शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
भन्सारको तथ्यांक

चार महिनामा १२ अर्बको सवारी साधन भित्रियो

विद्युतीय सवारी मात्र ८ अर्बको आयात
शुक्रबार, ०८ मङ्सिर २०८०, १५ : ०४
शुक्रबार, ०८ मङ्सिर २०८०

काठमाडौँ । चालु आर्थिक वर्षको चार महिनामा १२ अर्ब रुपैयाँभन्दा बढीका सवारी साधन नेपाल भित्रिएका छन् । भन्सार विभागको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा पेट्रोल तथा डिजेल इन्जिनसहित विद्युतीय सवारीहरू गरी कुल १२ अर्ब ३६ करोड ५६ लाख ८८ हजार रुपैयाँ बराबरका गाडी आयात भएको हो । 

यसबाट समीक्षा अवधिमा सरकारलाई ११ अर्ब १४ करोड ८८ लाख ४१ हजार रुपैयाँ राजस्व सङ्कलन भएको समेत विभागले जनाएको छ । कात्तिक मसान्तसम्ममा २५ सिटभन्दा माथिका ठुला बसहरू १४८ वटा, १५ देखि २५ सिटसम्मका मिनी बसहरू ५८ वटा, ११ देखि १४ सिटे माइक्रोबस २४ वटा आयात भएका छन् । यसै गरी अन्य पेट्रोलियम कार, भ्यान, जिपहरू (१ हजार सीसीभन्दा माथिका) २ हजार १९७ वटा आयात भएको विभागले जनाएको छ । 

विद्युतीय सवारी मात्र ८ अर्बको आयात !

समीक्षा अवधिमा विद्युतीय सवारी मात्र ८ अर्बभन्दा माथिको आयात भएको भन्सार विभागको तथ्याङ्कले देखाएको छ । सरकारी प्रोत्साहन नीति र पेट्रोलियम गाडीको प्रतिस्थापनमा बैङ्क तथा वित्तीय संस्थाहरूले समेत सपोर्ट गरेका कारण चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ८ अर्ब ११ करोड २८ लाख ३२ हजार रुपैयाँ बराबरको विद्युतीय गाडी आयात भएको विभागले जनाएको हो । 

समीक्षा अवधिमा ५० किलोवाटसम्मका विद्युतीय कार, जिप भ्यान १ हजार २७९ वटा आयात भएका छन् भने ५१ किलोवाटदेखि १०० किलोवाटसम्मका १ हजार ४८१ वटा, १०१ देखि २०० किलोवाटसम्मका १७ वटा र २०१ देखि ३०० किलोवाटसम्मका १० वटा सवारी साधन भित्रिएका छन् । 

यसै गरी समीक्षा अवधिमा इलेक्ट्रिक थ्री ह्विलर (तीनपाङ्ग्रे) सवारी साधनसमेत ३ हजार ७३० भन्दा बढी आयात भएको विभागको तथ्याङ्कले देखाएको छ ।

कुल ८ अर्ब ११ करोड २८ लाख ३२ हजार रुपैयाँ बराबरको विद्युतीय सवारी साधन आयात हुँदै गर्दा सोबाट राज्यलाई जम्मा ३ अर्ब ३४ करोड २८ लाख ५२ हजार रुपैयाँ योगदान पुगेको छ । विद्युतीय गाडीमा दिएको सहुलियत, भन्सार तथा अन्तःशुल्क छुटले सरकारको ठूलो राजस्व गुमिरहेको छ । तथापि विद्युतीय गाडीमा आकर्षण बढ्दै गर्दा यता सरकारले राजस्व वृद्धिको तयारी गरिरहेको चर्चा सुरु भएको छ ।

विद्युतीय गाडीको वर्चस्वले उत्तरी नाकामा चाप 

त्यसो त पछिल्लो समय नेपाली अटोबाइल बजारमा विद्युतीय गाडीको वर्चस्व कायम भएसँगै दक्षिणको तुलनामा उत्तरी नाकामा चाप बढ्न थालेको छ । यसले नेपालको अन्तर्राष्ट्रिय व्यापारको स्थितिमा नै परिवर्तन ल्याएको छ । 

भन्सार विभागकै तथ्याङ्कअनुसार पछिल्लो चार महिनामा नेपालले चीनसँग १ खर्बभन्दा बढीको व्यापार गरेको छ । जसमध्ये जम्मा ८३ करोड ५४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेकोमा सोही अवधिमा नेपालले उताबाट १ खर्ब २५ करोड ३६ लाख रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यो अघिल्ला वर्षहरूका तुलनामा निकै उच्च हो । यसको एउटै कारण चिनियाँ विद्युतीय गाडीहरूको आयात वृद्धि नै हो । 

चिनियाँ विद्युतीय गाडीको आयात बढेसँगै यता उत्तरतर्फका दुईवटा नाका रसुवागढी–केरुङ भन्सार कार्यालय र तातोपानी भन्सार कार्यालयको आयात निर्यातको चापसमेत बढेको छ । 

चालु आर्थिक वर्षको चार महिनामा नै रसुवागढी–केरुङ भन्सार कार्यालयमार्फत १८ अर्ब २५ करोड ४५ लाख ५७ हजार रुपैयाँ बराबरको माल वस्तु आयात भएको छ भने उता ४४ करोड ११ लाख २३ हजार रुपैयाँ बराबरको निर्यात भएको छ । 

यस्तै उत्तरतर्फकै अर्को व्यापारिक नाका तातोपानी भन्सार कार्यालयमार्फत समीक्षा अवधिमा ९ अर्ब ७६ करोड ५१ लाख ४ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ भने जम्मा ५ लाख ७६ हजार रुपैयाँ बराबरको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ ।  

चालु आर्थिक वर्षको चार महिनामा नेपालले कुल ५० अर्ब ५६ करोड ५३ लाख ८१ हजार रुपैयाँ बराबरको मालवस्तु निर्यात गर्दै ५ खर्ब १२ अर्ब ५० करोड ३४ लाख ७४ हजार रुपैयाँ बराबरको आयात गरेको छ । जसबाट समीक्षा अवधिमा मुलुकले ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख ९३ हजार रुपैयाँ खुद घाटा बेहोरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप