सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय
सन्दर्भ : लेनिन शतवार्षिकी

लेनिनवाद : साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको जिउँदो मार्क्सवाद

मङ्गलबार, ०९ माघ २०८०, १३ : ५८
मङ्गलबार, ०९ माघ २०८०

लेनिनलाई म रुसका एक विख्यात राजनीतिक सिद्धान्तकार, क्रान्तिकारी र सच्चा मार्क्सवादीका रूपमा सम्झन्छु । लेनिन र लेनिनवादको महत्ता र सान्दर्भिकता अहिले पनि हराइसकेको होइन । 

खासगरी मान्छेले आफ्ना दुःख, आफूमाथिका उत्पीडन र शोषणबाट मुक्तिको उपाय खोजेको आज होइन, मानव समाजको यो निकै पुरानो कथा हो । सुरुमा यसमा धार्मिक व्यक्तित्वहरूले योगदान गरे । त्यसपछाडि अन्य समाजशास्त्री र राजनीतिज्ञले पनि यसमा भूमिका खेले । क्रमशः यो व्यक्ति विशेषको मात्रै चासोको विषय रहेन, यी विषयलाई सामाजिक संगठनका रूपमा पनि हेर्न थालियो । 

सुरुमा धार्मिक व्यक्तित्वहरूले मानिसका दुःख, कष्ट, उत्पीडन र शोषणबाट मुक्तिको उपायका लागि दुई ढङ्गले सोचे । पहिलो, व्यक्तिगत रूपमा व्यक्तिलाई मुक्त गर्ने । अर्को, इहलोकबाटै मुक्ति दिन सम्पूर्ण सम्भव नदेखिएकाले परलोकमा मुक्ति दिन सकिन्छ भनेर सपनाहरू बाँडे । धार्मिक सम्प्रदायभित्र यो ढङ्गको ढाँचा देखिन्छ । 

अलि पछाडि गएर इहलोकमै मान्छेका मुक्तिका उपचारहरू खोज्ने क्रममा दुइटा धाराहरू देखिए । एउटा धारा— मानिसलाई दुःख–कष्ट वा उत्पीडनबाट मुक्त गर्नु वैयक्तिक मामिला मात्रै हो र त्यसैका सीमा वरिपरि उपायहरू खोज्न प्रयत्न गरिए । अर्को धाराले यसलाई सामाजिक मामिला बनायो । विकासको खास चरणले निर्धारित गर्ने अर्थ–राजनीतिक सम्बन्धको परिणाम हो यो । त्यसैले यसलाई परलोकमा होइन, इहलोकमै र व्यक्तिगत रूपमा होइन सामाजिक रूपमै निराकरण गर्नुपर्छ । 

यसपछि मानिसलाई उत्पीडनबाट मुक्तिका लागि वैज्ञानिक र परिष्कृत सिद्धान्त वा विचारधाराका रूपमा मार्क्सवाद आयो । मार्क्सवादले समाजको सिङ्गोपाङ्गो विश्लेषण ग¥यो । विभिन्न चरण, उपचरण हुँदै मार्क्सवादले आजसम्मको अवस्थाको, खासगरी पुँजीवादको सूक्ष्म विश्लेषण ग¥यो । साथै यसले भावी सामाजिक दिशा समेत औँल्यालो । आफ्नो सामाजिक विकासमा समाज आदिम साम्यवाद, दास युग, सामन्तवाद हुँदै पुँजीवादमा आइपुगेको छ र यसपछिको समाज साम्यवादमा प्रवेश गर्नेछ भन्ने मार्क्सवादले ठम्यायो साम्यवादका पनि दुई चरण छन्— समाजवाद, त्यसपछि साम्यवाद । समाजवाद साम्यवादको पहिलो चरण हो । 

पहिलो औद्योगिक क्रान्तिपछि विकसित पुँजीवादी समाजको विश्लेषण गरेर उत्पीडनमा परेका मानिसलाई मुक्ति दिने भावी समाज कस्तो बनाउने भन्ने खाका मार्क्सवादले कोरेको छ । यसअघिका समाजमा पनि आफ्नै प्रकारका विभिन्न वर्गमा विभाजित समाज थिए । पुँजीवादी समाज वा पुँजीवादी उत्पादन सम्बन्ध मूलतः दुई वर्ग (पुँजीपति वर्ग र सर्वहारा वर्ग)मा विभाजित वा ध्रुवीकृत छ । 

पुँजीवादले आफ्नो विकास प्रक्रियामा दुइटा कार्य गर्छ । १) यसले उत्पादन प्रक्रियालाई सामाजिकीकरण गर्छ । २) उत्पादनका साधनमा निजी स्वामित्वलाई दोहन गर्दै केन्द्रीयकरण गर्दै जान्छ । अर्थात् उत्पादन प्रक्रियामा समाज ध्रुवीकृत हुन जान्छ— उत्पादन र उत्पादनका साधनमा स्वामित्व भएकाहरू (पुँजीपतिहरू) र सीमान्तकृत हुनेहरू (सर्वहारा)मा । त्यसै अनुरूपको राजनीतिक उपरीढाँचा बन्छ । राजनीति र उत्पादनका लाभ पनि त्यसरी नै बाँडिन्छन् ।

यी दुई वर्गबिच संघर्षको अवस्था रहन्छ, जसलाई पुँजीवादी समाजको वर्गसंघर्ष भनिन्छ । यो अवस्थामा निजी सम्पत्ति थुपार्दै जाने पुँजीपती वर्ग सानो वा अल्पमतमा र निर्धन श्रमिक तथा सर्वहारा वर्ग ठुलो वा बहुमत रहन्छन् । यो विभेदकारी उत्पादन सम्बन्धले ल्याएको परिणाम हो । यो अन्यायपूर्ण मात्रै होइन, उत्पादक शक्तिको विकासमा यो बाधक पनि बन्छ । मार्क्सले के भनेका छन् भने, उत्पादक शक्ति र उत्पादक सम्बन्धको एउटा यस्तो चरण वा संघर्ष आउँछ, जसले अन्ततः विद्यमान उत्पादक सम्बन्ध जुन ढाँचामा रहेको हुन्छ, त्यसलाई तोडेर त्योभन्दा उच्च चरणको सम्बन्धमा आउनुपर्छ, जुन उत्पादन सम्बन्धमा मूलतः सामाजिक स्वामित्वको स्वरूप रहन्छ, तब सामाजिक क्रान्तिको युग सुरु हुन्छ । सामाजिक क्रान्ति रातारात सम्पन्न हुने घटना होइन, युगीन लामो प्रक्रियाको प्रक्रिया हो । त्यो पनि विभिन्न चरण भएर गुज्रनुपर्छ, त्यसको संक्रमणकालीन पहिलो चरण भनेको समाजवाद अनि मात्रै अन्ततः साम्यवादमा गएर थिग्रिन्छ ।

श्रमजीवी वर्गले आफ्नो मुक्तिको निम्ति छुट्टै प्रयत्न गरेको इतिहासको पहिलो घटना भनेको सन् १८४८ को युरोपियन क्रान्ति नै हो । त्यसअघि सधैँभरि श्रमजीवी वर्ग पुँजीपति वर्गको पुच्छर मात्रै हुन्थ्यो । 

पछि सन् १८७१ मा पेरिस क्रान्तिमा श्रमजीवी वा सर्वहारा वर्गले राज्यसत्ता मात्रै आफ्नो हातमा लिएन कि उत्पादनको त्यो ढाँचामा पनि परिवर्तन गर्ने कोसिस ग¥यो । तर भित्र वा बाहिरका प्रतिक्रियावादीहरूको गठजोडका कारण त्यो क्रान्ति दबाइयो । 

माक्र्सका पालामा पुँजीवाद स्वच्छन्द पुँजीवादको चरणमा थियो । मुनाफा र बजारका निम्ति पुँजीपतिहरूमाझ स्वतन्त्र प्रतिस्पर्धा थियो । उपनिवेशको विस्तारको होडबाजी थियो । पुँजीवादले एकाधिकारको स्वरूप ग्रहण गरिसकेको थिएन । लेनिनको पालामा स्वच्छन्द पुँजीवादले आफ्नो करबट बदलेर साम्राज्यवादमा परिणत भयो । त्यसले एकाधिकार स्वरूप ग्रहण ग¥यो । लेनिनले यस अवस्थालाई पुँजीवादको उच्चतम चरण, मरणासन्न पुँजीवाद भनेका छन् । 

यसरी स्वच्छन्द पुँजीवादको जमानामा संश्लेषित गरिएको सर्वहारा वर्गको मुक्तिको दिग्दर्शन माक्र्सवादलाई मान्ने हो भने लेनिनवाद भनेको साम्राज्यवादी युगमा संश्लेषित गरिएको माक्र्सवादकै विकास हो । लेनिनको कुरा गर्दा, साम्राज्यवादको युगमा त्यसले आफ्नो आधिपत्य विस्तारका निम्ति युद्ध निम्त्याउने र त्यसबाट मुक्तिको उपायका निम्ति सर्वहारा क्रान्ति हुने लेनिनका प्रस्तावना थिए । अलि परिष्कृत भाषामा भन्ने हो भने, लेनिनवाद भनेको साम्राज्यवाद र सर्वहारा क्रान्तिको युगको मार्क्सवाद हो । स्वच्छन्द पुँजीवादबाट साम्राज्यवादमा आउँदा त्यसले जे स्थिति सिर्जना हुन्छ, त्यसबाट मुक्त हुनका निम्ति लेनिनका जुन प्रेस्क्रिप्सन छन्, तिनको सँगालो नै लेनिनवाद हो ।

माक्र्सेली विचार प्रणाली अनुसार, जहाँ–जहाँ पुँजीवादको चरम विकास भएको छ, त्यहीँ पहिले सामाजिक क्रान्ति सम्भव हुन्छ । मार्क्सको प्रस्तावनाअनुरूप पहिलो सटीक प्रयोग भएको भनेको पेरिस कम्युन नै हो । पेरिस कम्युनपछि क्रान्तिको परिपथ बदलिन्छ र माक्र्सवादी ढाँचाको पहिलो क्रान्ति रुसमा हुन्छ । रुस पुँजीवादी विकासको हिसाबकिताबले अरु पुँजीवादी मुलुकभन्दा पछौटे मुलुक हो । साम्राज्यवादको युगमा जहाँ साम्राज्यवादको कमजोर कडी छ, त्यहाँ पहिले क्रान्ति सम्भव हुन्छ भन्ने लेनिनको निष्कर्ष थियो । नभन्दै रुसमा क्रान्ति सफल भयो ।

लेनिनले सन् १९१६ मा ‘साम्राज्यवाद, पुँजीवादको उच्चतम चरण’ पुस्तक लेखे । यहीबिच सन् १९१४ देखि नै पहिलो विश्वयुद्ध सुरु भएको थियो । त्यसपछि दोस्रो विश्वयुद्ध भयो । सर्वहारा क्रान्ति भयो कि भएन त ? रुस, चीन, उत्तरकोरिया, भियतनाम, कम्बोडिया, लाओस्, क्युबामा क्रान्ति भए । लेनिनका प्रस्तावना अनुरूप नै एकातिर साम्राज्यवादी युद्धहरू भइरहेका छन् भने त्यसले सर्वहारा क्रान्ति पनि जन्माउँदै आएको छ । 

पछिल्लो समय खासगरी सोभियत संघ र पूर्वी युरोपमा समाजवादी मोडलको शासन व्यवस्थामा देखिएका कमजोरीपछि के समाजमा मार्क्सवाद र लेनिनवाद ‘आउटडेटेड’ भएको हो भनेर पनि कुरा उठिरहेका छन् । त्यहाँ समाजवादको प्रयोगमा गल्ती भएकै हो । तर विचार र इतिहासको अन्त्य भएको होइन । घटनाक्रमले बताउँदै छन्, स्वयं सम्राज्यवाद संकटमा पर्दै गइरहेको छ । यसअघि साम्राज्यवादले वैज्ञानिक तथा प्राविधिक क्रान्तिमार्फत आफ्नो आयु लम्ब्याउन सकेको भए पनि अब ओरालो लाग्न थालेको छ । त्यसले अघि सारेको अब उदारवादी प्रेस्क्रिप्सन अधम, प्रतिउत्पादक र निर्थक बनेको छ । लेनिनको युगपछि के तात्त्विक परिवर्तन भए त ? साम्राज्यवादको परिभाषा गरिरहँदा लेनिनले साम्राज्यवाद निम्न विशेषता अगाडि सारेका थिए—  १) आर्थिक जीवनमा निर्णायक भूमिका खेल्ने गरी वस्तु र पुँजीको संकेन्द्रीकरण । २) बैंकिङ पुँजी र औद्योगिक पुँजीको घोलमेल र वित्तीय पुँजीका आधारमा वित्तीय अल्पाधिकारको सिर्जना । ३) वस्तु निर्यातको ठाउँमा पुँजी निर्यातले असाधारण महत्त्व लिनु । ४) आफूबिचमा बाँडीचुँडी गर्ने गरी वैश्विक एकाधिकारी पुँजीवादी संघ–संस्थाको निर्माण । ५) सबभन्दा ठुला पुँजीवादी शक्तिबिच सम्पूर्ण विश्वको क्षेत्रीय विभाजन सम्पन्न हुनु । आम रूपमा यी विशेषता आज पनि कायम छन् । 

  • परिवर्तन

ऊ बेलाको सानो पुँजीवादी क्षेत्र र विशाल गैरपुँजीवादी क्षेत्रबिचको क्षेत्रगत विभाजनमा आज आमूल परिवर्तन आएको छ । पुँजीवाद सामान्य रूपमा क्षेत्रगत हिसाबले विश्वव्यापी भएको छ । युरोपियन साम्राज्य भताभुङ्ग भएको छ । 

पुँजीवादी शक्तिहरूबिच घाँटी कोराकोरको प्रतिस्पर्धाभन्दा स्वार्थको संयोजन भएको छ । साम्राज्यवादी शक्तिमा युरोपको ठाउँमा अमेरिका नेतृत्वमा आएको छ । उपनिवेशको विघटन भएको छ र प्रत्यक्ष उपनिवेश निर्माण गर्न सजिलो छैन । 

औद्योगिक पुँजीको सेवामा वित्तीय पुँजीको सम्बन्ध उलटफेर भएको छ । वित्तीय पुँजी विश्वव्यापी, वैश्विक गार्हस्थ्य उत्पादनभन्दा कैयौँ गुणा ठुलो भएको छ । शोषणको प्रमुख स्रोत बनेको छ । साम्राज्यवादको पछिल्लो प्रयोगले देशभित्रै र देश–देशबिचको खाडल झन् झन् बढाएर लगेको छ । अनि प्रतिरोध पनि डोलिँदै गइरहेको छ । 

समाजवादको प्रयोगमा के रह्यो भने, त्यसको संरचनाको शुद्धता अर्थात् मार्क्सवादले परिकल्पना गरेको समाजप्रतिको प्रतिबद्धता र निष्ठामा कमजोरी आएको छ । लेनिनलाई सम्झनुपर्दा मैले आज के देख्छु भने, मार्क्सले धेरैअगाडि भनेका थिए कि १९औँ शताब्दीभन्दा अगाडिका क्रान्तिहरूलाई आफ्ना अन्तर्वस्तुमा आउनका निम्ति नारा प्रमुख हुन्थ्यो, अबका क्रान्तिलाई नारा होइन अन्तर्वस्तु प्रमुख हुनेछ । मार्क्सको यो भनाइको मर्म बुझ्न र यस अनुरूपको सांगठनिक आधार तयार गर्न हाम्रो आन्दोलनले कहीँ गल्ती गरिरहेको छ कि भन्ने लाग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टंक कार्की
टंक कार्की
लेखकबाट थप