बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
यात्रा–निबन्ध

कति हर्ष, कति गर्व

शनिबार, ०७ पुस २०८०, १० : ०४
शनिबार, ०७ पुस २०८०

‘उनीहरूको भाषा नबुझे पनि बहुतै खुसीले कुरा गरिरहे जस्तो लाग्यो । खासमा ती फ्रेन्चहरू किन, के कुरामा मस्तले हाँसिरहेका र गर्वले यति हर्षित भएका हुन् ? मलाई जान्ने जिज्ञासा भयो ।’ मैले फ्रेन्च गाइड समक्ष सविनय निवेदन गरेँ । 

‘उनीहरू एभरेस्ट बेस क्याम्प टुर सोचेभन्दा सहज र अत्यन्तै रोमाञ्चक भएकोमा रमाइरहेका हुन् ।’ भन्दै उनले थप जानकारी दिँदै भने– ‘हामी १८ दिनको टुर सकेर लुक्ला फर्किंदै छौँ । यी फ्रेन्च पर्यटकहरूले लामो यात्रा यति सजिलो र सुन्दर होला भन्ठानेका थिएनन् । तर साँच्चै यात्रा सुखद रह्यो । हाम्रा हिमाल, पहाड, खोलाखहरे देखेर साह्रै रमाएका छन् उनीहरू ।’

सुन्दरता र अपनत्वले आत्मीय स्वभाव र मिठो सुगन्ध थपिदिने रहेछ । जहाँ मात्र खानुको भोकसमेत भाग्छ । तर त्यहाँ हेर्नु र देख्नुको भोक जाग्छ । देखियो यसरी हर्षले रमाइरहेका मुहार । सुनियो हाँस्दै बोलिरहेका बोली । मान्छे नचिनेर के भो र ? भाषा नबुझेर पनि केही हुन्न रहेछ । मानवीय हाउभाउको हार्दिकता कति प्रेमिल र स्नेहासिक्त । वास्तवमा हाम्रा हिमाल, पहाड, खोलानाला पर्यटक लोभ्याउने सौन्दर्यका खानी नै हुन् । 

पर्यटकहरू रमाउँदै आराम गरिरहेका, खाइरहेका, हेर्दै हिँडिरहेका । यात्रारत् यात्रीका यस्ता दृश्यहरू बाटामा धेरै देखिए । गन्तव्य पुगेर फर्किनेहरूको मुहारै उज्यालो । त्यहाँ झल्किएको खुसीले उत्साह थपिदिने रहेछ । जानेहरूको उत्साहले वेग मार्ने रहेछ । अल्छे पैतालाहरूलाई पुग्नुको भोक जगाइदिने रहेछ ।

अतः विश्वको सबैभन्दा उत्कृष्ट पदयात्रा मार्ग यो त्यत्तिकै कहाँ भएको हो र ! यात्रीलाई कति हर्ष र कति गर्व ।

बाटाभरि जताततै सौन्दर्यमय छटाहरूले स्वागत गरिरहेपछि । मायालु हावाले चुम्न आएपछि । प्रत्येक दृश्यमा मनमोहक प्रकृतिलाई आँखैमा राख्न पाएपछि । पहाडी उचाइका यी उन्नत पाटाहरूलाई हृदयमा सजाउने मौका मिलेपछि । बजेट अनुसारको खाने र बस्ने सुविधा मिलिहाल्छ । अनि अरू के चाहियो र घुमन्ते प्रकृतिप्रेमी यात्रीलाई ?!

भर्खरै लामो झोलुङ्गेपुल तर्दा तल कोशीको भेल र गहिराइ देखेर मेरो सात्तो गएको थियो । वारि आएर पारि नियाल्दा फाक्दिङको विछट्टका घरहरूको सुन्दरताले गएको सात्तो स्वतः फर्कियो । यता पनि त्यस्तै चिटिक्कका पाहुना घरहरू । प्रकृति आफैँ सिँगारिएको वातावरणमा मानवीय संरचनाको मौलिक स्वरूपले बिझाउँदैन । मन तृप्त हुने कैयौँ अवस्थितिहरू छन् । रङ्गीचङ्गी रूप र सुगन्धले ओतप्रोत फूलहरूको स्वागत त्यस्तै, घरबेटीहरूको मिजास उस्तै । एकैछिनको भलाकुसारीमा पनि पाहुनापासको बोलीको लोली भने जस्तै ।

जानुपर्ने कहाँ हो, पुग्नुपर्ने गन्तव्य कता हो ? प्रकृतिको काखमा लुटुपुटु गर्दै बाटो भुलिरहेछन् यात्रीले । मन माफिकको दृश्य देखेपछि गन्तव्य बिर्सिरहेछन् बटुवाहरूले । म आफैँ पनि लट्ठ छु दृश्यमान सुन्दरताका सुकुमारी स्वरूपहरूमा । हुन पनि मन रमाएपछि, आँखा लोभिएपछि जानुको के हत्तार ? छिटो पुग्न पाइला लम्काउनुको के सास्ती ? 

बाटाभरि जताततै सौन्दर्यमय छटाहरूले स्वागत गरिरहेपछि । मायालु हावाले चुम्न आएपछि । प्रत्येक दृश्यमा मनमोहक प्रकृतिलाई आँखैमा राख्न पाएपछि । पहाडी उचाइका यी उन्नत पाटाहरूलाई हृदयमा सजाउने मौका मिलेपछि । बजेट अनुसारको खाने र बस्ने सुविधा मिलिहाल्छ । अनि अरू के चाहियो र घुमन्ते प्रकृतिप्रेमी यात्रीलाई ?!

यत्ति हो खोजेको सुख र शान्ति । यति नै हो टाढाबाट आउनुको उपलब्धि । केवल प्रकृतिसँग साक्षात्कार हुनुको सौजन्य । प्रकृतिसँग संवाद गर्दै यात्रामा आल्हादित हुँदै हिँड्नुको मज्जा । कति हो कति प्रफुल्लित मन हुनुका क्षणहरू । रूखो भूमि, चिसो तापमान, एकलासको यात्रा र अनकन्टारको गन्तव्य कदापि होइन रहेछ ‘सगरमाथा आधार शिविर’को यात्रा । पाइला पाइलामा रूप–सौन्दर्य आभाहरूको उपस्थिति । थाकेर चुर हुँदासम्म पनि तिनै स्वरूपहरूले मालिस–मसाज गर्दै भनेजति आनन्द दिनेरहेछ । 

ऊर्जा उमार्दै हिँड्नु र हिँडिरहनुको गति उस्तै । देख्नु र देखिरहनुको विरानो सुन्दरतासँग चिनारी गाँस्नुको अलग्गै सिलसिला त्यस्तै । यस्तो रमाइलो यात्रामा गलेर कहाँ लम्पसार पर्नु । यति मजाको पैदलमार्गमा कहाँ हराएर अलपत्र पर्नु । परन्तु छिन छिनमा अल्मलिन्छ आँखा वारि र पारिका फाँटहरूमा । अनि मन पनि त्यतै दौडिन्छ रमाउँदै ।

हरियालीको सुगन्धमा लट्ठिँदै पानीमा चोबलिन पुग्छ । धुपीसल्लाका उचाइमा अग्लिन थाल्छ । अक्करे भिरपहरामा बुर्कुसी मार्न थाल्छ । हिमचुलीका चुचुरामा चिसिन होइन न्यानोपनको अनुभूति सँगाल्न थाल्छ ।

कहाँ मिल्नु र यति प्रीतिकर प्रकृति रमणका स्वच्छ पर्यावरण ? फेरि कहिले आउनु र यी सुन्दरतासँग आँखा जुधाउन ? बल्ल प्राकृतिक पखेरामा मन रमाउन पाएको छ । कुनै किसिमको प्रदूषणले नछोएको प्रकृतिमा श्वास–प्रश्वासको प्रवाह दीर्घ जीवनको प्राप्ति हो । धन्न यस्तो लेकाली परिवेशको अनुभूतिमा अघाउँजी हुन पाइएको छ ।

जहाँ घना जङ्गलको शीतल सुसेली छ । जहाँ झरना, खोलाखहरेको सुमधुर गुञ्जन सुनिन्छ । अनेक पशुपन्छीहरू निर्धक्क चरनमा रमाइरहेको देखिन्छ । जहाँ हार्दिक मनले मित्रवत् बोली र व्यवहारको शिष्टाचार पाइन्छ । कहिल्यै नभेटिएको र नचिनिएको तथापि छिनभरको भेटमा पनि आत्मीयताको आभास महसुस हुन्छ ।

लुक्लाबाट पाइला चालेपछि एकपछि अर्को दृश्यहरूले आकर्षित पारिरहे । आँखालाई लोभ्याउँदै भुलाइरहे । मनलाई आनन्द दिएर अल्मल्याइरहे । तर यो अलमल व्यर्थको बिनासित्तीको थिएन । हेरेर दिन कटाउनु उपलब्धिहीन भएन । हिँडेर पाइला चाल्नु र थाकेर शरीर गलाउनु अर्थहीन थिएन ।

धन्य मेरो देश, धन्य प्रकृति, पहाडी तरेली र हिमाली छटा–छविहरू । त्यसैले त दूर देशका पाहुनाहरू निम्तै नदिई ओइरिइरहेछन् । निम्तो दिए झन् कति थपिन्थे यी पदमार्गमा ? हेरेर भ्याइनसक्नुका प्रकृति मात्रै होइन हिँड्दा बाटो पाइनसक्नु यात्रीको खचाखच त्यतिकै । यात्रीको निरन्तर चहलपहलले एकान्त प्रकृति सधैँ चलायमान, सधैँ जागा, सदा गतिमान भइरहँदोरहेछ ।

जहाँ घना जङ्गलको शीतल सुसेली छ । जहाँ झरना, खोलाखहरेको सुमधुर गुञ्जन सुनिन्छ । अनेक पशुपन्छीहरू निर्धक्क चरनमा रमाइरहेको देखिन्छ । जहाँ हार्दिक मनले मित्रवत् बोली र व्यवहारको शिष्टाचार पाइन्छ । कहिल्यै नभेटिएको र नचिनिएको तथापि छिनभरको भेटमा पनि आत्मीयताको आभास महसुस हुन्छ ।

दूधकोशीको किनारैकिनार हिँडिरहेछन् यात्री । दूध पोखिए जस्तै सेताम्मे नदी भएर बगिरहेछ दुधकोशी । कहिले देब्रे किनार, कहिले दाहिने किनार हुँदै दुधकोशीलाई पछाडि छोडेर अगाडि हिँडिरहेछु म । एकनासका जङ्गल जति छिचोले पनि सकिँदैन । तिनै जङ्गलकै माझमा घरहरू झुरुप्प देखिन्छन् । पैदलमार्ग र आकाशमार्ग भएर यात्रीहरू यात्रामा छन् । 

gyanendra  (2)

पर क्षितिजबाट चियाइरहेका हिमालले पाइलैपिच्छे स्वागत गर्छ । साँझ ढल्किने तर्खरमा छ । आकाशमा जून उदाइसकेको देखिन्छ । जङ्गली सुगन्धले बेग्लै तृप्तिको स्वाद चखाइरहन्छ । आँखामा दृश्यको सुन्दरताले मन स्पन्दित भइरहन्छ ।

जाँदाजाँदै कतिथरी बोटबनस्पति भेटिए । कति किसिमका बाटा टेकिए । सहरी सुविधाका कति घरहरू होटल, लज, रेस्टुरेन्ट भेटिए । जहिले र जहाँ पनि राम्रोले मन खिच्दोरहेछ । राम्रोपन सबैको चाहना हुँदोरहेछ । नराम्रो दृश्य, नराम्रो कुरा कसले हेर्न र सुन्न चाहन्छ र ? सजिएर, सिँगारिएर अरूभन्दा अलग्ग सुन्दर र राम्रो हुने इच्छा सबैको स्वभाव हो । त्यसैले सबै राम्रोपनमा लोभिन्छन् यो स्वाभाविक हो । तर प्रकृति आफैँ सुन्दर र शान्त छ  सधैँ ।

राम्रो मन हुनु, राम्रो कुरा सुन्न पाउनु, राम्रो दृश्य देख्न पाउनु सौभाग्यको सुहाग । अँध्यारोमा प्रज्वलित  दीपको अनुराग जस्तै । नराम्रो कसैलाई मन पर्दैन । फूल सबैलाई मन पर्छ । सुन्दरता सबैले मन पराउँछन् । माया गर्छन् । तारिफ गर्छन् । जीवन घामको न्यानो सद्भाव त्यहाँ पाइन्छ । अनि हामीलाई आनन्दको सुख र शान्ति मिल्छ । यही राम्रो कुरा हेर्न मरिहत्ते गरेर पर्यटकहरू हरेक दिन यता भित्रिन्छन् । 

gyanendra  (3)

अन्ततः जीवन सार्थक बाँच्ने संस्कृति पहाड, प्रकृति, हिमालको सुन्दरता रहेछ । हिमालले सिकाएको दर्शन भन्नु स्वाभिमानी जीवन, शान्त र शीतल स्वभाव हो । त्यसैले हिमाल र पहाडको संस्कृति संसारको सर्वाेच्च सौन्दर्य र समृद्ध संस्कृति हो । यो यथार्थ उहिल्यै हाम्रा पुर्खाहरूले महसुस गरेका हुन् । तर हामीले भुल्दै गयौँ । सात समुन्द्र परका पर्यटकहरूले यी कुरालाई आत्मसात् गरे र उनीहरू हाम्रा हिमालसँग बारम्बार लोभिँदै, नजिकिँदै आइरहेछन् । उनीहरूलाई हर्ष, हामीलाई गर्व छ ।
क्रमशः
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्ञानेन्द्र विवश
ज्ञानेन्द्र विवश
लेखकबाट थप