आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय
बालकुमारी घटना

बालकुमारी आन्दोलनमा दुई युवाको मृत्यु, छानबिन समिति गठन

किन भयो आन्दोलन ?
शुक्रबार, १३ पुस २०८०, १७ : १२
शुक्रबार, १३ पुस २०८०

काठमाडौँ । बालकुमारी घटनामा घाइते भएका अर्का युवाको पनि मृत्यु भएको छ ।  कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएको आक्रोशमा भएको आन्दोलनमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवा वीरेन्द्र शाहको मृत्यु भएको हो । उनको उपचारका क्रममा पाटन अस्पतालमा मृत्यु भएको हो ।

यसअघि अर्का युवा सुजन रावतको पनि किष्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । 

प्रहरीका प्रवक्ता कुवेर कडायतले आन्दोलनको क्रममा उनीहरु घाइते  भएको र उपचारका क्रममा मृत्यु भएको बताए । प्रदर्शनमा उत्रिएका युवाहरुले सडक अवरुद्ध पार्दै सवारीसाधनमा आगजानी गरेका थिए ।

प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडी रोकेर उनीहरुले शुरुमा हावा खुस्काएका थिए । लगत्तै उनीहरुले गाडीमा आगजनी समेत गरेका थिए । 
सो घटनामा ५० जना भन्दा बढी पक्राउ परेका छन् । 

किन भयो आन्दोलन ?

रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका हुन् । शुक्रबार बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन थालेका थिए । उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । 

ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । तर त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

यो विषयमा उच्च अदालत पाटनमा  मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो ।

तर १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका हुन् ।

ईपीएस कोरिया शाखा कार्यालयका निर्देशक गुरूदत्त सुवेदीले अदालतको आदेश अनुसार १८ जनालाई आवेदन फाराम भर्न सहभागी गराएको बताए । अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको उनको भनाइ छ । 

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको छ । 

छानबिन समिति गठन 

यसैबीच बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ।  मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक (डीआईजी) लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । 

समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।  

मन्त्रालयका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार अप्रत्याशित रुपमा घटेको उक्त घटनाका सम्बन्धमा छानविन गरी सत्यतथ्य पत्ता लगाउन समितिलाई सात दिनको कार्यादेश दिइएको छ ।  

मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ ।  यस अवस्थामा संयमता अपनाइ शान्ति कायम गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ । 

के भन्छन् ज्वाला ?

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफू र आफ्नो मन्त्रालयको कुनै सरोकार र संलग्नता नरहेको बताएका छन् ।  एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री ज्वालाले घटनाप्रति दुःख व्यक्त गर्दै नहुनुपर्ने घटना भएको बताए ।

‘यो घटनामा मेरो र मेरो मन्त्रालयको कुनै सरोकार र सम्बन्ध छैन’, मन्त्री ज्वालाले भने, ‘बालकुमारी क्षेत्रमा जुन घटना भयो र हाम्रो गाडीमा समेत आगजनी भयो यसमा दुख व्यक्त गर्छु ।’ उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताए ।

‘गाडी मन्त्रालयमा गइरहेको बेला गाडी रोकियो, हावा खुस्काइयो र जलाइयो । विना कारण, विना सम्बन्ध । जो र जसको सरोकार थियो त्यो एउटा विषय होला हाम्रो गाडीमा आगजनी गर्नुपर्ने कारण थिएन, सरकारी सम्पत्तिमा क्षति पुर्‍याउने कुरा खेदजनक छ’, मन्त्री ज्वालाको भनाइ छ । 

अदालतको आदेश

यसैगरी उच्च अदालत पाटनले सिप बिल्डिङमा आवेदन दिएकाहरू सबैलाई ईपीएस परीक्षामा सामेल गराउन आदेश दिएको छ । गणेश राई लगायतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश चन्द्रमणी ज्ञवालीको एकल इजलासले सबैलाई आवेदन भर्न दिन र परीक्षा प्रक्रियामा सहभागी गराउन आदेश जारी गरेको हो । 

आदेशमा भनिएको छ,‘...निवेदकहरू लगायत निवेदक सरहका समान प्रकृतिका इच्छुक व्यक्तिहरूलाई उल्लेखित मिति २०८०।८।१९ को सूचना बमोजिम मिति २०८०।९।२ बाट खुल्ला गरिएको आवेदन फारम भर्न रोक नलगाउनु र परीक्षा आवेदन फाराम भर्न दिनु दिलाउनु भनी विपक्षीहरूको नाउँमा उच्च अदालत नियमावली, २०७३ को नियम ४२(१) बमोजिम अन्तरिम आदेश जारी गरिदिएको छ । प्रस्तुत आदेशको जनाउ विपक्षीहरूलाई दिई नियमानुसार गर्नू ।’

अदालतको आदेशसँगै उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएका सबैले पाउनेछन् । यसअघि सीप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूले उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाउने भनिएको थियो । त्यसका विरुद्धमा सुरज पाठकसहित १८ जनाले उच्च अदालत पाटनमै मुद्दा हालेका थिए । अदालतले उनीहरूलाई आवेदन प्रक्रियामा सहभागी गराउन भन्दै अन्तरिम आदेश जारी गरेको थियो । सोही आधारमा १८ जनाले आज आवेदन फाराम भनेका थिए भने अन्यले भर्न नपाएपछि आन्दोलन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप