सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
जयप्रकाश र लोहिया स्मृति

नेपालमा प्रजातन्त्र स्थापना गर्न अतुलनीय योगदान दिएका भारतीय नेता

मङ्गलबार, २३ असोज २०८०, १३ : २१
मङ्गलबार, २३ असोज २०८०

नेपालको प्रजातान्त्रिक आन्दोलनमा भारतका समाजवादी नेता जयप्रकाश नारायण तथा डा. राममनोहर लोहियाको योगदान महत्त्वपूर्ण छ । १०४ वर्षे निरङ्कुश राणा शासन समाप्त गरी प्रजातन्त्र स्थापना गर्न भारत प्रवासमा रहेका विश्वेश्वरप्रसाद कोइरालाको नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो । यसलाई उनीहरूले अत्यधिक सहयोग गरेका थिए । 

बनारस हिन्दु विश्वविद्यालयमा अध्ययन गर्दा १९३०–३१ तिर बीपीको जेपी र लोहियासित राजनीतिक सम्बन्ध जोडिएको थियो । भारतमा अङ्ग्रेजविरुद्धको आन्दोलनको मोर्चामा उनीहरूसहित बीपी पटक पटक जेल गएका थिए । 

सन् १९४२ को भारतीय स्वतन्त्रता आन्दोलन निकै सशक्त र निर्णायक थियो । महात्मा गान्धीले भारतीय राष्ट्रिय कांग्रेसको बम्बई सम्मेलन (८ अगस्ट १९४२) का दिन अङ्ग्रेजविरुद्ध भारत छोड आन्दोलनको आह्वान गरेका थिए । त्यहीअनुसार भारतभरि आन्दोलन गर वा मरको नारासहित भारत छोड आन्दोलन सुरु भएको थियो । त्यस आन्दोलनमा भारतमा अङ्ग्रेज सरकारले डा. राजेन्द्रप्रसाद, जवाहरलाल नेहरू, जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, अनुग्रह नारायण सिंह जस्ता नेतासँगै बीपी कोइराला पनि गिरिफ्तार भई पटना जेलमा थुनिए । पटना जेलमा बीपीलाई डा. राजेन्द्रप्रसाद (पछि भारतका प्रथम राष्ट्रपति) सँगै राखिएको थियो ।

उता हजारिबाग जेलमा जयप्रकाश नारायण, डा. राममनोहर लोहिया, सुरजनारायण सिंहहरूलाई बन्दी बनाइएको थियो । केही महिनापछि हजारिबाग जेलबाट भागेर उनीहरूले नेपालको सप्तरी जिल्लामा आई भूमिगत रूपमा अङ्ग्रेजविरुद्ध आन्दोलन सुरु गरेका थिए । सप्तरीमा उनीहरू कोइलाडी– वरसाइको कांग्रेसी नेता रामेश्वरप्रसाद सिंहको घरमा ठूलो जमातका साथ थिए । तिनीहरूको बसाइ बडो सुरक्षापूर्वक गरिएको थियो । तत्कालीन राणाशासकले अङ्ग्रेज सरकारलाई आन्दोलन दबाउन साथ दिएकाले एकदमै सतर्कताका साथ सुरक्षित स्थानमा भारतीय आन्दोलनकारीहरू बसेका थिए । तर पनि राणाका सुराकीले थाहा पाएपछि उहाँहरूलाई पक्राउ गरी सप्तरीको हनुमाननगर जेलमा बन्दी बनाए ।

ती बन्दी बनाइएका भारतीय नेताहरूलाई सप्तरीका युवाहरूले वि.सं. २००० जेठ ९ गते जेल तोडी रातारात भारत पुर्‍याएका थिए । जयप्रकाश नारायण र डा. राममनोहर लोहियाहरूलाई सप्तरी नेपालका जनताले स्वतन्त्रता आन्दोलनमा सघाएका थिए ।

हनुमाननगरको जेलबाट छुटेपछि जयप्रकाश नारायणले २००४ साल जेठ २४ गते (९ जुन १९४७) का दिन राणा प्रधानमन्त्रीलाई पत्र लेखी प्रजातन्त्र बहाली गर्न आग्रह गरेका थिए । उनीहरूले जेलबाट छुटेदेखि सन् १९६५ मा हनुमाननगरमा भएको घटना बारे बताउने र दुःख व्यक्त गर्ने इच्छा गरेको थिए । केही दिनपछि नेपालका कन्सुल जनरलसँग दिल्लीमा भेट भएको थियो । संयोगवश त्यहाँ जनरल बहादुर शमशेरसँग भेट गर्ने मौका उनीहरूले पाए । त्यस क्रममा सरकारका ती उच्च स्तरका प्रतिनिधिलाई हनुमाननगरको बडाहाकिमको हिरासत आफूलगायत साथीहरूलाई बलपूर्वक राखिएको बताए । नेपालको कानुनविपरीत कार्य गर्ने कुनै उद्देश्य नराखेको उनीहरूले बताएका थिए । त्यतिबेला भारत स्वाधीनताका लागि लडिरहेको थियो । भारतले कुनै पनि मूल्यमा स्वाधीनता प्राप्त गर्नुपर्ने थियो । त्यतिबेलाको भारत सरकारको आग्रहमा पक्राउ गरिएको राणाले भनेका थिए ।

यो अवसरमा जयप्रकाश नारायणले यस्तो अनुरोध गरेका थिए– त्यो घटना भएकोमा मौसुफसमक्ष व्यक्तिगत रूपमा र नेपाल सरकारसमक्ष दुःख प्रकट गर्न चाहन्छौँ । मौसुफलाई र मेरा साथीहरू (काँग्रेसका सदस्य) को नेपालप्रति ठूलो सद्भाव छ । त्यस देशको समृद्धि र प्रगतिको लागि शुभेच्छा राख्छौँ । हामी भाग्दाको समयको भिडन्तमा मारिएका सेनाका परिवाहरूका लागि गहिरो सहानुभूतिको प्रतीकका रूपमा दुई हजार रुपैयाँ पठाउन इच्छुक छौँ । मौसुफको चाहनाअनुसार म उनीहरूको परिवारसँग सम्बन्धित व्यक्ति वा हनुमाननगरको बडाहाकिममार्फत उक्त रकम पठाइने छ ।

यस्तै विराटनगरको मजदुर आन्दोलनमा पक्राउ परेका बन्दीहरूलाई बिनासर्त रिहा गर्न आवश्यक छ । त्यसमाथि नेपाली राष्ट्रिय कांग्रेसका सभापति– विश्वेश्वरप्रसाद कोइराला मेरा अत्यन्त घनिष्ट मित्र हुन् र उनको स्वास्थ्य खराब भएकाले उनका बारेमा अझै बढी चिन्तित छु । म नेपालको शुभचिन्तकको दृष्टिले त्यहाँ ल्याउन खोजिएको सुधारका सम्बन्धमा वाक् र सङ्गठन स्वतन्त्रता प्रदान गर्न र संविधान र कानुनअन्तर्गत रहेर सञ्चालित हुन तयार भएका संस्थालाई कुनै बाधाबिना कार्य गर्न छुट दिन जोडदार आग्रह गर्न चाहन्छु ।

भारत सन् १९४८ मा स्वतन्त्र भएपछि नेपालको प्रजातान्त्रिक आन्दोलनमा निकै सहयोग गर्न थाले । २००७ सालमा काँग्रेसले  थालेको सशस्त्र क्रान्तिमा भारतका समाजवादी नेताहरू खासगरी जयप्रकाश नारायण तथा डा. राममनोहर लोहियाको ठूलो सहयोग गरे । सो जनक्रान्तिको पृष्ठभूमि तयार गर्न र वातावरण सिर्जना गर्नमा उनीहरूले सक्रिय र इमानदारीपूर्वक सहयोग गरे । व्यक्ति मात्र होइन विराटनगरमा २००३ साल फागुनमा भएको मजदुर आन्दोलनमा पनि जयप्रकाश नारायणको पूर्ण सहयोग थियो । शान्तिपूर्ण आन्दोलन चलिरहेका बेला राणा सरकारले एकाएक चर्को दमन गरेको थियो । त्यसबारे जयप्रकाश नारायणले यस्तो एउटा वक्तव्य निकालेका थिए– भारतमा यस्ता हड्ताल दिनहुँ भइरहन्छन् । नेपालका राणा सरकारले आन्दोलनकारीहरूलाई गिरिफ्तार गरी अत्यन्त गम्भीर अवस्थामा पु¥याएको छ । मेरा मित्र, नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष बीपी कोइराला, त्यस पार्टीका महासचिव, कोइरालाका दुई जना भाइ र दुईवटी बहिनी र पूर्णिया जिल्लाको समाजवादी पार्टीका सचिवसहित १५ जनालाई गिरिफ्तार गरेका छन् ।

पक्राउ गरिएकाहरूलाई कुटपिट गरियो । धेरैलाई बहोस हुनेगरी पिटियो । पक्राउ गरिएका महिलासँग दुव्र्यवहार गरियो । उनीहरूलाई भुइँमा पछारियो र मुठी मुठी धुलो उनीहरूका आँखामा फ्याँकियो । शान्तिपूर्ण सभामा गोली चलाएर तीनवटी महिलाको हत्या गरियो । बालबालिकालाई बन्दुकका कुन्दाले हिर्काइयो । यस्तो अवस्थामा तनावले निरन्तरता पाएर हड्तालले सत्याग्रह रूप लिएको छ । 

म नेपाली जनता र सरकारको समेत मित्र भएको नाताले विवाद समाधान गर्न अहिले पनि ढिलो भएको छैन भन्ने विश्वास प्रकट गर्छु । त्यसका लागि नेपाल सरकारले कम्तीमा पनि पक्राउ परेका सबै जनालाई रिहा गर्नु पर्छ । मजदुर र मिलका मालिक दुवै पक्षलाई स्वीकार्य हुने निष्पक्ष मध्यस्थताबाट विवादको समाधान निकाल्नु पर्छ । गोली हानेको घटनाको जाँचबुझ गरिनु पर्छ । मारिएका वा घाइते भएका व्यक्तिका परिवारलाई क्षतिपूर्ति दिइनु पर्छ । म यसमा दृढतापूर्वक जोड दिन चाहन्छु । 

यसरी जयप्रकाश नारायणले नेपालको पहिलो विराटनगर मजदुर आन्दोलनको पक्षमा वक्तव्य निकालेका थिए । 

यस्तै गरी २००७ सालको जनक्रान्तिमा बर्मालगायतका ठाउँबाट हातहतियार उपलब्ध गराउन उनीहरुले निकै सहयोग पु¥याएका थिए । त्यसका लागि भारत सरकारका प्रधानमन्त्री जवाहरलाल नेहरूले नैतिक समर्थनका साथै समाजवादी पार्टीका नेताहरू जयप्रकाश नारायण र डा. लोहियाले प्रत्यक्ष सहयोग गरेका थिए । 

२००७ सालको जनक्रान्तिपछि जयप्रकाश नारायण स्वयम् राजविराज आएर नेपाली जनतालाई बधाई दिई आम सभामा भविष्यमा पनि प्रजातन्त्रको विकासका लागि सतत सहयोग गर्ने वचन दिएका थिए । 

राजा महेन्द्रले २०१७ मा निर्वाचित संसद् र सरकारलाई विघटन गरी प्रधानमन्त्री बीपी  कोइराला तथा मन्त्री सांसद र नेता कार्यकर्ताहरूलाई गिरिफ्तार गरी बन्दी बनाई प्रजातन्त्रको हत्या गरेका थिए । सो घटनापछि जयप्रकाश नारायणले पहिलो पटक त्यही साल फागुन १ गते आफ्नो प्रतिक्रिया यसरी दिएका थिए– 

राजाको यस प्रकारको अनुदारवादी कार्य बिसौँ शताब्दीको सुरुतिरको असीमित राजतन्त्रले मात्र गर्न सक्छ । त्यो अहिलेको विश्वमा सम्भव छैन । इतिहासले चाँडै नै देखाउने छ ‘राजा महेन्द्रको कार्यले प्रजातन्त्रलाई मात्र हानि पु¥याएको छैन राजसंस्था स्वयम्लाई चोट पु¥याएको छ, खासगरी उनको आफ्नै गद्दी र वंशलाई । राजा महेन्द्रले हाँसो उठ्दो किसिमले आफ्नो कार्यलाई प्रजातन्त्रको सुरक्षाका लागि भनेर दाबी गरेका छन् ।’

यसपछि जयप्रकाश नारायण २०१८ साल साउन ३ गते नेपाल आए । राजा महेन्द्र र बन्दी अवस्थामा रहेका बीपी कोइरालालाई भेट्ने इच्छा व्यक्त गरे तर बीपीलाई भटे गर्न दिइएन । तर राजा महेन्द्रसितको भेटमा बीपीलाई रिहाइ गरिदिने आग्रह उनले गरे । तर राजाले बीपीलाई उचित समयमा छोडिने छ भनी जयप्रकाश नारायण आश्वासन दिएका थिए । राजा महेन्द्रले त्यसको आठ वर्षपछि लामो कारावासबाट बीपीलाई २०२५ साल कात्तिक १४ गते मुक्त गरे । 

त्यसपछि भारतमा स्वनिर्वासित भई २०३३ पुस १६ गतेसम्म बसी राष्ट्रिय मेलमिलापको नारासहित स्वदेश आगमन भयो । भारमा बस्दा जयप्रकाश नारायणसित आत्मीय सम्बन्ध थियो । बीपी स्वदेश फर्किन लाग्दा पटनाको गान्धी मैदानमा उहाँको सम्मानमा भव्य नागरिक अभिनन्दन समारोहको आयोजना भएको थियो । उक्त समारोहमा लोकनायक जयप्रकाश नारायण, बिहारका तत्कालीन मुख्यमन्त्री कर्पुरी ठाकुर, डीपी सिंह, एसएन बर्माहरू बीपीको अदम्य साहसको प्रशंसा गरेका थिए । जयप्रकाश नारायणले गला अवरुद्ध पार्दै भनेका थिए– विभिन्न शङ्का उपशङ्काले मन विचलित भइरहेको छ, नेपाल पस्नासाथ उहाँमाथि मुद्दा लाग्न सक्छ, फाँसी हुन सक्छ । तर बीपीका लागि व्यक्तिगत जिउनु र मर्नु फरक नपर्न सक्छ । यसै कारण ज्यान हत्केलामा लिएर जाँदै हुनु हुन्छ । उनले  भगवान्सित प्रार्थना गर्दै भनेका थिए– नेपालका राजालाई सद्बुद्धि आओस्, नेपालमा प्रजातन्त्र स्थापना होस र राज्यशक्ति र जनशक्ति एक भएर प्रजातन्त्रको स्थापना होस् । 

जयप्रकाश नारायण जस्तै अर्को नेता डा. राममनोहर लोहियाको पनि नेपालको प्रजातान्त्रिक आन्दोलनमा उल्लेखनीय योगदान छ । कलकत्तामा नेपाल नेसनल कांग्रेसको उद्घाटन गरेका थिए । विराटनगरमा भएको मजदुर आन्दोलनका बेला मृत्यु भएका मजदुर तथा बन्दी बनाइएका सबै बान्दोलनकारीको रिहाइको माग गरेका थिए । २००७ सालको जनक्रान्ति सफल भएपछि डा. लोहियाले बीपी कोइरालालाई समाजवादी कार्यक्रम लागू गर्न सुझाव दिएका थिए । सामन्ती व्यवस्थालाई निर्मूल पार्न भूमिसम्बन्धी योजना लागू गर्न भूमिको वटवारा चकलाबन्दी गर्न सुझाव दिएका थिए । 

डा. लोहियाले बीपीलाई जमिनको वटवारा गरी गरिब किसानलाई बाँडेर दिएमा सामन्ती जमिनदारबाट शोषण र दमन अन्त्य हुन्छ । जग्गा जोत्नेको वामित्वमा जान्छ । यसबाट समाजवादी व्यवस्थालाई बल पुग्छ भन्ने डा. लोहियाको विचार थियो । तर बीपीले कानुन बनाएर मात्र जमिनदारबाट जग्गा खोसी गरिब किसानलाई बाँडिने विचारमा थिए । डा. लोहियाले क्रान्तिपछि गरिएको काम सधैँका लागि स्थायी हुन्छ । तर पछि कानुन बनाएर गरिएको धेरै समस्या आइपर्छ । यस कुरालाई लिएर लोहिया र बीपीबीच मनमोटाब पनि भएको थियो ।

डा. लोहिया त दिल्लीस्थित नेपाली दूतावासमा त्यहाँका नेपालीहरूले राणा शासकलाई विरोध पत्र दिन जाँदा जुलुसमा सामेल भए । त्यस क्रममा भारतीय पुलिसको लाठी चार्जमा पनि परेका थिए । यो स्वतन्त्र भारतका लागि कलङ्क नै थियो । यो घटनापछि डा. लोहिया निकै दुखित भएका थिए । उनको निधन बीपी नेपालको कठोर कारागारमा हुँदा नै सन् १२ अकटुबर १९६७ मा भएको थियो । 

यसरी जेपी तथा लोहियाले नेपालको एक असल मित्र थिए । दुवै व्यक्तित्वप्रति हार्दिक श्रद्धाञ्जली । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामनारायण देव
रामनारायण देव
लेखकबाट थप