सोमबार, ०७ साउन २०८१
ताजा लोकप्रिय
कथा

चर्पीमा हामी नि हग्छौँ सर

शनिबार, २१ पुस २०८०, १६ : ११
शनिबार, २१ पुस २०८०

जेठ महिना । मध्य दिन । उखर्माउलो गर्मी । सल्लेरीको उकालै–उकालो चिप्लो न चिप्लो बाटो । खुइय्य सुस्केरा हाल्दै भारी बिसाएर किस्नबहादुरले बाङखुरे चोर औँलाले निधारका पसिना सनक्क पुछ्यो ।

‘थाकियो, भाइ ?’ सानले लौरो ट्याक्क टेकेर विज्ञले सोध्यो ।

प्रत्युत्तरमा किस्न ङिच्च हाँस्यो ।

उकालीको यात्रामा तीनजना छन् । राजधानीबाट पाउकष्ट गरी आएको विज्ञ अनन्त, उसको सहायक निरज र रैथाने भरिया किस्नबहादुर । विशिष्ट विज्ञको मूल्याङ्कनमुखी अनुसन्धान–यात्रा हो यो । मुलुकको दुर्गम र विकट भेगको विरल, साहसिक एवं महत्त्वपूर्ण यात्रा । 

‘निरज, त्यो झिक त भाइ ।’ रूखको आड लाग्दै जरामा बसेर रुमालले अनुहार हम्किँदै अनन्तले अरायो ।

निरजले विज्ञको आँले अलङ्कार बुझ्यो र भरियाका डोकाको चाङबाट सिसी झिक्यो । पोलिथिन ब्यागमा बरफमा राखिएको बरफमय बियरको सिसी थियो त्यो । सिसी खुल्यो । गिलासमा गजज्ज फटिक सेतो फिँज उठ्यो । र, विज्ञको धापिएको आँत हररर शीतल भयो । चित्त प्रशन्न भएको विज्ञले मनमनै भन्यो— अहा ! उखुम गर्मीमा चिसो बियरको आनन्दै बेग्लै ।

‘सर, भाले खाने सर ! मिलार लेखिदिनु होला है, सर ! चर्पीमा सर नि हग्नुहुन्छ, हामी नि हग्छौँ । बिन्ती छ, सर ! कुरा मिला’र लेखिदिनु होला । नत्र गाउँको नाक काटिने भो, सर ! लहै सर, मिला’र । चर्पीमा सर नि हग्नुहुन्छ, हामी नि हग्छौँ ।’

बियरको चापमुनि अनन्तलाई पिसाबले च्याप्यो । उतातिरको सल्लाको फेदमा छेलिएर सूची गर्न लागेको के थियो उसका आँखा झ्वास्स एउटा सूचनामा ठोक्किन पुगे । सूचनामा भँगेरा टाउके अक्षरमा ‘दिसा–पिसापमुक्त क्षेत्र’ लेखिएको थियो । झस्किएका अनन्तको पिसापी यन्त्र हत्तपत्त भूमिगत भयो । 

‘किस्न, याँ चर्पी कता छ, बाबु ?’

‘यो एकलासमा केको चर्पी हुनु, सर ?’

‘दिसा–पिसापमुक्त क्षेत्र’ लेख्या छ त ।’

‘त्यत्तिकै लेख्या हुन्, सर ।’

‘हैन, यताका मान्छेलाई सल्लेरीमा दिसा–पिसाप लाग्दैन कि कसो ?’

‘लाग्छ नि सर, किन नलाग्नु ?’

‘अनि लाग्दा गर्ने के त ?’

‘सल्लाको आड लाग्यो, सुइँक्याइदियो ।’

‘अनि त्यो सूचना... ?’

‘आऽऽ सर, लेख्नेले लेख्छ, सुइँक्याउनेले सुइँक्याउँछ ।’

विज्ञ अनन्तले सुइँक्यायो । र, उसले बडो उत्साहित स्वरमा निरजलाई भन्यो, ‘निरज, यो बयान टिप त । हामीले खोज्ने कुरा यस्तै हुन्, तिमीले हेक्का राख्नू ।’

यसरी अनन्तको अनुसन्धानको धन्दा सुरु भयो । र, तीनजनाको टोली लाग्यो गर्मीमा बाफिँदै, छिनछिनमा थकाइ मार्दै, सुस्त चालले उकालै–उकालो । 

४ बजेतिर टोली माथि, निकै माथिको बस्तीमा निस्क्यो । बस्तीको डिलैमा ठाउँ हेरी होटल भन्नुपर्ने एउटा होटल रहेछ । थकित टोली त्यही कामचलाउ होटलमा बास बस्ने भयो । 

‘साहुजी, यो भाले काट्नु परो लौ ।’ रहरलाग्दो भालेमा लुब्ध आँखा गाडेर अनन्तले आदेशको भाकामा भन्यो ।

‘यो बीउको भाले हो, सर ।’ गृहभाले टलकले बोल्नै नपाई निजकी पोथी नीरमायाले भनी, ‘नाइँ, हाम्लाई यो चाहिन्छ ।’ 

‘जान्ने हुँ भन्ने एउटा आयो, गु–मुतका कुरा गरेर गयो । जान्ने हुँ भन्ने अर्को आयो, त्यो पनि गु–मुतकै कुरा गरेर गयो । खालि एकोहोरो दिसा–पिसापमुक्त क्षेत्र बनाउने भन्या छ, भन्या छ । तिनका बाउको कत्ति न राम्रो मन्त्र जप्यास्तो । आफूलाई खानको दुःख छ, सर ।’

‘राम्रो पैसा दिउँला क्या, बीउ अर्को किने भैगो नि ।’ विज्ञले पैसाले लोभ्यायो, अभावग्रस्त जोई–पोई पैसाको बल्छीमा अल्झिए । भाले काटियो । नीरमाया आँगनको डीलमा बसेर भकभकी उम्लिएको पानीमा चोबलेर भाले भकाभक भुत्ल्याउन थाली । बोलक्कड अनुसन्धानकर्मी अनन्तले टलकसँग बात नार्‍यो । ऊ थियो दिसा–पिसाप फाँटका जान्नेहरूमध्ये कहलिएको महाजान्ने । उसको काम–कर्तव्य थियो— जनस्वास्थ्य फाँटमा र जनजनको जीवनशैलीमा दिसा–पिसापमुक्त क्षेत्रको प्रभावको मिहीन जाँच–परख गर्नु । परबाट भनेको सुनेर होइन, खसोखास थलैमा गएर । घर बसीबसी सुनिजान्नेको लहैलहैमा लागेर होइन, भुक्तभोगी जनका मुखैबाट तिनका सक्कली अनुभव आफ्नै कानले खसोखास सुनेर । 

बियरले पुर्जी काट्यो र अनन्त लुसुक्क लाग्यो घरमुनिको चर्पीतिर । ढोका उघार्न खोज्दा उसले देख्यो, चर्पीमा त गाँठे, ताल्चा पो ठोकेको छ लौ । 

‘चर्पी बन्द छ त, साहुजी ।’

‘यो बन्दै हुन्छ, सर ।’

‘किन, यो चालू छैन र ?’

टलकले कञ्चट कन्याउँदै भनुँ कि नभनुँ भन्दाभन्दै भनिहाल्यो, ‘त्यसै भने नि भो, सर ।’

टलकले ताल्चा खोलिदियो । विज्ञ भित्र पस्यो । माथि सिलिङमा छपक्कै माकुराको जालो छ, तल भुइँमा छन् मुसाका लिँडैलिँड । विज्ञका सूक्ष्म दृष्टिले निरीक्षण गर्दै अनन्तले चर्पीमा मुते कार्बाइ गर्‍यो । हल्का भएर बाहिर निस्कँदा उसले चर्पीमुन्तिर अर्को चर्पी देख्छ । छक्क पर्दै गएर उसले यसो चियायो । अरे अरे, चर्पीभित्र त दाउराको रास पो छ !

‘चर्पी त डबल रहेछन् नि साहुजी । कसरी हो ?’

‘एकथरी आए र तल्लो बनाए, सर ।’ टलकले गुह्य खुलायो, ‘अनि अर्काथरी आए । अनि त्यसको ढाँचा मिलेन भनेर माथ्लो बनाए ।’

‘आफूलाई खानको दुःख छ, सर,’ भाले भुत्ल्याइरहेकी नीरमाया च्याँठ्ठिएको स्वरमा प्वाक्क बोली, ‘तिनका बाउका ठाँडा दुदीवटा चर्पी बनाका छन् ।’

नीरमायाको कठोर वचन घनझैँ विज्ञका मथिङ्गलमा बज्रियो । उसले ओठ टोक्यो, निधार चाउरी पार्‍यो र पलभर गम खायो ।

‘अँ, जेको जे काम हो त्यल्लाई त्यसैमा प्रयोग गर्नुपर्छ,’ विज्ञले परिपाठ लगायो, ‘यति राम्रा चर्पी किन चालू नगर्‍या, साहुनी ?’

‘बानी छैन, सर । हाम्लाई त त्यो खोराँ बस्नै निसास लाग्छ । फेरि पानी कतिकति टाढा छ । खानलाई पानीको कत्रो दुःख छ, केले चर्पी सफा गर्ने ? सरहेर्ले बनाए । आउँदा सरहेरु आफैँ चर्पी हग्छन् । उनको धन, उनकै चैन ।’

घाम डाँडामाथि पुग्न लाग्दा होटलमा फाट्टफुट्ट दारुदबाका सिकारीहरू आउन थाले । ठाडो घाँटी लगाउने तिनको आ–आप्mनै शैली छ । कोही खडेखडे झ्याप्प दिन्छ र थपक्क बाटो लाग्छ । कोही बसेर यसो नुनढिकीसँग ज्यानलाई दारु चढाउँछ । कोही हल्का सितनको खोजी गर्छ । नीरमायाका हात खाली छैनन् । त्यसैले दारु फाँटमा टलक आफैँ खटियो । 

‘अरुअरु त चर्पी प्रयोग गर्दा हुन् नि, साहुनी ।’

‘क्वै गर्दैन, सर । यी ठाँडा खालि देखाउने दाँत हुन् ।’

‘तँ त्याँ विचार गरेर बोल् है,’ टलकभित्रको भाले ङुर्र गर्‍यो, ‘अरुका कुरा अरुलाई नै सोधे भैगो नि, तैँले किन बाठी हुनुपर्‍या हो ?’

‘बोल्छु, म किन नबोल्ने ? हाम्लाई बोल्न नदेर हो सब बिग्रेको ।’ नीरमायाले टेक लिई, ‘हाम्रा दश वर्ष गु–मुतमा खेर गए, सर ।’

‘हामी गु–मुत तह लाउन नि नजान्ने, अरुले सिकाइदिनुपर्ने । कस्तो लाजमर्नु ! हैन्त सर ? गु–मुत तह लाउन सिकाउन काँकाँदेखि कुइरे हाम्रा गाउँमा धाएर आउने । अनि सिङ्गाने केटकेटीलाई झैँ तिन्ले हाम्लाई सिकाउने— सुन, यसो, उसो, त्यसो । ती जे पनि जान्ने, हामी क्यै नजान्ने ? छिः छिः !’

‘कसरी ?’ कुरामा रस लिँदै थप कुरा धुत्न विज्ञले बल्छी थाप्यो ।

‘कसरी भने, सर, जान्ने हुँ भन्ने एउटा आयो, गु–मुतका कुरा गरेर गयो । जान्ने हुँ भन्ने अर्को आयो, त्यो पनि गु–मुतकै कुरा गरेर गयो । खालि एकोहोरो दिसा–पिसापमुक्त क्षेत्र बनाउने भन्या छ, भन्या छ । तिनका बाउको कत्ति न राम्रो मन्त्र जप्यास्तो । आफूलाई खानको दुःख छ, सर, जान्ने भनाउँदाहरू खालि हग्ने–मुत्ने कुरा गर्छन् । यसो सोचेर ल्याउँदा मलाई त त्यसैत्यसै लाज लागेर आउँछ, सर ।’

‘किन ?’ जडी कुरो हात लाग्ने छाँट देखेर विज्ञ हौसियो । 

‘हामी गु–मुत तह लाउन नि नजान्ने, अरुले सिकाइदिनुपर्ने । कस्तो लाजमर्नु ! हैन्त सर ? गु–मुत तह लाउन सिकाउन काँकाँदेखि कुइरे हाम्रा गाउँमा धाएर आउने । अनि सिङ्गाने केटकेटीलाई झैँ तिन्ले हाम्लाई सिकाउने— सुन, यसो, उसो, त्यसो । ती जे पनि जान्ने, हामी क्यै नजान्ने ? छिः छिः !’

‘तँ बढ्ता बोलिस्, अब चुप् ।’ टलकभित्रको जङ्गे बम्क्यो । ‘सरहेर्लाई कति भोक लाग्या होला ! चाँडो मासु पका । सरले भन्यास्तै पैले नरमकरम, अनि भुटुवा, त्यसपछि झोल ।’

नीरमायाले मासुको पहिलो आइटम च्वाइँ पारी । किस्न कुनामा छेलिएर एकाध ट्वाक लोकल ठर्रा दिएर ठिकठाक भएको थियो । निरज कुराकानी रेकर्ड गर्न र टिप्नमा व्यस्त थियो । विज्ञ त यसै पनि बडो आनन्दी मुद्रामा सूचनाको सिकारमा लिप्त हुने नै भयो ।

‘किस्न,’ अहिले भने विज्ञको तीरको तारोमा किस्न पर्‍यो, ‘तिम्रो गाउँमा त चर्पी चालू होलान् नि ।’

‘काँ हुन्थे, सर ? छैनन्, छैनन् । कताकती हुनेखानेका चर्पी चालू भए कुन्नि ! हामीजस्ता निम्छराका चर्पी त्यत्तिकै छन् । साहुनीले भन्या कुरो, सर, खसोखास साँचो हो । बनाउने पनि उनै सर, हग्ने–मुत्ने पनि उनै सर ।’

जखमले भालेको नरमकरम आइटम तयार भयो । र, टलकले बास्नादार बाफ उठिरहेको थाल विज्ञलाई थपक्क टक्य्रायो । विज्ञले नरमकरम तीन भाग लगायो । आफूलाई आधा, निरज र किस्नलाई बाँकी आधाको आधा–आधा । अनि भन्यो— ‘निरज, त्यो झिक त ।’ 

निरजले डोकाको चाङमुनिबाट विदेशी दारुको सिसी झिक्यो । सिसीको बिर्को खुल्यो । र, अनन्तले दारुको पहिलो चुस्की लियो । ‘किस्न,’ अनि अनन्तले भन्यो, ‘दारुमा रस भए लोकल लिए हुन्छ है ।’

अनन्तले चिउरा माग्यो । र, चिउरा पनि तीन भाग लाग्यो ।

‘अँ, टलकजी,’ अनन्तले दोस्रो चरणको वार्ता सुरु गर्‍यो । ‘यो चर्पी अभियान साहुनीले भनेजस्तै अर्थ न बर्थ हो त ? अनि यो दिसा–पिसापमुक्त क्षेत्रको घोषणा खालि ढोङ हो त ?’

‘कुरा यस्सै हो भन्न गाह्रो छ, सर ।’ टलकले धारमा राखेर कुरा गर्‍यो । ‘अर्थ न बर्थ हो भनुँ भने, सर, यसमा त्यत्तिका जान्ने मान्छे लाग्या छन् । अनि यसमा त्यतिको धन, श्रम र सीप पर्‍या छ । ढोङ होइन भनुँ भने यो चर्पी कुरामा त्यति राम्रो छ, काममा यति फोस्सा छ । खै, के भनुँ भनुँ, सर ?’

‘चर्पी बने, प्रयोगमा आएनन्,’ विज्ञ उवाच, ‘यस्तो हुन्छ भन्ने पहिल्यै थाहा थिएन, टलकजी ? पहिल्यै किन नभन्या ?’

टलक अकमक्क पर्‍यो । ऊ के भनोस् ? माथिबाट घरीघरी तालतालका जान्ने सरहरू आउँथे । कुरा गर्न ती छुरा थिए । ती यसरी कुरा गर्थे, मानौँ दिसा–पिसाप मानिसलाई लाग्ने सबै रोगको एक मात्र मुहान हो । मानौँ चर्पीमा दिसा–पिसाप तह लगाएपछि मानिस जादुमय काइदाले सबै रोगबाट मुक्त हुन्छ, जगत् सफाचट हुन्छ र जीवनमा आनन्दै–आनन्दको फोहोरा फुट्छ । माथिबाट आउने सरहरू आफू मात्रै पटरपटर बोल्थे । तलका बस्तीबासीको बोल्ने पालो कहिल्यै आएन । तिनको काम त चुपचाप सुन्नु र भक्तिभावले मुन्टो हल्लाउनु मात्र भयो । कुमलकोटीले कीरालाई गाँजेझैँ आगन्तुक सरहरूले रैथानेहरूलाई यसरी गाँजे, तिनका वचनले सबै सबै लट्ठिए । सेरोफेरोका के जङ्गी के निजामती, के मास्टर के डाक्टर, के साहुमहाजन के सन्तमहन्त, के जोगी के बैरागी, के बाल–वृद्ध–वनिता सबका सब लट्ठिए । अनि ? अनि चर्पी बने । निकट भेगमा वाहन वा भरियाहरूले सहरबाट सामान बोकेर ल्याए । विकट भेगमा हेलिकप्टरहरूले सामान ओसारे । र, घरैपिच्छे बने चिटिक्क परेका चर्पीहरू । बाजागाजा बजाएर दिग्दिगन्त गुञ्जायमान तुल्याउँदै भूगोलका चक्लाहरू ‘दिसा–पिसापमुक्त’ घोषित गरिए । यसो गर्न गाउँ–गाउँबीच चल्यो चर्को न चर्को होडबाजी । आफ्नो भेगलाई ‘दिसा–पिसापमुक्त क्षेत्र’ घोषित गर्नु कतिकति ठूलो पौरख र प्रतिष्ठाको विषय बन्यो । अनि ? अनि बस्तीभरि चर्पी बने र बन्दा नबन्दै ती परित्यक्त भए । 

‘भुटुवा पाक्यो, सर । टक्य्राउने हो कि ?’ 

‘हो ।’ दारुको चुस्की लिँदै विज्ञले भन्यो ।

भुटुवा आयो । त्यसको पनि जुँगा हेरी भागबन्डा लाग्यो ।

‘धइत्, अझै दिसा–पिसापकै कुरा छन्,’ अनन्त र टलकको अरुचिकर वार्तामा दख्खल दिँदै नीरमाया कड्किई । ‘गु–मुतबाहेक गर्नलाई अरु क्यै कुरै नभएजस्तो । हरे, गु–मुतमा हाम्रा दश वर्ष बितेर गए । तैपनि फेरि गु–मुतैका कुरा !’

‘तँ त्याँ बढ्ता न हो ।’ टलक डुक्रियो । छाँटले उसले धेरथोर ठर्रा चढाइसकेको थियो ।

‘म केको बढ्ता हुनु ? हाम्रा मुख त मुखै होइनन् कि क्या हो ?’

‘अरु खै के कुरा गर्नु र, साहुनी ?’ दारुको लयमा विज्ञ बोल्यो ।

‘गर्नलाई कुरा कति छन् कति !’ हातको पार लाउँदै नीरमायाले बेलिबिस्तार लगाई, ‘खेती–किसानीका कुरा गर्नु । बिद्दे–बुद्धिका कुरा गर्नु । पानी–बिजुलीका कुरा गर्नु । बाटोघाटोका कुरा गर्नु । हो, गर्नलाई कुरै नाथे त कति छन् कति ! खालि गु–मुत भन्या छ, गु–मुत भन्या छ । भन्दाभन्दै अब त मुखै गन्हाउने भैसको ।’

‘तँ चुप् भन्या ।’ टलकले थर्कायो । र चनाखो हुँदै भन्यो, ‘माथिका ठूला सरले यी सब कुरा सुने भने... ।’

‘सुनून् ।’ नीरमायाले ओठे जबाफ फर्काई, ‘सुनून् भनेरै भन्या हुँ । बड ठूला सर रे । म त तिनलाई गु–मुते सर भन्छु । हेर्नुस् सर, तिनका मुखबाट गु–मुतबाहेक कैल्यै क्यै सुन्न पाइएन । दश वर्षदेखि खालि गु–मुत ! आज मेरा कुरा सुन्नुस्, सर । मेरा कुरा टिप्नुस् र संसारलाई सुनाइदिनुस् । भन्दिनुस्— सल्लेरीमाथिकी नीरमयाँले भन्या, गु–मुतेहरूले हाम्रो बेइजती गरे । भन्दिनुस्, भन्दिनुस् । मेरो नाउँ काढेरै भन्दिनुस् ।’

छुरासरी स्वास्नीको जिब्रो चलेको सुनेर रमरम मातेको टलक जिल् पर्‍यो । उसलाई लाग्यो— आज नीरमायाभित्रबाट अर्कै कोही बोलिरहेछ । को हो त्यो ? उसका चित्तमा आज कसरी को पसेको हो ? 

भोजन सम्पन्न भयो । आँगनमा विज्ञ सुत्ने काइदाको पाल टाँगियो । र, मल–मूत्रमुखी वार्ता विसर्जन भयो । 

०००

संयोग पनि कस्तो ! भोलिपल्ट बिहान विज्ञ अनन्तको टोली उकालो लाग्यो, त्यसको त्यस्तै चार घन्टापछि माथिका मल–मूत्रपथका ठूला सरको टोली झ्वास्स आइपुग्यो । टलकको होटल उदास थियो । अनन्त उँभो लागेपछि भन्नु नहुने कुरा भनिस् भनेर टलकले नीरमायाको सातो लिन खोज्यो । मैले नभनी नहुने कुरा भनेँ भनेर नीरमाया आफ्नो वचनमा टलक रही ।

कुरैकुरामा अनन्तका कुरा उठे । गुत्थ फुलेकी नीरमाया विस्फोटको मुडमा थिई । अत्तालिएको टलकले इसाराले रोक्न खोज्दाखोज्दै नीरमायाले अनन्तलाई भनेका कुरा रिठ्ठो नबिराई मल–मूत्र सरलाई सुनाई । ‘मैले त भन्दिएँ, सर । कैल्यै बोल्न पा’थिनँ, जे त पर्ला भनेर हिजो बोलेँ । भ’का भ’का कुराजति मैले जम्मै भन्दिएँ, सर ।’

‘के कुरा ?’

‘मैले यो गु–मुतको कुरोले हाम्रो नाकै काटो भन्दिएँ, सर ।’

नीरमायाको बयान सुनेर मल–मूत्रविज्ञ सर छाँगाबाट खस्यो । त्यो गाउँमा उसले दिसा–पिसापमुक्त अभियानको बखानै–बखान सुनेको थियो । कहिले त उसलाई सिङ्गै गाउँ उठेर आफ्नो सालिकै पो बनाउलान् कि भन्ने पनि लाग्थ्यो । बखान गर्नेहरू उसका परम् भक्तजस्ता थिए, र ऊ थियो तिनको परम् पूज्य देवताजस्तो । अनि अहिले ? अहिले यो विपरीत !

अनुहारको आभा उडेको ठूलो सरले टलकसँग एकान्तमा के के कुरा गर्‍यो । अनि चियाँसम्म पनि नखाई रौद्र मुद्रामा लाग्यो ऊ ठम्ठम् उकालो ।

०००

हप्ता दिनपछि अनन्तको टोली सूचनाको सिकार गरिसकेर उही बाटो उही सल्लेरीतिर ओरालो झर्‍यो । टलक पल्लो गाउँमा तास खेल्न गएको थियो । 

‘सर चिया खाएर लागे है ओरालो,’ आँगनमा टलक देखापर्नासाथ नीरमायाले सुनाई । 

‘को सर ?’

‘उही भाले खाने सर क्या ।’

‘कुन बेला ?’

‘भर्खरै । नमस्ते भन्दिनू भनेर गए । बोलाए सुन्ने ठाउँमा होलान् ।’

टलक हत्तपत्त होटलपछाडि गयो । उसले आँखा फारेर तल सल्लेरीतिर हेर्‍यो । भुइँबाट हेर्दा कोही देखिएन । ऊ एउटा रूखमा चढ्यो । रूखका टुप्पाबाट पनि कोही देखिएन । अनि सकेसम्म ठूलो स्वरमा कराउँदै उसले भन्यो, ‘सर, भाले खाने सर ! मिलार लेखिदिनु होला है, सर ! चर्पीमा सर नि हग्नुहुन्छ, हामी नि हग्छौँ । बिन्ती छ, सर ! कुरा मिला’र लेखिदिनु होला । नत्र गाउँको नाक काटिने भो, सर ! लहै सर, मिला’र । चर्पीमा सर नि हग्नुहुन्छ, हामी नि हग्छौँ ।’

विज्ञ अनन्तको टोली सल्लेरीमा तल कताकता अलप भयो, टलकको पुकार शून्य आकाशमा माथि कताकता अलप भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

खगेन्द्र संग्रौला
खगेन्द्र संग्रौला

लेखक एवं वाम चिन्तक/विश्लेषक
 

लेखकबाट थप