शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

थारु बाहुल्य क्षेत्रमा बाल पर्व गुरहीको उल्लास, धनगढीमा ‘गुरही प्रतिमा’ बन्ने (फोटोफिचर)

सोमबार, ०४ भदौ २०८०, २२ : ५१
सोमबार, ०४ भदौ २०८०

धनगढी । पश्चिम नेपालको थारु बाहुल्य क्षेत्रमा बाल पर्वको रुपमा चिनिने गुरही पर्व हर्षोल्लासपूर्वक  मनाइएको छ । नाग पञ्चमीका दिन पश्चिम नेपालका कैलाली, कञ्चनपुर, बाँके, बर्दिया, दाङ, सुर्खेत जिल्लाका साथै काठमाडौँमा समेत भव्यताका साथ गुरही पर्व मनाइएको हो ।

यसैबीच कैलालीको धनगढी उपमहानगरपपालिका वडा नं. ८ स्थित गुरही चोकमा बृहत गुरही कार्यक्रम गरिएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामीले गुरहीको प्रतिमा शिलान्यास गरेका छन् । मन्त्री धामीले सो गुरहीको प्रतिमा निर्माणको जिम्मा प्रदेश सरकारले लिने घोषणा गरे ।

gurahi (2)

थारु कल्याण कल्याणकारिणी सभा कैलालीका कार्यवाहक सभापति माधव थारुले गुरही प्रतिमाको लागत इस्टिमेट ७ लाख रुपैयाँ रहेको बताए । गुरही भनेको एक किसिमको गाइने किरा हो । सोही किराको प्रतिकको रूपमा यो पर्वमा कपडाको पुतला, खेलौना बनाइन्छ । थारु बसोबास रहेका कतिपय स्थानमा यसलाई  गुरही पर्व भन्ने गरिन्छ भने कतिपय ठाउँमा गुरिया पर्व पनि भनिन्छ ।

कैलालीको कैलारी गाउँपालिका ६ बेनौलीमा मौलिक संस्कृतिसहित गुरही मनाइएको छ । स्थानीयले मौलिक झुम्रा नाचसहित पर्व मनाएका छन् । सो पर्वमा थारु समुदायका घरहरूमा घुघरी (चना, केराउ, मटरा, मकैको भुजा) तयार गरिन्छ । आफ्नै हैसियत अनुसार अन्य खानेकुरा पनि बनाइन्छन् । महिला (केटीहरू)ले कपडाका रङ्गीचङ्गी कपडाका गरही बनाउने चलन छ ।

सो पर्वमा केटाहरूले सोंटा वा केराको डाँठ तयार पार्छन् । साँझपख बालिका तथा युवतीहरू परम्परागत पोसाकमा आ–आफ्नो थालीमा गुरहीको प्रतिमा र भुटेका मकै वा केराउसहित गाउँका सीमा वा चोकमा जम्मा हुन्छन् । केटाहरूले सोटा लिएर जम्मा हुन्छन् । 

gurahi (3)

जम्मा भएका बालिकाहरुले गुरही फाल्छन् र केटाहरूले सोंटा र कोर्राले पिट्ने चलन छ । केटीहरू गुरही फाल्ने बेला र केटाहरू पिट्ने बेलामा रोगब्याध नलागोस, आफूमा भएको अवगुण जाओस् भनी कामना गर्ने गर्छन् । पिटिसकेपछि केटाहरूले केटीसँग घुघरी (भुटेका मकै) माग्छन् र प्रसादस्वरुप ग्रहण गर्दछन् ।

कतिपय गाउँमा पिटिएका यी गुरही सडक र चौरमै छोडेर हिँडिन्छ भने कतिपय गाउँमा बाजागाजाका साथ नदीमा सेलाउन पनि लैजाने गरिन्छ । यो पर्व बालबालिकाको सहभागिताबिना अपूर्ण मानिन्छ । यस पर्वलाई बाल पर्वको रूपमा समेत लिइन्छ । पर्वको प्रभावले गाउँ समाजबाट दुःख, कष्ट, रोग, व्याधि हट्ने जनविश्वास छ ।

gurahi (4)

यसैबीच सो पर्वको अवसरमा कैलाली कञ्चनपुरका थारु बाहुल्य क्षेत्रका स्थानीय तहले सार्वजजिक बिदा समेत दिएका छन् । थारु समुदाय आवद्ध ६ संस्थाले भने सो पर्वको अवसरमा सबैतिर सार्वजनिक बिदा दिनुपर्ने माग गरेका छन् । थारु कल्याणकारिणी सभा कैलाली, सखी सञ्जाल कैलाली, थारु लेखक सङ्घ, राष्ट्रिय कलाकार मञ्च, थारु नागरिक समाज र थारु विद्यार्थी समाजले संयुक्त विज्ञप्ति जारी गर्दै बिदा माग गरेका हुन् ।

gurahi (5)gurahi (6)gurahi (7)gurahi (8)gurahi (9)gurahi (10)gurahi (11)gurahi (12)gurahi (13)gurahi (14)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लखन चौधरी
लखन चौधरी
लेखकबाट थप