सोमबार, ३१ वैशाख २०८१
ताजा लोकप्रिय

माओवादी रूपान्तरण अभियानले नदेखेको पाटो

शुक्रबार, २९ मङ्सिर २०८०, ०९ : २९
शुक्रबार, २९ मङ्सिर २०८०

नेकपा माओवादी केन्द्रले सुरु गरेको तीनमहिने रूपान्तरण अभियानमा थपिएको एक महिना पनि सकिन करिब १५ दिन बाँकी छ । यस अवधिमा पार्टी सुदृढीकरणका लागि उसका नेता कार्यकर्ताले थुप्रै मेहनत र प्रयास गरेको देखियो । यद्यपि माओवादी पार्टीको बनावट र क्रियाशीलतामा हुँदै आइरहेको क्षयीकरण रोकिने गरी ठूलै उपलब्धि भएको देखिएन । 

एकता संघर्ष, रूपान्तरण, टुटफुट र झै–झगडा आदि घटनाक्रमको सामना गर्दै आइरहेको माओवादी आन्दोलन र पार्टी किंकर्तव्यविमुढताको सिकार हुनबाट जोगिन निकै संघर्षरत देखिन्छ । थोरै मात्रामा कुशल संगठक र सक्षम कार्यकर्ता उत्पादन गर्ने गरेको माओवादी पंक्तिले कार्यकर्ता जोगाउन गम्भीर प्रयत्न गरेको देखिँदैन । आठ, साढे आठ लाख कार्यकर्ता रहेको दाबी गर्ने माओवादी पार्टीले अपेक्षाकृत मत हासिल गर्न सकेको पनि देखिँदैन । यस हिसाबले हेर्दा केन्द्रमा हल्ला–खल्ला र दबदबा सिर्जना गर्न सक्ने हैसियत राख्ने माओवादीको स्थानीयता कमजोर छ भनेर परिणामहरूले देखाएकै छन् । पार्टीले आफ्नो हैसियत, इतिहास र वर्तमानको सामाजिक चेत समेतलाई स्वीकार गरेर सुदृढीकरण तथा रूपान्तरण अभियान चलाएको होला भनेर बुझ्न सकिन्छ । 

तथापि संगठनको केन्द्रीय तह र स्थानीय तहमा तादात्म्यता मिलाउन माओवादीलाई निकै सकस परेको छ । सामाजिक न्याय तथा व्यवस्था परिवर्तनका लागि भएको विद्रोह र संघर्षको नेतृत्व गरेर उदाएको पार्टीको आकार खुम्चिनुमा उसका आफ्नै सीमा र कमजोरीले काम गर्दै आएका छन् । संघर्ष र परिवर्तनको सफल नेतृत्वपछि २०६४ बाट निरन्तर सरकारमा रहँदै आएको माओवादी आजपर्यन्त ‘कुहिरोको काग’जस्तै रुमलिरहेको छ । यसको मुख्य जड र जग उसको कार्यकर्ता पंक्ति नै हो । सधैँ लडाइँ र विद्रोहको मात्रै प्रशिक्षण पाएका माओवादी कार्यकर्ताले परिवर्तित समाज र नयाँ युगको आवश्यकतालाई आत्मसात गर्नै जानेनन् । युद्ध जित्नलाई भनेर जम्मा गरेका विविध प्रकृतिका कार्यकर्तालाई नयाँ परिवेशमा समायोजन गर्न ढिला भएपछि माओवादीले धक्का व्यहोर्दै आइरहेको छ । उतिबेला आन्दोलन धान्न जस्ता मान्छे पनि जम्मा गर्नुपर्ने बाध्यताले हुन सक्छ, पुरानो सत्ताले दोषी करार गरेका फटाहा वा उपद्रो मच्चाएका विभिन्न खाले व्यक्ति र स्वतः स्फूर्त रूपमा आन्दोलनमा सहभागी इमानदार कार्यकर्ता सबैलाई एउटै भूमिका थियो । सायद उसले जसरी पनि आन्दोलन र युद्ध जित्नैपर्ने विवशता भएर होला । जब आन्दोलनको समापन भयो, तब उसका नेता कार्यकर्तामा विचलन आउन थाल्यो । मूलबाट उम्रिएका जो जो कार्यकर्ता थिए, सबैले आफ्नो स्वभाव अनुसारका रूप देखाउँदै गए । पदलोलुप र फटाहा संस्कृतिका मान्छेले माओवादी छाड्ने क्रम जारी छ, त्यसको बाछिटा एकाध इमानदारहरूमा समेत परेको देखिन्छ । 

आठ, साढे आठ लाख कार्यकर्ता रहेको दाबी गर्ने माओवादी पार्टीले अपेक्षाकृत मत हासिल गर्न सकेको पनि देखिँदैन । यस हिसाबले हेर्दा केन्द्रमा हल्ला–खल्ला र दबदबा सिर्जना गर्न सक्ने हैसियत राख्ने माओवादीको स्थानीयता कमजोर छ भनेर परिणामहरूले देखाएकै छन् । 

समाजवादी क्रान्तिको कार्यभार पूरा गर्न भन्दै संयुक्त मोर्चा र समाजवादी फोरमहरूसँग निकटता बढाउँदै गएको माओवादीले संसद्वादी दलहरूको प्रतिस्पर्धामा आफूलाई दह्रो गरेर उभ्याउन सकेको छैन । त्यस्तै उदाउँदै गरेका नयाँ राजनीतिक दलहरूको मुख्य तारो पनि माओवादी नै भएको छ । समानता र समृद्धिको परिकल्पना गर्ने तर त्यस अनुसारको संगठन र कार्यनीति तय गर्न निकै ढिला गर्ने उसको तौर–तरिकाले धमाधम कार्यकर्ता पलायनको मार खेप्दै आएको छ । सत्ता र सार्वजनिक लाभको पदमा बसेका कतिपय माओवादी नेतामाथि आर्थिक अपचलनको आरोप समेत लाग्ने गरेको छ । 

कुनै बेलाको प्रमुख दल खुम्चँदै सानो आकारमा परिणत हुँदा पनि सरकारको नेतृत्व गर्न पाएको अवसरलाई सदुपयोग गर्न माओवादी नेता कार्यकर्ता चुकिरहेका छन् । धैर्यता र आत्मविश्वासको कमी भएका नेता कार्यकर्तालाई ढाडस दिन चार महिने अभियान त्यति सफल भएजस्तो देखिएन । बरु संसद् र सामाजिक परिवेश समेतमा झिनो अंशमा रहेका राजावादी र राप्रपाजस्ता व्यक्ति र संस्थाले आफूलाई अब्बल साबित गर्न निर्धक्क उभिएका देखिन्छन् तर जबरजस्ती इतिहास र संघर्ष पार लगाएर आएका माओवादी वृत्तका मान्छे ‘नुन खाएका कुखुरा’जस्ता भएका छन् । माओवादी नेता कार्यकर्तालाई एउटै डर छ चुनाव हारिन्छ भन्ने, तिनलाई एउटा निर्वाचन हारेमा अर्को जितिन्छ भन्ने आत्मविश्वास पनि छैन । अनि पार्टी फुटाउने र पार्टी परिवर्तन गर्ने सबभन्दा धेरै भोक पनि माओवादी नेता कार्यकर्तालाई नै लाग्ने गरेको देखिन्छ । 

उपर्युक्त दृष्टान्तलाई केलाउँदा माओवादी पार्टीमा सापेक्षित इमानदार र लाटा–सोझा मान्छेको बाहुल्य रहेको बुझ्न सकिन्छ । अपवाद बाहेकका अब्बल र टाठा–बाठाको झुकाव पुराना संसद्वादी पार्टीमै रहेकाले सत्ताको अवयवमा माओवादीको सशक्त हस्तक्षेप वा भूमिका न्यून देखिन्छ । सरकारमा बसेर पनि सत्ता चलाउन नसक्दा माओवादीलाई परेको घाटा सबैले बुझेका छन् । 

सबभन्दा खड्किएको विषय आफ्नो गर्विलो इतिहास, विचार, पृष्ठभूमि हुँदा र राज्यलाई उसको आवश्यक हुँदा समेत सशक्त संगठन निर्माण गर्न नसकेर अवाक् बन्दै छ माओवादी ।

संघीयताका बारेमा छरिएका गलत भ्रमहरूको प्रतिवाद गर्न कार्यकर्तालाई नसिकाउने आदि जस्ता कारणले पनि माओवादीको लयलाई बिगार्ने गरेका छन् । खासमा खर्चको कारणले संघीयता बेठिक भनिँदै आएको छ । त्यसो हो भने तीनवटा तहका संघीयतालाई दुईमा झार्न सकिने भयो । आवश्यक नभएका कतिपय निकाय जस्तै जिल्ला समन्वय समिति खारेज गर्न सकिने भयो । त्यस्तै प्रतिनिधिसभा र राष्ट्रियसभाको जम्बो आकारलाई घटाउन सकिने भयो । कठिन आर्थिक अवस्थामा जनप्रतिनिधिहरूले बिना पारिश्रमिक काम गर्छु भनेर स्वघोषणा गर्ने जमर्को गर्नुप¥यो । सबै प्रकारबाट हिसाब गर्दा पनि आर्थिक भारले धानेन भने नयाँ तरिकाले समाधानको विकल्प खोज्ने जति पनि तरिका छन् तर मान्छेलाई अहिलेको भन्दा पहिल्यैकै व्यवस्था ठिक भनेर उत्तेजित बनाउने प्रयत्न भइरहेको छ । यतातर्फ पनि माओवादी पार्टीको तीनमहिने अभियानले ध्यान पु¥याउन सकेको देखिएन । 

त्यस्तै, माओवादीले उठान गरेको प्रत्यक्ष निर्वाचित कार्यकारी र विज्ञहरूको मन्त्रीमण्डल बनाउने व्यवस्था निकै पहिल्यैदेखि चर्चामा थियो । जसका कारण सांसद बन्न मरिहत्ते गर्ने र चुनाव जित्नलाई भ्रष्टाचार गर्ने प्रवृत्तिको अन्त्य भई सुशासन उन्मुख शृंखलाको सुरुआत हुन्छ भनेर सिकाउन पनि तीनमहिने अभियान कामयाबी हुन सकेको देखिएन ।

सधैँ लडाइँ र विद्रोहको मात्रै प्रशिक्षण पाएका माओवादी कार्यकर्ताले परिवर्तित समाज र नयाँ युगको आवश्यकतालाई आत्मसात गर्नै जानेनन् । युद्ध जित्नलाई भनेर जम्मा गरेका विविध प्रकृतिका कार्यकर्तालाई नयाँ परिवेशमा समायोजन गर्न ढिला भएपछि माओवादीले धक्का व्यहोर्दै आइरहेको छ ।

सबभन्दा खड्किएको विषय आफ्नो गर्विलो इतिहास, विचार, पृष्ठभूमि हुँदा र राज्यलाई उसको आवश्यक हुँदा समेत सशक्त संगठन निर्माण गर्न नसकेर अवाक् बन्दै छ माओवादी । पार्टीभित्र को आयो को गयो, कसको योगदान कति ? को आफ्नो, को अरुको भन्ने बहिखाता माओवादी पार्टी कार्यालयमा भेटिँदैनन् । निश्चित योजनाबिनै हावाको भरमा उम्मेदवार छान्ने, चुनाव लड्ने र अन्य कार्यक्रम गर्न तम्सिन्छ माओवादी, अनि हार व्यहोर्छ । चुनावमा हुने हार–जित र राजनीतिक मैदानमा नयाँहरूको उदय स्वाभाविक हो । विचार निर्माण, प्रतिस्पर्धा र समयबोध भएन भने राजनीतिक दलको अवसान रोकिँदैन । 

यस्ता बहस र विषयवस्तु जनता र कार्यकर्तामाझ लिएर जानुपर्नेमा माओवादी नेताहरूले आफ्नो अहंता र खुबी प्रस्ट्याउन सामाजिक सञ्जालहरूमा ‘स्टाटस’ ठोकेका ठोक्यै छन् । यसबाट बुझिन्छ, माओवादी पंक्तिमा पनि बुर्जुवा पार्टीकै धङधङी कायमै छ । उनीहरूलाई पक्कै थाहा छ, पार्टी बन्न कार्यकर्ता चाहिन्छ र कार्यकर्ता बनाउन विचार । विचार त देखियो माओवादीसँग तर जनतामा पुग्दै पुगेन । 

तीन महिना र थपिएको एक महिना समाप्त हुनै लाग्दा पनि जनतामाझ माओवादी बारेको भ्रम मेटिएको देखिएन । आशा गरौँ, थपिएका दिन र विधान महाधिवेशन हुँदै विशेष महाधिवेशनसम्मको यात्रा तय गरेको माओवादीले त्यसबेलासम्म आफूलाई जनताको पार्टीमा रूपान्तरण गरिसकेको हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राम्जी आचार्य
राम्जी आचार्य
लेखकबाट थप