बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय
दुधको अन्तर्राष्ट्रिय बजार

बंगलादेशका व्यवसायीले लगे पाउडर दुधको नमुना

घिउ पनि लानुपर्ने नेपाली व्यवसायीको सर्त
मङ्गलबार, १४ कात्तिक २०८०, १२ : ४२
मङ्गलबार, १४ कात्तिक २०८०

विराटनगर । कोशी प्रदेशमा दुधको उत्पादन बढ्दो छ । खपत सोही अनुपातमा भएको छैन । मिल्क होली–डेले दुध उत्पादक किसानसँगै डेरी उद्योगहरू समस्यामा छन् । स्टक रहेको पाउडर दुध र घिउको खपत दसैँको सन्दर्भमा केही बढे पनि त्यो पर्याप्त हुन सकेन । यही समस्या भइरहेको बेला डेढ महिना अगाडि कोशी प्रदेशका दुग्ध पदार्थ उत्पादक उद्योगी व्यवसायीले गरेको पहलले केही आशाको सञ्चार गराएको छ ।

यहाँका उद्योगी व्यवसायीको टोली बंगलादेशमा दुग्धजन्य वस्तु निर्यातको सम्भावना बुझ्न त्यसतर्फ गएको थियो । उक्त टोलीका एक सदस्यका अनुसार केही दिन अगाडि बंगलादेशका व्यवसायीको टोली कोशी प्रदेश आएर यहाँका उद्योग तथा दुग्धजन्य वस्तुको अवस्थाबारे बुझेर फर्किएको छ ।

कार्तिक ४ गते बंगलादेशी व्यवसायीको एक टोलीले विराटनगरको सूर्योदय मिल्क एण्ड बेभरेज उद्योगको अनुगमन गरेको छ । यस्तै उक्त टोलीले यहाँ उत्पादित पाउडर दुध र घिउको नमुना लिएर गएको छ ।

सूर्योदय मिल्क एण्ड बेभरेज इण्डष्ट्रिजका सञ्चालक मनोज यादवले आफ्नो उद्योगबाट नमुना लिएर गएको पुष्टि गरे । ‘कार्तिक ४ गते उद्योग अनुगमन गर्दै नमुना लिएर गएका छन्,’ यादवले भने, ‘सरकारी निकाय र व्यापारीहरुबाट पनि सकारात्मक प्रतिक्रिया पाएको छु । हामी छलफलमै छौँ । आशा छँदैछ । तर, टुङ्गिएको छैन ।’

बंगलादेशका व्यापारीले भने पाउडर दुध (धुलो दुध)बारे मात्रै चासो दिएका थिए । तर, पाउडर दुधसँगै घिउ पनि लैजान नेपालका उद्योगीले आग्रह गरेका छन् । पाउडर बनाउँदा घिउ पनि सँगै उत्पादन हुन्छ । त्यसका साथै बंगलादेशका व्यापारीले कति निर्यात गर्न सक्ने हो, तथ्याङ्क दिन भनेका छन् ।

milk_powder_2-7

नेपालका व्यवसायीले भने दिनसक्ने कति हो भन्ने विषयमा तथ्याङ्क सङ्कलन गरिरहेको जनाएका छन् । ‘अहिले भएको माल सकिएपछि के हुन्छ भन्ने उनीहरूको चासो थियो,’ यादवले भने, ‘हामीले दिनसक्ने कति हो ? निरन्तर निर्यात गर्न सक्छौँ कि सक्दैनौँ भन्ने विषयमा उनीहरूको चासो छ ।’

यद्यपि दुधको निर्यात भने ९० प्रतिशत हुन्छ भनेर विश्वास गर्ने आधार बनिसकेको बताइएको छ । कोशी प्रदेशका डेरी उद्योगहरूले चार महिनादेखि उत्पादन गरेको घिउ र पाउडर दुध स्टकमा रहेको जनाइएको छ । ‘चार महिनाको स्टक घिउको व्यवस्थापन गर्न सकिएन भने त समस्या हुन्छ । त्यसकारण बंगलादेशका व्यापारीलाई हामीले हतार नगर्नु, घिउ पनि लाने गरी व्यवस्था मिलाउनु भनेका छौँ,’ यादवले भने, ‘हामीसँग प्रोडक्ट छ । ८०–२० प्रतिशतको रेसियोमा घिउ र पाउडर लान अनुरोध गरिएको छ ।’

हाल बंगलादेशमा युरोपबाट दुध र घिउ आयात भइरहेको छ । नेपालबाट दुध र घिउ निर्यात हुँदा युरोपको भन्दा महँगो पर्ने बताइन्छ । ‘नेपालसँगको सम्बन्ध र छिमेकी देशको नाताले उनीहरू हामीसँगै लोयल छन्,’ यादवले भने, ‘हामीले चाहिँ युरोपको भन्दा १० प्रतिशत महँगो भए पनि नेपालबाटै दुध र घिउ लान अनुरोध गरिरहेका छौँ ।’

नेपालको उत्पादन लागत बढी भएको कारण मूल्य बढी भएको उद्योगीले बताएका छन् । बंगलादेशबाहेक पाकिस्तान र कतार पनि दुधको बजार रहेको नेपाली उद्योगीहरु बताउँछन् ।

दुधको उत्पादन बढेपछि कोशी प्रदेशको ऋतिका डेरी उद्योग, कामधेनु डेरी उद्योग, सगरमाथा विशिष्टीकृत सहकारी संस्था र नेपाल डेरी एशोसिएसनसमेतको प्रतिनिधिमण्डल बंगलादेशमा दुध निर्यातको सम्भावना अध्ययन गर्न त्यसतर्फ गएको थियो ।

दुधको उत्पादन बढेसँगै कोशी प्रदेशमा तीनवटा डेरी उद्योगले पाउडर दुध उत्पादन गरिरहेका छन् । जेठ महिनासम्म एउटा उद्योगले मात्र पाउडर उत्पादन गरिरहेको थियो । अहिले तीनवटा प्लान्टले निरन्तर पाउडर बनाइरहेका छन् । यस्तै विराटनगरमा रहेको दुग्ध वितरण आयोजनाले पनि पाउडर दुध उत्पादन गरिरहेको छ ।

यति हुँदा पनि किसानले उत्पादन गरेको सबै दुध खपत हुन सकेको छैन । जसले गर्दा दुध सङ्कलन गर्दै आएका सहकारीहरूले मिल्क होली–डे लागु गरिरहेका छन् । मिल्क होली–डे अझै बढ्नसक्ने दुध व्यवसायी राजकुमार खनाल बताउँछन् ।

गत फागुन महिनासम्म उत्पादित दुध जेनतेन बजारमा खपत भएको थियो । तर, त्यसपछि मागभन्दा बढी दुध बजारमा आउनेक्रम निरन्तर चलिरहेको छ ।

कोशी प्रदेशमा अहिलेको सिजनमा उत्पादन भएको दुधमध्ये १ लाख ५० हजार लिटर दुध औपचारिक क्षेत्रबाट बजारमा आउने गरेको थियो । तर, अहिले औपचारिक क्षेत्रमा झण्डै २ लाख ५० हजार लिटरभन्दा बढी दुध सङ्कलन भइरहेको डेरी उद्योगीको भनाइ छ ।

कोशी प्रदेशमा दुध उत्पादन वृद्धि गर्न प्रदेश सरकारले प्रतिलिटर २ रुपैयाँको दरले नगद अनुदान दिने नीति लिएका कारण पनि उत्पादन बढेको व्यवसायीहरुले बताएका छन् ।

अघिल्लो आर्थिक वर्षको तथ्याङ्क अनुसार कोशी प्रदेशमा दुध दिने गाईको सङ्ख्या ५ लाख १० हजार ३२ छ भने भैँसीको सङ्ख्या २ लाख ८७ हजार ९६८ छ । उक्त सङ्ख्याको गाई र भैँसीबाट प्रदेशमा दैनिक ५ लाख २५ हजार १५५ लिटर दुध उत्पादन हुने तथ्याङ्कमा उल्लेख छ ।

प्रतिव्यक्ति उपलब्धता वार्षिक ९२ लिटर छ भने आवश्यकता ७१ लिटरमात्रै हो । उक्त तथ्याङ्क अनुसार पनि कोशी प्रदेशमा दुध उत्पादन आवश्यकताभन्दा बढी भइरहेको कोशी प्रदेश पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप