शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

तीनकुनेमा नेसपाको बैठक : माओवादीसँग एकता गर्न तयार होलान् बाबुराम ?

सोमबार, १५ असोज २०८०, १४ : २४
सोमबार, १५ असोज २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा बाबुराम भट्टराईको अध्यक्षतामा केन्द्रीय कार्यकारिणी समितिको बैठक बसिरहेको छ । पार्टी एकताको विषयमा अन्तर्विरोध  चर्किएकै बेला भट्टराईले बैठक बोलाएका हुन् । 

भट्टराईको अध्यक्षमा सोमबार दिउँसो  १ बजेदेखि पार्टी कार्यालय तीनकुनेमा बैठक जारी रहेको सचिवालयका एक सदस्यले जानकारी दिए । मंगलबारसम्म चल्ने बैठकमा पार्टी एकता, महाधिवेशनको तयारी, पार्टी निर्माण, जबस र विभाग गठनलगायतबारे छलफलको  एजेण्डा रहेको ती सदस्यले जानकारी दिए । 

यस्तै सरकारले गरेको काम र पार्टी गठन भएपश्चातको समीक्षा पनि हुने ती सदस्यले बताए । उनका अनुसार मुलत बैठकले पार्टी एकताको विषयमा ठोस निर्णय गर्ने छ । ‘पार्टी एकताको विषयमा बैठकले निर्णय गर्छ । नेसपालाई थप बलियो बनाउने, संगठन निर्माण, विभाग गठन लगायत विषयमा छलफल जारी छ’, ती सदस्यले भने । 

पछिल्लो समय माओवादी केन्द्रसँग पार्टी एकता गर्ने विषयमा अध्यक्षद्वय भट्टराई र महिन्द्रराय यादव समूहबीच  मतभेद बढ्दै गएको छ । भदौ ३० गते बसेको माओवादी केन्द्रीय कार्यालय बैठकले पार्टी एकतासम्बन्धी प्रस्ताव पारित गरेको थियो । 

सोही निर्णयअनुसार भट्टराईलाई बाइपास गरेर माओवादीले यादवलाई पत्र पठाएपछि नेसपाभित्र अन्तर्विरोध चर्किएको छ । यादव पक्ष पूर्वसहमति अनुसार माओवादीसँग पार्टी एकताको पक्षमा रहेको छ भने भट्टराई पक्ष माओवादीबाट धोका भएको भन्दै यथास्थितिमा एकताको पक्षमा देखिएको छैन । एकताबारे पार्टीमा तीव्र मतभेद रहेको सन्दर्भमा बसेको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप