नेपाली समाजको उन्नत विकल्प राजतन्त्र र हिन्दु अधिराज्य नै हो त ?
पछिल्लो समय नेपालमा सनातनी हिन्दु धर्मद्वारा निर्देशित राजसंस्थाको निकै चर्चा हुन थालेको छ । यसमा स्वयं पूर्वराजपरिवारका सदस्यले समेत मुख मिठ्याइरहेको देखिन्छ । उनीहरू निकै चिन्ता र चासोसहित लालायित भइरहेका छन् । उता, राप्रपा लगायत सनातन हिन्दुधर्मी राजा पक्षधर पार्टीहरूले पनि यसको पक्षपोषण नगरी बस्ने कुरै भएन । अर्कोतिर केही भुइँफुट्टा व्यक्तिहरू पनि राजालाई श्रीपेच पहिर्याउने दाउमा लागेका छन् । यसका अतिरिक्त अन्य गणतन्त्रवादी पार्टीका केही नेतासमेत सनातनी हिन्धु धर्मसहितको राजसंस्थाको वकालत गर्न थालेका छन् ।
आज राजतन्त्र छैन । राजतन्त्रमा यसो गरेको भए के हुन्थ्यो भन्ने कुरा हामीलाई भन्दा बढी अनुभव स्वयं आजको हिन्दु धर्म र राजाको पक्षपोषण गर्नेहरूलाई थाहा छ । राजतन्त्रकालीन ती कालरात्रि हामी सबैले देखे–भोगेकै कुरा हो । इतिहास अध्ययन पनि गरेकै छौँ, धेरै वर्णन गरिरहनुपर्दैन । आजको मितिमा जो ४५ वर्षभन्दा माथि उमेर पुगेको छ, सबैलाई थाहा छ, पछिल्लो राजतन्त्रमा कतिसम्म गर्न पाइन्थ्यो र पाइँदैनथ्यो भन्ने । आज त हामीसँग महँगो बलिदानीबाट स्थापित लोकतान्त्रिक गणतन्त्र छ । जे गर्न मन लाग्छ, जे बोल्न मन लाग्छ, अनि जति विरोध गर्न मन लाग्छ, सबै गर्न पाउने छुट छ हामी सबैलाई । यो भनेको गणतान्त्रिक व्यवस्थाको आदर्श हो । यही व्यवस्थाले बोल्ने र विरोध गर्ने हैसियत पनि बनाइदिएको छ, यो गणतन्त्रको सुखद पक्ष हो ।
बोल्न, लेख्न र विरोध गर्न पाइयो भनेर जे पायो त्यही बोल्न, लेख्न र विरोध गर्नचाहिँ बुद्धिमानी हुँदैन । यसमा हामी सचेत नागरिकले गम्भीर विवेक पुर्याउनुपर्छ । अर्थात् विरोध गराइ र बोलाइहरू पनि विवेकसम्मत, वस्तुवादी र परिणाममुखी हुनुपर्छ; समस्यामा समाधानमुखी हुनुपर्छ । अन्योलता र अनिर्णयमा निर्णय दिन सक्ने हुनुपर्छ । मौजुदा व्यवस्थाबाट उन्नत व्यवस्थातर्फ सङ्क्रमण गर्ने हैसियत भएको हुनुपर्छ । समस्याहरूको गाँठो फुकाउने हुनुपर्छ । यस्तो सकारात्मक उद्देश्यबाट निर्देशित तमाम विरोध, बोलाइ, लेखाइ र अभियानहरू भने अवश्य समाधानमुखी हुने नै छ । यसखाले विरोध र बोलाइहरूलाई सम्मान गर्नुपर्छ ।
दास समाजभन्दा सामन्ती समाज केही प्रगतिशील थियो । यता सामन्ती समाजभन्दा पुँजीवादी समाज केही प्रगतिशील देखिन्छ । पुँजीवादी समाजभन्दा समाजवादी समाज अझ प्रगतिशील मात्र होइन, यसमा सिङ्गो उत्पादन पद्घति नै नितान्त भिन्न हुन्छ ।
वस्तुतः कुनै पनि समाजलाई नेतृत्व गर्ने साधन भनेको अर्थराजनीतिक पद्घति हो । आजसम्मको मानव समाजको इतिहासलाई नियाल्दा अघिल्लो उत्पादन पद्घतिलाई पछिल्लोले विस्थापन गर्दै आएको देखिन्छ । हरेक दृष्टिबाट मूल्याङ्कन गर्दा अघिल्लोभन्दा पछिल्लो उत्पादन पद्धति उन्नत, प्रगतिशील र न्यायिक हुने गर्दछ । यी मानव समाज विकासको भौतिकवादी व्याख्या अनुरूपको सार्वभौम परिघटना हुन् । उदाहरणका लागि दास समाजभन्दा सामन्ती समाज केही प्रगतिशील थियो । यता सामन्ती समाजभन्दा पुँजीवादी समाज केही प्रगतिशील देखिन्छ । पुँजीवादी समाजभन्दा समाजवादी समाज अझ प्रगतिशील मात्र होइन, यसमा सिङ्गो उत्पादन पद्घति नै नितान्त भिन्न हुन्छ ।
यसकारण मानव समाज विकासको सार्वभौम नियमअनुरूप पनि अघिल्लोभन्दा पछिल्लो केही न केही प्रगतिशील, न्यायिक र उन्नत हुने गर्छ । यस्तो भौतिकवादी अवधारणाबाट विश्लेषण गर्दा नेपाली समाज विकासअन्तर्गत पनि दास समाज, सामन्ती समाज हुँदै पुँजीवादी समाजमा आइपुगेको छ । पुँजीवादी लोकतन्त्रको अभ्यास भइरहेको समाज अपवादबाहेक एकाएक पुनः सामन्ती समाजतर्फ प्रतिगमन हुन सक्दैन । प्रतिगमन हुन सक्छ भन्नु तर्कका लागि तर्क र बहसका लागि बहस मात्र हुन्छ । अबको नेपाली समाजको गन्तव्य भनेको समाजवादी समाज नै हो । यद्यपि यसका लागि अनुकूल वस्तुगत तथा आत्मगत अवस्था तयार छ छैन, त्यो अर्को छलफलको विषय हो । अर्कोतिर समाज विकासको गतिको नियमले समाज कहिल्यै पनि उल्टो दिशातर्फ बग्दैन भन्ने मान्यता राख्छ । अर्थात् इतिहासको गतिशील पाङ्ग्रा उल्टो घुम्दैन, यो शाश्वत नियम हो ।
मानव समाज विकासको भौतिकवादी व्याख्याको दृष्टिबाट हेर्ने हो भने अब नेपाली राष्ट्रिय राजनीति पुँजीवादी लोकतन्त्रबाट राजतन्त्रतिर फर्कन सक्दैन । धर्मनिरपेक्षताबाट सनातनी हिन्दु अधिराज्यतर्फ उल्टो घुम्न सक्दैन । कसैले यस्तो मनोगत इच्छा राख्नु त्यो उसको इच्छा र आकाङ्क्षाको कुरा हो । तर्क, बहस, विरोध र आन्दोलन गर्नु त्यो उसको मामिला हो । त्यसमा उसकै विश्लेषण, बुझाइ, व्याख्या गराइ र दृष्टिकोण निर्माणको सीमा हुन सक्छ; राजनीतिक, वैचारिक बुझाइ र ग्रहण गराइमा कमजोरी हुन सक्छ; गलत स्कुलिङ, बुझाइ र गलत सम्पर्क सम्बन्धद्वारा सिर्जित समस्या हुन सक्छ; राजनीतिक र वैचारिक दरिद्रता हुन सक्छ । यसमा सत्य–तथ्य के हो त्यो स्वयं उनीहरू नै जानून् । हामीले टाउको दुखाउनु कति पनि जरुरी छैन ।
अर्को हाम्रो अहं सवाल भनेको समस्याको वस्तुवादी समाधान गर्नु हो । आज हामीले जे जे समस्या देखी र भोगिरहेका छौँ, त्यसको समाधान नै पहिलो सर्त हुन्छ । हामीले गर्ने हरेक गतिविधिले समाधान पहिल्याउन सक्नुपर्छ । विषय कसले उठायो, के सवाल उठायो, किन उठायो— यो एउटा कुरा होला तर त्यस्ता विरोध गराइ, बोलाइ र लेखाइहरूले हाम्रो वर्तमान समस्यालाई सम्बोधन गर्छ वा गर्दैन ? सबैभन्दा मुख्य सवाल यही हो । यस कारण फलानोले यसो भन्यो, तिलनाले उसो गर्यो भनेर तरङ्गित हुनु, विरोध गर्नु र पछिपछि दगर्नुभन्दा अलि वस्तुवादी भएर विश्लेषण गर्दै सत्यतथ्यको नजिक पुग्नु उत्तम हुन्छ । बहकिएर, बरालिएर, छचल्किएर सही ठाउँमा पुगिँदैन अनि समस्याको समाधान पनि भेटिँदैन । हामीले पहिल्याउनैपर्ने भनेको समस्या समाधान हो । अरु दायाँबायाँको धेरै अर्थ छैन ।
आजको हाम्रो समस्या राजनीतिक प्रणालीमा छ, सोच–चिन्तन र व्यवहारमा छ, विकास निर्माणमा छ; शिक्षा, स्वस्थ्य र राजेगारीमा छ; समानता र न्यायमा छ, आर्थिक विकास र समृद्धिमा छ अर्थात् आम नागरिकहरूको समान सुख, शान्ति, समृद्धि र खुसीमा छ । यस्तो सुख र समृद्धि कसैले कसैको विरोध र गाली गर्नेबित्तिकै, कसैले कुनै पार्टी र पात्र देखाउनेबित्तिकै अनि कसैले कसैलाई होच्याउनेबित्तिकै रातारात सम्भव हुँदैन । यसका लागि निश्चित राजनीतिक विचार, लगाव र आन्दोलनको प्रक्रिया आवश्यक हुन्छ । त्यसपछि मात्रै हामीले चाहेको आर्थिक विकास र समृद्धिको यात्रा तय गर्न सकिन्छ । अन्यथा, कसैलाई विरोध गरेर अनि कसैलाई खुइल्याएर समस्याको समाधान हुँदैन । यसले केवल चुनावी परिणाममा एक–दुई सिट अङ्क–गणित तलमाथि पार्ला तर हाम्रो साझा समस्याको हद भने हुँदैन ।
नेपाली समाज विकासअन्तर्गत पनि दास समाज, सामन्ती समाज हुँदै पुँजीवादी समाजमा आइपुगेको छ, पुँजीवादी लोकतन्त्रको अभ्यास भइरहेको समाज अपवादबाहेक एकाएक पुनः सामन्ती समाजतर्फ प्रतिगमन हुन सक्दैन ।
नेपाली राष्ट्रिय राजनीतिमा राजनीतिक पार्टी र नेताहरू सबै दूधले नुहाएका छन् भन्न हामी सक्दैनौँ । केही न केही समस्या छन् । हामीमा कतै न कतै समस्या र कमजोरी छन् । रूपान्तरण हुनुपर्ने धेरै आयाम छन्, तर त्यसको मतलब राजनीतिक पार्टीहरू काम लागेन, अब हिन्दु धर्मसहितको राजा ल्याए सबै समस्याको समाधान हुन्छ भन्नु महाभ्रम हो । अढाइ सय वर्षसम्म भुक्तभोग गरेको राजतन्त्रले हाम्र्रा समस्या समाधानमा अब कुनै जादु देखाउँदैन । सबैले इच्छा अनुसार सबै धर्म मान्न पाउने धर्मनिरपेक्षतामा सन्तुष्ट हुन नसकेको नागरिकले हिन्दु धर्ममा के त्यस्तो सञ्जिवनी बुटी पाउला ? जताततै खुसी, सुखी, रमाइलो र सकारात्मक पक्षहरू मात्रै देखिने के अनौठो शक्ति होला हिन्दुधर्मसहितको राजामा ? त्यसमा पनि नकारात्मक दृष्टिकोणले नेतृत्व गरेको समाज छ हाम्रो, जहाँ सबैको चित्त शान्ति गर्नु कठिन हुन्छ ।
त्यसैले मौकामा चौका हान्ने दृष्टिकोणबाट राजनीतिक मुद्दा उठाउने नगरौँ । आजका मौजुदा मुद्दाहरूभन्दा अझ उन्नत, न्यायिक र प्रगतिशील मुद्दाहरू मात्र उठाउने गरौँ, जसले वर्तमान समस्याहरूको अग्रगामी समाधान गर्ने हैसियत राख्छ । के अबको नेपाली समाजको उन्नत विकल्प राजतन्त्र र हिन्दु अधिराज्य नै हो त ? यसले मात्रै समस्याको समाधान गर्छ भन्ने वस्तुवादी आधार के छ ? यदि त्यस्तो भरपर्दो आधार छ भने, राजा र हिन्दु धर्म पुनस्र्थापित गर्दैमा सारा संसार जितिन्छ भने ठिक छ गरौँ न त ! यसमा हामी मञ्जुर छौँ, तर राजा ल्याएर समस्या समाधान गर्नु र सूर्य पश्चिमबाट उदाउँछ भन्नु उस्तै उस्तै हो । यसले बहकिएको मतदाताबिच राजा र हिन्दु धर्म भजाएर कसैले चुनावी बाजी मार्ला तर समस्या समाधान भने हुँदैन ।
सकिन्छ भने उन्नत प्रणालीमा बहस गरौँ । उन्नत राजनीतिक मुद्दाहरू खोजौँ, जसले अग्रगामी र न्यायिक निकास दिने हैसियत राख्छ । विकृत पुँजीवादभन्दा उन्नत समाजवाद सयौँ गुणा सही हुन्छ । राजासहितको हिन्दु सनातन धर्म ल्याएर उन्नत समाज बन्दैन । विकास र समृद्धिको आम सरोकारको चाहना पनि पूरा गर्दैन । राजा र हिन्दु धर्मको नाराले कसैले चुनावी बाजी त मार्ला, तर समस्याहरूको वास्तविक निकास सम्भव हुँदैन । त्यसैले यस्ता हावादारी हल्ला र मनोगत चाहनामा धेरै तरङ्गित नबनौँ । बरु सकिन्छ भने गणतन्त्रभन्दा उन्नत र न्यायिक अर्थराजनीतिक विकल्प समाजवादका लागि सबैले पहल गरौँ । अन्टसन्ट भ्रमको खेती गर्दै अनि धमिलो पानीमा माछा मार्ने रणनीतिले मात्र उन्नत समाज बन्दैन । सबैलाई चेतना भया !