शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

दुई–चार जना सडकमा आउँदैमा केही फरक पर्दैन : सञ्चारमन्त्री शर्मा

‘व्यवस्था र नयाँ प्रविधिबारे पाठ्यपुस्तकमा समेट्न नसक्दा समस्या देखियो’
आइतबार, १० मङ्सिर २०८०, १५ : ४२
आइतबार, १० मङ्सिर २०८०

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले राजावादी सक्रिय देखिए पनि व्यवस्थामाथि कुनै खतरा नभएको बताएकी छिन् । यदि व्यवस्थामाथि खतरा नै उत्पन्न हुने स्थिति आए सम्पूर्ण गणतन्त्रवादी शक्तिहरू एकजुट भएर प्रतिकार गरिने उनले चेतावनी दिइन् । 

हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आउँदा त बल्लतल्ल गणतन्त्र आएको स्मरण गर्दै उनले दुई चार जना मानिस सडकमा आएर फरक नपर्ने बताइन् ।  

‘हिजो माओवादी जनयुद्धको तागतसहित ८० प्रतिशत मानिस सडकमा आएका थिए । त्यतिहुँदा त बल्लतल्ल गणतन्त्र स्थापित भयो भने दुई चारजना मानिस सडकमा आउँदैमा केही फरक पर्दैन’, रातोपाटीसँग कुराकानी गर्दै उनले भनिन्, ‘राज्य सञ्चालनमा केही कमीकमजोरी भएपनि सुल्टो बाटोमा त्यसको असर पर्न सक्थ्यो वा जनता सडकमा आउने वातावरण बन्थ्यो होला । तर राजतन्त्र नभोगेका  युवाहरूलाई सडक आन्दोलनले केही प्रभाव पार्ला तर शाही काल भोगेका मानिस कन्भिन्स हुने अवस्था छैन ।’

यस्तै गणतन्त्र र राजतन्त्रको भेदबारे विद्यालयको पाठ्यपुस्तकमा समेट्न नसक्दा पनि समस्या देखिएको उनको बुझाइ छ । 

‘हिजो हामीले एक कक्षादेखि नै राजाको महिमा पढ्दै आयौं तर व्यवस्था उल्टिएपछि विद्यालयको पाठ्यपुस्तकमा लिपिवद्ध गर्न सकेनौं । पाठ्यपुस्तक परिमार्जनबारे छलफल गरिरहेका छौँ । अबको पाठ्यपुस्तकमा इतिहास र प्रविधिसम्बन्धी यथेष्ट जानकारीसहित पाठ्यपुस्तक परिमार्जन गर्छौँ’, उनले भनिन् । पाठ्यपुस्तकमा प्रविधिबारे राम्रोसँग समेट्न नसक्दा एकैपटक सामाजिक सञ्जाल बन्द गर्नुपर्ने अवस्थामा पुगेको उनले सुनाइन् । कक्षा एकदेखि नै प्रविधिलाई सही सदुपयोग गर्नेबारे विद्यार्थीहरूलाई शिक्षा दिन सकेको भए बन्द गर्नुपर्ने अवस्था नआउने उनको बुझाइ छ । अब प्रविधिको विषयमा सामान्य सेमिनार गोष्ठी गरेरमात्र नहुने उनले तर्क गरिन् । 

यसैगरी सडकमा देखिएको पछिल्लो अवस्थाबारे सरकारले निकै गम्भीरतापूर्वक हेरेको उनले बताइन् । एउटाले समस्या पैदा गर्दा अहिले सबैले भारी बोक्ने स्थिति आएको भन्दै मूलत आफूहरूमा भएको कमीकमजोरी करेक्सन गरेर जनतालाई सेवा र सुविधा दिनुपर्ने उनको भनाइ छ । मुख्य समस्या भएको भन्दा बढी भ्रम छर्ने काम भइरहेको उनले गुनासो पोखिन् । 

‘राज्य सञ्चालनमा बसेकाबाट कमजोरी नभएका होइन, तथापि धेरै सकारात्मक काम पनि भएका छन् । त्यसमा चिरफार गरेर व्यवस्था र व्यवस्था सञ्चालनमा  भएका कमजोरी खुट्याउनु पर्छ’, उनले भनिन्, ‘सञ्चालनमा बसेका रिप्लेस हुनसक्छ तर व्यवस्था रिप्लेस हुन सक्दैन । यही व्यवस्था भएर नै आज राज्यसञ्चालनमा बसेकामाथि कारबाही भएको हो । आजकाले कमजोरी गरे भोलि कारबाही हुन्छ ।’

व्यवस्थामाथि संकट आएको अवस्थामा राज्य, सरकार, नागरिक समाज र मिडिया सबै  एक ठाउँमा आउने उनले विश्वास लिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप