सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
इतिहास

६७ वर्षअघिको ऐतिहासिक नेपाल–चीन मैत्री सम्बन्ध

आइतबार, १४ असोज २०८०, १३ : ०९
आइतबार, १४ असोज २०८०

सन् १९५६ अक्टोबर १, आजैको दिन ६७ वर्षअघिको ऐतिहासिक नेपाल–चीन मैत्री घटनालाई भावपूर्ण रूपले सम्झँदा गौरवान्वित भएको छु । पुष्पलालकै अग्रसरताबाट ‘चीन भमणको रोमाञ्चकता’ र ‘सोभियत सङ्घसँग चिनारी’ को अनुभव ‘१९९७ सालदेखि २०१७ साल ...एक अवलोकन ‘को ३११ देखि ३४२ पानासम्म जुन विस्तृत वर्णन गरिएका छ ।

त्यो तीन रमाइला संयोगबाट भएको थियो । निम्ता आएको ओपचारिक पत्र नदेखाईकन पासपोर्ट पाउनु–– प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको सौजन्यताबाट, कलकत्तामा चिनियाँ कन्सुलेट कार्यालयबाट, स्वाभाविक रूपले भीसा आवेदन नामञ्जुर हुँदा त्यहीँबाट एउटा लामो तार पठाउँदा चीन जनवादी जनतन्त्रका प्रधानमन्त्री चाउ एन लाईको निम्ता आउनु, चिनियाँ कम्युनिस्ट पार्टीको आठौँ महाधिवेशनका क्रममा ‘प्राभदा’का विशेष संवाददाताको सौजन्यबाट सोभियत सङ्घको भ्रमण गर्ने निम्ता ! यो आलेख त्यसै क्रमको एउटा घटना वर्णन हो, जुन यस प्रकारले अघि बढ्छ ।

अमेरिकी साम्राज्यवाद टिकाएको कुओमिङ्तानविरुद्धको चिनियाँ मुक्ति सङ्ग्राम सम्पन्न भएलगत्तै सन् १९४९, अक्टोबर १ मा घोषणा भएको चिनियाँ राष्ट्रिय दिवसको सातौँ जयन्ती दिवस थियो, त्यो समारोह । त्यस विश्व ऐतिहासिक सङ्ग्रामका महानायक चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङ, जनवादी चीनका नवनिर्वाचित राष्ट्रपति ल्यु सावो ची, चीनका प्रधानमन्त्री चाउ एन लाई, नेपालका प्रधानमन्त्री टङ्गप्रसाद आचार्य, इन्डोनेसियाका राष्ट्रपति सुकार्नाे, कम्बोडियाका राजकुमार सिंहानुक, चिनियाँ प्रधान सेनापति चु तह, गणतन्त्र चीनका प्रथम राष्ट्रपति सन् यात सेनकी विधवा सुङ चिङ लिङ आदि अग्रणी नेताहरू, इन्डोनेसियाको कम्युनिस्ट पार्टीका महासचिव डी एन आइडिट, उपमहासचिव लुकमान एवं विदेशका अन्य गण्यमान्य पाहुना भव्य तियान मेन मण्डपमा उभिएका थिए । ठीक अगाडि विशाल तियान मेन चोक थियो । मण्डपमुनिको दाहिनेपट्टि ठूलो प्यारापिटका खुड्किलाहरूमा विश्वका ८० भन्दा बढी देशका कम्युनिस्ट पार्टीका नेता, नाम चलेका अनेक विशिष्ठ पाहुना बसेका थिए । त्यहीँँ नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य शम्भुराम श्रेष्ठ, केन्द्रीय कमिटी सदस्य सैयद कमर शाह, नेकपा को अर्धमुखपत्र ‘मसाल’का विशेष प्रतिनिधि अरविन्द रिमाल पनि थिए ।

अचानक सिमसिम पानी पर्न थाल्यो । उत्सवीय आनन्दले नै भन्नुपर्ला, कसैबाट पनि हलचल भएको थाहा भएन । थाहा त्यतिबेला मात्र भयो जब प्रत्येक पाहुनालाई रेशम मिसिएको चकलेट रङको वर्षादी थमाइयो, पानीको रुझाइबाट बच्न ! अनि सबै जनाले जर्‍याकजुरुक उठ्दै रेनकोट लगाउँदाको सरसरको हल्का आवाज अहिले पनि कानमा गुञ्जिरहेको लाग्छ । कस्तो चामत्कारिक आयोजन । त्यो रेनकोट आफूले काठमाडौँमा वर्षायाममा मित्र एवं कमरेडहरूको प्रशंसासूचक हेराइसहित धेरै वर्षसम्म आभारपूर्वक उपयोग गरेको पनि सम्झना हुन्छ ।

त्यसो त प्रधानमन्त्री चुको विशेष सुझाउमा उनी भित्री हालिएको टपकोटको पनि सम्झना हुन्छ ! कुरा के भने चीन– भ्रमण सकेर सोभियत सङ्घको भ्रमणमा जानुअघिल्लो दिन आभार जनाउन र बिदाइ भेट गर्न प्रधानमन्त्री चुको कार्यालय गएको थिएँ । उनकै पार्टीले भेट गरेकै टपकोट लगाएर जाँदा उनले भेउ पाइहालेछन्, यो ठिटोलाई रुसको जाडो थेग्न यो कोटले त पुग्दैन । अनि त्यस्तो सल्लाह दिएका रहेछन् । २०१४ साल मङ्सिरको भद्र अवज्ञा आन्दोलनका क्रममा नेकपाका तत्कालीन महासचिव डा. केशरजङ्ग रायमाझीको नेतृत्वमा रानीपोखरीस्थित सर्वोच्च अदालतको मूल ढोकाबाहिर शान्तिपूर्ण धर्ना दिन गइएको थियो । साथमा नेकपा केन्द्रीय सदस्य पीबी मल्ल र पूर्वकोशी प्रान्तीय समितिका सेक्रेटारियट सदस्य मोहनचन्द्र अधिकारी पनि थिए । त्यहाँ जाँदा त्यही कोट लगाएको थिएँ । सत्याग्रहीहरूलाई पुलिसले त्यहाँबाट लघारेर बिजुली अड्डानिर राखिएको लहरीमा हाल्न लैजाँदा मलाई पछिल्तिरबाट ठूलै ढुङ्गा ढाडमा बजारिएको थियो । त्यही बाक्लो कोटले बचायो, ढाड भाँचिनबाट !

अब उही चिनियाँ समारोह चर्चा ! विशाल तियान मेन चोकबाट विविध क्षेत्रमा देशका चामत्कारी प्रगतिलाई झल्काउने विभिन्न झाँकीहरू गुज्रिरहेका थिए । यी सबै वर्णन मेरो ‘१९९७ सालदेखि २०१७ साल... ‘एक अवलोकन’मा ‘चीन भ्रमणको रोमाञ्चकता’ अध्यायमा गरिएको छ । 

यसको पूर्वसन्ध्यामा, सेप्टेम्बर ३० तारिखको रात पेकिङ होटलको विशाल हलमा चीनको कम्युनिस्ट पार्टी तथा चीन सरकारले सम्युक्त रूपमा भव्य स्वागत समारोह आयोजना गरेका थिए । चीनको कम्युनिस्ट पार्टीको महाधिवेसनमा निम्त्याइएका हामीसमेत गरी धेरै कम्युनिस्ट बन्धु प्रतिनिधिमण्डलका सदस्य र अन्य विदेशी गण्यमान्य अतिथि पनि त्यसै होटलमा राखिएका थिए । त्यस समारोहमा हामी उपरोक्त तीन जना पनि थियौँ । तत्कालीन नेकपा महासचिव मनमोहन अधिकारी चिनियाँ पार्टीको आठौँ महाधिवेशनको पहिलो सत्रमा उपस्थित भएको भोलिपल्टै एउटा विशेष अस्पतालमा भर्ना भइसकेका थिए । त्यस समारोहमा प्रधानमन्त्री आचार्यले हामीप्रति दर्साएका मैत्रीभावबाट शीर्षस्थ चिनियाँ नेतालगायत विश्वभरिका प्रतिष्ठित अतिथि आनन्दले छक्क परेका थिए । आइडिट तथा लुकमानलगायत त्यहाँ उपस्थित सबै कम्युनिस्ट नेताले हाम्रो अभिनन्दन गरेका थिए । यी सबै अविभाजित नेकपाको गौरवशाली इतिहासका पाना थिए ।

इतिहासको सम्झनाका क्रममा रमाइलो नरमाइलो दुवै खाले अनुभव बटुल्नु पर्दाेरहेछ । एक दिन अधिवेशनको मध्यान्तरमा खाना खान होटल आउँदा हाम्रा चिनियाँ सम्पर्क अधिकारी कमरेड ल्यु पनि कोठामा आए । प्रसङ्गवश नेपाल–भारत सम्बन्ध र भारतीय नीतिप्रति नेपाल कम्युनिस्ट पार्टीको अवधारणाबारे चर्चा चल्यो । पहिला मलया कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य रहेका ल्युले नेकपाले नेपाल भारतीय सत्ताको प्रभुत्व क्षेत्रमा परेको स्विकार्नु उचित भन्ने तर्क उठाए । मैले पार्टीको नीतिगत निर्णय राखेँ । बहसले चर्काचर्की रूप लियो । मैले यसलाई पार्टीको स्वतन्त्र नीतिमाथि हस्तक्षेप ठानेँ र उनी आफ्नै अडानमा कायम थिए । मैले घरपेटी उनलाई ‘कमरेड’ बाट ‘मिस्टर’मा झारेर कोठाबाहिर गइदिन भनेँ । मामला बढेर उपचारमा रहेका मनमोहन अधिकारीको अस्पतालका कोठासम्म पुग्यो । मैले छोटकरीमा घरपेटीको अपमान गरेकोमा क्षमायाचना गर्ने मात्र होइन, अनुशासनको कारवाहीसम्म गरिने कुरा आयो । मैले पनि ‘ठीकै छ, तपाईंहरू यस्तै ठान्नुहुन्छ भने । तर मैले तपाईंहरूको निर्णयमा फरक मत राख्न पाउनु पर्छ, किनभने यहाँ पार्टीको नीतिगत अवधारणाको उल्लङ्घनको विषय आएको छ’ भनेँ । विषय अघि बढेन, सबै कुरा सामसुम भयो । मिस्टर ल्युसित पनि सम्बन्ध सामान्य रह्यो । यी सब कुरा ‘अवलोकन’ मा लिपिबद्ध छन् ।

अनि अर्काे आश्चर्य लाग्दो घटना यस प्रकार छ– सोभियत कम्युनिस्ट पार्टीसित चिनियाँ कम्युनिस्ट पार्टीको ‘सैद्धान्तिक विरोध’मा देशभित्र माओ नीतिविरोधी रहेका राष्ट्रपति ल्यु साव ची तथा पार्टी महासचिव तेङ सियावो पिङको पूर्ण समर्थन रहेछ । सन् १९५७ को विश्व कम्युनिस्ट सम्मेलनमा बहुमतविरुद्ध तेङ खडा थिए भने मतभेद सुल्झाउन बोलाइएको १९६० को अर्काे विश्व सम्मेलनको ठाडो विरोधको नेतृत्व त ल्युले नै लिए । अनि माओको ‘सांस्कृतिक क्रान्ति’भरि देशीय प्रधान शत्रु ल्यु र तेङ नै भए । (द्रष्टव्य ‘अवलोकन’ ) ।

भनिरहन परोइन, कम्युनिस्ट पार्टीभित्रको राजनीतिक विरोध कति घातक, कस्तो विरोधाभाषपूर्ण हुँदोरहेछ, अहिले पनि देखिरहिएको छु ।

अब यहाँ विषय फोटोहरूले लिन्छन् । प्रस्तुत फोटोहरूमा–

Screenshot_20230916_111609_Photos

१. अध्यक्ष माओ त्सेतुङ प्रधानमन्त्री आचार्यसित प्रसन्न मुद्रामा सौहाद्र्रतापूर्वक हात मिलाइरहेका छन् ।

Screenshot_20230916_112039_Photos

२. आचार्यपत्नी रेवन्तकुमारीको नेपाली शैलीको भद्र अभिवादनलाई अध्यक्ष माओ त्यत्तिकै भद्रपाराले फर्काइरहेका छन् । चित्रमा नेपाल प्रजा परिषद्का अध्यक्ष भद्रकाली मिश्र, आचार्यको ठीक पछाडिपट्टि ‘समाज’ दैनिकका सम्पादक एवं आचार्यका विश्वसनीय परामर्शदाता मणिराज उपाध्याय पनि देखिन्छन् ।

Screenshot_20230916_110552_Messenger

३.  राजा महेन्द्रले उत्तरी मित्रराष्ट्र चीन सरकारसँग १९५५ को जुन महिनामा स्थापना गरेका कीर्तिमान दौत्य सम्बन्धलाई विविध पक्षमा बढाउन तथा सुदृढ गर्ने ध्येयले प्रम आचार्य चीनका प्रधानमन्त्री चाउ एन लाईसँग सौहार्द्रपूर्ण वातावरणमा कुराकानी गरिरहेका छन् । 

Screenshot_20230916_110610_Messenger

४. प्रधानमन्त्री आचार्यको सम्मानमा रात्रि भोज आयोजना हुँदा आचार्यको सम्बोधन । 

Screenshot_20230916_110456_Messenger

५. अध्यक्ष माओ प्रधानमन्त्री आचार्यको सरकारी भ्रमण टोलीका सदस्यसित राजकीय हलमा सामूहिक फोटा सेसनमा । अध्यक्ष माओेको देब्रेपट्टि आचार्यपत्नी, राष्ट्रपति ल्यु साओ ची, नेपालका परराष्ट्र सचिव नरप्रताप थापा तथा उद्योग वाणिज्य सचिव सरदार भीमबहादुर पाण्डे, दाहिनेपट्टि प्रम आचार्य, प्रतिरओ मन्त्री चु तह, चिनियाँ प्रधानमन्त्री च, अनि भद्रमाली मिश्र ।

 

 

Screenshot_20230916_111233_Messenger

६. जापानको राजकीय भ्रमणमा प्रस्थान गर्नुअघि बिदाइ पत्रकार भेटमा बोल्दै प्रधानमन्त्री आचार्य । दोभाषी परराष्ट्र सचिव थापा ।

Screenshot_20230916_111511_Messenger

७. सोही साल भारतको राजकीय यात्राका राजधानी दिल्ली पुग्दा प्रम आचार्यको प्रम जपरवाहरलाल नेहरूद्वारा भव्य स्वागत । 

Screenshot_20230916_111438_MessengerScreenshot_20230916_111511_MessengerScreenshot_20230916_112419_PhotosScreenshot_20230916_112715_MessengerScreenshot_20230916_112744_MessengerScreenshot_20230916_112822_Messenger

८. सबै चित्र टङ्कप्रसाद आचार्य स्मृति प्रतिष्ठानको सौजन्यबाट ।

(पहिलो नेपाली पत्रकारको रूपमा जनवादी चीन र सोभियत रुसको ‘आविष्कार’ गरी दिल्ली हुँदै स्वदेश फर्किंदा नयाँ दिल्लीमा खिचेको फोटो, अरविन्द रिमालको ।

 सन् १९५६ को अक्टोबर १, आजको दिनका यी सबै घटनाको, आफू पनि आफ्ना नेता पुष्पलालको सौजन्य तथा सदाशयताबाट साक्षी बन्ने सौभाग्य पाएको सम्झनामा केही शब्द कोर्न पाउँदा हर्षविभोर भएको छु ।

समारोहको भोलिपल्ट हामीलाई पनि तियान आन मेनको भित्री परिसरमा चिनियाँ राष्ट्रिय नेताहरूका आवासगृह तथा राजकीय अतिथि गृहभएको भवन समुचच्यमा लगेर राखियो । त्यहीँ बस्दा भोलिपल्ट एकाबिहानै आचार्यको शयनकक्षमा पुगी मैले सोभियत सङ्घको भ्रमण गर्न सोभियत कम्युनिस्ट पार्टीको मुखपत्र ‘प्राभदा’ का प्रधान सम्पादकको निम्ता मान्न जान आफ्नो पासपोर्टको म्याद बढाउन सचिव थापाको सिफारिस गराएको सम्झना हुन्छ ।

  साह्रा विदेशी बन्धु प्रतिनिधिमण्डलसहितको विशेष रेलगाडीद्वारा चीनको लामो भ्रमणमा जानुअघि हामीलाई चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र ‘जेनमिन्ह जिह पाओ’का प्रधान सम्पादकसँग भेट गर्न लगियो । भेटघाट र छापाखाना निरीक्षणपछि बाहिर निस्किँदा ठूलै सङ्ख्यामा चिनियाँ नागरिकहरू ‘राष्ट्रपति सुकार्नाेलाई स्वागत– भेट गर्न’ आएको भनियो । उनीहरूले नेपाली भादगाउँले टोपीमा शोभिएका हाम्रा शम्भुराम श्रेष्ठलाई सुकार्नाे ठानेका रहेछन्, उनको टोपी पनि कालो रङको भादगाउँले टोपीसँग कदाचित मिल्ने लागेर रहेछ ।

रेल यात्राक्रममा मैले महासचिव आइडिट र अल्जेरियाको कम्युनिस्ट पार्टीका महासचिवसित अन्तर्वार्ता लिएको थिएँ । त्यतिबेला फ्रान्सेली उपनिवेशवादविरुद्ध अल्जेरियामा चलिरहेको राष्ट्रिय मुक्ति स्वाधीनता आन्दोलनले ठूलो गति लिइरहेको थियो ।

  हामी विश्वकै सर्वसुन्दर सहरको प्रख्याति पाएको हाङचावो सहरको रोमाञ्चक भ्रमणपछि सैन्यवादी जापानी सैनाले उपनिवेश बनाई उधुम अत्याचारी शासनतन्त्र चलाएको मन्चुरिया पनि गयौँ, जो सोभियत सङ्घको सहयोगबाट चीनको राष्ट्रिय औद्योगीकरणको आधारस्थल बनिरहेको रहेछ ।

पछि थाहा पाइयो, अमेरिकी साम्राज्यवादले पूरै थेगेको प्रतिक्रियावादी च्याङ काई सेकी कुओमिङतान शासनविरुद्ध घनघोर चिनियाँ राष्ट्रिय मुक्ति सङग्रामका सर्वमान्य सफल नेता माओ त्सेतुङ्गले त आफ्ना विपत्तिकारक आर्थिक नीतिबापत उपाध्यक्ष ल्यु सावो ची तथा पार्टी महामन्त्री तङ सियावो पिङले संयुक्त तवरले पार्टीभित्रै चलाएका आलोचना अभियानका कारण पार्टी महाअधिवेशनमा राष्ट्रपतिको पद छाड्ने निर्णय गर्नुपरेको रहेछ । अनि माओले पनि मूल रूपमा यी दुईविरुद्ध नै लक्ष्यित ‘हेडक्वारेटरलाई बमबारी गर्ने सांस्कृतिक क्रान्ति’ र ‘सोभियत संशोधनवाद’ विरुद्धको नाममा पूरै विश्व कम्युनिस्ट आन्दोलनविरुद्ध धावा पनि यही हाङचावो सहरमा बसेर चलाएका रहेछन् । प्रसङ्गवश, यी वृत्तान्त मेरो ‘१९९७ सादेखि २०१७ साल... एक अवलोकन’ मा उल्लेख छ ।

ओ हो ! इतिहास पनि कस्तो कठोर सकसमा पर्नुपर्ने । सोभियत नेता स्टालिनसँग माओको वैचारिक विरोध त सर्वविदित छ । तर स्टालिनकै व्यक्तिपूजाको विरोधमा पार्टी प्रथम सचिव निकिता ख्रुस्चोभले सोभियत कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशनमा जुन भण्डाफोर अभिभाषण गरे त्यसको स्पष्ट विरोध माओको नेतृत्वमा चिनियाँ कम्युनिस्ट पार्टीले धुमधामसँग गर्‍यो, त्यो पनि कुनै रहस्य छैन । त्यसैले एकै सालको फेब्रुअरीमा भएको सेभियत पार्टी अधिवेशनमा खस्तालिन व्यक्तिपूजा भर्त्सना –नीति– अभिभाषणका नायक सेप्टेम्बरमा भएको चिनियाँ पार्टी अधिवेशनमा उपस्थित हुनुलाई कदाचित त्यस नीतिका आलोचक चिनियाँ नेतृत्वलाई नराम्रो लाग्ला भन्ठान्ने सोभियत पक्षले, उता चिनियाँ पार्टी महाधिवेशनमा आफू नगई नभई आफ्ना आर्मेनियाली सहायकलाई पठाउनुलाई चिनियाँ पार्टी नायकले आफ्नो अपमान ठानेको रहस्य– गाँठो यो बच्चासमान पत्रकारले सोभियत सङ्घमा स्टालिनकालमै राजनीतिक शरण लिएका घागडान ब्रिटिस कूटनीतिज्ञ– राजनीतिक विश्लेषक राल्फ पार्करबाट मास्कोमा उनीसित भेट गर्न जाँदा खोलिएको पाउँदा ऊ कम्तीमा आश्चर्यचकित परेको थियो ।

कहाँको कुरा कहाँ जोडिन पुगेको जस्तो भएकोमा खेद जनाउँछु नै । तर के लाग्यो, एउटा निर्दाेष सुन्दर नगरले पनि कस्तो प्रारब्ध भोग्नु पर्दाे रहेछ भन्ने कुरा आज गम्नु पर्दा उदेक लागिरहेछ ।

Screenshot_20230916_112350_Photos

 यस लेखमा प्रधानमन्त्री आचार्यलाई जापानमा सम्राट– साम्राज्ञीद्वारा गरिएको शाही सम्मानको सबुतप्रमाण त यहाँ संलग्न दुई फोटो नै छन् नै । साथै उनले चिनियाँ प्रधानमन्त्री चाउको जापानी प्रधानमन्त्रीलाई दुई देशबीच सम्बन्ध स्थापनाका लागि बेपार सम्बन्ध राख्नेबारे विशेषपत्र पुर्‍याएको र भारत भ्रमणमा प्रधानमन्त्री नेहरूद्वारा गरिएको स्वागत सम्मानका चित्रहरूले सार्वभौम, स्वाधीन राज्य नेपालको सम्मान कहिल्यै यस्तै गरी फर्केला के भन्ने सम्झँदा मुटु चुँडिन्छ । 

नेपाल तथा चीनको मित्रता अमर रहोस् । जय नेपाल । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अरविन्द रिमाल
अरविन्द रिमाल
लेखकबाट थप