बजेटमा नयाँपन छैन, निजी क्षेत्रलाई उत्साहित बनाउन सकेन : सुरेन्द्र पाण्डे
बुटवल । नेकपा एमालेका नेता तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको बजेटमा जनताले अनुभूति गर्ने खालको कुनै नयाँपन नभएको टिप्पणी गरेका छन्।
रूपन्देही व्यापार सङ्घले आज बुटवलमा आयोजना गरेको आर्थिक बहस कार्यक्रममा बोल्दै पाण्डेले बजेटको आकार ठुलो भए पनि राज्यको आर्थिक चरित्र परिवर्तन गर्ने कुनै ठोस योजना समावेश नभएको बताए। उनले बजेट कार्यान्वयन नै सबैभन्दा ठुलो चुनौती रहेको उल्लेख गरे।
मध्यम वर्गलाई केन्द्रमा राखिएको दाबी गरिए पनि बजेटले निजी क्षेत्रलाई लगानीका लागि उत्साहित बनाउन नसक्ने उनको भनाइ थियो। “व्यवसायी र लगानीकर्ता उत्साहित नभएसम्म मुलुकले अपेक्षित समृद्धि हासिल गर्न सक्दैन,” उनले भने।
चालु आर्थिक वर्षमा पुँजीगत बजेट खर्च सन्तोषजनक हुन नसकेको उल्लेख गर्दै उनले करिब २१ खर्ब रुपैयाँको बजेटमा पुँजीगत खर्चको हिस्सा अत्यन्त न्यून रहेको बताए। पुँजीगत खर्च कम हुँदा विकास निर्माणका काम प्रभावित हुने र आर्थिक वृद्धि अपेक्षाअनुसार हुन नसक्ने उनको तर्क थियो।
राज्य सञ्चालनका लागि राजस्व महत्त्वपूर्ण भए पनि बजेटको आकार बढाउँदैमा मुलुक समृद्ध नहुने पाण्डेको भनाइ छ। बैंकको ब्याजदर घट्दा पनि उद्योगी–व्यवसायीले नयाँ लगानी गर्न नचाहेको र वर्तमान अवस्थामा वैदेशिक लगानी आकर्षित हुने वातावरणसमेत कमजोर रहेको उनले बताए।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको भए पनि हालसम्म करिब सवा १० खर्ब रुपैयाँ मात्र सङ्कलन भएको उल्लेख गर्दै उनले निर्धारित लक्ष्य पूरा गर्न कठिन हुने बताए।
बजेटमा उधारो कारोबारसम्बन्धी ऐन ल्याउने विषय समावेश गरिएकोलाई भने उनले सकारात्मक पक्षका रूपमा लिएको बताए। कार्यक्रममा रूपन्देही व्यापार सङ्घका अध्यक्ष प्रकाश ढकाल ले बजेटले व्यवसायीमाथि पारेको प्रभाव, कर असुली प्रणाली, करका दर तथा सिद्धान्त र समग्र आर्थिक नीतिबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण