बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको चीन भ्रमण

सरकार र प्रतिपक्ष पालैपालो चीन भ्रमणमा

चीनबाट एमाले टोलीको बिदाइ लगत्तै प्रधानमन्त्री प्रचण्डलाई स्वागतको तयारी
सोमबार, ०१ असोज २०८०, १२ : २८
सोमबार, ०१ असोज २०८०

चीन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण हुनुभन्दा दुई साता अघि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेल नेतृत्वको टोलीलाई चीन भ्रमण गराएर चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले नेपाल सरकार र प्रमुख प्रतिपक्ष दलसँग  सहकार्य गर्ने सन्देश दिन खोजेको छ ।

चीनले पर्यावरणीय संरक्षण गर्दै विश्वको नमुना सहरका रूपमा विकास गर्न खोजेको छिङहाई प्रान्तको राजधानी सिनिङमा आयोजित ‘चिनियाँ आधुनिकीकरण : प्रकृति संरक्षणमा मानव समुदायको सद्भाव’ विषयक छलफलमा महासचिव पोखरेललाई प्रमुख वक्ताको रूपमा निमन्त्रणा गरेको थियो । चिनियाँ कम्युनिस्ट पार्टीको आयोजना र देशभरका कम्युनिस्ट पार्टीका प्रतिनिधि सहभागी सम्मेलनमा नेपालसहित अन्य ३० देशका प्रतिनिधि सहभागी थिए ।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओ समेत सहभागी सम्मेलनमा चीनको पछिल्लो विकास परियोजना र प्रकृति संरक्षणका विषयमा विभिन्न देशका अनुभव आदान प्रदान गर्ने कार्यक्रम थियो ।

महासचिव पोखरेल नेतृत्वमा २२ जनाको एमाले टोली १२ दिने चीन भ्रमणमा आएको थियो । टोलीले ग्वाङजाउ हुँदै चीनको अर्को महत्त्वपूर्ण सहर छोङछिङको भ्रमण गरेको थियो ।

378258586_1302350327069626_2082955686866078894_n

नेपाल र दक्षिण एसियाली देशसँग सहकार्य गर्ने जिम्मेवारीमा रहेको छोङछिङ महानगरका पार्टी सचिव एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनले एमाले पार्टी र चिनियाँ कम्युनिस्ट पार्टी बिचको राजनीतिक सहकार्यका बारेमा विस्तृत छलफल गरेका थिए । गत साउनको पहिलो साता (७ देखि १०) जियाजुनले नेपाल भ्रमण गरेका थिए । त्यतिबेला जियाजुनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले नेतालाई भेट गरी चीन भ्रमणको निम्तो दिएका थिए । 

छोङछिङ सहरमा रहेका बेला एमाले टोलीलाई ‘नयाँ युगका लागि चिनियाँ विशेषता सहितको समाजवाद, चिनियाँ राष्ट्रपति सी चिनफिङका विचारधारा’ बारेमा चिनियाँ प्राध्यापक सुन लिङ र दाउ सिउ लाईले पढाएका थिए ।

सो अध्ययन छलफलमा एमाले टोली एमाले महासचिव पोखरेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानमार्फत नेपाल पनि समाजवादको आधार निर्माणमा अगाडि बढेको जानकारी गराएका थिए ।

एमाले टोली चीन भ्रमणको अन्तिमतिर छिङहाई पुग्दै गर्दा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनपछि एमाले महासचिव पूर्व निधारित कार्यक्रम रद्द गरी ३ दिन पहिले (भदौ २६मा) नेपाल फर्किएका थिए ।

एमाले टोलीले चीन भ्रमणमा गरेका सबैभन्दा महत्त्वपूर्ण र चीन भ्रमणको उपलब्धि भनेको छोङछिङ थ्री ग्रर्जेज भोकेसनल कलेज र पार्टीका संस्थापक महासचिव मदन भण्डारीको नाममा स्थापना गरेको मदन भण्डारी फाउन्डेशनबिचको पाँचबुँदे सहमति हो ।

सहमतिमा दुई संस्थाबिच शैक्षिक आदानप्रदान, सिपमुलक अनुसन्धानको क्षेत्रमा सहकार्य गर्दै नेपाली विद्यार्थी, अध्यापक र अनुसन्धानदातालाई छोङछिङस्थित भोकेसनल कलेजले सहयोग गर्ने भएका छन् । सो अवसरमा दुई पार्टीबिच ‘नेपाल–चीन जोइन्ट रिसर्च सेन्टर फर पिपुल टु पिपुल एक्सचेन्ज’ खडा गरी नेपाल र चीनबिच प्राज्ञिक आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने सहमति भएको भ्रमणमा सहभागी पत्रकार राजेश राईले नेपाली सञ्चारमाध्यमलाई जानकारी दिएका छन् । 

एमाले महासचिव नेतृत्वको टोलीले चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरुसँग भेटघाट र अन्तरपार्टी सहकार्यका कार्यक्रमसँगै छोङछिङमा भएको सम्झौताले नेपाल र चीनको शैक्षिक अध्ययन र अनुसन्धानमा सहयोग पुग्ने देखिन्छ ।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध र नेपालको विकासको चीनसँग सहकार्य गर्न तयार छौँ भन्ने सन्देश दिएका एमाले महासचिव पोखरेलसँग चीनले नेपाल सरकार र अन्तरपार्टी सहकार्य गर्न तयार भएको सन्देश दिएको छ ।  

एमाले टोली चीन भ्रमणको अन्तिमतिर छिङहाई पुग्दै गर्दा एमालेका उपाध्यक्ष एवं संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको असामयिक निधनपछि एमाले महासचिव पूर्व निधारित कार्यक्रम रद्द गरी ३ दिन पहिले (भदौ २६मा) नेपाल फर्किएका थिए । टोलीमा सहभागी अन्य सदस्यहरु छिङहाईमा तय भएका कार्यक्रममा सहभागी भएर भदौ २९ मा नेपाल फर्किएका छन् ।

नेपाली नेताको चीन यात्रा 

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले कोभिड–१९ महामारी सामान्य लयमा फर्केलगत्तै पूर्व सभामुख माओवादीका उपाध्यक्ष अग्निप्रसाद सापकोटाले नेतृत्व गरेको माओवादीका २० जना नेतासहितको टोलीलाई जेठ ५ देखि १८ सम्म चीन भ्रमण गराएका थियो । सिचुवान प्रान्तको राजधानी छेन्दु हुँदै तिब्बत, राजधानी बेइजिङ र ग्वान्जाओ भ्रमण गरेर सो टोली नेपाल फर्किएको थियो ।

त्यस लगत्तै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नेतृत्व गरेको ९ सदस्यीय टोलीले जेठ २८ देखि असार ६ सम्म चीन भ्रमण गरेको थियो । सो टोलीमा राष्ट्रिय सभाका विभिन्न दलका सदस्य सहभागी थिए ।

अध्यक्ष तिमिल्सिनाको टोली सिचुवान प्रान्तको राजधानी छेन्दुदेखि पोखराको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक चार्टर्ड उडान गरी फर्किएको थियो ।

अध्यक्ष तिमिल्सिना र पूर्व सभामुख सापकोटाको भ्रमणमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमणको तयारीका बारेमा छलफल भएको थियो । त्यसबाहेक प्रधानमन्त्री दाहालको चीन भ्रमणको चाँजो मिलाउन माओवादीका महासचिव देव गुरुङलाई चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)ले दुई पटक चीन भ्रमणका लागि निमन्त्रणा गरेका थिए ।

चिनियाँ नेताको नेपाल यात्रा

महामारी लयमा फर्के लगत्तै चिनियाँ नेताहरुको नेपाल भ्रमण पनि बाक्लिएको थियो । माओवादी महासचिव देव गुरुङको निम्तोमा चिनियाँ कम्युनिस्ट पार्टी सिचुवानका पार्टी सचिव वाङ सिआयो हुईले गत जेठ १६ देखि २० सम्म नेपाल भ्रमण गरेका थिए ।

त्यसलगत्तै, चिनियाँ कम्युनिस्ट पार्टी एसिया ब्यूरोका उपमहानिर्देशक हु सु मिन नेतृत्वको चिनियाँ टोलीले असार १ देखि ४ सम्म नेपाल भ्रमण गरेको थियो ।

त्यसपछि छोङछिङ महानगरका पार्टी सचिव एवं चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य युआन जियाजुनले गत साउन ७ देखि १० सम्म नेपालको भ्रमण गरेका थिए ।

जियाजुनले राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग प्रत्यक्ष भेट गरेका थिए ।

त्यतिबेला प्रधानमन्त्री प्रचण्ड इटालीको भ्रमणमा थिए । प्रधानमन्त्री प्रचण्डसँग जियाजुनले भर्चुअलमाध्यमबाट कुराकानी गरेका थिए । चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटव्यूरो सदस्य जियाजुन प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणको तयारी र नेपालका राजनीतिक दलसँग उच्चस्तरीय भेटघाटका लागि नेपाल गएका थिए ।

पाँच वर्षपछि प्रधानमन्त्रीस्तरीय चीन भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्रीको हैसियतमा चीन भ्रमण गर्न लागेको तेस्रो पटक हो । प्रधानमन्त्री नभएका बेला नेकपा गठन भएपछि चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा प्रचण्डले चीन भ्रमण गरेका थिए । यसअघि नेपालबाट प्रधानमन्त्रीको हैसियतमा पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले २१ जुन २०१८ मा चीन भ्रमण गरेका थिए ।

त्यसपछि बेल्ट एण्ड रोड इनियसियटिभ (बीआरआई)को दोस्रो सम्मेलनका लागि नेपालका तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले २७ अप्रिल २०१९ मा चीनको भ्रमण गरेकी थिइन् । त्यसपछि चीनबाट चिनियाँ राष्ट्रपति सी चिनफिङले १२ अक्टुबर २०१९ मा नेपालको दुई दिने भ्रमण गरेका थिए ।

नेपालबाट प्रधानमन्त्रीस्तरमा पाँच वर्ष अघि चीन भ्रमण भएको थियो । प्रधानमन्त्री प्रचण्ड यही २३ सेप्टेम्बर (असोज ५ देखि १२) सम्म आठदिने भ्रमण तालिकासहित चीन आउने तयारी भइरहेको छ ।

यस्तो छ प्रचण्डको चीन भ्रमण तालिका

चच्याङ् प्रान्तको राजधानी हाङचौं सहरमा आयोजना हुने १९ औं एशियाली खेलकुदको उदघाटन समारोहमा प्रधानमन्त्री प्रचण्ड सहभागी हुनेछन् । सोही समारोहपछि उनले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग भेट गर्ने तय भएको छ ।

प्रधानमन्त्री दाहालले नेपालबाट खेलकुद प्रतियोगितामा आएका नेपाली खेलाडीसँग पनि भेट गर्नेछन् ।

हाङचौंको कार्यक्रम सकिएपछि राजधानी बेइजिङ पुगेर समकक्षी चिनियाँ प्रधानमन्त्री ली छ्याङसँग नेपाल–चीनबिच भएका सम्झौता पक्ष र कार्यान्वयनका विषयमा छलफल हुने कार्यक्रम छ ।

राजधानी बेइजिङको दुई दिने बसाई सकेपछि  प्रधानमन्त्री प्रचण्ड चीनको छोङछिङ महानगर पुग्नेछन् । त्यहाँ उनले ‘छोङछिङ एकेडमी अफ एग्रिकल्चर साइन्स’को भ्रमणका साथै छोङछिङ सहरका केही विकास नमुनाहरुको अवलोकन गर्ने कार्यक्रम छ ।

गत साता चीन भ्रमणमा आएका एमाले टोलीले पनि छोङछिङ सहरको भ्रमण र नमुना विकास परियोजनाको स्थलगत अवलोकन गरेका थिए ।

छोङछिङ भ्रमण सकेर प्रधानमन्त्री प्रचण्ड नेपाल–चीन सीमा जोडिएको चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमणमा जानेछन् । त्यहाँ तिब्बतका सरकारी अधिकारीसँग उनको भेट हुनेछ । नेपाल–चीनबिचको नाका खुलाउने विषयमा पनि छलफल हुनेछ ।  तिब्बत र नेपालबिच व्यापार प्रवर्द्धनका लागि ल्हासामा नेपाली महावाणिज्य दूतावास छ ।

प्रधानमन्त्री प्रचण्ड तिब्बत भ्रमणपछि सिचुवान प्रान्तको राजधानी छेन्दु फर्कने छन् । छेन्दुमा सिचुवान प्रान्तका चिनियाँ अधिकारीसँगको छलफलपछि उनी नेपाल फर्किने कार्यक्रम छ । छेन्दुमा नेपाली महावाणिज्य दूतावास स्थापना गरिएको छ । 

प्रधानमन्त्रीको साथमा आउने नेपाली भ्रमण टोलीसँगै चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ, बेइजिङस्थित नेपाली उपनियोग प्रमुख पनि भ्रमणमा सहभागी हुने कार्यक्रम छ ।

बेइजिङस्थित नेपाली दूतावासले प्रचण्डको चीन भ्रमणको तयारी पूरा भएको जनाएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भरत शर्मा
भरत शर्मा
लेखकबाट थप