सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय

कता जाँदै छ नेपाली समाज ?

बुधबार, १७ असोज २०८०, १८ : १५
बुधबार, १७ असोज २०८०

विश्व मानचित्रमा सिन्धुको बिन्दुका रूपमा अवस्थित नेपाल प्राचीन मानवीय सभ्यता स्थल हो । प्रागैतिहासिक अवशेषको प्राप्तिले गर्दा यो भूभागको प्राचीनता स्पष्ट भएको छ । पृथ्वीको आन्तरिक हलचलले गर्दा टेथिस सागरको गर्भबाट उठेको यो भूभागको संरचनात्मक अवस्था र स्थितिले विविधताको मुलुक बनेको विभिन्न तथ्य अध्ययन गर्न सकिन्छ ।

उत्तरका हिम–शृंखलादेखि दक्षिण मैदानमा विकसित घना जङ्गलले गर्दा सुरक्षित किल्लाजस्तो स्वरूपमा बनेको नेपाली भूभागमा आएका शरणार्थी, व्यापारी, घुमन्ते समेतले स्थायी वासस्थलका रूपमा रोजेपछि समाज निर्माण, विकास, रूपान्तरणको प्रक्रिया बढेको पाइन्छ । सुरुदेखि नै सहयोगी मानसिकताभित्र हुर्किएको हुँदा सदासयता, सद्भाव, सहयोग, समन्वय, सदाचारयुक्त समाजमा परिणत हुँदै आएको नेपाली समाज प्राचीनकालदेखि नै जातीय विभिन्नता र सांस्कृतिक अनकेताभित्र सामाजिक एकताको अतुलनीय उदाहरण बन्दै आएको छ । नेपाल चार वर्ण ३६ जातको फूलबारी जस्तै हो अर्थात् नेपाललाई बहुजातीय रंगमञ्चभन्दा पनि फरक पर्दैन । विशृङ्खलित धरातलीय संरचनाले उत्तर–दक्षिणका शरणार्थीको स्वर्गभूमि बनेको नेपालमा बसाइँ सरेर आउने जात–जातिबाटै सामाजिक संरचनाको थालनी र रूपान्तरण भएको हो ।

नेपाली समाजमा यी र यस्ता थुप्रै संस्कार छन्, जसले विभिन्न जातजाति र समुदायलाई एकताको सूत्रमा बाँध्दै आएको छ । यसका साथै नेपालीमा अर्को उखान पनि छ, ‘सुखमा अघि लाग्नु, दुःखमा पछाडि लाग्नु’ अर्थात् जन्ती जाँदा जहिले पनि दुलाहालाई पछाडि राखेर आफू अघि लाग्नुपर्छ र मलामी जाँदा शवलाई अघि लगाएर आफू पछाडि लाग्नुपर्छ भन्ने नेपाली समाजको मान्यता छ ।

विश्व विकासको प्रारम्भदेखि हेर्दा कुनै पनि समाज आधुनिकतातिर जाँदा सभ्य र सुसंस्कृत हुनुपर्ने हो, नेपाली समाज भने त्यसको ठिक उल्टो आधुनिकताको नाममा असभ्य बन्दै गएको छ । आधुनिकताको अभ्यास गर्ने सिलसिलामा दिनानु दिन समाजमा अश्लील र नैतिकहीनहरूको जत्था उत्पादन भइरहेको छ । समाज परिवर्तनशील छ, संस्कृति पनि सँगसँगै परिवर्तन भइरहन्छ परिवर्तनलाई रोक्न सकिन्न तर परिवर्तन र आधुनिकताको नाममा बढिरहेकोे विकृतिले नेपाली समाजलाई कतातर्फ लैजाँदै छ ? यो नै आज आमनेपालीको चिन्ता र चासो बन्नुपर्ने भएको छ ।

विशेष गरी पश्चिमी संस्कृतिको प्रभावका कारण नेपाली समाजले आफ्नै पुरातन संस्कृति र परम्परालाई तिलाञ्जली दिइरहेको छ । विशेषतः पूर्वीय संस्कृतिको अनुयायीका रूपमा रहेको नेपाली समाजमा पश्चिमा संस्कृतिले दिनानुदिन यसरी पेल्दै लगेको छ कि हाम्रा धर्म–संस्कृति र मूल्य–मान्यता दिनदिनै मासिँदै छन् । जसका कारण संस्कृतिमा क्षय हँुदै गएको छ । यसरी आफ्नो मौलिक संस्कृतिको क्षय हुनु भनेको नेपाली मौलिकता हराउनु हो । नेपाली कला–संस्कृति लोप हँुदै जानु नै अहिलेको मुख्य चिन्ताको विषय छ । मौलिकता, धर्म, संस्कृति र इतिहासबिनाको विकासले समाजलाई उल्टो बाटोमा लैजान्छ, जुन वर्तमान समाजलाई हेर्दा हुन्छ ।

बाह्य संस्कृतिको प्रभावका कारण नेपाली समाज आधुनिकतामा रूपान्तरित हुँदै गएको केही विद्वान्को तर्क रहेको छ तर आधुनिकताको नाममा सत प्रतिशत परसंस्कृति अवलम्बन गर्नु जायज होइन । परिवर्तन सँगसँगै हामीले हाम्रो अस्तित्व, हाम्रो नेपाली इतिहास र मौलिकता कति जोगाएका छौँ त, यो पनि सोचनीय विषय बन्न पुगेको छ । वास्तवमा जबसम्म कुनै पनि मुलुकमा राजनीतिक अन्योल कायमै हुन्छ, राजनीतिक स्थिरता हुन्न त्यति नै बेला त्यस देशको कला, संस्कृतिमाथि आक्रमण हुन्छ । हिजोआज हाम्रो देशको राज्य सञ्चालनका कैयन् त्रुटिले गर्दा संस्कृतिमा नराम्रो प्रभाव परेको छ, यसको मुख्य कारणमा राजनीतिक कुसंस्कार र बेथिति पनि पर्छन् । यसरी नै जाने हो भने त कुनै दिन हामीले नेपाली हुनुको पहिचान खोज्नुपर्ने अवस्था नआउला भन्न सकिन्न । संविधानमा धर्मनिरपेक्ष मुलुक लेखिएको छ तर अन्य धर्मावलम्बी बढेको हामीलाई असह्य हुन्छ, पहिचान र संस्कृति र रीतिरिवाज चाडवाड मान्दा हामीलाई अपाच्य हुन्छ ।

धर्म

धैर्य रहनु, सहनशील हुनु, आफ्नो मनलाई नियन्त्रण गर्नु, चोरी नगर्नु, शुद्ध पवित्र रहनु, इन्द्रीयलाई आफ्नो अधीनमा राख्नु, बुद्धि–विवेकको उपयोग गर्नु, ज्ञानी हुनु, सत्य बोल्नु, नरिसाउनु, कसैको हिंसा नगर्नु, सात्त्विक आहारविहार गर्नु यी र यस्ता सद्गुण नै धर्म हो । सनातन धर्म भनेको परापूर्वकालदेखि चलिआएको त्यही मानवीय सद्गुण रूप धर्म हो । यो सनातन धर्म कसैले चलाएको नयाँ धर्म होइन ।

धर्म प्राकृतिक कुरा पनि होइन तर अनुशासनको एक महत्त्वपूर्ण अंग हो । जो मासेर या नासेर अन्त्य गर्न सकिन्न न त परिवर्तन नै गर्न बरु समयअनकूल अनुशरण गर्दा प्रक्रिया परिवर्तन हुन सक्छ ।

संसारमा मानिने र चलेका धर्मले वा धर्ममा गलत कुरालाई अनुशरण गर्न सिकाएको छैन, कहीँकतै कुनै धर्मग्रन्थमा हत्या र हिंसात्मक कार्य गर्न छुट छ भनेको छैन, तथापि चलनचल्तीलाई धर्मसँग जोडेका अनेकौँ दृष्टान्त देख्न सकिन्छ । वास्तवमा धर्म एक अनुशासन पनि हो ।

नेपाली कला–संस्कृति लोप हुँदै जानु नै अहिलेको मुख्य चिन्ताको विषय छ । मौलिकता, धर्म, संस्कृति र इतिहासबिनाको विकासले समाजलाई उल्टो बाटोमा लैजान्छ ।

सबै धर्मग्रन्थको फेद भनेको वेद हो भनिएको छ । वेदले सूर्य, चन्द्र, धर्ती, अग्नि, वायु, वर्षाजस्ता यावत् कुरालाई पुज्न सिकाउँछ, जुन सम्पूर्ण जीवहरूको जीवनको स्रोत हुन् । तर कहीँ पनि वेदले मानवीय भेदभावलाई प्रश्रय दिएको छैन । यो कुरा हाम्रा अग्रज अथवा ब्राह्मण किन आममानिसलाई बुझाउन सक्दैनन् ? समयको कालखण्डमा विभिन्न व्यक्ति वा समूहको निहित फाइदाका लागि यस्ता वर्ग विभाजन गरेका हुन् । नेपाली समाजले त्यो बुझ्न नितान्त आवश्यक छ । कि उनीहरूले आफू पनि बुझेका छैनन् या बुझेर समाजलाई बुझाउन सकिरहेका छैनन् ?

जबसम्म धर्मका यी ठेकदारले यस्ता कुरा आफू बुझ्दैनन् र समाजलाई बुझाउन सक्दैनन्, तबसम्म समाजको युगान्तकारी परिवर्तन हुन सक्दैन । वास्तवमा धर्मगुरुका लागि पनि यो सुनौलो अवसर हो, हिन्दू धर्मलाई पुनर्भाषित गरौँ, सामाजिक कुसंस्कार र सामाजिक विभेदलाई निर्मूल पारौँ, अनि मात्र नयाँ नेपाल बन्छ ।

धर्मनिरपेक्ष

सबै धर्म संविधान र कानुनका अगाडि सबै धर्म समान हुन्, राज्य सञ्चालन तथा नीति निर्धारण गर्दा धर्मको नाममा हस्तक्षेप गर्न पाइँदैन भन्ने सिद्धान्त नै धर्मनिरपेक्षता हो । कुनै अमुक धर्मलाई मात्रै राज्यको धर्म हो भनेर धर्मसापेक्ष गराउनुको अर्थ सोही राज्यमा बस्ने अन्य धर्मावलम्बीलाई अपमान र निरुत्साहित गर्नु हो । धर्म मानिसको आस्थाको विषय भएको हुनाले धार्मिक आस्था हुने जो कोही पनि कुनै धर्ममा आबद्ध हुन सक्छन् तर राज्य स्वयंले कुनै धर्मको संरक्षण वा कुनै धर्मलाई पाखा लगाउनुपर्ने आवश्यकता हुँदैन । यही नै धर्मनिरपेक्षता हो । राज्यले सबै धर्मको सह–अस्तित्वलाई उत्तिकै सम्मानका साथ स्विकार्नुपर्छ भन्ने मान्यता नै धर्म निरपेक्षताको मागसँग जोडिएको आवाज हो । 

अर्कोतर्फ, कुनै धर्मप्रति विश्वास जबर्जस्ती पैदा गर्न सकिने नभई त्यो धर्मका बारेमा सही व्याख्या विश्लेषण गरेर समय सापेक्ष हुँदै गएमा स्वतः मानिसको आस्था बढ्ने भएको हुँदा कुनै पनि धर्मका पक्ष पोषकले त्यतातिर ध्यान केन्द्रित गर्न आवश्यक छ ।

धर्म र राजनीति भनेको फरक फरक विषय वस्तु हुन् । शक्ति पृथकीकरणका हिसाबले पनि धर्म र राजनीति अलग हुनुपर्छ । यो तथ्य बुझेर नै अमेरिका जस्तो क्रिस्चियनको बाहुल्य रहेको मुलुक र भारतजस्तो हिन्दु धर्मको जननी अनि हिन्दुहरूकै बाहुल्य रहेको मुलुकले समेत धर्मनिरपेक्षता अँगालेको हो । हिन्दु धर्ममा पनि धर्मनिरपेक्षताको अर्थ कुनै पनि देश राज्यका रूपमा धर्मदेखि अलग छ । नेपाली परिवेशमा छर्लङ्ग हेर्दा र आम अल्पचेतहरूले विभिन्न नकारात्मक भ्रम र नकारात्मक व्याख्या गर्दा कतिपयले धर्मनिरपेक्ष शब्द नै धर्म परिवर्तनका कारण हो भन्ने मूल्यांकन गर्छन् । तथापि त्यो सत्य होइन ।

कुसंस्कार र छाडापन

नेपालमा अनेकौँ धर्मावलम्बी, अनेकौँ जातजाति, भिन्न प्रकारका रहनसहन, पहिचान, भाषा–संस्कृति भएको मुलुक हो तर इतिहासदेखि वर्तमानसम्म अध्ययन गर्दा बाह्य संस्कृति अत्यधिक अनुशरण गरेको देखिन्छ । मौलिकता, पहिचान, पुख्र्यौली चालचलन, रीतिरिवाज मान्ने चलन आजभोलि निकै उत्ताउलो प्रकृतिको हुन थाल्यो । एक दृष्टान्त, भर्खर सकिएको हरितालिका तीजको कुरा गरौँ । सञ्चारको सुविधा थिएन, बिहे गरेर कर्मघर गएपछि निरन्तर आउजाउ गर्न असम्भवजस्तै थियो, वर्षको एकपटक दिदीबहिनी, आमा, फुपूहरू आफ्ना साथीसंगीहरू रमाइलो गर्ने मौलिक गीत गाउने, मीठो–मसिनो खाने व्रत बस्ने वर्षभर पराय घरमा भोगेको दुःखसुख साट्ने एक उत्सव थियो, पहिले नेपाली नारीहरू आत्मनिर्भर तथा स्वावलम्बी नभएका हुँदा एक दिन भए पनि मीठो–मसिनो खुवाउन माइती पक्षकाहरू लामो समयदेखि दरको जोहोमा जुट्थे भने चेलीबेटीहरू महिनौँ अगाडिदेखि पर्खेर बस्थे । त्यही दिनलाई उनीहरू आफ्नो बह पोख्ने र स्वतन्त्र रूपले रमाउने दिनका रूपमा उपभोग गर्थे । सासूले खटाउने संस्कारबाट आएका नेपाली महिलाले एकै दिन भए पनि राम्रो लाउने, मीठो खाने, स्वतन्त्र हुने अनि धक फुकाएर नाचगान गर्ने मौका पाउने भएकाले यो पर्व नेपाली महिलाको आत्मीय तथा सांस्कृतिक पर्व हो । जसको पर्खाइमा उनीहरू व्यग्र प्रतीक्षामा हुन्थे । सृष्टि र समाज चल्नका लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाहपश्चात् आफ्नो श्रीमान्को घरमा बसी बाँकी जीवन बिताउनुपर्ने हुन्छ । यसरी आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा महत्त्वपूर्ण अवसरको रूपमा तीज पर्वको भूमिका रहिआएको थियो ।

अहिलेको दर र तिज विशेष कार्यक्रम खानपान डेढ दुई महिनासम्म छाडा समाजमा विकृति फैलाउने, हेर्नै लाज मान्नुपर्ने नृत्य, मदिराको नसामा कठै, सामाजिक सञ्जालमा रत्तौलीमा नदेखिने दृश्य देखिन्छ आजभोलि ।

आधुनिकताको अभ्यास गर्ने सिलसिलामा दिनानुदिन समाजमा अश्लील कुरा गर्न बन्द गर्नैपर्छ अनि सुयोग्य समाज निर्माण हुन्छ ।

राज्यप्रतिको भत्किँदो विश्वास

आम नागरिक हाल राज्यप्रति र राज्य चलाउनेप्रति रतिभर विश्वास गर्न छाडेका छन् । कारण राज्य सञ्चालन गर्नेहरूले जनताका मुद्दालाई भन्दा आफ्ना सीमित स्वार्थपूर्तिका लागि सत्ताको दाउ खेल्ने परिपाटीलाई उदाङ्गो बनाएको छ ।

मुलुकमा मौलाएको दण्डहीनता, आफ्नै उद्यम गर्न खोज्नेलाई राज्यका हरेक निकायले लगाउने अंकुश, कागजी झन्झट र तानाबाना पार गरेर केही गर्न खोज्नेलाई राज्यले सम्बोधन वा आर्थिक सहायता प्रदान गर्दैन । तर फर्जी कागजात बनाएर माफियातन्त्र चलाउनेलाई संरक्षण गर्दछ । सर्प र बाख्रा पाल्ने नाममा राज्यको करोडौँ रुपैयाँ आफ्नो स्वार्थमा सिध्याउनेलाई राज्यले कारबाही गर्न सक्दैन, तर मकै पोलेर जीवन चलाउनेलाई दुःख दिन्छ ।

उदाहरणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का सामुन्ने २०७९ माघ ११ गते आत्महत्या प्रयास गरेका इलाम सूर्योदय नगरपालिकाका प्रेमप्रसाद आचार्यको मृत्युलाई हेरौँ । जन्मेदेखि नमरुन्जेल कर तिर्ने तर देशमा सुशासनको प्रत्याभूत छैन, जनताप्रति उत्तरदायी सरकार र जनप्रतिनिधि छैनन्, लगानीको भविष्य ग्यारेन्टी छैन, कानुनी राज्यको आभास छैन, क्षमता र दक्षताको कदर छैन, शिक्षा र स्वास्थ्यको सरकारी चासो अत्यन्तै न्यून छ ।

ऋण लिएर घिउ–भात खाने नेपाली चलनले पनि यो स्थिति आएको हो । राज्यले सुशासन कायम गरी दण्डहीनताको अन्त्य गर्न नसक्दा राज्यप्रति नागरिकको विश्वास गुमेको हो । युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, जापानजस्ता देशहरूले सजिलै नेपालीलाई भिसा दिने भए यो देशमा कोही रहने थिएन, देश खाली हुने थियो ।

मानवीयताको खडेरी

डाक्टर कुटिँदा रमाउने समाज, नेतालाई दिन दहाडै खुकुरी प्रहार गर्दा वाहवाही गर्ने झुन्ड, छिमेकीको उन्नति र प्रगति देखेर डाह गर्ने परिवार, खेतबारी बाँझै राखेर करोडौँ लगानी गरी देशलाई तथानाम गाली गर्दै तल्लो बाटो अमेरिका पुग्ने युवा, मृत्युपछिको अन्त्येष्टि गर्दा सेल्फी खिच्ने — यी व्यवहारले मानिस कति असंवेदनशील भएछन् र मानवीयता कुन हदसम्म हराएछ भन्ने स्पष्ट देखिन्छ । हाम्रो चेतना स्तरको मापन हुनुका साथै समाज हिँडेको बाटो कुन दिशातर्फ गएको छ भन्ने थाह हुन्छ ।

निर्माण व्यवसायी, मिटर ब्याजपीडित, सहकारी पीडित, प्राध्यापक, हिंसापीडित, धार्मिक समुदाय, किसान, व्यापारी, उद्यमी, शिक्षक–शिक्षिका, प्रोफेसर, न्यायका लागि सडकमा आउन बाध्य भएका छन् । अब हुँदाहुँदा डाक्टर र नर्स समेत सुरक्षाका लागि सडकमा आउन बाध्य भएका छन् । वर्तमान सरकारको कार्यशैलीका कारण देखिएको परिणाम होइन यो विगतमा राज्य सञ्चालन गरेका नेतृत्वले यो अवस्थाको जिम्मेवारी लिनुपर्छ र वर्तमान सरकारले यो अवस्थाको निराकरण गर्नतिर लाग्नुपर्छ । अनि मात्र राज्यप्रतिको आम नागरिकको बुझाइमा परिवर्तन आउँछ ।

राज्य सञ्चालन गर्ने राजनीतिक दल या नेतृत्वले अब मुलुकलाई सुशासनको बाटोमा लैजाओस्, राजनीतिक दल वा तीनका भ्रातृ संगठनको छायामा कार्यसम्पादन राम्रो नभएका कर्मचारीलाई बढुवा, पुरस्कार लगायतका विभिन्न अवसर प्रदान गर्ने प्रवृत्तिलाई रोक लगाउनुपर्छ । विद्यालय र विश्वविद्यालय स्तरसम्म, अनियमितता, भ्रष्टाचार, सदाचार, इमानदारिता र सुशासन जस्ता विषयवस्तु समेटेर पाठ्यक्रममा समावेश गरी पठनपाठन गराइनुपर्छ ।

नियमनकारी, असल शासन विधिबाट सेवा प्रवाह गरी जनतालाई सरल, सुलभ र नियमित सेवा प्रदान गराउनेतिर राज्य लागोस् । सुशासनका मूलभूत आधार तयार गर्दै असल शासन, पारदर्शिता, उत्तरदायित्व वहन, जिम्मेवारी वहन, समावेशीकरण तथा काममा दक्षता र प्रभावकारिताको मूल्य बुझेर राज्य अगाडि बढ्नुपर्छ । स्रोतसाधनको सही परिचालन र भ्रष्टाचार नियन्त्रण गरी जनताका आवश्यकताहरू परिपूर्ति गर्दै राष्ट्रिय आयको समानुपातिक वितरण गर्न सके मात्र सुशासन भएको महसुस गर्न सकिन्छ । राज्य जबसम्म जनताको आधारभूत कुरामा जिम्मेवार बन्दैन, तबसम्म न मुलुक बन्छ न समाज ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज पौडेल
युवराज पौडेल
लेखकबाट थप