शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

डाक्टरका प्रेरणादायी प्रसङ्गहरू : गर्भको गर्व

शनिबार, १४ पुस २०८०, १४ : ४२
शनिबार, १४ पुस २०८०

‘बुडो छाती दुख्न थालेको छ । पेट पनि दुख्दैछ,’ दयालु भावमा श्रीमतीले भनिन् । श्रीमतीको कुरा सुनेर मैले भने, ‘भोलि अफिस छुट्टी लिनु डाक्टरकोमा जानु पर्छ ।’ अफिस छुट्टी नमिलेका कारण डाक्टरकोमा जाने समय भएन । अर्को दिन पनि श्रीमतीले त्यही कुरा दोहो¥याइन् । कुरै कुरामा उनले भनिन्, ‘सायद बच्चा पो भयो कि ? एक पटक चेक गर्ने हो कि ?’ 

मैले रुखो जवाफ दिएँ, ‘हेर अहिलेसम्म किट किनेको पैसा जम्मा गर्ने हो भने ५० हजार सकियो होला दुईवटा धर्को कहिल्यै देखाएको होइन के कुरा गरेको ?’ मेरो रुखो जवाफ सुनेर श्रीमती नाजवाफ भइन् । किनकि विवाह गरेको ५ वर्ष बित्न लाग्यो । घर, गाउँले आफन्त, साथीभाइले सोधीखोजी उत्तिकै छ । आफ्नो चाहना बढिहरेको छ । अस्पतालमा दुई दुई पटक आइभिएफ गर्दा असफल भएको बिर्सिएको छैन । डाक्टरले अत्यधिक हर्मन बढेका कारणले प्राकृतिक हिसाबले र औषधीले मात्रै बच्चा हुने सम्भावना छैन भनेको कुरा कानमा गुञ्जिरहेकै छ । यद्यपि आशाको त्यान्द्रो रहेको कारण श्रीमतीजीको कुरालाई शिरोधार्य गर्दै ९० रुपैयाँको किट लिएर साँझ ९ बजे घर पुगियो । ‘बिहान चेक गरौँला, बिहानको चेकजाँच चाहिँ सही हुन्छ रे,’ उनले भनिन् । 

भोलिपल्ट बिहानको ४ बजेको थियो । श्रीमती (बुडो.... या.या..या..या...या.. हि...हि...हि...) चिच्याउँदै, कराउँदै, अत्यासलाग्दो तरिकाले विस्तारामा आइन् । पुसको चिसो जाडोमा ओडेको सिरक हटाइदिइन् र ममाथि आक्रमण गर्दै उनले भनिन्, ‘यहाँ हेर्नु ।’ 

उनले देखाएको किटमा दुईवटा धर्को थियो अर्थात् पोजिटिभ । ब्लड चेकजाँच गर्दा पनि गर्भ रहेको पुष्टि भयो । अनेकौँ प्रयासका बाबजुदबिना औषधी सेवन, कसैको सल्लाहबिना, हुँदैन भनेको मान्छेको गर्भमा गर्भ बस्यो । यो हदैसम्मको खुसी थियो । गर्भको गर्व कस्तो हुन्छ भन्ने उदाहरण मेरी श्रीमती स्वयं छिन् । सायद अहिले उनी बेलाबेला आफ्नो पेटमा बच्चा रहेको सम्झेर मुस्कुराइरहेकी छिन् । म पनि बेलाबेला मुस्कुराइरहेकै छु ।

यी र यस्तै अनुभूतिजन्य विषयवस्तुलाई समेटेर डाक्टर बालकृष्ण साहले लेखेको पुस्तक हो, ‘गर्भको गर्व’ चिकित्साशास्त्र अन्तर्गत एमबीबीएस तथा डिजियो र जनस्वास्थ्यमा एमीपएच गरेका डाक्टर साहले लेखेको उक्त पुस्तकमा नेपाली समाजमा गर्भको नाममा भइरहेको स्त्रीमाथिको अत्याचारका साथै दूरदराजमा स्वास्थ्य उपचारको अभावले रोग पालेर बाँचिरहेका महिलाको विषय उल्लेखित छन् ।

पाँच वर्षअगाडि बिदेसिएको बुबा घर आउँदा महिनामारीको कारणले अँगालो हाल्न त के राम्रोसँग कुराकानी गर्न र रमाउन नपाउँदा छोरी विनिताले गर्ने अनुभूति समेटर डाक्टर साहले लेखेको ‘छोरी किन भएछु ?’ शीर्षकको कथा होस् या अनायसै बसेको गर्भपतन गराउन जाँदा अमृताले व्यहोरोको दुःखको कथा हुन् । सबै वास्तविकतामा आधारित छन् । डाक्टर साहले लेखेको कथाहरू पठनीय मात्रै छैनन्, मर्मस्पर्शी र नीतिगत तहमा सुधार गर्न राज्यका निकायलाई घचघच्याउने खालका छन् । 

मनोरञ्जनका लागि मात्रै होइन, सामाजिक विभेद र महिलामाथि हुने गरेका हिंसालाई निरुत्साहित गर्ने सन्देश दिन पनि यो पुस्तकका पाठकहरूले पढ्नुपर्ने देखिन्छ । त्यसका साथै डाक्टर साहले दिएका स्वास्थ्यसँग सम्बन्धित हरेक कुरा जानकारीमूलक, हरेक नवदम्पत्तीका लागि उत्तिकै उपयोगी र ग्रहणीय छन् । 

डाक्टर साहले प्रसूति सेवामा आफूले (डाक्टरहरूले) गरेको महत्त्वपूर्ण योगदान पनि सशक्त ढङ्गले प्रस्तुत गरेका छन् । जुम्ल्याहा बच्चा गर्भमा रहेको बेला एउटा बच्चाको पेटमै मृत्यु भइसक्दा पनि अर्को बच्चालाई सकुशल जन्मदिन आफूले गरेको प्रयास र एक आमा (प्रीति) ले ज्यान माया मारेर जन्माएको शिशुलाई काखमा लिन पाउँदाको गर्वलाई गर्विलो ढङ्गले नै पुस्तकमा प्रस्तुत गरिएको छ । यस्तै कोरोना कालमा रगत अभावकै कारण मृत्युको मुखमा पुगेकी सावित्रीलाई डाक्टर साहकै पहलमा आनन्द मण्डलले गरेको रक्तदान एक प्रेरणादायी प्रसङ्ग छ । त्यसका साथै डाक्टरहरूले उपचारका लागि गर्नुपर्ने दायित्व बोध पनि डाक्टर साहले गरेको कर्मले नै प्रस्ट पार्छ । हरेक मान्छेले पनि यस खालका कर्मलाई जारी राखे मात्रै मानिस सामाजिक प्राणी बन्न सक्छन् । 

डाक्टर साहले छोराको डिमान्ड पूरा गर्न आमाको ज्यान गए पनि फरक नपर्ने खालको घृणित व्यवहार गर्ने हिंस्रक पितृसत्तात्मक सोचको पनि उजागर गरेका छन् । जुन कथा छोरीको माइती शीर्षकमा उल्लेख छ । एक छोरीको आमा सङ्गीतामा आफैँ मधुमेह, उच्च रक्तचाप र शल्यक्रिया भएको दुई वर्ष नपुग्दै पुनः छोरा जन्माउनुपर्ने रहर र बाध्यताले उनको ज्यान नै जोखिममा थियो । यस्तै पहिलो बच्चा जन्माएको ७ महिनामै पुनः अर्को गर्भ बसेपछि अञ्जलीको गर्भ असुरक्षित रहेको विषय पनि डाक्टर साहले कथामार्फत उजागर गरेका छन् । डाक्टर साहले लेखेको अर्को संवेदनशील र मर्मस्पर्शी कथा हो ‘बाध्यता’ । उक्त कथामा पहिले छोरी जन्माएकी मनिताले अर्को सन्तानको लोभ गर्दा आफ्नै ज्यान जानसक्ने डाक्टरले सुझाव दिएका थिए । उनको मुटुमा प्वाल परेको थियो । पहिलो सन्तान जन्माउँदा नै ठुलो जोखिमबाट पार पाएकी उनले आफ्नो ज्यान छोराका लागि त्यतिखेर पर्वाह गरिनन् जतिबेला श्रीमान्ले छोराकै लागि सौता ल्याउन आँटेको खबर सुनिन् । 

श्रीमान्ले सौता ल्याउने डरले गर्भधानका लागि तयार भएकी मनिताले त्यही कारण प्राण त्याग्नु प¥यो । २६ वर्षकै उमेरमै छोरा जन्माउनै पर्ने पारिवारिक बाध्यताले मनिताको ज्यान गयो । ‘कानुनले गर्भ राख्ने (प्रजनन) अधिकार महिलालाई नै दिएको छ । तर कतै सामाजिक अनि कतै पारिवारिक दायित्व र दबाबका कारण नचाहेर पनि गर्भवती हुन बाध्य छन् हाम्रा चेलीहरू । यो कस्तो बाध्यता हो ?,’ प्रस्तुत कथाको अन्तिममा लेखक साहले प्रश्न गरेका छन् । कोरोना कालमा बाँच्न सक्ने प्रसूति भएका महिलाहरूको अकालमै ज्यान गएको घटना पनि पुस्तकमा उल्लेख छ । गर्भवती सकुन्तलाले सन्तानलाई जन्म दिइसके पनि सामान्य खोकीको निहुँमा कोभिड सङ्क्रमण भएको हुन सक्ने भन्दै परीक्षण रिपोर्ट नआएसम्म उपचार नगरिँदा उनको ज्यान गएको थियो । अत्यधिक रक्तश्रावका कारण उनी अर्धचेत अवस्थामा थिइन । १२ घण्टासम्म कोरोनाको रिपोर्ट नआउँदा उनलाई रगत दिन सकिएन । अन्ततः रिपोर्टमा कोरोना नेगेटिभ देखियो तर त्यसबेलासम्म उनको ज्यान गइसकेको थियो । ‘कोरोनाको रिपोर्ट आउनुअगाडि नै अधिक रक्तश्रावका कारण उनी सधैँका लागि सबैबाट बिदा भइसकेकी थिइन्–२४ घण्टा पनि नपुगेको, आफ्नै शरीरबाट केही घण्टाअघि अलग्गिएको, आमाको दसधाराको पर्खाइमा रहेको सन्तानबाट पनि,’ पुस्तकमा मार्मिक ढङ्गबाट उल्लेख गरिएको छ ।

पुस्तकको अन्तिममा डाक्टर साहले लेखेको ग्रामीण पहाडको गम्भीर स्वास्थ्य समस्याका रूपमा रहेको आङ खस्ने समस्याबारे हो । वर्षौंदेखि आङ खस्ने पीडामा रहेका महिलाहरूको शल्यक्रियासहितको स्वास्थ्य शिविरमा उपचारकै क्रममा आइलागेको समस्या कम्ती ठुलो थिएन । पाठेघर फाल्ने शल्यक्रियाका लागि भोजपुर पुगेका डाक्टर साहसहितको टोलीले दमकी रोगी मनकुमारी चर्मकारको शल्यक्रिया गर्ने क्रममा रक्तश्राव नरोकिएपछि अप्ठ्यारोमा परेका थिए । तर सर्जनको सल्लाहमा आफैँले पेट खोल्दाको डरलाग्दो अनुभूति प्रस्तुत गरेका डाक्टर साहले । त्यस घटनालाई उनले ‘युद्ध जितेको रात’ का रूपमा व्याख्या गरेका छन् । ‘दमका पुराना रोगी अनि लामो अवधिको शल्यक्रिया, नसाबाट दिएको धेरै स्लाइन, रगत अनि औषधीहरूले थपिएको जटिलताका कारण ढुक्क हुने अवस्था थिएन । मनमा धेरै शङ्का अनि त्रास राखेर शल्यक्रिया कक्षबाट बाहिरियौँ । ठक त्यसबेला जितेको खुसीभन्दा पनि लामो युद्धले थाकेको भाव हाम्रो अनुहार थियो । राम्रो के भयो भने हाम्रो प्रयास खेर गएन ।’ त्यही विषयलाई लिएर बिरामीका आफन्तले चिकित्सकको लापरबाहीले वृद्धाको मृत्यु भनेर समाचार छाप्नु नपरेको भन्ने उद्धरण उल्लेख गर्दै आफूहरूको पीडा र आफन्तको आक्रोश उल्लेख गर्न खोजेका छन् । समग्रमा डाक्टर साहले लेखेको पुस्तक ‘गर्भको गर्व’का ९ वटै लेखहरू पठनीय छन् । साथै टिप्सको रुपमा उल्लेखित स्वास्थ्य सुझावहरू हरेक दम्पत्तीका लागि मननीय पनि छन् । 

डाक्टर साह पेसाले चिकित्सक हुन् । उनी आफ्नो पेसामा रहँदा उनीसँगै ठोक्किन आइपुगेका नागरिकको समस्यालाई कलात्मक ढङ्गले साहित्यिक रूप दिन माहिर छन् । उनले साहित्य, लेख र रचनामार्फत दिएका यसखालका कृतिले पक्कै पनि छुट्टै स्थान बनाएको छ र बनाउने छ । आगामी दिनमा पनि उनका यस खालका कृति थपिँदै जाने अपेक्षा गर्दछु । पुस्तक पढिरहँदा विभेद र हिंसाका कारण अकालमा धेरै नारीहरूले ज्यान गुमाइरहेको अनुभूति मैले पनि गरेको छु । त्यसरी मृत्युवरण गर्ने आम नारीहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जली व्यक्त गर्दै नीतिगत ढङ्गले अब पनि नारीहरूले अकालमा ज्यान गुमाउनु पर्ने परिस्थितिको अन्त्यका लागि सरकारसँग जोडदार माग गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

चेतन शर्मा
चेतन शर्मा
लेखकबाट थप