सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय
वैदेशिक रोजगार

‘कमजोर’ महिला दलालको निशानामा, श्रम स्वीकृति बिनै पुर्‍याउँछन् विदेश

सोमबार, ०१ माघ २०८०, १६ : १३
सोमबार, ०१ माघ २०८०

काठमाडौँ । चितवन माडीकी सविता (नाम परिवर्तन) ले १८ वर्षको उमेरमा नै विवाह गरिन् । छिमेकी गाउँकै केटासँग प्रेम विवाह गरेकी उनका दुई सन्तान भए । 

श्रीमान् ज्याला मजदुरी गरेर आफ्नो परिवारको जीविकोपार्जन गरिरहेका थिए । तर, दुर्भाग्य ! सवारी दुर्घटनामा परेर श्रीमान्को निधन हुन पुग्यो । श्रीमानको निधनपछि दुई सन्तान, सासू र ससुराको जिम्मेवारी उनको काँधमा आयो । गाउँघरमै उनी आफैँ ज्याला मजदुरी गर्न थालिन् । तर, उनको कमाइले घर खर्च चलाउन गाह्रो भयो । 

त्यही बेला गाउँकै एक जना चिनेकै ‘दाइ’ले विदेश जान सुझाए । ‘विदेश त जाने तर कसरी ?’ उनको प्रश्न थियो । उनले सबै व्यवस्था आफूले मिलाइदिने बताए । ती दाइले भनेअनुसार उनी पासपोर्ट बनाउन काठमाडौँ आइन् । यहीबिचमा विदेश जानका लागि २ लाख रुपैयाँ खर्च लाग्ने बताए । 

‘मसँग त त्यत्रो पैसा थिएन । उहाँले नै अहिले म हालिदिन्छु । तिमी उता कमाउन थालेपछि तिर्दा हुन्छ भनेर भने । यताउता जोरजाम गरेर ९० हजार जति त्यो बेला हातमै दिए’’ केही समय अगाडि रातोपाटीको सम्पर्कमा आएकी सविताले भनिन् ।  आफ्ना दुई छोराछोरीको सुखद् भविष्यको कामनासहित उनी दुबई जान तयार भइन् । सामान्य लेखपढ जान्ने सवितालाई उनै विमानस्थलमा के के कुरा गर्ने भनेर समेत सिकाए । सोहीअनुसार सविता आजभन्दा डेढ वर्ष अगाडि दुबईका लागि उडिन् । दुबई उडेपछि तीन महिनासम्म एउटा कोठामा लगेर राखियो । जहाँ उनीसहित अन्य १० जना नेपाली महिलाहरू पनि थिए । सबै जना उनी जस्तै आर्थिक अवस्था अत्यन्तै कमजोर अवस्थाका थिए । 

‘तीन महिनासम्म कोठामा राख्यो । भोलिबाट काममा जानुपर्छ भन्ने । पर्सिबाट हुन्छ भन्दा भन्दै तीन महिना पूरा भइसकेछ । पछि थाहा भयो हामीलाई त भिजिट भिसामा पो दुबई लगेको रहेछ,’ उनले भनिन् ।  

चौथो महिनामा त्यहाँबाट उनीहरूलाई कुवेत लगियो । जहाँ एक घरमा घरेलु कामदारको रूपमा राखियो । त्यहाँ काम गर्दा उनले भोगेको पीडाको शब्दमा बयान गर्न सकिँदैन । त्यो घरमा काम गर्दा उनले शारीरिक र मानसिक हिंसा भोगिन् । 

यतिसम्म कि घर मालिक आएर पटक पटक बलात्कार गरे । नेपालबाट विदेश गएका एक वर्षपछि विभिन्न संघ संस्थाको सहयोगमा उनको उद्धार गरियो । उनले त्यो घरमा काम गर्दा ६ महिनासम्म एक पैसा पनि तलब पाइनन् । 

‘आफूलाई केही थाहा नहुने । बाहिरबाट आउँथ्यो । अनि कति पटक मेरो अस्मिता लुट्यो । उसले भनेको मानेन भने कुट्थ्यो । उतै मरौँ कि भनेर कति पटक सोच बनाएँ । तर, घरमा टुहुरा छोराछोरीको अनुहार सम्झेर त्यो पनि गर्न सकिनँ । बाच्नै नसक्ने अवस्थामा पुगेपछि सामाजिक सञ्जालमार्फत उद्धारका लागि गुहार मागेँ,’ उनले भनिन् । 

जसोतसो बाचेर नेपाल आएकी उनले अब कहिल्यै विदेश नजाने सोच बनाएकी छिन् । ‘छोराछोरीलाई एकै छाक खाना दिएर पनि यतै काम गर्छु भनेर बसेकी छु । अब त्यस्तो काल कोठीमा कहिल्यै जान नपरोस् भन्छु,’ उनले भनिन् । लहलहैमा नलागेको भए आफूले यस्तो दुःख भोग्नुनपर्ने उनको भनाइ छ । 

नुवाकोट तारकेश्वरकी सानुमाया तामाङले (नाम परिवर्तन) वैदेशिक रोजगारीका लागि कुवेत जाँदा २ लाख १५ हजार रुपैयाँ ऋण निकालेकी थिइन् । आर्थिक अवस्था अत्यन्तै कमजोर तथा श्रीमानसँग डिभोर्स भएर बसेकी उनी गत वर्ष कुवेत पुगेकी थिइन् । कुवेत जाँदा उनले गाउँमा चिनेकै आफन्तबाट ऋण निकालेकी थिइन् । त्यही गाउँकै चिनेको मान्छेले भनेको आधारमा उनी वैदेशिक रोजगारीको लागि कुवेत जान तयार भएकी थिइन् ।

तर, यतिबेला उनी कामै गर्न नसक्ने अवस्थामा छिन् । उनको पेटमा गम्भीर समस्या देखिएपछि डाक्टर आराम गर्नुपर्ने बताएका थिए । तर, घरेलु कामदारको रूपमा गएकी उनलाई मालिकले एक छिन बस्न पनि दिँदैनन् । उनी नेपाल फर्किन खोजिरहेकी छिन् । तर, मालिकले फर्किन दिइरहेको छैनन् ।  

‘काम गर्न नसक्ने अवस्थामा पनि काममा पेलाउने गरेको छ । काम गरेन भने पिट्ने गर्छन् । कामै गर्न नसक्ने भनेर उद्धारका लागि वैदेशिक रोजगार विभागमा उजुरी दिएका छौँ,’ सानुमायाका एक आफन्तले भने ।

सविता र सानुमाया जस्तै धेरै महिलाहरू वैदेशिक रोजगारीमा जाँदा थुप्रै खालका समस्या भोग्न बाध्य छन् । त्यसरी वैदेशिक रोजगारीमा जानेहरूमा एकल महिलाहरू, श्रीमानसँग डिभोर्स गरेका, घरेलु हिंसाबाट एक्लै बस्दै आएका, घर परिवारबाट हिंसा भोग्न बाध्य भएर माइतमै बस्दै आएका महिलाहरू रहेका छन् । उनीहरूलाई दलालहरूले प्रलोभनमा पारेर खाडी मुलुक, मलेसिया, कुवेत लगायतका देशमा लैजाने गरेको पाइएको छ । 

आप्रवासी महिला कामदार समूह नेपालकी कार्यकारी निर्देशक विजया राई श्रेष्ठले यसरी समस्यामा पर्नेहरूमा ५० प्रतिशत भन्दा बढी यस्तै खालका महिलाहरू रहेको बताइन् । एजेन्टहरूले गाउँघरमा त्यस्ता खालका महिलाहरूलाई खोज्ने र त्यहीबाट ठगी गर्ने गरेको उनको भनाइ छ । 

‘आर्थिक रूपमा सम्पन्न र शिक्षितको हकमा छुट्टै खालको हुन्छ । उनीहरू युरोपतिर जान खोज्दा ठगिने गरेका छन् । तर, आर्थिक रूपमा विपन्न, श्रीमानसँग डिभोर्स भएका, एकल महिलाहरू भने खाडीमै जाँदा ठगिने गरेका छन् । दलालहरू गाउँ गाउँ पसेर त्यस्तै खालका महिलाहरूलाई खोज्ने रहेछन्’ कार्यकारी निर्देशक श्रेष्ठले भनिन् ।  

वैदेशिक रोजगार उद्धार नेपाल (रेस्क्यू नेपाल) का अध्यक्ष इन्द्रलाल गोलेले दलालहरूले यस्ता खालका महिलाहरूलाई निशानामा राख्ने गरेको बताए । 

‘भोलि केही पर्दा पनि बोल्न नसक्ने, जसको कोही पहुँच नभएका महिलाहरूलाई खोजी खोजी ठग्ने गिरोहको विगविगी नै देखियो’ अध्यक्ष गोलेले भने । 

त्यसरी ठगी गर्ने गिरोहहरूले भिजिट भिसामार्फत लैजाने, भारतको बाटो हुँदै लैजाने गरेको उनको भनाइ छ । श्रम स्वीकृतिविनै उनीहरूलाई वैदेशिक रोजगारीमा लैजाने र ठगी गर्ने गरेको अध्यक्ष गोलेले बताए । 

वैदेशिक रोजगारीमा समस्यामा परेकाहरूलाई निःशुल्क सहयोग प्रदान गर्दै आएको पिपल फोरमका कार्यकारी संयोजक सुदिप देवकोटाले खाडीतिरभन्दा यूरोप जाने नाममा ठगीका घटना बढी रहेको बताए । खाडी मुलुकहरूमा आर्थिक रूपमा कमजोर, अशिक्षित महिलाहरू बढी ठगीमा पर्ने गरेको उनको भनाइ छ ।

‘खाडीतिरको खासै महिलाहरू कम छन् । त्यसमा आर्थिक अवस्था कम र शैक्षिक अवस्था कमजोर भएकाहरू छन् । तर पछिल्लो समय आर्थिक अवस्था पनि बलियो नै भएका, शैक्षिक अवस्था पनि राम्रै भएकाहरू युरोपतिर जाने लहडमा लागेका छन् । र ठगीमा पर्ने गरेका छन् ,’ देवकोटाले भने । 

खाडी र मलेसिया जानुपर्ने आम बाध्यता रहेको उनको भनाइ छ । रोजीरोटीको लागि भए पनि खाडी जानेहरूको बाध्यता छ । तर, युरोपतिर भने १० देखि ३५ लाख रुपैयाँसम्म तिरेका घटनाहरू छन् । यसमा पढेलेखेका, युवाहरू छन् । २२ देखि ३५ वर्षसम्मका धेरै देखिएका छन् । 

‘महिलाहरूको हकमा दलालहरू मज्जाले लागेका हुन्छन् । फर्मल च्यानलबाट वैदेशिक रोजगारीमा लैजाने भन्दा पनि इनफर्मल च्यानलबाट लैजाने । इन्डियाको बाटो हुँदै लैजाने गर्छन्,’ देवकोटाले भने, ‘भिजिटमा लाने धेरै छन् । जुन कुरा विभाग आइपुग्दैन । पैसा लिँदा पनि क्यास लिइदिन्छ ।’ 

फ्री भिजा फ्री टिकट भनेका ठाउँहरू जस्तो कुवेत, जोर्डन लगायतका देशमा महिलाहरू पठाइदिए बापत पैसा पाउँछन् । तर, म्यानपावर व्यवसायीले श्रमिकहरूसँग उल्टै पैसा लिने गरेको उनको भनाइ छ । 

यस्तो अवस्थामा उद्धार गर्दा पनि निकै गाह्रो हुने गरेको देवकोटाको भनाइ छ । ‘श्रम गरेर जाँदा हुन्छ भनेर भनिरहेका हुन्छौँ । व्यक्तिगत श्रम स्वीकृति लिएर गएपनि राज्यले उद्धार गर्न सक्छ । तर, श्रम स्वीकृति नै नलिएर गएकाहरूलाई उद्धार गर्नमा समस्या हुन्छ । अर्को कुरा भनेको फोर्स लेबरको रूपमा लगाए पनि क्षतिपूर्ति दिलाउन सकिँदैन’, देवकोटाले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्णसिंह धामी
कृष्णसिंह धामी

धामी श्रम/वैदेशिक रोजगार र शिक्षा विटमा विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप