शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

जीतपुर सिमरा उपमहानगरको राजस्वमा उल्लेख्य वृद्धि

मङ्गलबार, १९ मङ्सिर २०८०, १९ : १०
मङ्गलबार, १९ मङ्सिर २०८०

बारा । जीतपुर सिमरा उपमहानगरको चालु आर्थिक वर्षको पहिलो चौमासिकमा राजस्व संकलन उल्लेख्य बढेको छ ।

गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको ४ महिनामा राजस्व संकलन करिब २ करोड ५० लाखले वृद्धि भएको हो । उपमहानगरले  पहिलो चौमासिकमा ६ करोड ३३ लाख २५ हजार राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको सोही समयमा (साउन १ गतेदेखि कात्तिक मसान्तसम्म) ३ करोड ८३ लाख ९२ हजार राजस्व संकलन भएको उपमहानगर राजस्व महाशाखाले जनाएको छ ।

उपमहानगरले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा जडीबुटी, कवाडी करमा सबैभन्दा धेरै राजस्व संकलन गरेको छ । सो शीर्षकमा २ करोड १७ लाख ९९ हजार, सहायक सडक मर्मत तथा सडक उपयोग कर बापत ९९ लाख १९ हजार, बहाल बटौरी शुल्क (उपमहानगर अन्तर्गतका सटरहरुको भाडा) बापत ७२ लाख १३ हजार, सम्पत्ति कर ५० लाख ४६ हजार, भूमि तथा मालपोत कर ४९ लाख १५ हजार, सिफारिस दस्तुरबाट ४४ लाख ३३ हजार राजस्व संकलन गरेको छ ।

पालिकाले चालु आर्थिक वर्षको आर्थिक ऐनभित्र रहेर व्यवसाय दर्ता, कृषि उत्पादनको बिक्रीबाट प्राप्त दस्तुर, जग्गा तथा घर बहाल कर, नक्सापास, न्यायिक दस्तुर, नाता प्रमाणित, व्यक्तिगत घटना दर्ता, व्यवसाय इजाजत दर्ता, मनोरञ्जन कर, विद्युत्त सेवा शुल्क, निजी शैक्षिक संस्थाहरुबाट शिक्षा सेवा शुल्क लगायत ३१ वटा शीर्षकमा राजस्व संकलन गरेको राजस्व महाशाखा प्रमुख रमेश सुवेदीले जनाए ।

गत आर्थिक वर्षमा नदीजन्य पदार्थको ठेक्का लगाउन नसकेको उपमहानगरले चालु आर्थिक वर्षका लागि भने दुधौरा, बालगंगा र पसाहा खोलाको छुट्टाछुट्टै ठेक्का सूचना सार्वजनिक गरेको छ । पालिकाले चालु आर्थिक वर्षका लागि पसाहा खोलाबाट ३७ लाख १३ हजार घनफिट नदीजन्य पदार्थ उत्खनन् गर्न भ्याट बाहेक २ करोड ८७ लाख ८१ हजार, बालगंगा खोलाबाट २५ लाख ५३ हजार घनफिट ढुंगा, गिटी, बालुवा निकाल्न २ करोड १० लाख ९१ हजार र दुधौरा खोलाबाट १८ लाख ७३ हजार घनफिट खोलाजन्य पदार्थ उत्खनन् गर्न १ करोड ४८ लाख ९४ हजार न्यूनतम् रकममा नघट्ने गरी बढाबढमा ठेक्का सूचना सार्वजनिक गरेको हो ।

खोलाजन्य पदार्थ ठेक्काबापत प्राप्त हुने रकम नै उपमहानगरको राजस्वको मुख्य श्रोत हो भने दोस्रोमा कवाडी कर छ । विगतमा उपमहानगरले लगाउन नसकेको कवाडी कर गत आर्थिक वर्षदेखि लगाउँदै आएको छ ।

उपमहानगरले दुधौरा, बालगंगा र पसाहा खोला उत्खनन बापत बर्सेनि १२ देखि १४ करोड रुपैयाँ राजस्व संकलन गर्ने गर्दछ ।

खोलाजन्य पदार्थको ठेक्का लगाउन नसक्दा आर्थिक वर्ष २०७९/०८० मा उपमहानगरले जम्मा १२ करोड ८३ लाखमात्रै राजस्व संकलन गरेको थियो ।

उपमहानगर प्रमुख राजन पौडेलले चालु आर्थिक वर्षमा २५ करोडभन्दा माथि राजस्व संकलन गर्ने उद्देश्य रहेको जनाएका छन् ।

बारा–पर्सा औद्योगिक करिडोर, खोलानाला, प्राकृतिक श्रोतसाधनका कारण जीतपुर सिमरा उपमहानगर मधेस प्रदेशमै आन्तरिक श्रोतमा सबैभन्दा धनी पालिका मानिन्छ । उपमहानगरले चालु आर्थिक वर्षमा विशेष आर्थिक क्षेत्र प्राधिकरण (सेज) भित्र बनेका संरचनालाई पनि करको दायरामा ल्याउनुपर्ने बहस चलाएको छ । नगरप्रमुख पौडेलले सेजभित्र बनेका संरचनाहरुको घर, नक्सा पास हुनुपर्ने भन्दै उद्योगमन्त्री रमेश रिजालसँग आग्रह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप