आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
न्यायलय

दसैँ बिदामा पनि धमाधम फैसला लेखन

सरुवा भएका न्यायाधीशको फैसला लेखेर सक्नुपर्ने दबाबमा अदालतका कर्मचारी
बुधबार, ०१ कात्तिक २०८०, १० : १७
बुधबार, ०१ कात्तिक २०८०

काठमाडौँ। देशभरका अदालतमा असोज २८ गते (घटस्थापना)देखि दसैँ बिदा सुरु भयो । मुद्दाको सुनुवाइ, मुद्दा दर्ता लगायतका सबै नियमित कामकाज बन्द भए । जिल्ला अदालतको हकमा जरुरी पक्राउ पुर्जीको समर्थन र पक्राउ पुर्जी जारी गर्ने बाहेकका सबै कामकाज बन्द भए ।

अदालत बन्द भए पनि काठमाडौँ जिल्ला अदालतको दृश्य पूरै बिदा वा सुनसानजस्तो देखिँदैन । काठमाडौँ जिल्ला अदालतका विभिन्न फाँटमा इजलास अधिकृत र कम्प्युटर अपरेटरहरू बिदाको समयमा पनि काम गरिरहेका छन् । मुद्दाको चाप बढी रहेको काठमाडौँ जिल्ला अदालतमा फैसला लेखनको काम पनि धेरै बाँकी छ । केही न्यायाधीश दुई वर्षको समयावधि पूरा नगर्दै सरुवा भई अन्यत्र गएका कारण उनीहरूले गरेका फैसला लेख्न यतिबेला इजलास अधिकृत, कम्प्युटर अपरेटर लगायतका कर्मचारी खटिएका छन् ।

कर्मचारीहरूले तयार पारेका फैसलाको अध्ययन गर्ने, त्रुटि भए सच्याउने र थपघट गर्नुपर्ने भएमा थपघट गर्ने कार्यका लागि सरुवा भइसकेका न्यायाधीशहरू पनि कहिले काठमाडौँ जिल्ला अदालतमै उपस्थित हुने गरेका छन् भने कहिले फैसला लिएर घरमै अध्ययन गरी करेक्सन वा प्रमाणीकरण गर्ने गरेका छन् ।

Anuja & Sharada

माथिको फोटो काठमाडौँ जिल्ला अदालतको इजलास नम्बर ६ को हो, जहाँ इजलास अधिकृतद्वय शारदादेवी सिग्देल र अनुजा शर्मा काम गरिरहेका छन् । असोज २९ गते मंगलबार अपराह्न १ बजे काठमाडौँ जिल्ला अदालतमा रातोपाटी टिम पुग्दा इजलास नम्बर ६ मा थिए दुई इजलास अधिकृत । अदालतमा दसैँ बिदा सुरु भइसके पनि उनीहरू आफ्नो काममा लागिपरेका थिए । उनीहरू कम्प्युटरको ठिक अगाडि मिसिल राखेर फैसला लेखनको काम गरिरहेका थिए । फैसला लेखनको काम धेरै बाँकी रहेको र न्यायाधीशहरू सरुवा भइसकेका कारण उनीहरूले गरिसकेका फैसला लेखनको काम भइरहेको अनुजाले बताइन् ।

अन्य कैयन् सहकर्मी दसैँ बिदामा रमाइरहेका छन्, तपाईंचाहिँ बिदामा पनि किन अदालतमा त ? रातोपाटीको प्रश्नमा अनुजाले भनिन्, ‘कार्यालयमा भएको ब्याकलग हटाउन र भर्खरै सरुवा भई जानुभएका न्यायाधीशहरुले गर्नुभएको फैसला सकाउनका लागि बिदाका दिनमा पनि आएर काम गरिएको हो । यसका लागि कार्यालयले नै अनुरोध गरेका कारण हामीले बिदाका दिनमा पनि काम गरिरहेका हौँ ।’

फैसला भएको २१ दिनभित्रै फैसलाको पूर्णपाठ दिइसक्नुपर्ने होइन र ? भन्ने रातोपाटीको प्रश्नमा अनुजाले भनिन्, ‘अन्यत्र सहज हुन सक्ला, तर काठमाडौँ जिल्ला अदालतमा अलि फरक छ । यहाँ मुद्दाको चाप बढी छ । अबेलासम्म इजलास बसिरहेको हुन्छ । दुई जना इजलास अधिकृत भएको इजलासमा त केही सहज होला, तर एक जनामात्रै इजलास अधिकृत रहेको इजलासमा समयमै फैसला लेखिसक्ने अवस्था छैन । त्यही भएर यसरी बिदामा पनि काम गर्नुपरेको हो ।’

इजलास अधिकृत अनुजाका अनुसार प्रति इजलास अधिकृत कम्तीमा १५ थान फैसला लेखनका लागि टार्गेट दिइएको छ । अब दसैँमा टीकाको दिनबाहेक अन्य सबै दिन अदालतमा आई फैसला लेखेर आफूलाई दिइएको लक्ष्य पूरा गर्ने इजलास अधिकृत अनुजाले बताइन् ।

दसैँ बिदामा काम गरेको अवधिमा तपाईंहरुलाई अतिरिक्त सेवा सुविधा उपलब्ध हुन्छ कि हुँदैन भन्ने प्रश्नमा अनुजाले हाँस्दै भनिन्, ‘त्यो त अहिलेसम्म केही थाहा छैन । हामीलाई प्रशासन (श्रेष्तेदार)बाट जिममेवारी तोकिएको छ र सरुवा भई जानु हुने श्रीमानहरुको सबै फैसला सकाउनुपर्ने बाध्यतामा छौँ । अहिले त्यस विषयमा न हामीले कुरा गरेका छौँ, न प्रशासनले केही भनेको छ । त्यस विषयमा अहिले नै के हुन्छ, भन्न सकिँदैन ।’

फैसला लेखनका लागि कार्यालयमै आएर काम गर्नुको साटो घरमै मिसिल लगेर लेखे हुँदैन भन्ने रातोपाटीको प्रश्नमा अनुजाले मिसिल र राय किताब घरमा लैजान नमिल्ने भएकाले कार्यालयमै आएर काम गर्नुपर्ने बाध्यता रहेको बताइन् । उनले भनिन्, ‘मिसिल घरमा लैजान वा फाँटबाहिर लैजान कानुनले निषेध गरेको छ । मिसिल र राय किताब लैजान नमिल्ने भएकाले हामीहरु यहीँ आएर लेख्नुपर्ने हुन्छ । त्यसकारण हामी दैनिक यहीँ आएर काम गरिरहेका छौँ ।’

अनुजामात्रै होइन, अनुजा रहेकै इजलासमा इजलास अधिकृत शारदादेवी सिग्देल पनि फैसला लेखनमै व्यस्त थिइन् । उनलाई पनि सोही इजलासमा रहेर फाँट नम्बर २८ को फैसला लेखनका लागि प्रशासनले जिम्मेवारी दिएको छ ।

Sharada 02

अनुजाले जस्तै शारदादेवीले पनि कार्यालयमा कामको चाप रहेको र प्रशासनले जिम्मेवारी दिएका कारण आएर फैसला लेखनको काम गरिरहेको बताइन् । उनले भनिन्, ‘हामीलाई फैसला लेखनका लागि बोलाएको हो, विजयदशमीको दिनबाहेक प्रत्येक दिन कार्यालय खुल्छ र हामी शनिवार पनि आइरहेका छौँ । सरुवा भई अन्यत्र जाने न्यायाधीशहरुको फैसला लेखनको काम अहिले भइरहेको छ र हामी दसैँ लगत्तै सबै फैसला प्रमाणीकरण गराएर श्रीमानहरूलाई बिदा गर्ने तयारीमा छौँ । त्यसैका लागि बिदाका दिन पनि फैसला लेख्ने काम जारी छ ।’

इजलास अधिकृत शारदादेवी सिग्देलका अनुसार उनी कार्यरत रहेको फाँट नम्बर ६ को सबै मुद्दाको फैसला लेखनको काम सकिएको छ । न्यायाधीश वासुदेव शर्माले गरेका फैसला लेखनको काम सकिएर उनलाई बिदासमेत गरिएको छ । अहिले उनीहरूले न्यायाधीश चन्द्रप्रसाद तिवारीले गरेका फैसला लेखनको काम गरिरहेका छन् ।

दसैँ बिदामा फैसला लेखनका लागि ३० कर्मचारीलाई जिम्मेवारी

काठमाडौँ जिल्ला अदालतका श्रेष्तेदार रामु शर्माका अनुसार सरुवा भइसकेका तर रमाना लिन बाँकी न्यायाधीशहरुको लेख्न बाँकी फैसला पूरा गर्नका लागि अदालतले ३० जना कर्मचारीलाई जिम्मेवारी तोकेको छ । उनीहरू दसैँको टीकाको दिनबाहेक अन्य दिनमा कार्यालयमै आएर काम गर्ने श्रेष्तेदार शर्माले बताए ।

Ramu Sharma Srestedar Kathmandu

शर्माका अनुसार फैसला लेखनका लागि ९ जना शाखा अधिकृत, ६ जना कम्प्युटर अपरेटर, ८ जना नायब सुब्बा, ५ जना डिट्ठा र २ जना तामेलदारलाई जिम्मा दिइएको छ । उनीहरुलाई भाग लगाएर सरुवा भई जाने न्यायाधीशको बाँकी फैसला लेखनको जिम्मेवारी तोकिएको छ ।

यी हुन् दसैँ बिदामा फैसला लेखनका लागि जिम्मेवारी तोकिएका कर्मचारी–

Duty Roaster

श्रेष्तेदार शर्माका अनुसार काठमाडौँ जिल्ला अदालतमा मुद्दाको चाप धेरै हुने र लामो समयसम्म इजलास बस्नुपर्ने बाध्यता लगायतका कारणबाट पनि समयमै फैसला लेख्न नसकिएको हो । शर्माका अनुसार कतिपय इजलासमा एक जनामात्रै इजलास अधिकृत रहेका कारण इजलासमा पनि बस्नुपर्ने र फैसला पनि लेख्नुपर्ने भएकाले समयमै फैसला तयार पार्न कठिन भएको हो । अहिले ब्याकलगमा रहेका फैसला लेख्ने प्रयोजनका लागि जिम्मेवारी तोकिएको श्रेष्तेदार शर्माले बताए ।

दसैँ बिदामा कामका लगाएका कर्मचारीहरूको अतिरिक्त सेवा सुविधा हुन्छ कि हुँदैन भन्ने रातोपाटीको प्रश्नमा श्रेष्तेदार शर्माले भने, ‘कसैलाई पनि सित्तैमा अतिरिक्त श्रममा लगाउन हुँदैन । हामी कुनै न कुनै ढङ्गबाट यो विषय सम्बोधन गर्नेछौँ । अहिले नै के कति र कसरी भन्ने टुङ्गिएको छैन, तर सित्तैमा अतिरिक्त काम लगाउने छैनौंँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप