शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय
टिकटकमाथि प्रतिबन्ध

भीपीएनबाट टिकटक चलाउँदा पुतली मायाले २ लाख ५२ हजार गुमाएकी हुन् ?

मङ्गलबार, ०५ मङ्सिर २०८०, १६ : ३२
मङ्गलबार, ०५ मङ्सिर २०८०

काठमाडौँ । मन्त्रिपरिषद्ले कार्तिक २७ मा नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सो निर्णयपछि प्रयोगकर्ताहरूले भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गरेर टिकटक चलाउन थालेका छन् ।

टिकटकलाई प्रतिबन्ध लगाएपछि निर्णयको पक्ष र विपक्षमा सामाजिक सञ्जालमा बहस भइरहेको छ । मन्त्रिपरिषद्को निर्णयलाई समर्थन गर्नेहरुले भीपीएन प्रयोग गर्दा बैंकको पैसा चोरी हुने भन्दै प्रचार गरिरहेका छन् । प्रहरी प्रधान कार्यालयले पनि भीपीएनको प्रयोग असुरक्षित हुने भन्दै सूचना जारी गरेको छ । निर्णयको बिरुद्धमा सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

अहिले सामाजिक सञ्जालमा भीपीएनको प्रयोग गरेर प्रतिबन्धित टिकटक चलाउँदा ३२ वर्षीय पुतली माया थापा मगरले बैंकको रकम गुमाएको पोस्ट भाइरल छ । बेलकोटगढी नगरपालिकास्थित रातमाटे घर भएकी पुतली मायालाई श्रीमानले विदेशबाट पठाइदिएको २ लाख ५२ हजार नगद ह्याकरले बैंक खातामा पहुँच बनाएर चोरी गरेको भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले सो पोस्टलाई सेयर गरिरहेका छन् ।

समाचार तयार पर्दासम्म सो पोस्टमा २ हजारपटकभन्दा बढी लाइक, ४ सयभन्दा बढी कमेन्ट र सेयर भएका छन् । तर, पीडित भनिएकी पुतली मायाले अहिलेसम्म रकम हराएको बारेमा अनुसन्धान गर्ने निकायलाई खबर गरेकी छैनन् ।

बेलकोट गढी नगरपालिकास्थित रातमाटेमा बस्ने कसैले पनि अहिलेसम्म त्यसबारे जानकारी नगराएको नुवाकोटका एसपी सञ्जय सिंह थापाले रातोपाटीलाई बताए । एसपी थापाले भने, ‘उजुरी आएको छैन, मैले त्यहाँ हाम्रो टोलीलाई बुझ्न लगाएको छु ।’

पीडित काठमाडौँमा बस्ने भएमा नुवाकोटमा उजुरी पर्दैन । बैंक खाता ह्याक भएर रकम चोरी हुने घटनाबारे भोटाहिटीस्थित प्रहरीको साइबर ब्यूरोले अनुसन्धान गर्छ । तर, पुतली मायाले साइबर ब्यूरोमा पनि सम्पर्क गरेकी छैनन् । टिकटक चलाउँदा बैंक खाता ह्याक भएर रकम चोरी भएको घटनाबारे जानकारी नभएको साइबर ब्यूरोका एसपी नरेन्द्र चन्दले रातोपाटीलाई बताए । एसपी चन्दले भने, ‘त्यस्तो उजुरी वा जानकारी हामीकहाँ आएको छैन ।’

सामाजिक सञ्जालमा भाइरल पोष्टमा भनिएको छ, ‘नुवाकोट रातमाटे घर भएकी ३२ वर्षीय पुतली माया थापा मगरले भीपीएनबाट टिकटक चलाउँदा श्रीमानले विदेशबाट पठाएको उनको खातामा रहेको २ लाख ५२ हजार रुपैयाँ ह्याकरले ह्याक गरिदिएको छ, सावधान हुनुहोला प्लिज ।’

Tiktok Vs Money Loss 8.5 (2080)

यस्तै पैसा हराएको अन्य पोस्ट पनि विभिन्न फेसबुक ग्रुप तथा पेजहरुमा भाइरल भएका छन् । टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णयबारे बहसमा संलग्नहरूले त्यस्ता पोस्ट राखेर सामाजिक सञ्जालमा अफवाह फैलाएको हुनसक्ने जानकारहरू बताउँछन् । 

पुतली मायाले रकम गुमाएको घटनाको सत्यता पुष्टि नभए पनि भर्चुअल प्राइभेट नेटवर्क ‘भीपीएन’ मार्फत टिकटक चलाउनु जोखिमपूर्ण हुने जानकारहरू बताउँछन् ।

पैसा तिरेर चलाउन मिल्ने ‘प्रिमियम भीपीएन’ केही हदसम्म सुरक्षित भएपनि सित्तैमा डाउनलोड गरेर चलाइने भीपीएन सुरक्षित नहुने बताउँछन् साइबर सुरक्षा विज्ञ चिरञ्जिवी अधिकारी । रातोपाटीसँग कुरा गर्दै अधिकारीले भने, ‘भीपीएनसँगै भाइरस डाउनलोड हुनसक्छ, त्यसले सुरक्षा खतरा निम्त्याउँछ ।’

सित्तैमा डाउनलोड हुने भीपीएनसँगै डाउनलोड भएका भाइरसहरू डेस्कटप र ल्यापटपसम्म पुग्ने र मोबाइल बैंकिङ चलाउँदा त्यसले सुरक्षा खतरा हुने अधिकारीले बताए । उनी भन्छन्, ‘प्रयोगकर्ता सचेत नभएसम्म फ्रि भीपीएन चलाउनु हुँदैन ।’

भीपीएन हामीले प्रयोग गर्ने उपकरण र अन्य कम्प्युटरबिच इन्टरनेटको सुरक्षित सञ्जाल स्थापित गर्ने प्रविधि हो । भीपीएनले अर्को कम्प्युटरमार्फत हामीलाई इन्टरनेट सञ्जालमा जोड्छ, त्यसमा हाम्रो परिचय गोप्य हुन्छ र वेबसाइट अर्को देशमा रहेको कम्युटर प्रणाली मार्फत देखाइदिन्छ ।

प्रतिबन्धपछि केही प्रयोगकर्ताले सो विधिबाट टिकटक चलाउन थालेका हुन् । टिकटकको आइपी ठेगाना सरकारले ब्लक गराएपछि सो आइपी ठेगाना खोल्ने ‘चोरबाटो’ हो भीपीएन । अहिले प्रयोगकर्ताले ‘फ्रि भीपीएन’ डाउनलोड गरेर चलाइरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप