शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
पूर्वमाओवादी नेताका दु:ख

एमालेमा पूर्वमाओवादी : कोही बदनाम, कोही गुमनाम

शनिबार, ०२ भदौ २०८०, १८ : ४५
शनिबार, ०२ भदौ २०८०

काठमाडौं । तत्कालीन नेकपा विभाजनपछि एमालेमा रहेका माओवादी पृष्ठभूमिका नेताहरू  अहिले कोही गुमनाम र कोही बदनाम छन् । २०७७ फागुन २३ मा सर्वोच्च अदालले नेकपा बदर गरेपछि साविक माओवादी केन्द्रमा नफर्किएका रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौशीशंकर चौधरी लगायत प्रभावशाली नेताहरू एमालेमा लागेका थिए । २०७८ मंसिरमा भएको एमालेको १० औं महाधिवेशनबाट बादलसहित पूर्वमाओवादीबाट ३४ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।  

तीमध्ये पूर्वउपप्रधानमन्त्री एवं सचिव रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहसँग मोटो रकम असुल गरी नीतिगत निर्णय गराउने र गृह प्रशासनलाई प्रभाव पार्ने काममा सक्रिय रहेको आरोपमा प्रहरीले उनीमाथि काठमाडौं जिल्ला अदालतमा दायर गरेको मुद्दा विचाराधीन छ । सोही आरोपमा उनका छोरा सन्दीपसमेत थुनामा छन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पटकपटक मन्त्री भएका उनी २०६४ यताका सबै निर्वाचन जित्न सफल भए । गत मंसिरमा भएको निर्वाचनमा गठबन्धनका प्रभावशाली नेतृ पुष्पा भुसाललाई पराजित गरी उनी प्रतिनिधिसभा सदस्यमा अर्घाखाँचीबाट निर्वाचित भएका थिए । पूर्वमाओवादीबाट एमाले उम्मेदवारका रुपमा प्रतिनिधिसभा सदस्य प्रत्यक्ष निर्वाचन जित्ने उनी र ज्वालाकुमारी साहमात्र हुन् ।

सत्ता गठबन्धनका उम्मेदवारलाई हराएर थप चर्चामा आएका रायमाझी अहिले बदनाम छन् । उनलाई एमालेले निलम्बन गरिसकेको छ । सुरूमा रायमाझीको बचाउमा अध्यक्ष केपी शर्मा ओली आफै लागे पनि चौतर्फी दबाब आएपछि रायमाझीलाई निलम्बन गर्न एमाले बाध्य भएको थियो । शरणार्थी प्रकरणले रायमाझीको राजनीतिक भविष्य नै समाप्त हुने खतरा छ ।

बादल, लेखराज, मणि, गौरीशंकर गुमनाम

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापा ‘बादल’ एमालेको १० औं राष्ट्रिय महाधिवेशन यता खासै सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । पार्टीको ५ औं वरीयतामा रहेका थापा पार्टीको बैठकमा उपस्थिति जनाउनुबाहेक राजनीतिमा खासै सक्रिय देखिएका छैनन् ।

माओवादी केन्द्रमा प्रचण्डपछि शक्तिशाली नेता थिए बादल । उनी माओवादी जनयुद्धका सैन्य योजनाकारसमेत मानिन्छन् । २०६४ को संविधानसभा निर्वाचनमा बादलले चितवन–३ बाट निर्वाचन जिते । प्रचण्डका विश्वासिलो पात्र रहेका उनी २०६९ मा वैद्यसँगै पार्टीबाट अलग भएर २०७० को दोस्रो संविधानसभा बहिस्कार गरे । २०७४ मा उनी पुनः माओवादीमा फर्किए । त्यतिबेला चितवन–३ बाट प्रचण्डले उम्मेदवारी दिएका कारण उनी राष्ट्रियसभा सदस्य भए । नक्कली भुटानी शरणार्थी प्रकरणमा छोरा प्रतीकसमेत मुछिएपछि तनावमा रहेका बादल राष्ट्रिय राजनीतिमा गुमनामजस्तै छन् । उनकी श्रीमती नैनकला थापा समानुपातिकबाट प्रतिनिधिसभा सदस्य छिन् तर राजनीतिमा जम्न सकेकी छैनन् । २०७९ को निर्वाचनमा बादलले भाग नै लिएनन् ।

त्यस्तै पूर्वमन्त्री एवं सचिव लेखराज भट्ट माओवादीभित्र निकै शक्तिशाली पात्र थिए । प्रचण्डका विश्वासिला रहेका उनी एमालेमा पुगेपछि गत निर्वाचनमा कैलाली–४ बाट पराजित भए । माओवादीबाट तीन पटकसम्म लगातार निर्वाचन जितेका भट्टलाई कांग्रेसका उम्मेदवार वीरबहादुर बलायरले पराजित गरे । माओवादीबाट पटकपटक मन्त्री हुने नेतामध्ये भट्ट पनि एक हुन् । नेकपा विघटपछि ओलीलाई साथ दिएका उनी अहिले एमालेका कर्णाली इन्चार्ज छन् । यद्यपि उनी खासै सक्रिय देखिएका छैनन् ।

पूर्वमन्त्री एवं स्थायी कमिटी सदस्य मणि थापा पछिल्लो समय एमाले नेतृत्वसँग असन्तुष्ट देखिएका छन् । उनी पार्टीको बैठकमासमेत उपस्थिति छैनन् । थापाले आफूले पार्टी पनि नछाडेको र बैठकमा पनि उपस्थित नभएको स्वीकार गरे । कामको व्यस्तताले नेताहरूसँग समन्वय गरेर नै आफूले बिदा लिएको उनको जिकिर छ ।

तत्काल पार्टीको काममा फर्किने कुनै योजना नभएको उनले रातोपाटीसँग बताएका छन् । अहिले आफू गीत–संगीतमा व्यस्त रहेको जानकारी दिँदै तत्काल कुनै पार्टीमा प्रवेश गर्ने योजना नभएको बताए । विप्लव नेतृत्वमा जान लागेको चार्चालाई इन्कार गर्दै उनले सक्रिय राजनीतिबाट केही समयका लागि बिदा लिएको तर्क गरे । ओली नेतृत्वको सरकारमा थापा खानेपानी मन्त्री थिए ।

‘मैले नेताहरूसँग सल्लाह गरेरै केही समयका लागि सक्रिय राजनीतिबाट विश्राम लिएको हुँ । अहिले गीत–संगीतमा व्यस्त छु । तत्काल पार्टी काममा फर्किने कुनै योजना छैन । अन्य पार्टीमा जाने योजना पनि छैन’, उनले भने ।

साउन ३० गते बसेको एमाले सचिवालय बैठकमा थापाले लामो समय पार्टी कामबाट बिदा लिएकोमा नेताहरूले प्रश्न उठाएका थिए । अर्को बैठकमा पनि उपस्थित नभए थापामाथि स्पष्टिकरण सोध्ने तयारीमा एमाले छ ।

यसैगरी कैलाली–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका गौरीशंकर चौधरी पनि सक्रिय राजनीतिमा देखिएका छैनन् । उनी २०७० र २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका थिए । गौरीशंकर नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगा चौधरीसँग पराजित भएका हुन् । उनी अहिले एमाले केन्द्रीय सदस्य छन् ।

राजनीतिमा सक्रिय ज्वाला

एमाले पृष्ठभूमिबाट माओवादी आन्दोलनमा लागेकी ज्वाला नेकपा विघटनपछि बादलसँगै पुनः एमालेमै रहेकी थिइन् । प्रतिनिधिसभा सदस्य निर्वाचन जित्नेमा पूर्वमाओवादीबाट रायामाझीसहित उनी एक हुन् । पूर्वमाओवादी पृष्ठभूमिका नेतामा उनी राजनीतिमा सक्रिय छिन् । सुन प्रकरणमा गृह र अर्थमन्त्रीको राजीनामा मागेर चर्चामा आएका कांग्रेस सांसद सुनिल शर्मालाई पक्राउ गरेकोमा गत हप्ता साहले संसदमा विरोध गरेकी थिइन् । अहिले मधेस प्रदेशको पार्टी काममा उनी बारा गएकी छन् । संगठन सुदृढीकरण अभियानमा मधेसमा रहेको उनले बताइन् ।

प्रभुको विद्रोह

एमालेमै रहेका अर्का प्रभावशाली नेता प्रभु साह प्रतिनिसभा सदस्य निर्वाचनको उम्मेदवार मनोनयनका  दिनमा विद्रोह गरी स्वतन्त्र उम्मेदवारका रुपमा निर्वाचन लडे । ओलीको नीति र कार्यशैलीप्रति असन्तुष्ट देखिएका साहले असोज २३ गते एमालेसँग विद्रोह गरी रौतहट–३ बाट स्वतन्त्र उम्मेदवारी दिए । स्वतन्त्र उम्मेदवार ओमप्रकाश जैशवाललाई हराउँदै उनी  विजयी भए । साहलाई गठबन्धनले साथ दिएको थियो । मधेस प्रदेशका प्रभावशाली नेता रहेका उनी २०६४ यताका सबै निर्वाचन जित्न सफल भए । निर्वाचनपछि आम जनता पार्टी खोलेका साह अहिले पनि चर्चामै छन् ।

नेतृत्वको कार्यशैलीप्रति असन्तुष्ट पूर्वमाओवादी

माओवादीबाट एमालेमै बसेका नेताहरू १० औं महाधिवशेनपछि नाममात्रको पद पाइएको, सक्रिय जिम्मेवारी नपाइएको भन्दै नेतृत्वप्रति असन्तुष्ट छन् । माओवादी पृष्ठभूमिबाट आएकाका लागि एमालेले लिएको नीति, सिद्धान्त र संगठनात्मक लय पर्गेल्न नसकेको नेता थापाको बुझाइ छ ।

‘हामी लामो समय माओवादी पृष्ठभूमिमा रहेर काम गरेका हौं । हामीले लिएको विचार, सिद्धान्त र एमालेले लिएको विचार, सिद्धान्तसँग तालमेल मिल्न सकेको छैन । एमाले पद छ, जिम्मेवारी छैन । बहुपदीय सांगठनिक प्रणाली भए पनि एकल नेतृत्वमा चलेको छ । त्यसैले एमालेमा हामी एडजस्ट हुन सकेका छैनौँ’, उनले भने ।

पार्टीमा निष्क्रिय जिम्मेवारी रहेर बस्नुभन्दा नेताहरूलाई जानकारी गराएर बिदामा बसेको उनी बताउँछन् । पार्टी जिम्मेवारीमा फर्किने सम्भावन न्यून रहेको संकेत गर्दै उनले तत्काल नयाँ पार्टी खोल्ने वा कुनै पार्टीमा जाने सम्भावना नरहेको जनाए । उनी माओवादी केन्द्रमै फर्किने सम्भावना पनि तत्काल नभएको बताउँछन् ।

यसैगरी सचिव भट्ट पार्टी कामले कर्णालीमा भए पनि स्वास्थ्यका कारण राजनीतिमा सक्रिय हुन नसकेको बताउँछन् । तर आफू एमाले परित्याग गर्ने मनस्थितिमा नरहेको उनले जिकिर गरे ।

‘म पार्टी कामले सुर्खेतमा आएको छु । पछिल्लो समय ढाड दुःने समस्या भएकाले राजनीतिमा सक्रिय हुन सकेको छैन’, उनले भने, ‘एमाले छोड्ने मैले सोच बनाएको छैन । काठमाडौं फर्किएपछि केही समय रेस्ट गर्छु । त्यसपछि पार्टी काममै फर्किन्छु ।’

भट्ट पनि पछिल्लो समय नेतृत्वको कायैशैलीप्रति सन्तुष्ट देखिएका छैनन् । तर नेतृ साहले पार्टीमा पूर्वमाओवादी नेताहरू निष्क्रिय रहेको भन्ने आरोपको खण्डन गरिन् । ‘हामीहरू सबै जना पार्टी कामममै व्यस्त छौँ । सबै कुरा बाहिर ल्याउनुपर्छ भन्ने पनि छैन । बादल कमरेड पनि पार्टी काममै व्यस्त हुनुहुन्छ । बाहिर सार्वजनिक काममा नदेखिनुभएको मात्र हो । पार्टीको मिटिङमा आइरहनुभएको छ’, उनले भनिन् ।

पूर्वमाओवादी नेताहरू नेतृत्वप्रति असन्तुष्ट रहेको भन्ने विषय सत्य नभएको उनले जिकिर गरिन् ।    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप