सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय
जनतासँग माओवादी विशेष रूपान्तरण

यस्तो छ ६ हजार ७४३ वडामा एक साथ पुग्ने माओवादी विशेष अभियानको तयारी

अभियानको बीचमा पर्ने सबै चाडपर्व जनतासँग मनाउन परिपत्र
आइतबार, ०३ भदौ २०८०, २० : ०४
आइतबार, ०३ भदौ २०८०

काठमाडौँ । भदौ १६ देखि सुरु हुने नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रूपान्तरण’ तीन महिने अभियानको तयारी तीव्र रूपमा अगाडि बढेको छ ।

२५ लाख जनताबीच पुग्ने लक्ष्यसहित तीन चरणको अभियान सफल बनाउन माओवादी केन्द्रका पदाधिकारी, केन्द्रीय सदस्य र  प्रदेशका पदाधिकारीहरू तयारीमा जुटेका हुन् । साउन १७ देखि २१ सम्म काठमाडौँमा बसेको माओवादी केन्द्रीय समिति बैठकले १० वटै प्रदेशको इन्चार्ज फेरबदल गरेको थियो । 

कार्यविभाजन कुन कुन प्रदेशमा टुंगियो ? 

सम्बन्धित प्रदेशका इन्चार्ज, केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारी बसेर केन्द्रले जारी गरेको  परिपत्रअनुसार नेताहरूको कार्यविभाजन, जनपरिचालन, अभियानको मोडालिटीलगायत विषयमा निर्णय गरेको केन्द्रीय सचिव एवं सुदूरपश्चिमका इन्चार्ज डिलाराम आचार्यले जनाए । आचार्यका अनुसार १० प्रदेशमध्ये ५ प्रदेशका केन्द्रीय सदस्यहरूको कार्यविभाजन टुंगिइसकेको छ । 

कार्यविभाजन टुंगिएको प्रदेशहरूमा कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र उपत्यका विशेष रहेको छ । यद्यपि उपत्यका विशेषको अन्तिम निर्णय हुन बाँकी छ । सुदूरपश्चिम प्रदेशमा केन्द्रीय सदस्यहरू आउने क्रम जारी रहेकाले कार्यविभाजन नटुंगिएको उनले बताए । 

‘१० प्रदेशमध्ये कोशी, उपत्यका विशेष, गण्डकी, लुम्बिनी र कर्णालीमा कार्यविभाजन सकिएको छ । सुदूरपश्चिममा सोमबारसम्म टुंगो लाग्छ । अन्य प्रदेशको पनि छिट्टै टुंगिन्छ’, उनले भने । 

अहिलेसम्म कार्यविभाजन नटुंगिएको प्रदेशहरूमा सुदूरपश्चिमसहित मधेस, बागमती, प्रवास, सम्पर्क समन्वय प्रदेश रहेका छन् । ती प्रदेशमा पनि छिट्टै कार्यविभाजन टुंगिने आचार्यले बताए । केन्द्रीय  कमिटी बैठकले केन्द्रीय सदस्यहरूको कार्यविभाजन सम्बन्धित प्रदेशभित्र अन्तरजिल्लाको जिम्मेवारी दिने गरी कार्यविभाजन तोक्न निर्देशन दिएको थियो । 

६ हजार ७४३ वडामा एकैसाथ केन्द्रीय सदस्यहरू पुग्ने

‘घर–घरमा माओवादी, जन–जनमा माओवादी’ नारासहित प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भव्य समारोह गरी अभियानको शुभारम्भ गर्दैछन् । ७५३ पालिकाको ६ हजार ७४३ वडामा ८८ समूह बनाएर एकसाथ अभियान सुरु गर्ने तयारी गरिएको केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्याय बताउँछन् । उद्घाटनको दिन प्रत्येक वडामा एक जना केन्द्रीय सदस्य पुग्ने र बाँकी वडामा प्रदेश कमिटीका पदाधिकारी र सदस्यहरू पुग्ने व्यवस्था मिलाइएको छ । 

‘भदौ १६ गते केन्द्रीय कार्यालय पेरिसडाँडाबाट प्रधानमन्त्रीले जुम प्रविधि प्रयोग गरी अभियानको शुभारम्भ गर्नुहुन्छ । उद्घाटनको दिन सबै केन्द्रीय कमिटी सदस्य र प्रदेश कमिटी सदस्यहरू तोकिएका वडामा पुग्नेछन्’, उपाध्यायले भने, ‘त्यसपछि आ–आफ्ना वडामा रहेर तीन महिनासम्म अभियान सञ्चालन गर्नेछन् । तीनमहिने अभियान सकिएपछि सुझावसहितको लिखित प्रतिवेदन केन्द्रलाई अनिवार्य बुझाउनुपर्ने छ ।’

केन्द्रीय कमिटीले परिमार्जनसहित पारित गरेको पछिल्लो केन्द्रीय सदस्यहरू ४११ जना छन् । बाँकी ६ हजार ३३२ वडामा प्रदेश कमिटीका सदस्य परिचालन गर्ने निर्णय भएको छ । 

उद्घाटनपछि अध्यक्ष प्रचण्ड र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ सात प्रदेशको सात वडामा जाने यसअघि नै घोषणा गरिसकेका छन् । अभियानमा केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगका सदस्यहरूसमेत परिचालन हुनेछन् । 

अभियानको बीचमा पर्ने सबै चाडपर्व जनताको बीचमा बसेर मनाउन परिपत्रमा उल्लेख छ । घर घरमा पुगेर माओवादी आन्दोलन, सरकारले गरेका राम्रा कामबारे जनतालाई बुझाउन निर्देशन दिइएको छ । 

कसले के गर्ने ? 

परिपत्रअनुसार प्रदेश इञ्चार्जहरूले आ–आफ्नो प्रदेशको अभियानको संयोजन गर्ने व्यवस्था गरिएको छ । अभियानलाई प्रभावकारी बनाउन प्रदेशमा खटिएका स्थायी समिति सदस्यहरू र प्रदेश अध्यक्ष पदेन रहने गरी प्रदेश इन्चार्जको संयोजकत्वमा अभियान सञ्चालन सचिवालय गठन गरी सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

त्यस्तै, स्थायी समिति सदस्य नरहेका प्रदेशमा वा स्थायी समिति सदस्यहरू भएपनि केही वरिष्ठ केन्द्रीय सदस्यहरुसमेत समावेश गर्नुपर्ने आवश्यकता देखिएमा सोहीअनुसार समावेश गरी अभियान सञ्चालन सचिवालय गठन गर्न सकिने व्यवस्था मिलाइएको छ । 

अभियान सञ्चालन सचिवालयमा प्रदेश सभाका दल नेताहरू नपरेमा, दल नेताहरूलाई आमन्त्रित गर्ने व्यवस्था गरिएको छ ।

अभियानमा सम्पूर्ण जनवर्गीय संगठन मोर्चाहरुलाई परिचालन गर्नका लागि जनवर्गीय संगठन मोर्चाहरूको प्रकृतिअनुसार पदाधिकारीको नेतृत्वमा संयोजन समिति बनाएर सञ्चालन गर्ने व्यवस्था गरिएको छ ।

यसैगरी, तीनमहिने अभियानलाई वडा केन्द्रित गर्ने व्यवस्था गरिएको छ । यस अभियानको नेतृत्व केन्द्रीय सदस्य÷आयोग सदस्य÷सल्लाहकार आदि केन्द्रीय निकायको वरिष्ठ सदस्यले गर्नेछ ।

एउटा अभियान टोलीको जिम्मामा १०/११ वडा पर्न सक्छ । जिम्मेवारी तोकिएका बाहेक अन्य नेताहरूको कार्यविभाजन आ–आफ्नो मतदाता नामावली भएको वडामा अभियानमा जोडिने व्यवस्था गरिएको छ ।

पार्टी केन्द्रीय अध्यक्षदेखि साधारण सदस्यसम्म कुनै न कुनै वडाको अभियानमा सहभागी हुने व्यवस्था गरिएको छ । अभियान टोलीमा सोही क्षेत्रमा खटिरहेका पार्टी कमिटीका नेता, सम्बन्धित क्षेत्रका जनप्रतिनिधि, सोही क्षेत्रका जनवर्गीय संगठन, मोर्चाका सदस्यहरू सहभागी हुने व्यवस्था गरिएको छ ।

उपत्यकाका (काठमाडौँ, ललितपुर र भक्तपुर)को अभियानको लागि बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको संयुक्त टोलीले अभियान सञ्चालन गर्नेछ ।

के छ विस्तृत कार्ययोजनामा समावेश भएका विषय ?

केन्द्रीय समिति बैठकबाट अध्यक्ष प्रचण्डले प्रस्ताव गरेको प्रतिवेदनलाई आधारमा प्रदेशको सापेक्षतामा अभियानको विस्तृत कार्ययोजना तयार गरिएको उपाध्यायले जानकारी दिए । जसमा निम्न विषय समावेश गरिएको छः 

 १. सबै तहका कमिटीका बैठक, प्रशिक्षण, स्कुलिङ संचालन गर्ने ।

२. पार्टी सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण गर्ने ।

३. वडाभित्र उत्पीडित वर्ग, समुदाय र जनवर्गका भेला सम्मेलन गर्ने ।

४. सरकारले अघि सारेको सुशासन, समृद्धि र सामाजिक न्यायसँग सम्बन्धित कामलाई आम जनताबीच पुर्याउने, सुझाव संकलन गर्ने र समर्थनका लागि अपिल गर्ने ।

५. नेपालको राजनैतिक परिवर्तनका श्रृंखला जनयुद्ध, जनआन्दोलन, शान्ति प्रक्रिया, संविधान निर्माण, संघीयता कार्यन्वयनबाट प्राप्त अधिकारको महत्त्व र त्यसका लागि नेतृत्वको योगदानलाई स्थापित गर्ने ।

६. आठौं महाधिवेशनद्वारा पारित ‘२१ औं शताब्दीमा समाजवादको नेपाली बाटो’ सम्बन्धी रणनीति र कार्यनीतिलाई पार्टीपंक्ति र जनसमुदायबीच पुर्याउने ।

७. आत्मनिर्भर आर्थिक नीति, प्राकृतिक स्रोतहरु जल, जंगल, जमिनको व्यवस्थापनसम्बन्धी नीति, कृषि, उद्योग तथा वाणिज्य, शिक्षा, स्वास्थ्यसम्बन्धी नीतिहरु सम्बन्धमा विभिन्न तहमा अन्तरक्रिया गर्ने ।

८. विधान सम्मेलनको तयारीलाई सहयोग पुग्ने गरी नयाँ ढंगको कम्युनिष्ट पार्टीबारे पार्टीपंक्तिमा व्यापक छलफल गर्ने ।

९. शैक्षिक सुधार, स्वरोजगार, उत्पादनसँग सम्बन्धित कार्यका लागि पेशाका आधारमा संगठित गर्ने ।

१०. सहकारीहरुलाई उत्पादनको काममा लगाउने, बाँझो जमिनको प्रयोग, बजारीकरण, मल, बीउको समस्या समाधान हुने कुरामा विश्वस्त पार्ने ।

११. पर्यटन, साना उद्योगसम्बन्धी कामको सम्भाव्यता अध्ययन गर्ने ।

१२. वडाको समग्र डाटा संकलन गर्ने ।

१३. आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको अभियानलाई थप प्रभावकारी बनाउन ३ वटै तहका सरकारहरुले ठोस पहलकदमी बढाउने । यो अभियानलाई स्थानीय तहसम्म विस्तार गर्ने, पार्टीलाई भ्रष्टाचार विरोधी अभियन्ताको रुपमा स्थापित गर्ने ।

१४. पार्टीको नेतृत्वमा रहेका स्थानीय तहका सरकारहरुले नमूना योजना बनाई कार्यान्वयन गर्ने र ती योजनामा संघीय र प्रदेश सरकारहरुले विशेष सहयोग गर्ने ।

१५. शैक्षिक संस्था, स्वास्थ्य संस्था, स्थानीय सरकारलगायतका कार्यालयहरुको अनुगमन, निरीक्षण र अन्तरक्रिया गरी समस्या समाधानको पहल गर्ने ।

१६. सहरी क्षेत्रमा टोल सुधारका कामहरु, पानी–बिजुलीका समस्या, सार्वजनिक जग्गा अतिक्रमण, फोहोर व्यवस्थापन, जातीय–क्षेत्रीय मनोविज्ञान, आदिवासीहरुबीच अन्तरक्रिया, गुठी, मठ मन्दिर, खेल मैदान, मनोरञ्जनका क्षेत्रका समस्याबारे जानकारी लिने र समस्या समाधानको लागि पहल गर्ने ।

१७. प्राध्यापक, बुद्धिजीवी, सेवानिवृत्त कर्मचारी, मजदुर, व्यवसायी, बेरोजगार, प्राविधिक विषयका विद्यार्थीहरुको अलग अलग तथ्याङ्क संकलन गर्ने, उनीहरुसँग अन्तरक्रिया गर्ने, सरकारका कामहरुबारे सुझाव लिने र उनीहरुलाई संगठित गर्ने नयाँ उपायहरु खोज्ने ।

१८. विदेशमा रहेका श्रमिकहरुको स–साना इकाइहरु बनाउने, भर्चुअल बैठक गर्ने । उनीहरुसँग प्रत्यक्ष सम्पर्क गरी समस्या संकलन गर्ने र समाधानको पहल गर्ने ।

१९. प्रचारप्रसारको कामलाई व्यवस्थित गर्न डिजिटल प्लेटफर्म सञ्चालनको लागि केन्द्रदेखि वडासम्मको सञ्जाल तयार गर्ने । सामाजिक सञ्जालको अधिकतम सदुपयोग गर्ने । अभियानको प्रचार सामग्री, सरकारको काम कारबाही र उपलब्धिहरुको सन्देशमूलक सामग्री तयार गर्ने । पालिकाहरुले तीनमहिने अभियानको डकुमेन्ट्री बनाउने ।

२०. पार्टी बाहिरका विभिन्न संघ संस्था र व्यक्तित्वहरुबीच अन्तरक्रिया गर्ने ।

२१. सबै तहका सरकारसँग पार्टी, जवस/मोर्चा वा अन्य सरोकार समितिहरुको तर्फबाट जनविकास लगायतका विषयमा ज्ञापनपत्र/मागपत्र पेश गर्ने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप