शनिबार, ०५ साउन २०८१
ताजा लोकप्रिय

राष्ट्र र राष्ट्रियताको प्रारम्भिक बयान

शुक्रबार, ०५ असोज २०८०, १४ : ५३
शुक्रबार, ०५ असोज २०८०

राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौम सत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफूलाई लागेअनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ अथवा कुनै न कुनै रूप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाई स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनर्स्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतङ्की भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।

राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधीनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्दा नै आजको राष्ट्रिय राजनीति प्रतिगमन उन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर्ने निश्चित छ ।

यो लेखोटको प्रसङ्ग यहाँ यसै आएको होइन । केही दिनअगाडि जीविकाको सिलसिलामा गएका जेके गजमेरले इजरायलबाटै अचानक सम्पर्क गरे । मेरो उनीसँग औपचारिक चिनजान थिएन । उनैले सिर्जना विश्वकर्मासँग ‘वैज्ञानिक बहस’ मा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा फेसबुक लाइभ गर्न मलाई अनुरोध गरे । पश्चिम नेपालबाट राष्ट्र र राष्ट्रियताको परिभाषा पहिलो पटक सोधिएकोमा म पुलकित पनि भएँ । पूर्वी नेपालमा उदाएको र केही हदसम्म सिञ्चित भएको चेतना पश्चिम नेपालमा पुग्नुलाई चेतनाको खोजी भइरहेको अर्थमा लिएको छु । यसैको मेलोमा राखिएका यिनै कुराको विषयगत प्रसङ्ग यहाँ अभिलेख गरिएको छ ।

राष्ट्र र राष्ट्रियता

राजनीतिक विज्ञानको सिद्धान्तमा राष्ट्र भन्नाले चलनचल्ती भाकामा बुझे जस्तो देश वा कुनै राज्य होइन । राष्ट्र, एक विशेष क्षेत्र भएका मानिसहरूको ठुलो समुदाय हो । सामान्यतया एकल भाषा बोल्ने र सामान्यतया राजनीतिक चरित्र वा राजनीतिक आकाङ्क्षा भएको समूह नै राष्ट्र हो । विश्वलाई व्याख्या गर्ने पुँजीवादी र साम्यवादी दुवै विश्व दृष्टिकोणले राष्ट्रको परिभाषा करिब–करिब एकमतले गरेका छन् । साम्यवादी दृष्टिकोण अनुसार साझा भाषा, साझा आर्थिक जीवन, साझा भूगोल र साझा मनोवैज्ञानिक संरचना भएको मानव समुदाय नै एउटा राष्ट्र हो । यस अर्थमा यी चार योग्यता पुगेका नेपालका थुप्रै जातीय समुदाय राष्ट्र हुन् । लिम्बू, किरात (राई), नेवाः, तामाङ, तमु (गुरुङ), मगर, थारू, शेर्पा, मधेशी, खसलगायतका जातीय समुदाय नै राष्ट्र हुन् । 

साम्यवादी दृष्टिकोण अनुसार साझा भाषा, साझा आर्थिक जीवन, साझा भूगोल र साझा मनोवैज्ञानिक संरचना भएको मानव समुदाय नै एउटा राष्ट्र हो । यस अर्थमा यी चार योग्यता पुगेका नेपालका थुप्रै जातीय समुदाय राष्ट्र हुन् । लिम्बू, किरात (राई), नेवाः, तामाङ, तमु (गुरुङ), मगर, थारू, शेर्पा, मधेशी, खसलगायतका जातीय समुदाय नै राष्ट्र हुन् । 

माथिका चार योग्यता पूरै नखुलेका समुदायहरू राष्ट्रियता हुन् । राष्ट्रियता एक विशेष राष्ट्रको सदस्य त हुँदै हो । सँगसँगै यस्ता जातीय समूहहरू राष्ट्र उन्मुख सदस्य हुन् । एक विशेष राष्ट्रको सदस्य हुने क्रममा रहेका समुदाय हुन् । राष्ट्रियतालाई राजनीतिक सङ्गठनको द्योतक पनि मानिन्छ । राष्ट्रियता व्यक्तिहरूको सामूहिक सदस्यताको स्थिति हो । राष्ट्रियता र नागरिकता पर्यायवाची शब्द पनि होइन् । नागरिकताको आधार सम्बन्ध राज्यसँग हुन्छ । हाम्रै देशमा केही दशकअगाडिसम्म यस्ता राष्ट्रिय समूहहरूको नागरिकता बनाउने चलनै थिएन । आधुनिक राज्यमा प्राविधिक काम गर्न नागरिकता अनिवार्य गरिएकाले मात्र नागरिकता ग्रहण गर्न आवश्यक हुन गयो । राष्ट्रियता र बासिन्दासँग पनि ठुलो अन्तर छ । राष्ट्रियता एकल हुन्छ । बासिन्दा मिश्रित हुन सक्छ । यस अर्थमा नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियता छन् । यी राष्ट्र र राष्ट्रियताको सम्मिलन नै आधुनिक नेपाल हो । नेपालको आधुनिक स्वरूप बनेदेखि उठेको पहिचानको आन्दोलन पनि राष्ट्र र राष्ट्रियताको सम्मिलनको लागि हो ।

समाज विज्ञानले प्रारम्भमा मानिसहरू गण, कविला, जाति हुँदै राष्ट्रमा क्रमशः विकसित भएको परिभाष गर्‍यो । यहाँ जाति शब्द राष्ट्रियतासँग सम्बन्धित छ । यसरी समाज विज्ञानको नियम भिडाएर हेर्दा वर्तमानको नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियता छन् । विश्व दृष्टिकोणले त प्रमाणित गरेकै छ । यसर्थ राष्ट्र भनेको देश, कुनै राज्य वा भूगोल होइन । तर ती भूगोलमा बस्ने विविध परम्पराका मानव समुदाय हुन् । भिन्नभिन्न नस्ल, स्वभाव, भूगोल (ऐतिहासिक थातथलो), मनोवैज्ञानिक संरचनाका समुदायहरू राष्ट्र र राष्ट्रियता हुन् ।

परिभाषामा राष्ट्र र राष्ट्रियता 

राष्ट्र अङ्ग्रेजी शब्द ‘नेसन’ को पर्यायवाची शब्द हो । नेसन शब्द ल्याटिन भाषाको ‘नेसियो’ शब्दबाट आएको हो । नेसियो शब्दको अर्थ जन्म र जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएका जनसमुदाय नै राष्ट्र हो । ब्रसेल्स नाम गरेका दार्शनिकले प्रस्टसँगै भनेका छन्, ‘एक नश्लसम्बन्धी एकताबद्ध यस्ता जनता हुन् जुन भौगोलिक एकताको कुनै भू–भागमा बसोबास गर्दछन् ।’ ब्रसेल्सले राष्ट्र निर्माणको ठोस आधार दिँदै जाति, समुदाय, आदत, प्रथा तथा धर्मको एकता जस्ता तत्त्वहरूद्वारा राष्ट्र निर्माण हुने उल्लेख गरेका छन् । यो प्रस्टोक्तिले जाति र नश्ललाई राष्ट्रको आधार मान्न तथ्य र तर्कपूर्ण कर लाग्छ ।

नेपालको संविधानले नै पनि धारा (३) मा राष्ट्रको परिभाषा गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त भनेर परिभाषा गरेको छ । संविधानको धारा (४) मा नेपाल राज्य (देश) को छुट्टै परिभाषा गरेको छ । यसर्थ राष्ट्र भनेको देश या राज्यको समान अर्थ बोध गराउने शब्द हैन । बीपी कोइरालाले ‘राष्ट्र भनेको कुनै भूभागको ढुङ्गो, माटो, खोलानाला, साँध, सीमा मात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो’ भने । संविधानले नै राष्ट्रको परिभाषा बहुजातीय भनेर गरिसकेपछि अलमल गर्नु नाजायज हुन्छ । 

राष्ट्रियताको सन्दर्भ पनि योभन्दा फरक छैन । राष्ट्रियता आफ्नो पन भएको जातीय समुदाय हुन् । गण, कविलाभन्दा माथि राष्ट्रभन्दा मुनिको जाति समुदाय नै राष्ट्रियता हो । अङ्ग्रेजीमा यसै समुदायलाई ‘नेसनालिटी’ भनियो नेपालीमा अनुवाद हुँदा जाति भयो । उद्गमका हिसाबले जाति नामकरण हुनु पनि ठीकै हो । राष्ट्रको जत्तिकै योग्यता नहोला तर आफ्ना केही कुरा जाति समुदायमा अवश्य हुन्छन् । ती सबै राष्ट्रियता अर्थात् नेसनालिटी हुन् ।

राज्य र राष्ट्र

राज्य र राष्ट्रको भेद छुट्याउन पनि जरुरी छ । राज्य सङ्गठित एकाइ हो । आधुनिक विश्वको अनिवार्य तथा वस्तुगत र कानुनी एकाइ हो । मार्क्सवादीहरूले राज्यलाई वर्गीय असङ्गतिको उपज भने । यसैले राज्य वर्गीय हुने कुरा श्वाश्वत हो । राजनीतिक विज्ञानले राज्य र राष्ट्रमा नौवटा भेद भएको प्रस्ट पारेको छ । 

राष्ट्रियता आफ्नो पन भएको जातीय समुदाय हुन् । गण, कविलाभन्दा माथि राष्ट्रभन्दा मुनिको जाति समुदाय नै राष्ट्रियता हो । अङ्ग्रेजीमा यसै समुदायलाई ‘नेसनालिटी’ भनियो नेपालीमा अनुवाद हुँदा जाति भयो । उद्गमका हिसाबले जाति नामकरण हुनु पनि ठीकै हो । 

पहिलो राज्य भनेको जनसङ्ख्या, क्षेत्र, सरकार र सम्प्रभुता भएको एकाइ हो । राष्ट्र मानिसको एउटा समूह हो, जसको साथमा समान एकता र भावना हुन्छ । दोस्रो राज्य एउटा राजनीतिक सङ्गठन र कानुनी एकाइ मात्र हो । राष्ट्र सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, भावनात्मक र रणनीतिक एकता हो । तेस्रो राज्य एक निश्चित क्षेत्र कब्जा गरेर सम्प्रभुता कायम गर्छ । राष्ट्रलाई सम्प्रभुता आवश्यक पर्दैन । राष्ट्रका अन्तरङ्ग मानक छन्, जसको चर्चा माथि नै भइसक्यो । चौथो राज्य सीमित हुन्छ । राष्ट्रको व्यापक दायरा हुन्छ । यसरी नै एउटै राज्यमा अनेक राष्ट्र हुन्छन् । एउटा राष्ट्रमा एकभन्दा बढी हुन्न । यस्तै छैटौँ भेद राज्य अस्थिर हुन्छ । गठन विघटन भइरहन्छ । हाम्रै छिमेकी सिक्किम, पाकिस्तानलगायत अनेकौँ राज्य गठन विघटन भएको नजिकबाट देखिएकै कुरा हो । राष्ट्र लामो कालखण्डसम्म स्थिर हुन्छ । सातौँ राज्य बनाउन सकिन्छ । भारत, बङ्गलादेशलगायत संसारमा धेरै राज्य बनेका छन् । सोभियत सङ्घ फुटेर अनेक नयाँ राज्य बने । यी त प्रतिनिधि उदाहरण मात्र हुन् । आठौँ राज्यको एकताका लागि पुलिस, कानुन, अड्डा, अदालत चाहिन्छ । राज्य जोगाउन बल प्रयोग गर्नु पर्छ । राष्ट्र बलियो सांस्कृतिक र ऐतिहासिक कडीमा जोडिएको हुन्छ । राज्यलाई सम्प्रभुता आवश्यक पर्छ । राष्ट्रलाई सम्प्रभुताको कुनै आवश्यकता पर्दैन । यसरी राज्य र राष्ट्रको भेद छुट्याउनु पर्छ । राष्ट्रले राज्य निर्माण गर्छन् । राज्यले राष्ट्र निर्माण गर्दैन । यसर्थ नेपाल बहुल–राष्ट्र अथवा बहुल राष्ट्रिय–राज्य हो । कोसी प्रदेशमा उठेको आन्दोलन त्यही राष्ट्र निर्माणसँग सम्बन्धित छ । यसर्थ राष्ट्र निर्माणका लागि ऐतिहासिक पहिचानको नामकरण त्यहाँ खोजिएको हो ।  

नेपालको परिचय

नश्लको हिसाबले नेपालमा चार नस्ल आर्य, मङ्गोल, अस्ट्रो र द्रबिड समुदायका थुप्रै जातिका मानिस बसोबास गर्छन् । भाषाको हिसाबले चार भाषा परिवार भारोपेली, भोट–बर्मेली (तिब्बतो–बर्मन), अस्ट्रो र द्रबिड परिवारका असङ्ख्य भाषिक समुदाय छन् । बसोबास (थातथलो) को हिसाबले आदिवासी र गैह्रआदिवासी छन् । जातजाति र जनजाति छन् । शासक जाति र शोषित जाति छन् । क्षेत्रीय उत्पीडन कायमै छ । परम्परागत रूपमै उत्पीडक जाति र उत्पीडित जाति छन् । वर्णाश्रमको आधारमा ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रमा विभाजित छ । दलित समुदाय उत्पीडनको पिँधमा छन् । छुवाछूत अन्धविश्वास कायमै छ । सती प्रथा मात्र उन्मूलन भयो । तर महिलामाथिको उत्पीडन कायमै छ । धार्मिक तथा तान्त्रिक अन्धविश्वास खुलेआम छ । केहीअघिसम्म चार जात छत्तीस वर्णको हिसाबले नेपालको व्याख्या भयो । यतिखेर त्यसको विकसित रूप नश्लवादमा परिवर्तित स्वरूपमा छ । सँगसँगै अन्ध जातिवाद आधारित जातीय अहङ्कारको गन्ध चलेको छ । समग्रमा नेपालमा अन्ध भाग्यवादले जरो गाडेको छ । यसैले नेपालको अन्तर्विरोध भनेको वर्गीय, जातीय, क्षेत्रीय र लैङ्गिक हो भनेर जनादेशले प्रमाण पुष्टि गरेको छ । यिनै आधारबाट राज्य निर्माण गर्नु नेपाल राज्यको नव निर्माणको रूपरेखा हो ।

राष्ट्रहरूको राजीखुसीले राज्य निर्माण गर्न जरुरी छ । नेपालमा देखिएको द्वन्द्व र अन्तर्विरोध यही हो । राष्ट्रहरूले जबसम्म राज्यको रूपरेखा कोर्दैनन् तबसम्म हुने यही हो । नेपाल बहुल राष्ट्र–राज्य र बहुल राष्ट्रिय–राज्य हो । पछिल्लो आन्दोलनले पनि राष्ट्र–राज्य निर्माण गर्न नसक्ता देखिएको यो विषाक्त परिणति हो । यसका लागि राष्ट्र, राष्ट्रियताको परिभाषा बुझ्न अलमल गर्नु हुँदैन । राष्ट्र, राष्ट्रियता भनेको हिमाल, पहाड र तराई समेटिएको भूगोल होइन । यो भूगोलभित्र बस्ने विविधतापूर्ण मानव समुदाय हुन् ।           

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भवानी बराल
भवानी बराल
लेखकबाट थप