शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
माओवादी-नेसपा एकता

बाबुरामलाई ‘बाइपास’ गरी महिन्द्रलाई प्रचण्डको पत्र, नेसपामा हलचल

बुधबार, ०३ असोज २०८०, १४ : ०५
बुधबार, ०३ असोज २०८०

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई ‘बाइपास’ गरेर पार्टी एकताका लागि पत्र पठाएपछि पार्टीभित्र तरङ्ग उत्पन्न भएको छ । भदौ ३० गते अध्यक्ष प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका दोस्रो अध्यक्ष महिन्द्र राय यादवलाई पत्राचार गरेपछि नेसपाभित्र हलचल ल्याएको हो ।

‘भदौ २५ गते पार्टीको केन्द्रीय कार्यालय (पदाधिकारीहरु)को बैठकमा पार्टी एकता सम्बन्धमा गम्भीरताका साथ छलफल भयो र अन्तमा पार्टी एकतालाई सफल तुल्याउनका लागि पार्टीको नामको सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टीको पछाडि कोष्टभित्र रहेको ‘माओवादी केन्द्र’ बारे आगामी महाधिवेशनमा खुला रुपले छलफल गरी आवश्यक निर्णय लिन सकिने भनी गरिएको निर्णयलाई जानकारीको लागि पत्राचार गरिएको छ’, पत्रमा उल्लेख छ ।

भट्टराई प्रगतिशील नेपाली समाज भारतले गरेको कार्यक्रममा भाग लिन दिल्ली पुगेका छन् । असोज १ गते भ्रमणमा निस्किएका भट्टराई बैंगलोर, गोवा, चण्डीगढ र दिल्लीमा आयोजना गरिने कार्यक्रममा सहभागी भएर असोज ६ गते स्वदेश फर्किने उनको सचिवालयले जनाएको छ ।

उनी दिल्ली जाने अघिल्लो दिन अध्यक्ष यादवको नाममा पत्राचार भएपछि भट्टराई पक्षले यसलाई ‘प्रचण्डको षड्यन्त्र’ का रुपमा अर्थ्याउने गरेका छन् । केन्द्रीय सदस्य रूपनारायण श्रेष्ठले कार्यकारी अध्यक्ष भट्टराई रहेको अवस्थामा दोस्रो अध्यक्षलाई सम्बोधन गरी पठाइएको पत्र मान्य नहुने बताए ।

‘हाम्रो पार्टीको कार्यकारी अध्यक्ष बाबुराम हुनुहुन्छ । उहाँलाई बाइपास गरेर पत्र आएको छ । यो प्रचण्डको गम्भीर षड्यन्त्र हो । यस्ता षड्यन्त्र मान्य हुने छैन’, रातोपाटीसँग श्रेष्ठले भने ।

तर सरकारका खानेपानी मन्त्रीसमेत रहेका नेसपाका अर्का अध्यक्ष महिन्द्र राय यादवले भट्टराई भारत भ्रमणमा रहेकाले पत्र आफूलाई आएको जिकिर गरेका छन् । भट्टराईलाई बाइपास गरेको नभइ दुवै जना अध्यक्षलाई माओवादीले पत्र पठाएको हुन सक्ने उनको भनाइ छ । पार्टी एकता गर्ने सहमति भइसकेको अवस्था अब यो वा त्यो बहानामा प्रक्रिया  रोक्न नमिल्ने उनले बताए ।

‘डाक्टर साब भारत भ्रमणमा हुनुहुन्छ । उहाँ नभएपछि मलाई पत्र आउनु स्वाभाविक हो । माओवादीले पत्र मलाईमात्र पठाएको नभइ उहाँलाई पनि इमेलमार्फत पठाएको होला । माओवादीसँग पार्टी एकता गर्ने भनेर चुनावअघि नै सहमति भइसकेको छ’, उनले भने, ‘उहाँ फर्केपछि सचिवालय बैठक बसेर पार्टी एकताको विषय टुङ्ग्याउँछौँ । एकताका लागि वार्ता टोली नै गठन गरिसकेका छौँ । ७ प्रदेशमा अभियानसमेत चलाइसकेका छौँ । एकता प्रक्रिया रोक्न मिल्दैन ।’

तर माओवादी केन्द्रले भट्टराईलाई पत्र नलेखी यादवलाई पत्र पठाएको सम्बन्धमा सामान्य भएको प्रष्टीकरण दिएको छ । उच्च स्रोतका अनुसार पत्र जानीबुझी पठाएकाले यसलाई सामान्य रूपमा लिनुपर्छ ।

379319584_690642959596963_2555287636285030461_n

‘पार्टी एकताका लागि यादवलाई पत्र पठाउनु सामान्य हो । हामीले जानीबुझी पठाएको छ । दुई पार्टीबिच एकता प्रक्रिया अगाडि बढिरहेकाले पत्राचारले केही असर गर्दैन’, स्रोतको दाबी छ ।

माओवादीसँग पार्टी एकता गर्नका लागि नेसपाले सहअध्यक्ष गंगा श्रेष्ठको अध्यक्षतामा तीन सदस्यीय वार्ता टोली गठन गरेको थियो । सदस्यमा उपाध्यक्ष दुर्गा सोव र महासचिव रमेशप्रसाद यादव छन् । माओवादी केन्द्रबाट उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा महासचिव देव गुरुङ, उपमहासचिव त्रय गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत सदस्य छन् ।

निर्वाचनपछि भट्टराई पार्टी एकता गर्न अनिच्छुक देखिएपछि उनीमाथि पार्टीभित्र चर्को दबाब परिरहेको छ । यादव र श्रेष्ठ पार्टी एकताको पक्षमा देखिएका छन् । हिसिला यमी लगायतका नेताहरू एकताको विपक्षामा देखिएका छन् ।

यही पत्राचारकै कारण नेसपा फेरि फुट्ने सम्भावना देखिएको छ । २०७९ असार ३० गते जसपाबाट अलग्गिएको भट्टराई समूहले साउन ५ गते नेसपा गठन गरेको थियो ।

साउन ९ गते प्रचण्ड निवास खुमलटारमा पुगेका भट्टराई र महिन्द्र राय यादवले साझा चिह्न र घोषणापत्रमा लिखित सहमति गरेका थिए । मंसिरमा भएको प्रदेश सभा र प्रतिनिधिसभा निर्वाचनमा यादव सर्लाही–२ बाट विजयी भएका थिए । श्रेष्ठ सिन्धुली–२(२) बाट बागमती प्रदेशसभा निर्वाचनमा विजयी भएका थिए । बाबुरामकी छोरीसमेत रहेकी मानुषी यमी काठमाडौँ–७ बाट पराजित भएकी थिइन् । बाबुरामले लगातार निर्वाचन जित्दै आएको गोरखा–२ प्रचण्डलाई त्याग गरेका थिए । निर्वाचन क्षेत्रमात्र नछोडी प्रचण्डलाई  जिताउनका लागि निर्वाचनमा भट्टराई आफैँ गाउँगाउँ पुगेका थिए । निर्वाचन जितेपछि प्रचण्डबाट धोका भएको भट्टराई पक्षका नेताहरूको आरोप छ ।

२०५२ सालमा सशस्त्र युद्ध सँगै गरेका प्रचण्ड र बाबुरामबिचको सहकार्य २०७२ असोज ३ गते नयाँ संविधान जारी भएपछि टुटेको थियो । अलग भएको ७ वर्षपछि फेरि एकता प्रक्रियामा जोडिएका दुई शीर्ष नेताबिचको सहकार्य माओवादी केन्द्रको पछिल्लो पत्राचारले चिसिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप