आइतबार, ३० असार २०८१
ताजा लोकप्रिय

रूपान्तरण अभियानको मध्यावधि सार : विचार र व्यवहारको विकास अपरिहार्य

मङ्गलबार, २६ मङ्सिर २०८०, १० : ५०
मङ्गलबार, २६ मङ्सिर २०८०

माओवादी केन्द्रले तीन महिने भनेर सुरु गरेको रूपान्तरण अभियान एक महिना थप भएर चार महिने बनेको छ । अभियानले विचार र संगठनात्मक क्षेत्रलाई धेरै अर्थमा सबल बनाएको छ भने केही दुर्बल पक्षलाई समेत सतहमा ल्याइदिएको छ । 

अभियानले केही वर्षदेखि जाम भएको व्यक्तिगत, सांगठनिक जीवनलाई पगालेको छ । पार्टीलाई सकारात्मक सन्देशसहित जनतामा पुर्‍याएको छ । यसले जनता र पार्टीबिचको सम्बन्ध सुदृढ गर्ने मूलतः आधार खडा गरेको छ ।

लामो समयदेखि अमुक क्षेत्रलाई बिर्ता बनाएर बसेका थुप्रै नेता तथा कार्यकर्तालाई अभियानले तरंगित बनाएको छ । अभियानको जिम्मेवारी लिएर अन्यत्रबाट आएकालाई समस्या मान्ने, आफ्ना संगठनात्मक र आर्थिक अपारदर्शिता सार्वजनिक नहोस् भन्ने तथा जनता र कार्यकर्तासँग आफ्नो बिग्रेको सम्बन्ध नयाँ आउनेलाई थाहा नहोस् भन्ने उद्देश्यले कतिपय रैथाने नेतृत्वले प्रारम्भदेखि नै अभियानलाई असहयोग नगरेका होइनन् । तर, स्थानीय पार्टीको बलियो प्रतिवादले त्यो प्रवृत्ति नाङ्गिएको छ । पार्टी र संगठन सुदृढीकरणको यो मूल पाइला हो ।

क्रान्तिकारी पार्टी निर्माण गर्न र अहिलेको सापेक्षतामा सरकार, सदन र सडकलाई जोडेर संघर्ष गर्न माओवादी अझै सक्षम छ, त्यसको बलियो आधार छ भन्ने अभियानले प्रस्ट देखाएको छ । 

आज माओवादी केन्द्र जुन अवस्थितिमा छ, एकै दिन र रातमा यो अवस्था बनेको होइन । शान्ति प्रक्रियामा आएदेखि नै मूलतः कार्यदिशामै समस्या देखिएको हो । विचारको विकासमा समस्या देखिएको हो । जनयुद्धपूर्व पनि तत्काल जनयुद्ध गर्ने कि नगर्ने भन्ने बहस भएकै हो । एकथरि जनयुद्धमा गए र एकथरि जनआन्दोलनको प्रक्रियामा सक्रिय रहे । आआफ्नो ठाउँबाट स्वस्थ बहस र सहकार्य हुँदै आयो । जसले एकताबद्ध हुन कुनै कठिन भएन ।

जनयुद्धका क्रममा पनि बहस तीव्र नभएको होइन । जनयुद्धमा नै विचारको संश्लेषण, एक्काइसौँ शताब्दीको जनवाद लगायतका महत्त्वपूर्ण निर्णय गर्दै पार्टी र क्रान्ति अगाडि बढेको हो । चितवन, बालाजु, खरिपाटी, पालुङटार लगायतका बैठक र भेलाहरूले भने सही ढंगले विचार संश्लेषण गर्न सकेनन् । यसै कारण टुटफुट भयो । माओवादी पार्टी र आन्दोलन कमजोर भयो । 

विभिन्न घटकमा विभाजित माओवादीहरू कमजोर अवस्थामा छन् । झन्डै ३२ प्रतिशत समानुपातिक मत ल्याएको माओवादी पछिल्लो निर्वाचनमा ११  प्रतिशतमा खुम्चिएको छ । शान्ति प्रक्रियामा आउँदा निर्वाचनजस्तो महत्त्वपूर्ण कार्यनीतिका बारेमा समेत एकरूपता भएन । दिमागमा विद्रोह र मुखमा चुनाव भन्दै हिँडियो । विद्रोहका लागि भनेर लाखौँ जनतालाई काठमाडौँमा उतार्ने लगायत कार्य भए । त्यसैले बुझाइ र कार्यान्वयनमा एकरूपता नहुँदा माओवादी केन्द्र कमजोर बन्दै गएको हो । 

अन्तर्राष्ट्रिय रूपमै चमत्कार लाग्ने गरी संघर्षबाट विकास भएको पार्टी यति छिटो कमजोर हुनुमा मूलतः विचारको विकासमा समस्या देखिएकैले हो । सबै तहमा नेतृत्वको ठूलो हिस्सामा स्खलन देखिएकाले हो । उपभोक्तावाद बढ्दै गएकाले हो । पार्टीमा रंग फेरिँदै गएकाले हो । यसलाई सुधारेर अगाडि बढ्न सकिने विश्वास अभियानले साबित गरेको छ । तर, आजको जनता माओवादीसँग के चाहन्छ, त्यसअनुरूप बिचारको विकास भने हुनै पर्छ । बिचारले मात्रै पुग्दैन, कम्युनिस्ट व्यवहारको विकास समेत हुनै पर्छ ।

आज देखिने गरी नै सत्ता र जनताबिच अन्तर्विरोध बढ्दै गएको छ । त्यसको जबरजस्त प्रभाव पार्टीमा समेत परेको छ । एकथरि नेतृत्वबाट पार्टी र राजकीय सत्तामा पुग्न र टिक्न जस्तोसुकै हर्कत गर्ने काम भइरहेको छ । आफ्नो स्वार्थ वा हितमा धक्का लाग्ने खतरा देखियो भने आफ्नै कमरेडहरूसँग पनि शत्रुतापूर्ण सम्बन्धमा झर्ने कार्य यो अभियानका क्रममा पनि ठाउँ ठाउँमा देखिएका छन् । 

तहगत नेतृत्वको गैरजिम्मेवारीपूर्ण कार्य प्रकट भएका छन् । चरम गुटबन्दीहरू गिरोहमा बदलिएको अवस्था पनि कैयन ठाउँमा देखिएका छन् । उचित कार्यविभाजनको समस्याहरू देखिएका छन् । एउटै मान्छे जिल्ला इन्चार्ज पनि छ, संघीय सांसद पनि  छ । पालिकामा कार्यकारी भूमिकामा रहेकाहरूलाई जिल्लाको कार्यकारी भूमिकामा लगिएको छ । गुटबन्दीकै कारणले उही स्तरको र ऊभन्दा योगदान भएको, सन्तुलित व्यक्तिलाई भूमिकाविहीन बनाइएको अवस्था पनि छ । दण्ड र पुरस्कारको मापदण्ड नहुनुले संगठनात्मक कार्यदिशामा व्यापक अराजकतावाद हाबी देखिएको छ । 

समाजवादी कार्यदिशा निर्माण गरेर जाने, जनपक्षीय र माओवादीहरूबिच एकता गर्ने, वाममोर्चा निर्माणमा लाग्ने र संगठनात्मक रूपमा उचित कार्य विभाजन गर्ने हो भने माओवादी र वामपन्थीहरूको बाहेक अरूको भविष्य नेपालमा छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

महेश्वर दाहाल
महेश्वर दाहाल
लेखकबाट थप