शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय
खाद्यान्नमा परनिर्भरता बढ्दो

‘भारतले अन्न दिन्न भने २५ प्रतिशत नेपाली भोकै हुने स्थिति’

खेती प्रणालीबारे बहसको खाँचो
आइतबार, ०६ फागुन २०८०, १३ : ४४
आइतबार, ०६ फागुन २०८०

काठमाडौँ । पछिल्लो समय खाद्यान्न आयात बढ्दै जाँदा कृषिप्रधान भनिए नेपालमा खाद्य परनिर्भरता बढ्दै गएको छ ।  खानाका लागि खेतीपातीमा जोड दिनुपर्ने कृषिविज्ञ तथा खानाका लागि खेतीपातीका अभियन्ता डा. कृष्ण पौडेल बताउँछन् । ‘हाम्रो जस्तो विविधतायुक्त हावापानी भएको देशमा खाद्यको सुरक्षा गर्ने हो भने हाम्रो खानाको बन्दोबस्त आफैँले गर्नुपर्छ,’ उनले भने, ‘यदि भारतले अन्न दिन्नौँ भन्यो भने २५ प्रतिशत नेपाली भोकै हुने स्थिति हुन्छ । २५ प्रतिशत नेपालीले भारतबाट आयातित ९० प्रतिशत खाने कुरा उपभोग गर्छन् ।’

सिन्धुलीको जुनार, जुम्लाको मार्सी लगायत विभिन्न स्थानका विशेष खाद्यवस्तु प्रवर्द्धन गर्ने हो भने खाद्यान्नमा आत्मनिर्भर हुनका साथै स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने उनको भनाइ छ । त्यसमाथि  हाल खेतीपाती भइरहेको कृषि उपज खानाभन्दा पनि बजारमुखी बढी छ । हाइब्रिड जातको प्रयोग, उत्पादन बढी लिनका लागि विषादी र रासायनिक मलको प्रयोग, ताजा राख्नका लागि विभिन्न रसायनको प्रयोग बढ्दो छ ।

यसले वातावरण बिगार्ने, माटोको उर्वराशक्ति ह्रास ल्याउने, माटोमा अम्लीयपन बढ्ने र स्वास्थ्यमा हानि पुर्‍याउने विज्ञहरू बताउँछन् । आगामी दिनमा खानाका लागि प्राङ्गारिक खेतीमा जोड दिनुपर्ने सरोकारवालाले बताएका छन् ।

वातावरणीय परिवर्तनसँगै जैविक विविधता पनि मासिँदै गएको पौडेलले बताए । नेपालमा पछिल्लो पटक करिब ४० प्रतिशत जैविक विविधता मासिएको उनको भनाइ छ । ‘खानाका लागि खेतीपाती गर्दा विषादी प्रयोग हुन भएन, विषादीयुक्त खाना खान कसैले चाहँदैन होला,’ उनले भने, ‘विषमुक्त खेती के हो, कसरी विष मुक्त बनाउन सकिन्छ, त्यसका लागि कस्ता खेती प्रणाली अपनाउने, कस्ता पूर्वाधार आवश्यक पर्ला, हालको खेती प्रणालीले त्यहाँ पु¥याउँछ कि पु¥याउँदैन भन्ने बहसको खाँचो छ ।’

नेपालमा खानाका लागि गरिने खेतीपातीका लागि प्राविधिक ज्ञानको पहुँच हुन नसकेको सिन्धुलीका किसान माधव ढुङ्गेल बताउँछन् । ‘हाल हामीले गरेको अभ्यास धेरै थरीको बाली लगाउने छ, तर सरकारले एक बालीमात्रै फोकस गरेको छ,’ उनले भने, ‘यो कुरो हामीले गरेको अभ्याससँग तालमेल भएन ।’ आफूले प्राङ्गारिक खेती गरिरहेको उनले बताए ।

नेपालमा कृषि कर्मलाई हेपाहाको दृष्टिकोणले हेर्ने गरेको कृषि अभियन्ता उद्धव अधिकारीले बताए । ‘नीतिहरुलाई प्रकृतिमैत्री बनाउन सरकारी निकायले पहल गर्न सकेको छैन,’ उनले भने, ‘यसलाई विशेष जोड दिएर बहस गर्नुपर्छ ।’

कति आयात हुन्छ खाद्यान्न ?

नेपालले चालु आर्थिक वर्षको ६ महिनामा मात्रै २२ अर्ब २२ करोड रुपैयाँको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार ६ महिनामा ४ लाख ७८ मेट्रिक टन खाद्य वस्तु आयात गरिएको हो ।

गत आर्थिक वर्षमा नेपालमा ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको थियो । यसरी वार्षिक रुपमा नेपालले अर्बौं रकमको खाद्यान्न आयात गर्दै आएको छ ।

विषादीको प्रयोग बढ्दो

फलफूल तथा तरकारी बजार विकास समितिको बजार परिसरबाट संकलन गरिएका तरकारीमध्ये गत वर्ष २६ वटा नमुना तरकारी तथा फलफूल खानयोग्य नरहेको पाइएको छ ।

समितिका अनुसार गत आर्थिक वर्षमा २ हजार ४ सय ९४ तरकारीको नमुना परीक्षण गरिएको थियो । सो नमुना परीक्षणबाट २६ वटा नमुना खानयोग्य नरहेको हो । यस्तै, १२ वटा  तरकारी तथा फलफूलका नमुना केही दिन पर्खेर खानुपर्ने देखिएको थियो । हरियो तरकारीका २ हजार ४ सय ५६ वटा नमुना परीक्षण खानयोग्य पाइएको छ ।

समितिको बजार परिसरमा कृषि विभागको केन्द्रीय कृषि प्रयोगशालामार्फत विषादी अवशेष द्रुत परीक्षण विश्लेषण कार्य हुने गर्दछ । विश्लेषणमा कार्वामेट र अर्गानोफस्फेटको रोकावट दर मापन गरिन्छ । मापनमा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५–४५ प्रतिशतसम्म भए केही दिन पर्खने र ४५ प्रतिशतभन्दा बढी भएमा बिसर्जनयोग्य हुन्छ । सो विश्लेषणको आधारमा उपभोग अयोग्य देखिएका वस्तुलाई नियन्त्रणमा लिने र नष्ट गर्ने कार्यमा समितिले सहजीकरण गर्दै आइरहेको जनाएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप