आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

देव आनन्दका सय वर्ष : उनीजस्तै देखिन दाँत बिगार्थे नेपाली युवा, कालो सर्ट लगाएर निस्कँदा युवती ढल्थे ?

बुधबार, १० असोज २०८०, ०९ : ४२
बुधबार, १० असोज २०८०

‘एक युवती थिइन् जसले मलाई भावुक पत्र लेख्ने गर्थिन् र मैले १०–१२ पटक उनलाई जवाफ दिएँ । एक दिन मैले जवाफ पठाउन छोडेँ । उनले ती सबै चिठ्ठी बटुलिन् र एउटा अन्तिम नोटसहित मलाई फिर्ता पठाइन् । उनको मन टुटेको थियो । मलाई हजारौँ फ्यानमेल आउँथ्यो । एक पटक मैले एउटा प्रशंसकको चिठ्ठीकाे जवाफ दिएँ । त्यसपछि उनले मलाई ३७२० चिठ्ठी पठाइन्, मैले पुनः जवाफ दिनेछु भन्ने आशामा । ’

यो काल्पनिक किस्सा होइन, देव आनन्दले यो कुरा आफ्नो आत्मकथा ‘रोमान्सिङ विद लाइफ’ मा गरेका छन् । देव आनन्द जिउँदो भएको भए अहिले सय वर्षका हुन्थे । 

dev-anand2उनी एक यस्ता स्टार थिए जसको चर्चा नेपाल, भारत, पाकिस्तानलगायतका थुप्रै मुलुकमा हुन्थ्यो । हलिउडमा डेविड लिन, ग्रेगरी पेक, फ्रेन्क कोपालाजस्ता दिग्गजले उनलाई चिन्दथे । 

देव आनन्दको जन्म अविभाजित पन्जाबको जुन भागमा भयो, त्यो अहिले पाकिस्तानमा छ । लाहौरबाट ग्रेजुएशन गरेपछि जुलाई सन् १९४३ मा खल्तीमा ३० रुपियाँ लिएर उनी फ्रन्टियर मेलबाट बम्बईका लागि निस्किएका थिए र केही वर्षमा नै भारतमा निकै ठुला स्टार बने । 

तर लाहौर फर्कनका लागि उनले ५५ वर्ष कुर्नुपर्ला भनेर कहिल्यै सोचेका थिएनन् ।  

dev-anand3जब देव आनन्द ढोकालाई अँगालो हालेर रोए

सन् १९९९ मा देव आनन्दले भारतीय प्रधानमन्त्री वाजपेयीसँग पाकिस्तान भ्रमण गर्दा पत्रकार गौहर बट लाहोरमा थिए ।

बीबीसीसँग कुरा गर्दै गौहरले ५५ वर्षपछि देव आनन्द आफ्नो सहर र लाहोरको त्यो कलेजमा फर्किएको दृश्य सुनाए ।

‘हामी कलेजमा छिरेपछि मैले चौकीदारलाई देव आनन्द आएको कुरा बताएँ । चौकीदार चकित भए । देव आनन्दले कलेजलाई हेरे, उनको आँखाबाट आँसु बग्न थाल्यो । उनले ढोकालाई अँगालो हालेर रोए । कलेज पढ्दा उनले उषा नामकी एक युवतीलाई मन पराउँथे । उनको नाम बोलाए ।’

‘मञ्चमा बसेर रोइरहे । भित्तालाई अँगालो हालेर रोइरहे । उनले उषालाई अन्तिम पटक लाहोर कलेज छोड्दा के भने भनेर जानकारी दिए ।’

जब निर्देशकले भने – दाँतमा ग्याप छ

लाहौर छोडेर देव आनन्द सन् १९४३ मा बम्बई जाँदा सुरुमा उनले क्लर्कको रूपमा काम गरे त कहिले बेलायती सेनाको सेन्सर कार्यालयमा जागिर खाए । तर उनको इच्छा त अभिनेता बन्ने थियो । उनीसँग सङ्गीतको कक्षा लिने साथीले उनलाई निर्माता बाबुराव पाईको फिल्मको बारेमा बताए ।

त्यहाँ पुगेपछि चौकीदारले भित्र पस्न दिएनन् तर बाबुरावले बाहिर बसेको त्यो सुन्दर केटाको अनुहारलाई बेवास्ता गर्न सकेनन् ।

उनलाई अडिसनको लागि डेक्कन क्विन ट्रेनबाट पुणे पठाइएको थियो र उनको पहिलो फिल्म ‘हम एक हैं’ सन् १९४६ मा रिलिज भयो । 

पहिलो फिल्ममा देव आनन्दको अगाडि एउटा सर्त राखिएको थियो । देव आनन्द आफ्नो पुस्तकमा लेख्छन्, ‘मेरो दाँतमा ग्याप भएकोले दाँतमा फिलर हाल्नुपर्छ भनियो । के मेरो दाँतमा साँच्चै ग्याप छ त भनेर आफ्नो जिब्रो घुमाएँ । साँच्चै नै दाँतको दुबैतिर ग्याप छ । त्यसपछि मैले फिलर हालेर सुटिङ गरिरहेँ तर मलाई प्राकृतिक महसुस भइरहेको थिएन । पछि मैले आग्रह गर्दा त्यो फिलर हटाइयो । म खुसी छु कि म जस्तो छु, मानिसहरूले मलाई त्यसरी नै स्विकार्नुभयो ।’

dev-anand4देव आनन्दका लागि प्रशंसकहरूले दाँत बिगार्थे

‘देव आनन्दप्रति पागलपनको किस्सा नेपालमा पनि निकै खुबै सुन्न पाइन्छ । यहाँ उनले फिल्म ‘हरे राम हरे कृष्णा’, ‘जोनी मेरा नाम’ र ‘इश्क इश्क इश्क’ को सुटिङ गरेका थिए । 

नेपालका वरिष्ठ पत्रकार वसन्त थापा पनि बाल्यकालदेखि नै देव आनन्दका प्रशंसक हुन् । 

उनी भन्छन्, ‘नेपालमा देव आनन्दको क्रेज असाध्यै रह्यो । उनको जस्तो हेयरस्टाइल बनाउनका लागि विशेष खालको तेल लगाउँथे । देव आनन्दको दाँतमा ग्याप थियो । स्थिति यस्तो थियो कि पुरुषहरू आफ्नो दाँतको आकार नै बिगारेर देव आनन्दजस्तो बनाउने कोसिस गर्दथे । जब हरे राम हरे कृष्णाको सुटिङ नेपालमा भएको थियो तब पुरा सहर उर्लिएको थियो ।’

‘एक रात हामीलाई ‘दम मारो दम’ काठमाडौँमा सुटिङ भइरहेको छ भन्ने थाहा भयो । भीड देव आनन्द र जिनत अमानलाई हेर्नका लागि यति व्याकुल भएको थियो कि धक्का–मुक्का हुन थाल्यो । प्रहरीले डन्डा चलाउनुपर्‍यो । मानिसहरूले प्रहरीमाथि ढुङ्गा प्रहार गरे । हामीले पनि एक दुई वटा फ्याँकेका थियौँ । यो देव आनन्दको जादु थियो । त्यति बेला म दार्जिलिङ जाँदा सबै पर्यटक त्यही ह्याट लगाएर घुमिरहेका थिए जुन देव आनन्दले ‘ज्वेल थीफ’ मा लगाएका थिए र त्यही कालो र सेता जुत्ता ।’

dev-anand5देव आनन्द र कालो सर्टबारे वास्तविकता

देव आनन्दलाई जति बाजी, ट्याक्सी ड्राइभर, ग्याम्बलर, गाइडजस्ता फिल्मका लागि याद गरिन्छ, त्यति नै उनको स्टाइलका लागि पनि । झकेको गर्धन, उनको त्यो टोपी, घाँटीमा रङ्गिन स्कार्फ र नरोकिइकन बोल्ने शैली । धेरै मानिस उनका यस्तै स्टाइलका कायल थिए । 

यसबारे देव आनन्दले बीबीसीसँगको कुराकानीमा भनेका थिए, ‘वास्तवमा म कुप्रो भएको नाटक गर्छु, झुकेर हिँड्छु । फिल्ममा मैले लामो लामो डायलग पाउँथे र मलाई के गर्ने भनेर उकुसमुकुस हुन्थ्यो । त्यसैले म एकै सासमा बोल्थेँ  र यही नै देव आनन्दको स्टाइल बन्यो । ’

देव आनन्दबारे एउटा कुरा पनि फैलिएको थियो – उनलाई कालो सर्ट लगाएर बाहिर निस्कन अनुमति थिएन भनिन्थ्यो । किनभने उनलाई देखेर महिलाहरू बेहोस हुन्थे रे । 

यद्यपि, देव आनन्दले यसलाई हाँसेर टार्दै यसलाई एक अफवाह बताएका थिए जुन उनका अनुसार फिल्म काला पानीमा कालो कपडा लगाएपछि सुरु भएको थियो । 

इन्डोनेसियाका राष्ट्रपति देव आनन्दको सुटिङमा आए

देव आनन्दका फ्यानमा चम्बलका डाँकुदेखि देशका प्रमुखसम्म सबै थिए । फिल्म काला पानीको सुटिङका क्रममा इन्डोनेसियाका राष्ट्रपति सुकर्णो विशेष गरी सुटिङ हेर्न आएका थिए ।

यो घटना ‘रोमान्सिङ विथ लाइफ’ मा यसरी रेकर्ड गरिएको छ, ‘गीतको सुटिङ हुन लागेको थियो, गीत थियो–‘हम बेखुदी मे तुमको पुकारे चले गए’ र सबै जना राष्ट्रपतिको पर्खाइमा थिए । दुई घण्टासम्म पनि उनी नआएपछि हामीले गीत छायाङ्कन गर्‍यौँ । सट सकिने बित्तिकै हामीले उनी आइपुगे भनेर थाहा पायौँ । हामीले इन्डोनेसियाका राष्ट्रपतिका लागि फेरि त्यही सुटिङ गर्‍यौँ । राष्ट्रपतिले धेरै बेरसम्म ताली बजाए । हिन्दी फिल्मको सुटिङ देखेर उनी निकै खुसी भए । मलाई काला पानीको लागि फिल्मफेयर अवार्ड दिइएको थियो, जुन मैले इजिप्टका राष्ट्रपति अल नासेरबाट पाएको थिएँ ।’

dev-anand6लुटेराले फोटो खिचाए

फ्यानहरूको कुरा गर्दा, देव आनन्द चम्बलमा सुटिङ गरिरहेको बेला एउटा अर्को घटना याद आउँछ ।

देव आनन्दले लेखेका छन्, ‘छायाङ्कन सकिएपछि हामी चम्बल क्षेत्रको डाक बङ्गलामा बसेका थियौँ । कसैले हामीलाई डाँकुहरूले आक्रमण गर्न लागेका छन् चेतावनी दिए । हामीले चेतावनी दिन आएका व्यक्तिलाई अटोग्राफका लागि कपी ल्याउन र छ भने फोटोका लागि क्यामेरा ल्याऊ भनेँ, उनीहरूले आफ्नो स्क्रिन हिरोसँग फोटो खिच्ने जीवनको अन्तिम मौका पाउँदै छन् भनेर भनिदिन पनि लगाएँ ।’

‘अर्को दिन हामी सुटिङ गरिरहेका बेला मैले ट्रकमा उभिएर उनीहरूलाई भनेँ- कस्तो हुनुहुन्छ मेरा देशवासीहरू  ? 'अरे देव साहब !' उनीहरुले भने । कसैले मलाई हात मिलाउन थाले, कसैले अँगालो हाले । ’

dev-anand7सुरैया र देव आनन्दको प्रेम

देव आनन्दको व्यक्तिगत जीवन पनि खुला किताब जस्तै थियो । उनी अभिनेत्री सुरैयासँग प्रेममा थिए तर धर्मको अवरोधका कारण दुवैले विवाह गर्न सकेनन् र सुरैया जीवनभर एक्लै बसिन् ।

वरिष्ठ पत्रकार अली पिटर जोन देव आनन्दका साथी र फ्यान पनि थिए ।

आफ्नो पुस्तक ‘माई देव मेमरिज अफ एन इममर्टल म्यान’ मा उनी लेख्छन्, ‘देव आनन्दले मलाई भन्थे, ‘काश... हाम्रो कहानीको अन्त्य अरू नै केही हुन्थ्यो ।’ त्यति बेला म स्क्रिनमा काम गर्थेँ र स्क्रिनले सन् २००२ मा सुरैयालाई लाइफ टाइम अवार्ड दिने निर्णय गर्‍यो । सुरैयाले मेरा सहयोगी पिरोजलाई ‘देव आउँछन् र ?’ भनेर सोधिरहन्थिन् । पिरोजले देव स्क्रिनको कुनै पनि समारोह छुटाउँदैनन् भने तर देव आनन्दले भने, ‘अलि खासै राम्रो लाग्ने छैन । मैले ४० वर्षमा न उनलाई देखेको छु, न फोनमा कुरा गरेको छु । यस पटक छोडिदेऊ । मलाई थाहा छ, हामी दुवैले यो सहन सक्नेछैनौँ ।’

‘पछि देव थाहा पाउन चाहन्थे कि सुरैया कस्तो देखिएकी थिइन्, उनको कपालमा फूल थियो वा कस्तो साडी लगाएकी थिइन् । सुरैयाको मृत्यु भएको दिन उनले मलाई बोलाए । उनको पेन्ट हाउस बन्द थियो । उनी टेरेसमा एउटा टेन्टमा एक्लै बसिरहेका थिए । उनका आँखाबाट आँसु झरिरहेका थिए ।’

तर आफ्नो गीत ‘मै जिंदगी का साथ निभाता चला गया’ जस्तै देव आनन्द जीवनमा अघि बढिरहे र उनले आफ्नी हिरोइन कल्पना कार्तिकसँग विवाह गरे ।

प्रशंसक थाके तर देव थाकेनन्

फ्लप भए पनि उनले जीवनको अन्तिमसम्म फिल्म बनाइरहे । वसन्त थापा भन्छन्, ‘हामी प्रशंसक पनि उनका पछिल्ला फिल्महरू हेरेर थाकेका थियौँ तर उनी थाकेनन् ।’

बीबीसी हिन्दी


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप