आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई अझै पनि कुनै शक्तिले हल्लाउन सक्दैन : अर्जुननरसिंह केसी

सोमबार, १८ मङ्सिर २०८०, १८ : २०
सोमबार, १८ मङ्सिर २०८०

काठमाडौँ । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अहिले पनि कांग्रेस कुनै शक्तिसँग एक्लै लड्ने आँटमा रहेको बताएका छन् । कांग्रेसलाई अन्य दलले जस्तो मिसन–८४ भनिराख्नु आवश्यकता नभएको उनले बताएका हुन् । 

‘कांग्रेसले मिसन– ८४ होइन मिसन–८२ को तयारी गर्नुपर्छ । तोकिएको मितिमा अधिवेशनबाट नयाँ विश्वास र आशाका साथ नयाँ नेतृत्व चयन हुन सके हामी आगामी निर्वाचन सबैसँग मुकाबिला गर्न सक्छौँ । अहिलेकै यथास्थिति हो भने परिणाम सुखद दिँदैन’, रातोपाटीसँग केसीले भने ।  

आम रूपमा जनतामा सत्तामा बसेकाहरू सबै भ्रष्ट हुन् भन्ने भाष्य निर्माण गरिएकोप्रति उनले असन्तुष्टि जनाए ।  

‘सत्तामा बसेकाहरूले बोराका बोरा पैसा लुकाएर राखेका छन् । यी सबै भ्रष्ट छन् । कति भ्रष्ट छन्, छैन त्यो बेग्लै कुरा हो । त्यसलाई नयाँ भनिएका दलहरूले भाष्य बनाइएको छ’, उनले भने, ‘त्यसैलाई जनताले शंखाको दृष्टिकोणले हेरेका छन् । त्यसकारण सबैभन्दा पहिले कांग्रेसले आउँदो महासमिति बैठकबाट भ्रष्टाचारको नेतृत्व लिने गरी अगाडि बढ्नुपर्छ ।’  

अहिले अरबौँ अरबका नोटहरू डम्पिङ भएर बसेका भन्दै उनले हजार र पाँच सयका नोटहरू विमुद्रीकरण गरेर त्यसलाई राज्यले नयाँ योजनामा लगाउनु पर्ने बताए ।

त्यस्तै सबैभन्दा धनी स्विस बैंकमा पैसा हुनेमध्ये नेपाल पनि एक भएको जिकिर गर्दै नेपालको कानुन नियम अनुसार अनुमति नलिई विदेशमा रकम राख्न नपाइने उनले बताए । ती सबै  अभियानको नेतृत्व कांग्रेसले गरेमात्र कुनै शक्तिले हल्लाउन नसक्ने उनको भनाइ छ ।  अहिलेसम्म जेजति भ्रष्टाचार भएका छन्, त्यसलाई शक्तिशाली उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरी छानबिन गर्नुपर्ने उनले बताए । 

उनले मितिअनुसार अधिवेशन हुनुपर्ने भन्दै त्यसबमोजिम अधिवेशन नभए सबैभन्दा कांग्रेसलाई अनिष्ट हुने बताए । यस्तै अरबौँ रकम एनसेल बिक्री प्रकरणमा राज्यको मौनताप्रति उनले प्रश्न उठाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप