शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

औद्योगिक कोरिडोरमा आगलागीको जोखिम बढ्न थालेपछि न्यूनीकरण कार्यक्रम सञ्चालन

उद्योगहरूमा विपत् व्यवस्थापनमा दक्ष जनशक्ति नहुँदा भएका उपकरण प्रयोगविहीन
शनिबार, २२ वैशाख २०८१, ०९ : ०३
शनिबार, २२ वैशाख २०८१

बारा । बारा–पर्सा औद्योगिक कोरिडोरका उद्योगहरूमा आगलागीको जोखिम बढ्दै गएको उद्योगी व्यवसायीहरूले गुनासो गरेका छन् ।

जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घ र सशस्त्र प्रहरी बल नेपाल नं ४० रिजर्भ गण पिलुवा बाराले आयोजना गरेको २ दिने औद्योगिक सुरक्षा सम्बन्धी कार्यक्रममा उद्योगी व्यवसायीहरूले सामान्य सचेतना अपनाउन नसक्दा कोरिडोरका उद्योगहरूमा आगलागीबाट बर्सेनि करोडौँको क्षति हुने गरेको गुनासो गरेका हुन् ।

उद्योग आगलागीको अत्यधिक जोखिमको क्षेत्र हो । तर औद्योगिक सुरक्षाको कुरा गरेर नथाक्ने उद्योगीहरूले आगलागीको जोखिमबाट कसरी सुरक्षित रहने भन्ने विषयमा ध्यान नदिँदा उद्योगहरूमा बर्सेनि करौडौ रुपैयाँको धनमाल जलेर नष्ट हुने गरेको  छ  । 

नेपाल सेरामिक्सका अध्यक्ष शम्भुनाथ झाले केही महिनाअघि नेपाल सेरामिक्समा लागेको सामान्य आगो समयमै निभाउन नसक्दा ठुलो क्षति भएको बताए । 

‘उद्योगमा आगलागी भएपछि कोही साथी भिडियो बनाउन थाल्नुभयो, कोही रमिता हेरेर बस्नुभयो आगो सानो थियो, ३÷४ घण्टा दमकलको प्रतीक्षा गर्दागर्दै आगो भयावह भयो’ नेपाल सेरामिक्सका अध्यक्ष झाले भने ‘त्यो आगो नियन्त्रणमा गर्नलाई पछि १० वटा दमकललाई लगभग ७ देखि ८ घण्टा लाग्यो’

विद्युत् सर्ट भएर सामान्य झिल्कोबाट सुरु भएको आगोलाई कसरी नियन्त्रणमा लिने भन्ने सामान्य ज्ञान नहुँदा त्यसले भयावह रुप लिएको उनको भनाई छ ।

सो घटनापछि उद्योगले कर्मचारीहरूलाई आगो कसरी नियन्त्रण लिने भन्ने विषयमा तालिम दिएको थियो । तालिम पश्चात् दोस्रो पटक पुनः सोही उद्योगमा २ साताअघि डिजेल मेसिन तातेर भएको आगलागीलाई उपकरणको प्रयोग गरेर कर्मचारीहरूले समयमै नियन्त्रणमा लिएका थिए । 

uu4

‘हामीकहाँ पहिलो पटक भन्दा दोस्रो पटक डिजेको ब्याट्री पड्किएर  ठुलो आगलागी भएको थियो, तर सामान्य तालिम पाएपछि हाम्रै कर्मचारीले त्यसलाई निभाउन सफल भए’ झाले भने । 

 नेपाल सेरामिक्समा केही महिनाको अन्तरालमा २ पटक आगलागी भएको थियो ।  नेपाल सेरामिक्स जस्तै किरडोरका दर्जनौँ उद्योगहरूमा बर्सेनि आगलागीका कारण ठुलो क्षति हुने गर्दछ । 

उद्योगहरूमा आगलागी नियन्त्रण सम्बन्धी उपकरणहरू भए पनि त्यसलाई कसरी प्रयोग गर्ने भन्ने सामान्य ज्ञान नहुँदा ठुलो क्षति हुने गरेको छ । 

वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतमले औद्योगिक कोरिडोरका हरेक उद्योगले विपत् व्यवस्थापन सम्बन्धी पूर्वाधारहरू खडा गर्नुपर्ने बताएका छन् । 

‘अलिकति खर्च बढी हुन्छ, मेहनत लाग्छ तर त्यसको प्रतिफल धेरै राम्रो आउँछ, हरेर उद्योगबाट प्रतिनिधि बोलाएर विशेषज्ञ मार्फत विपत् व्यवस्थापनको तालिम दिन वीरगन्ज उद्योग वाणिज्य सङ्घ सहयोग गर्न तयार छ’ वरिष्ठ उपाध्यक्ष गौतमले भने ‘उद्योगमा विपत् व्यवस्थापनका लागि गर्नुपर्ने प्रारम्भिक कार्यहरू सबैले गरेर त्यसको अनुगमन गर्नुपर्दछ, हामी अव यो अभियान चलाउँछौ’

uu3

बारा–पर्सा औद्योगिक कोरिडोरमा साना–ठुला गरेर ८ सय बढी उद्योगहरु छन् । यी उद्योगहरूमा सबैभन्दा ठुलो समस्या आगलागी भएको गौतमले जनाएका छन् । 

वीरगन्ज उद्योग वाणिज्य संघले आगलागी नियन्त्रणको लागि १० वर्षदेखि  सरकारसँग एउटा दमकल माग्दा सहयोग नपाएको गुनासो गरेका छन् । 

‘दमकल खरिदमा आर्थिक सहयोग गर्न हामी तयार थियौ तर निजी क्षेत्रको कुरा सुन्ने राज्यको चलन छैन’ वरिष्ठ उपाध्यक्ष गौतमले भने ‘अहिले प्रदेश सरकारले केही सार्वजनिक बस र दमकल किन्यो तर हामीलाई दिएन, त्यो दमकल कहाँ छ थाहा छैन’

 उद्योगहरूमा हुनसक्ने विपत् सम्बन्धी जोखिमहरूको पहिचान गरी त्यसलाई न्यूनीकरण गर्न पूर्व तयारी सम्बन्धी कार्यक्रममा कोरिडोरमा ४८ वटा उद्योगका व्यवस्थापक तथा अधिकृत तहका कर्मचारीहरू सहभागी भएका थिए । 

सशस्त्र प्रहरी बल नेपालले पहिलो पटक आयोजना गरेको सो कार्यक्रममा उद्योग वाणिज्य सङ्घ मधेस प्रदेशका अध्यक्ष अशोक टिमानी, वीरगन्ज उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष हरि गौतम र जीतपुर सिमरा नगर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मोहन शर्मा सहितका पदाधिकारीहरू सहभागी थिए । 

मधेस प्रदेश उद्योग वाणिज्य सङ्घका अध्यक्ष अशोक टिमानीले उद्योगहरुसँग विपत्त व्यवस्थापन सम्बन्धी साम्रगीहरु भए पनि तालिमप्राप्त जनशक्ति नहुँदा ठुलो मानवीय र धनजनको क्षति हुने गरेको बताएका छन् ।

‘उद्योगहरूको पहिलो आवश्यकता भनेको कार्यक्षेत्र सुरक्षित रहनु हो, यसलाई हामीले सेभ गर्न सक्यौ भने ठुलो उपलब्धि हासिल गर्न सक्छौ, तर सधै हामी उद्योगीहरु यस्मै चुकेका छौ’ मधेस प्रदेश अध्यक्ष टिमानीले भने ‘धेरै देशहरूमा उद्योग खोल्नुपूर्व त्यससँग सम्बन्धित सुरक्षाका उपायहरू अवलम्बन गरेपछि मात्रै उद्योग खोल्ने अनुमति दिने गर्दछ’

उद्योगहरूमा आगलागीमा जलेर मर्नेको तुलनामा धुवाँको कारण अक्सिजन कम भएर श्वासप्रश्वासमा समस्या भएर मर्नेको सङ्ख्या अधिक रहेको टिमानीको भनाई छ ।  ‘सुरक्षा भनेको हाम्रो दिनचर्यामा हुनुपर्छ’ उनले भने । 

uu1

सशस्त्र प्रहरी बलको छिन्नमस्ता बाहिनीका बाहिनिपति दीपेन्द्र शाहले करौडौ रुपैयाँ लगानी गरेर उद्योग स्थापना गरेका उद्योगीहरूले सुरक्षामा ध्यान नदिएकोले बर्सेनि ठुलो क्षति बेहोर्नुपरेको बताएका छन् । ‘विपत्को अवस्थामा उपकरण मात्रै भएर भएन त्यसलाई समयमा कसरी प्रयोग गर्ने भन्ने जनशक्तिलाई जानकारी हुन आवश्यक छ, हामीसँग सम्पूर्ण उपकरण छ तर समयमै प्रयोग गर्न सकिएन कुनै अर्थ हुँदैन्’ बाहिनीपति शाहले भने 

आजसम्म चल्ने कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ४० नं गणले उद्योगहरूमा विपत् सम्बन्धी प्रयोगात्मक कार्यक्रमहरू समेत राखेको छ । 

uu5

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप