बुधबार, १९ वैशाख २०८१
ताजा लोकप्रिय
हिजोबाट

कथन शान्तदासजीको, कुरा कथा–लेखनका

शनिबार, ११ कात्तिक २०८०, १६ : ३३
शनिबार, ११ कात्तिक २०८०

मेरो घरमा शान्तदास मानन्धरको प्रेमिल नाम ह्याटवाल हुलाकी हो, झोले ह्याटवाल हुलाकी । यो नाम जुराइदिएको मैल्यै हो । मेरा छोराछोरी साना छ“दा शान्तदासजी मकहाँ आइरहन्थे । शिरमा ह्याट, देहमा कमिज–सुरुवाल, कुममा ‘बालकोसेली’को झोला, मनमा बालप्रेम, वचनमा माधुर्य, ओठमा मुस्कान । शान्तदासजीको पछि लागेर मेरो घरमा छोराछोरीका उमङ्गमय उत्सव आउँथ्यो । शान्तदासजी बालकथाका पारखी र स्वयं कुशल बालकथा लेखक । बालकथाका निपुण अनुवादक, परिमार्जन प्रवीण सम्पादक र सम्मोहक कथावाचक । स्वभावले मिजासिला, ह“सिला र फरासिला  । बालबालिकाका दृष्टिमा ममतामयी आमाजस्ता । आउँदा शान्तदासजी अनेक हाउभाउ गर्दै मेरा छोराछोरीलाई कथा सुनाउँथे । र, आफ्नो जादुगरी वाचनकलाले तिनलाई मुग्ध तुल्याउँथे । जब म ‘आए है ह्याटवाल हुलाकी’ भन्थेँ, मेरो भुतुमुने छोरो ह्याटवालको स्वागत गर्न कुद्दै बाहिर गेटमा पुग्थ्यो । अलि ठुली छोरी पि“ढीमा उभिएर गेटतिर अपलक हेर्थी ।

हो, तिनै शान्तदास अस्तिताका मकहाँ आए । उनी मलाई केही न केही कोसेली नलिई कहिल्यै रित्तो हात आउँदैनन् । कोसेली के हो मलाई पहिल्यै थाहा हुन्छ । कोसेली अर्थात् मेरा लागि गृहकार्य । नभन्दै यसपाला पनि गृहकार्य लिएरै आए । उनकै तत्परता र मायालु निम्तामा उनको घरमा कथा लेखनसम्बन्धी कार्यशाला उर्फ तालिमे अभ्यास चल्दै रहेछ । अभ्यासमा सहभागी रहेछन् नौजना स्कुले नानी–बाबुहरू । अभ्यास कोरल्दै जाँदा शान्तदासले स्वयंलाई गृहकार्य दिएछन् । र, कथा लेखनका अनेक पाटा सामेल गरी बडो रोचक र उपयोगी लेखमाला तयार भएछ । सँगसँगै तालिमे अभ्यासको गर्भबाट सहभागी नानी–बाबुका पाँच थान कथाको पनि जायजन्म भएछ ।

उनी भन्छन् — कथाका जिउँदा पात्रहरू खोज्ने र टिप्ने गतिशील जीवनबाटै हो तर यसरी टिपिएका पात्रलाई कथामा जस्ताको तस्तै उतारिँदैन । जस्ताको तस्तै उतार्ने हो भने आखिर लेख्नु नै किन पर्‍यो र ?

मैले पाएको गृहकार्यमा कथा लेख्ने काइदाबारे शान्तदासजीका १६ वटा शीर्षक छन् । ती शीर्षक हुन् — कथा लेख्नुको उद्देश्य, कथा लेख्ने तरिका, कथामा प्रयोग गरिने भाषाको बान्की, कथामा घटना घटाउने पारा, कथाका पात्रहरू खोज्ने र टिप्ने ठाउँ, कथामा वास्तविकता र कल्पनाको मिसावटी, कथाको शैली, कथामा पशुपन्छी पात्रहरूको प्रयोग, कथा लेखनमा सामाजिक दायित्व र मर्यादाको स्थान, कथामा के हुनु राम्रो के हुनु नराम्रो र कथाको सम्पादन आदि । भाषा सरल छ, प्रस्तुति रोचक छ । यी मसिना लेखमा ठाडो भाकामा कथासम्बन्धी सिद्धान्तका ठुला कुरा गरिएका छैनन् । मजा के भने, त्यस्ता ठूला कुरा नगरी यी स–साना कुराभित्रै सिद्धान्तका ठूला कुरा सुटुक्क घुसाइएका छन् । त्यसैले यी लेख झलक्क हेर्दा साना छन् तर यिनको महत्त्व ठूलो छ ।

कथा किन लेखिन्छ ? सुन्दर सपनाको खेती गर्न । वायुपङ्खी कल्पनाको उडान भर्न । आफ्ना मनका भावना अरुलाई सुनाउन । आफ्ना अनुभव अरुसँग बाँडचुँड गर्न । शान्तदासजीका शब्दमा ‘कथा हाम्रो आफ्नो जीवन र आपूm रहेको समाजलाई सुन्दर, सजिलो र स्वस्थ बनाउन’ लेखिन्छ । यस्ता कथा लेख्ने विषय कहाँ खोज्ने, कसरी खोज्ने र कसरी रोज्ने ? कथामा जिउँदो र गतिशील जीवन लेखिन्छ । त्यसैले कथाका विषय खोज्ने जीवनमा हो । जीवन समाजमा जिइन्छ । त्यसैले कथाको विषय खोज्ने हाम्रो जीवन जिउने समाजमा हो । देख्ने तीखा आँखा र टिप्ने चुम्बकीय दिमाग हुनु मात्र पर्छ, कथा जहाँ पनि भेटिन्छ । शान्तदासजी भन्छन्, ‘धेरैभन्दा धेरै मानिसलाई भेट्नु र उनीहरूका कुरा सुन्नु भनेको धेरै किताब पढ्नुसरह हो । किनभने मानिसहरू भनेका जिउँदा किताब हुन् ।’ 

कथा निकै नै प्रभावकारी कला हो । यस्तो कला कहिल्यै पनि उद्देश्यविनाको हुनु हुँदैन । त्यसैले त शान्तदासजी भन्छन् — ढङ्ग पुर्‍याएर ‘कथा लेख्न खोज्नु भनेको समाजलाई सुन्दर बनाउने प्रयत्न गर्नु हो । त्यसो भनेको लेखक आफैँ पनि राम्रो मानिस बन्न खोज्नु हो ।’ 

कथाको विषय राम्रो हुँदैमा कथा यस्सै राम्रो भइहाल्छ भन्ने केही छैन । कथा राम्रो हुन कथा भन्ने काइदा राम्रो हुनुपर्छ । कथा भन्ने काइदा राम्रो हुन कथाका पात्रको मुखाकृति, हाउभाउ, भाषा, बोलीबचन, व्यवहार र वातावरण आदिको मिहीन जानकारी हुनुपर्छ । र, यी सारा कुरा फरक–फरक पात्रले बोल्ने जिउँदो भाषामा भन्नुपर्छ । शान्तदासजी भन्छन् — ‘त्यस्तो भाषाको प्रयोगले कथा पनि साँच्चैको जिउँदो र स्वाभाविक हुन्छ ।’

घटनामा घटना उनिएर र बुनिएर कथा बन्छ । कथामा यी घटना कसरी घटाउने ? शान्तदासजीको विचारमा ‘यो शिल्पको कुरा हो ।’ शिल्पको विकास समाजको गहन अध्ययन, अनुसन्धानबाट हुन्छ । जीवनमा घट्ने घटनालाई कथाकारले आफ्नो उद्देश्यअनुसार ढाल्छ । आयो कुरा अब जीवनका आशा र निराशाको । शान्तदासजी सोध्छन् — बालकथालाई आशावादी बनाउने कि निराशावादी ? अनि प्रश्नकै भाकामा जवाफ दिन्छन् — बालकथालाई त्यो पढ्ने नानी–बाबुहरूको मन खिन्न हुने गरी निराशावादी बनाउनु हुन्छ र ?

कुरा आयो अब कथाका पात्रहरूको । यसमा शान्तदासजी के भन्छन् ? उनी भन्छन् — कथाका जिउँदा पात्रहरू खोज्ने र टिप्ने गतिशील जीवनबाटै हो तर यसरी टिपिएका पात्रलाई कथामा जस्ताको तस्तै उतारिँदैन । जस्ताको तस्तै उतार्ने हो भने आखिर लेख्नु नै किन पर्‍यो र ? आँखा सामु जिउँदो पात्र छ“दै छ नि ।  शान्तदासजीको विचारमा ‘समाज जस्तो छ त्यस्तै रहोस् भन्ने हो भने हामीले केही पनि गर्नु हुँदैन ।’ यो केही गर्दा कथाकारले के गर्छ ? कथाकारले आफ्नो सिर्जनशील अन्तरर्दृष्टिले समाजलाई सुन्दर, स्वस्थ र सुखी बनाउने उद्देश्य बोक्ने पात्रहरूको निर्माण गर्छ । कथाकारले यसरी निर्माण गर्छ कि पात्रलाई कथामा प्रस्तुत गर्दा पाठकका मनमा यी साँच्चीकै मानिस हुन् भन्ने छाप पार्छ । शान्तदासजी भन्छन् — यसो गर्न जान्नु शिल्पको कुरा हो । 

कथामा यी घटना कसरी घटाउने ? शान्तदासजीको विचारमा ‘यो शिल्पको कुरा हो ।’ शिल्पको विकास समाजको गहन अध्ययन, अनुसन्धानबाट हुन्छ । जीवनमा घट्ने घटनालाई कथाकारले आफ्नो उद्देश्यअनुसार ढाल्छ ।

कथामा उपदेशात्मक शैली पुरानो जमानाको कुरा हो । त्यो जमाना अब थोत्रियो । उपदेशात्मक शैलीको कथामा उपदेश दिने माथि हुन्छ, उपदेश सुन्ने तल हुन्छ । उपदेश दिनेले खटनको भाषा बोल्छ र ऊ उपदेश सुन्नेले आफ्नो खटन खुरुखुरु मानोस् भन्ने चाहन्छ । यस्तो शैली सामन्ती संस्कृतिबाट आउँछ । आजको जमानामा कथामा कथाकारलाई जे भन्नु छ त्यो कथाभित्रैबाट भन्न जान्नुपर्छ । पाठककै भावनाको तहमा बसेर भन्न जान्नुपर्छ । त्यसमा म ठूलो, त“ सानो भन्ने पटक्कै देखिनु हुँदैन । कथाकारले आफ्नो बडप्पन देखाउने कथालाई स्वाभिमानी पाठकले ठाडै अस्वीकार गर्छ । यो शान्तदासजीको विचार हो । 

बाल साहित्य र प्रौढ साहित्यको नाता कति नजिक छ, कति टाढा छ ?  बाल साहित्य र प्रौढ साहित्यमा आनका तान फरक हुन्छ ? ‘हुँदैन,’ शान्तदासजीको जवाफ हो यो । बाल र प्रौढ दुवै साहित्यका सर्जामहरू उस्तै हुन् । ती जीवनबाट लिइएका सर्जाम हुन् । राम्रो बाल साहित्य प्रौढहरूले पनि उत्तिकै रुचाएर पढ्छन् । यी दुई थरी साहित्यको अन्तर शान्तदासजीको बुझाइमा ‘भाषा र प्रस्तुतिमा मात्र हुन्छ... । यो कुरा बाल होस् वा प्रौढ, एकै प्रकृतिका रोगीलाई उही ओखती खुवाउनुजस्तै हो । फरक खालि ओखतीको मात्राको हो ।’

बालकथामा पशु र पन्छी पात्रहरूको प्रयोग गर्नु मुनासिब हो कि होइन ? शान्तदासजीको उत्तर छ — हो पनि र होइन पनि । कथामा पशु र पन्छी पात्रलाई तिनको स्वाभाविक स्वभाव झल्किने गरी प्रयोग गर्नु ठीक हो तर हावादारी कल्पनामा बहकिएर तिनको स्वभाव नमिल्ने गरी प्रयोग गर्नुचाहिँ बेठीक हो । पात्रका स्वभावको स्वाभाविकताले कथालाई पत्यारिलो बनाउँछ । पाठककमा मनमा पत्यारिलो कथाको छाप गहिरो र दिगो हुन्छ ।

कथा लेख्ने नियमहरू जानेर यस्सै कथाकार भइँदैन । कथाकार त कथा लेख्न निरन्तर अभ्यास गरेर मात्र भइन्छ । पौडीका कुरा गरौँ । पोखरी वा नदीको किनारमा नामी पौडीबाजका मुखबाट पौडी खेल्ने नियमहरू सुनियो रे लौ । यत्तिकैमा पौडी खेल्न जानिन्छ त ? कल्पनामा जानिन्छ, पानीमा जानिदैन । नियमहरू सुनेर पौडी खेल्न सिक्दा केही न केही सजिलो पक्कै हुन्छ तर गाँठ्ठी कुरो, पौडी सिक्न पौडी खेल्ने अभ्यास गर्नैपर्छ । कथा लेख्ने सीपको कुरा पनि यस्तै हो । कथा लेख्न जान्न कथा लेख्नैपर्छ । त्यसैले त शान्तदासजी नानी–बाबुलाई कार्यशाला उर्फ तालिमे अभ्यासमा साँच्ची नै कथा लेख्न सघाइरहेका छन् । अनेकपटक अभ्यास नगरी सिकिने सीप कुन पो छ र ? 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप