शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चिलीमा नयाँ संविधानको लागि दोस्रो जनमत सङ्ग्रह

आइतबार, ०१ पुस २०८०, २१ : ०६
आइतबार, ०१ पुस २०८०

सान्टियागो । चिलीमा निरङ्कुश कालको संविधानलाई प्रतिस्थापन गर्ने उद्देश्यले दोस्रो जनमत सङ्ग्रहका लागि आइतबार मतदान हुँदैछ । 

सन् २०२२ को सेप्टेम्बरमा वातावरणीय संरक्षण र वैकल्पिक गर्भपतनको अधिकारलाई सुनिश्चित गर्ने प्रगतिशील मस्यौदालाई मतदाताले चौतर्फी रूपमा अस्वीकार गरेपछि विपक्षी रिपब्लिकन पार्टीले यसमा सामान्य सुधार गरेको थियो ।

स्थानीय समय अनुसार बिहान ८ः०० बजे सुरु भएको र साँझ ६ बजे समापन भएको मतदानको नतिजा केही घण्टा पछि सार्वजनिक हुने बताइएको छ ।

बामपन्थी राष्ट्रपति गेब्रियल बोरिकले गत महिना स्थिरता र दीर्घकालीन विकासमा ध्यान केन्द्रित गर्न संविधान संशोधनको यो अन्तिम प्रयास हुने बताएका थिए ।

जनमत सङ्ग्रहको दुई हप्ता लामो दौडान प्रतिबन्ध लगाइएका सर्वेक्षणहरूले अर्को अस्वीकृतिको भविष्यवाणी गरेका छन् ।

निरङ्कुश सैन्य शासक अगस्टो पिनोचेटको समयमा लेखिएको सन् १९८० को संविधानलाई पुनर्लेखन गर्ने प्रक्रिया अक्टोबर २०१९ मा सामाजिक असमानताविरुद्ध सुरु भएको जनप्रदर्शनलाई कम गर्ने प्रयासको रूपमा सुरु भएको थियो ।

सन् २०२० को जनमत सङ्ग्रहमा ८० प्रतिशतले संविधान प्रतिस्थापनको पक्षमा मतदान गरेका थिए ।

यद्यपि, प्रदर्शन सुरु भएको चार वर्षपछि महामारी, मुद्रास्फीति र आर्थिक स्थिरता, बढ्दो असुरक्षाको भावना र मतदाताको थकानका कारण उत्साहमा कमी आएको विश्लेषकहरू बताउँछन् ।

युनिभर्सिटी अफ चिलीका राजनीतिशास्त्री क्लाउडिया हेइसले भने, “संवैधानिक मुद्दाप्रति ठूलो मोह भङ्ग, थोरै चासो, थोरै प्रेरणा र थकानको वातावरण छ ।”

उनले थपे, “नागरिकहरू सुरक्षा, सार्वजनिक व्यवस्था, सडकमा थप प्रहरी, धेरै असामान्य जीवनको केही वर्षपछि सामान्य अवस्थामा फर्कन अझ आधारभूत कुराहरू चाहन्छन् ।”

सन् २०२१ को अन्त्यमा चिलीको सबैभन्दा कान्छो नेतामा ३५ वर्षको उमेरमा निर्वाचित हुन सार्वजनिक असन्तोषको लहरबीच सत्तामा आएका बोरिकविरुद्ध जनमत सङ्ग्रहका रुपमा विपक्षीले यो मतदानलाई प्रस्तुत गरेका छन् ।

चिलीको अति दक्षिणपन्थी रिपब्लिकन पार्टीले पुनर्लेखन समितिका सदस्यहरू छान्न राष्ट्रव्यापी मतदानमा पहिलो स्थान हासिल गरेपछि बोरिकलाई मे महिनामा धक्का लागेको थियो ।

सन् १९८० को संविधानले कम्पनीहरू र सम्भ्रान्तवर्गलाई गरिब, श्रमजीवी वर्गको खर्चमा आफूलाई समृद्ध बनाउन सहयोग गरेको आरोप व्यापक रूपमा लगाइएको छ ।

पहिलो पुनर्लेखनमा आदिवासी अधिकारको लागि बलियो संरक्षण, खानेपानी जस्ता प्राकृतिक स्रोतहरूको संरक्षणको प्रस्ताव, र महिलाहरूले सार्वजनिक संस्थाहरूमा कम्तिमा आधा पद धारण गर्नु आवश्यक थियो ।

हेइसका अनुसार पछिल्लो पुनर्लेखन विशेष गरी गर्भपतन र सार्वजनिक सुरक्षाजस्ता विषयमा सन् १९८० को संविधान र अधिकारका बारेमा बढी परिस्कृत छन् ।

नयाँ संस्करणको उद्देश्य गर्भाधानदेखि बाँच्न पाउने मानवीय अधिकारलाई स्थापित गर्नु हो, जसलाई कतिपय कानूनविद्हरूले विद्यमान कानूनहरूमाथि चुनौती निम्त्याउन सक्ने पनि बताएका छन् ।

चिलीमा सन् २०१७ सम्म गर्भपतनमा प्रतिबन्ध लगाइएको थियो । तर पछि आमाको जीवन जोखिममा रहेको वा भ्रुणलाई अव्यवहारिक घोषित गरिएको बलात्कारजन्य घटनामा गर्भपतनलाई अनुमति दिइएको थियो ।-(रासस/एएफपी) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप