

४. मौसमको प्रतिकुल असरले गर्दा बिद्युत् आपूर्ति तथा मर्मत सम्भार कार्य समयमा हुन नसकेकोले साइटहरू समयमा सञ्चालन हुन नसकेको। 

५. आर्थिक ऐन, २०७९ बाट दूरसञ्चार सेवा दस्तुरमा भएको परिवर्तनको कारण राजस्वमा तुलनात्मक रूपमा कमी आएको छ। 

६. कोभिड–१९ को कारण विगत केही वर्ष देखि सञ्चालन हुन नसकेको क्षमता अभिवृद्धिका कार्यक्रमहरू यस वर्ष सञ्चालन हुनु र गत वर्ष कर्मचारीहरूको तलबमा भएको वृद्धिको कारण यस वर्ष कर्मचारीसँग सम्बन्धित निवृत्तिभरण व्यवस्थामा वृद्धि भएको छ। 

७. विभिन्न जनसरोकारका निकायले पूर्वाधार निर्माण, विस्तार, मर्मत, स्थानान्तरण एवं नगरपालिका र वडा कार्यालयले गर्ने केबल व्यवस्थापन कार्यका क्रममा कम्पनीले सेवा प्रवाह गर्न निर्माण गरेका कतिपय संरचनामा क्षति पुग्ने गरेको तथा नेटवर्क विस्तारमा समेत प्रभाव परेको छ ।  

८. ‘राष्ट्रको सञ्चार’ भएकाले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप