नारच्याङमा ७६औँ अन्नपूर्ण आरोहण दिवस मनाइयो
म्याग्दी । ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल आरोहण गर्ने बाटो र आधार शिविर रहेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा बुधबार विविध कार्यक्रमका साथ ७६औँ आरोहण दिवस मनाइएको छ ।
४ हजार १९० मिटर उचाइमा रहेको अन्नपूर्ण आधार शिविरदेखि नारच्याङसम्म खुला दौड प्रतियोगिता, पदयात्रा, आरोही र आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको विकास तथा प्रवर्द्धनमा योगदान गरेका व्यक्ति तथा संस्थालाई सम्मान र सांस्कृतिक कार्यक्रम गरेर दिवस मनाइएको हो ।
सन् १९५० जुन ३ तारिखमा फ्रान्सका मौरिज हेर्जोग र लुई लचेनलको टोलीले अन्नपूर्णको शिखर चुमेको तीन वर्षपछि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण भएको थियो । आठ हजार मिटरभन्दा अग्लो पहिलो मानव पाइला परेका कारण अन्नपूर्णलाई जेठो हिमाल भनिन्छ । पर्यटन विभागको अभिलेखअनुसार आरोहणका हिसाबले जोखिमयुक्त मानिने अन्नपूर्णमा ७६ वर्षको अवधिमा ५७२ जनाले आरोहण गरेका छन् ।
नेपालको पर्यटन क्षेत्रको विकास र पर्वतारोहणको शुभारम्भ भई हिमाललाई विश्वभर चिनाउने दिनको सम्झनाका रूपमा अन्नपूर्ण आरोहण दिवस मनाइएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए । दिवसका अवसरमा आयोजित रु एक लाख २५ हजार पुरस्कार राशिको ३१ दशमलव छ किलोमिटर दूरीको दोस्रो अन्नपूर्ण हेर्जोग दौड प्रतियोगिमा पुरुषतर्फ ताप्लेजुङका रमेश लिम्बू र महिलातर्फ डोल्पाकी सुनसरी रोका विजयी भएका छन् ।
एथ्लेटिक्स सङ्घ गण्डकी र नेपाल भूतपूर्व खेलाडी मञ्चको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा नौ महिला र १२ जना पुरुष सहभागी भएको सो प्रतियोगिता अन्नपूर्ण गाउँपालिका–४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । लिम्बूले दुई घण्टा चार मिनेट र रोकाले दुई घण्टा ४७ मिनेट १६ सकेन्डमा उक्त दूरी पूरा गरी उपाधि हासिल गरेका हुन् । उनका अनुसार पुरुषतर्फ मनकुमार रोका काठमाडाँैले दुई घण्टा १६ मिनेट ११ सकेन्डमा दूरी पार गरेर दोस्रो र दुई घण्टा २३ मिनेट १२ सकेन्डमा दूरी पार गरेर अर्जुन कुलिङ सोलुखुम्बुले तेस्रो स्थान हासिल गरेका छन् ।
यसैगरी, महिलातर्फ पुष्पा शेरमा पाँचथरले दुई घण्टा ५२ मिनेट सात सकेन्डमा दूरी पार गरेर दोस्रो र निर्मला राई (खोटाङ) ले २ घण्टा ५३ मिनेट ३० सकेन्डमा उक्त दूरी पार गरेर तेस्रो भएकी छन् । यसैगरी, प्रतियोगितामा पुरुषतर्फ लोकेन्द्र राई (सोलुखुम्बु), होमलाल श्रेष्ठ (रामेछाप), सनम गुरुङ (तनहुँ) र महिलातर्फ सन्देभा बुढा (जुम्ला), आशमा विक (रोल्पा), भिमु बुढा (जुम्ला)ले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।
प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख २५ हजार, दोस्रोलाई रु ७५ हजार, तेस्रोलाई रु ४३ हजार ७५० नगदसहित प्रमाणपत्र र सान्त्वना हुनेलाई रु १२ हजार ५०० का दरले नगद पुरस्कारसहित सम्मान गरिएको थियो । तीन पटकसम्म अन्नपूर्ण हिमाल आरोहण गरेका छाङ्वा शेर्पा र महिला आरोही माया शेर्पालाई सम्मान गरिएको छ । मौरिस हर्जोग पदमार्गको पहिचान गरेका तेजबहादुर गुरुङ, उद्धारकर्मी इन्द्रसिंह शेरचन, नक्सा तयार पार्नुभएका चित्रबहादुर तिलिजा, प्रचारप्रसारमा योगदान गर्ने नेपाल पत्रकार महासङ्घ र सञ्चारकर्मी गणेश गुरुङ (सुरेन)लाई सम्मान गरिएको थियो ।
नारच्याङका तेज गुरुङको अगुवाइमा २०६८ सालमा अन्नपूर्ण हिमाल र आधार शिविर म्याग्दीमा पर्ने तथ्य तथा पदमार्ग पहिचान भएको थियो । सो पदमार्गलाई अन्नपूर्ण गाउँपालिकाले २०७७ सालमा नक्साङ्कन र ‘मौरिस हेर्जोग’ नामकरण गरेको थियो । दिवसको अवसरमा नारच्याङको मौलिक पुर्ख्यौली र स्थानीय कलाकारहरुबाट नृत्य प्रस्तुत गरिएको वडा सदस्य श्याम पुर्जाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण