शुक्रबार, १८ जेठ २०८१
ताजा लोकप्रिय

वैदिक कथा : हुटिट्याउँको उत्साह

आइतबार, १२ कात्तिक २०८०, ०९ : ५९
आइतबार, १२ कात्तिक २०८०

मनमा उत्साह भए जस्तोसुकै असम्भव ठानिएका काम पनि सम्पन्न गर्न सकिन्छ । उत्साह नै छैन भने सानै काम गर्न पनि गाह्रो पर्छ । सफलताको पहिलो सर्त भनेकै उत्साह हो । मनमा उत्साह छ भने साइत परेको छैन भनेर समेत चिन्ता गर्नुपर्दैन । उत्साह नै छैन भने जति नै साइत जुराएर सुरू गरिएको काम भए पनि सम्पन्न हुँदैन । भनिन्छ शक्ति तीन किसिमको हुन्छ, जसमा प्रभावशक्ति, मन्त्रशक्ति र उत्साह शक्ति पर्छन् । तिनमा पनि उत्साह शक्तिलाई प्रमुख शक्ति मानिएको. छ ।  

धेरै पहिलेको कुरा हो एउटा समुद्रको किनारमा हुटिट्याउँ चराको भाले पोथी बस्थे । एक दिन साँझपख बच्चा कोरल्न फुल कुरेर बसेकी पोथीचाहिँले भोलेसित गनगन गर्दै भनी–

‘होइन हो बुढा ! समुद्रको किनारमा छौँ । थाहा छैन कति बेला छाल आउने हो । समुद्रको कुरा हो जति बेला पनि आउन सक्छ । कदाचित त्यस्तो भयो भने के गर्ने ? हामी त जेनतेन बचौँला तर यी कोरलिन लागेका फुलको के हालत होला । त्यसैले अन्तै कतै सुरक्षित स्थानमा गुँड सार्ने पो हो कि ।’

पोथीको कुरा सुनेर भालेचाहिँले समुद्रलाई होच्याउँदै भन्यो–

‘धत्  ! के कुरा गरेकी त्यस्तो ? नाथे समुद्रको  त्यस्तो हिम्मत ? अहिले नै भन्द्या छु आइन्दा यस्तो कुरा गर्ने छैनौ । यस समुद्रले हाम्रो फुललाई बगाउन होइन त्यस्तो सोच्नसम्म पनि सक्दैन ।’

जाबो एउटा हुटिट्याउँ चराले आफूलाई नाथे भनेर होच्याएको समुद्र देवतालाई मन परेन र तत्कालै छालले हुत्त्याएर फुललाई बिपत्ता पारिदिए । फुल बगाएको वेदना पोथीले सहन सकिन र रुँदै भालेलाई गाली गर्न थाली । भन्नु पनि भनी नभन्नु पनि भनी । अब भालेलाई आपत् पर्‍यो । फुल बगाएको चिन्ता त उसलाई पनि थियो । त्यसमाथि पोथीको विलाप र गाली पनि थपियो । तैपनि उसले हिम्मत हारेन र यस नाथे समुद्रलाई सुकाउँछु भन्दै चुच्चोले पानी उठाएर फल्न लाग्यो । उसको दुःसाहस देखेर अन्य चराहरूले सम्झाए तर उसले सुन्ने कान लगाएन । उल्टै काममा व्यस्त छु, तिमीहरूसित बोल्ने फुर्सद छैन भन्दै हकारेर पठायो । त्यसपछि अन्य चराहरू पनि जे भए पनि आफ्नै बन्धु हो भन्दै उसलाई सघाउन लागे । यद्यपि उनीहरूलाई यो काम सम्भव छैन भन्ने थाहा थियो । तैपनि साथीको दुःख देख्न नसकेर सहयोगमा जुटेका थिए । 

उनीहरू दिनभर पानी उठाएर फाल्थे र बेलुका गुँडमा गएर बस्थे । यत्तिकैमा एक दिन नारदजी घुम्दै फिर्दै त्यही स्थानमा आइपुगे । चराहरूको पागलपन देखेर पहिले त सम्झाए तर हुटिट्याउँले मानेन । त्यसपछि त्यस्तै हो भने एक छिन पख हैन भन्दै वैकुण्ठ लोकतर्फ लागे । वैकुण्ठ पुग्दा ढोकामा विष्णुको बाहन गरुडजी भेटिए । नारदजीले उनलाई पनि चराहरूलाई सहयोग गर्न पठाइदिए । 

गरुडजी गएपछि नारदजीले भित्र गएर भगवान् विष्णुसित चराको हालत बताउँदै गरुडजीलाई पनि सहयोग गर्न पठाएको कुरा बताए । नारदको कुरा सुनेर विष्णुले भने–

‘गरुडजीलाई पठाएर राम्रो गर्‍यौ । हुटिट्याउँको उत्साहको म पनि प्रशंसा गर्छु तर त्यो काम त्यति सजिलो भने छैन । कहाँ समुद्रको पानी कहाँ चराको चुच्चो । यो भनेको त हजारौँ वर्षसम्म पनि पूरा नहुने काम हो । तैपनि गरुडजी आफैँ गएका छन् भने पक्कै केही गर्ने छन् ।’

त्यसपछि नारदजीले हात जोर्दैै भने–

‘त्यो त ठीकै हो प्रभु ! तर उनीहरूले गरेका कामलाई हेर्न हजुरले पनि सवारी हुनुपर्छ । अरू नसही कम्तीमा हुटिट्याउँ साहसलाई समर्थन गर्न भए पनि हजुरको उपस्थिति आवश्यक देखेको छु ।’

नारदको कुरा विष्णुलाई पनि ठीकै लाग्यो र उनी पनि नारदको साथमा त्यही स्थानमा आइपुगे । विष्णुलाई देख्नासाथ समुद्र देवताको सातो गयो । उनले डराउँदै नजिकै आएर भने– 

‘यस हुटिट्याउँ नाथे भनेको सहन नसकेर यसको फुललाई मैलै लुकाइदिएको छु । यसमा गल्ती भएको भए माफी चाहन्छु ।’

त्यसपछि विष्णुले सम्झाउँदै भने–

‘गल्ती भएको भए होइन समुद्र देवता ! गल्ती भइसकेको छ । शक्ति नहुनेलेले अर्थात् आफूभन्दा सानाले गल्ती नै गर्‍यो भने पनि शक्ति हुनेले अर्थात् ठूलाले सम्झाइबुझाई गर्नुपर्छ तर तपाईँले त एकैपटक दण्डदिएर आफ्नो स्थान र मानको मर्यादा कायम राख्न सक्नुभएन । उसले नाथे भन्यो भन्दैमा तपाईं नाथे भइहाल्ने हो र । तर तपाईंले कामै त्यस्तै गर्नुभयो कि आफैँले आफैँलाई नाथे साबित  गर्नुभयो । त्यसैले माफी मसँग होइन हुटिट्याउँसित माग्नुहोस् ।’

विष्णुको कुरा सुनेर समुद्र देवताले हुटिट्याउँसित माफी माग्दै फुल फिर्ता गरे । त्यसपछि उनीहरू भाले पोथी बच्चा हुर्काएर सुखपूर्वकले रहन लागे । 

यस उपनिषद् कथामा केकति सत्यता छ त्यो त थाहा छैन तर उत्साह भए जस्तोसुकै काममा पनि सफलता पाउन सकिन्छ भने कुरा भने सत्य हो । उत्साहपूर्वक काममा लागे मागदर्शक फेला फर्छन्, सहयोगी भेटिन्छन् । होइन, हुँदैन र सकिन्न भनेर बस्ने हो भने सानै काम पनि गर्न सकिन्न । एउटा हुट्टिट्याउँका लागि समुद्रको पानी सुकाउनु असहज मात्र होइन असम्भव नै थियो तर उसले उत्साह देखाएकाले भगवान्लाई समेत ऊसमक्ष आएर सयहयोग गर्न कर लाग्यो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कमल रिजाल
कमल रिजाल
लेखकबाट थप