मान्छेसँग प्रत्यक्ष भेटघाट गर्दा बढ्छ ह्याप्पी हर्मोन
काठमाडौँ । अहिले अधिकांश मानिस सामाजिक सञ्जालको ‘एडिक्ट’ भएका छन् । मान्छेहरु आफ्नो बहुमूल्य समय सामाजिक सञ्जालमा रिलहरु हेरेर बरबाद गरिरहेका छन् ।
केहीमा त सामाजिक सञ्जालको यति नराम्रो लत छ कि शौचालय जाँदा पनि मोबाइल नबोकी जाँदैनन् । अरुको कामको त के कुरा गर्नु आफ्नै कामको लागि पनि मान्छेसँग पर्याप्त समय छैन । सामाजिक सञ्जालमा सक्रिय प्रयोगकर्ताको संख्याले पनि यही कुरातर्फ इशारा गर्छ । फेसबुकको मात्रै सक्रिय प्रयोगकर्ता संख्या ३ अर्ब ३ करोड छन् । युट्यूबमा २ अर्ब ४९ करोड, ह्वाट्स एपमा २ अर्ब, इन्ष्टाग्राममा २ अर्ब छन् ।
जर्मनीमा भएको एउटा अनुसन्धानका अनुसार सामाजिक सञ्जाल नचलाउँदा मान्छेले आफ्नो काम गर्न धेरै समय पाउँछन् । अध्ययनका अनुसार दिनभरमा ३० मिनेटभन्दा कम सामाजिक सञ्जाल चलाउँदा मानसिक स्वास्थ्य र जागिरमा सन्तुष्टिमा पनि सुधार भएको पाइयो । यसको लगातार प्रयोग गर्नेमा भने काममा एकाग्रता गर्न मुस्किल भएको भेटियो । सामाजिक सञ्जाल कम चलाउनेलाई कामको बोझ पनि कम भएको महसुस भएको पाइयो । साथै फोमो अर्थात् फियर अफ मिसिङ आउटको डर पनि कम पाइयो ।
विश्वको करीब ५ अर्ब १९ कारेड मान्छे सामाजिक सञ्जाल चलाउँछन् । किशोर किशोरीसमेत ६० प्रतिशतभन्दा धेरै युवा यसका सक्रिय प्रयोगकर्ता छन् । सामाजिक सञ्जाल जिन्दगीको महत्त्वपूर्ण हिस्सा बन्दै गइरहेको छ । तर यसको कुलतमा फस्नु हुन्न । सामाजिक सञ्जालमा धेरै समय बिताउँदा आपसी सम्बन्ध, बालबच्चा हुर्काउने तरिका र स्वास्थ्यमा के कस्ता असर पर्छन् र यसबाट कसरी बच्ने भन्नेबारे आजको यस लेखमा हामी कुराकानी गर्नेछौं ।
उमेर चाहे जुनसुकै होस् मोबाइलमा धेरै समय बिताउनु कसैको लागि पनि ठिक होइन । मोबाइलले मान्छेहरुलाई एक्लाएक्लै बनाइदिएको छ । सामाजिक बन्दा, साथीभाइ आफन्तसँग प्रत्यक्ष भेटघाट, कुराकानी भइरहँदा शरीरमा एन्डोर्फिन हर्मोन रिलिज हुन्छ । शरीरमा एन्डोर्फिन हर्मोन सन्तुलित रहँदा मन खुसी रहन्छ अनि मान्छे स्वस्थ पनि हुन्छ । त्यसैले यसलाई ह्याप्पी हर्मोन पनि भनिन्छ । शरीरमा यो हर्मोनको अभाव भयो भने मान्छे दुखी रहन थाल्छ ।
मोबाइल र २४ सैं घण्टा इन्टरनेटको पहुँचका कारण सामाजिक भेटघाट पातलो बनेको छ । कतै खानपिन गर्न वा घुम्नै गएको छ भने पनि मान्छेहरु मोबाइलमै व्यस्त भइरहन्छन्, एक अर्कासँग कुराकानी समेत गर्दैनन् । हरेकको जीवन अहिले डिजिटल बन्दै गइरहेको छ । हरेक भावनाहरु इमोजीमार्फत व्यक्त भइरहेका छन् । जिन्दगी जति डिजिटल बन्दैछ शरीर उत्तिनै रोगको घर हुँदै गइरहेको छ । सामाजिक सञ्जालको लतले जिन्दगीमा अनेकौँ असर पारिरहेको छ ।
शारीरिक असरः
ट्रिगर थम्बको समस्या
सर्वाइकल स्पांडिलाइटिस
आँखा कमजोर हुँदै गइरहेको छ
शरीरमा पीडा
अनुहार झ्याउरो देखिनु
एउटै ठाउँमा बसिरहँदा मोटोपनाको समस्या
बोसो बढ्दा मधुमेह, बीपी, कार्डियाक अरेस्टको जोखिम
मानसिक असरः
स–सानो कुरमा चिढिने
अनजान वा परिचित मान्छेसँग इरिटेट हुने
निद्रा नलाग्ने
तनाव भइरहने
नकारात्मक सोच आइरहने
बारम्बार मोबाइलमा हेरिरहने बानी
सामाजिक असरः
सम्बन्धमा दूरी बढ्ने
तुलना गर्ने प्रवृत्तिमा वृद्धि
बच्चाको हेरविचार स्याहार सुसार राम्रोसँग नहुने
असुरक्षाको भावना
अरुभन्दा पछाडि परिने हो कि भन्ने भय
बच्चाहरुमा भर्चुअल अटिज्मको समस्या
शरीरमा एन्डोर्फिन हर्मोन रिलिजका लागि के गर्ने
सामाजिक रुपमा जोडिएर रहनुस् । साथीभाई आफन्तलाई भेट्नुस् । कुराकानी गर्नुस् । परिवारमा मिलेर बस्नुस् । खुसी रहनुस् वा खुसी रहने कोशिश गर्नुस् । योग र व्यायाम गर्नुस् ।
सामाजिक सञ्जालको कुलतबाट छुट्कारा पाउने तरिका
· केही दिन सामाजिक सञ्जाल डिटक्समा जानुस् । मोबाइलबाट सारा एपहरु हटाइदिनुस् । आकस्मिक कुराकानीका लागि मात्रै फोन चलाउनुस् ।
· मोबाइलमा सकेसम्म सामाजिक सञ्जाल नचलाउनुस् ।
· धेरै जरुरी नभएका एपहरुको नोटिफिकेशन अफ गरिदिनुस् । यसो गर्दा फोन बारम्बार बिप हुन्न अनि फोन चेक गरिरहने बानी हटाउन पनि सहयोग मिल्छ ।
· सामाजिक सञ्जालबाट जरुरी जानकारी लिन खास समय तय गर्नुस् । यसो गर्दा तपाईको कामको प्रडक्टिभिटी प्रभावित हुँदैन ।
· रमाइलो गर्ने तरिका बदल्नुस् । रमाइलोकै लागि सामाजिक सञ्जाल चलाउने वा रिल्स हेर्न बन्द गर्नुस् । किताब पढ्नुस् ।
· घरपरिवारका सदस्य र साथीभाइसँग सामाजिक सञ्जालमा कुराकानी गर्नबाट बच्नुस् । सकेसम्म प्रत्यक्ष भेटघाट गर्नुस् । यसो गर्दा ह्याप्पी हर्मोन रिलिज हुन्छ ।
· दिनभरमा आधा घण्टा मात्रै भएपनि आफ्नो लागि छुट्याउनुस् । यति बेला आफ्नो वर्तमान भविष्य र खुसीबारे सोच्नुस् ।
· आफूलाई मनपर्ने रुची, बानीको विकास गर्नुस् । गीत गाउने, नाच्ने, खेलकुद वा चित्रकारिता आदि केही रुचीलाई दैनिक जीवनमा पनि उतार्नुस् ।
· घरमा सबैका लागि नियम बनाउनुस् । जस्तै खाने बेलामा मोबाइल चलाउन नपाइने । फोनलाई सुत्ने कोठामा लैजान नपाइने आदि ।
· बिहान चाँडै उठ्ने बानी बसाल्नुस् । दौडिनुस्, योगा र व्यायामलाई दैनिकीमा समावेश गर्नुस् । स्वस्थ भोजन खानुस् । दिनमा एउटा मौसमी फल खानुस् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण